आमवृत्तमा आत्मविश्वासको अल्पता

- उज्ज्वल प्रसाई | 2022-08-28

भाषा प्रयोग र प्रसारका घुमाउरा तरेली आफैंमा खँदिला खोजबिनका रोचक सम्भावना हुन् ।

राष्ट्र भनिने अवधारणामा जति गर्व, आस्था र पहिचानजनित चाहना जोडिएका हुन्छन्, भयको उपस्थिति पनि उति नै जबर्जस्त हुन्छ । दुई ढुंगाबीच चेपिएर तरुलकै पहिचान पनि गुम्ला र अर्कै केही भइएला भन्ने पिरलो नेपालीपनको द्योतक हुन पुगेको त्यसै होइन । नेपाली भाषा (खस/पर्वते) को मियोमा बाँधिएको नेपालको आमवृत्तमा कसैले जाँगर चलाएर बृहत् शोध गरे सम्भवतः चिन्ता, उत्कण्ठा र भयको सबैभन्दा ठूलो अंश भेट्नेछ । बाहिरिया भनिएकाहरूसँग डर, भित्रैका थुप्र ‘अन्य’ सँग उत्तिकै त्रास । भयग्रस्त मनोदशामा आफ्नो प्रतिरक्षाका खातिर गरिएका केही काम दिगो संकथन र संस्थासम्म बन्न पुगेका प्रशस्त उदाहरण भेटिन्छन् ।

लेखक कमलमणि दीक्षितले विक्रम संवत् २०१० तिर नेपाली भाषामाथि भित्र र बाहिर दुवैतिरबाट आक्रमण हुन थालेपछि यस भाषामा सेवारत लेखकलाई हौसला दिन मदन पुरस्कार स्थापना गरिएको भनेका छन् । गोविन्द गिरी ‘प्रेरणा’ ले दीक्षितसँग गरेको इमेल वार्ता (जो पुस्तकाकारमा प्रकाशित छ) मा उनले देशबाहिरका एक भिक्षु भदन्तले ‘नेपाली भाषाको कुनै इतिहास छैन र भविष्य पनि हुनेछैन’ भनेको र नेपालका प्रधानमन्त्री भइसकेका र साहित्यमा समेत लागेका मातृकाप्रसाद कोइरालाले ‘हिन्दीलाई नेपालको राष्ट्रभाषा मान्नुपर्ने’ आशय व्यक्त गरेको प्रसङ्ग उल्लेख गरेका छन् । यी भनाइलाई नेपाली भाषा (र सायद समग्र राष्ट्र) माथिको आक्रमण बुझेकैले मदन पुरस्कारजस्ता संस्था निर्माण गरिएको दीक्षितको कथनबाट थाहा पाइन्छ । उनले भनेका छन्, ‘नेपाली कवि–लेखकहरू डिमोरलाइज भइरहेका थिए । यस्तोमा नेपाली पनि सशक्त भाषा हो, यसमा कलम चलाउनेहरू पनि महान् हुन् भन्ने सन्देश दिनु आवश्यक थियो ।’

२०१० सालवरपर नै हुनुपर्छ, प्रसिद्ध लेखक शंकर लामिछानेको ताहाचलस्थित डेरामा घटित एक सामान्य घटना यहाँ सन्दर्भित गर्नु रोचक हुन्छ । रत्ना लामिछानेले श्रीमान् शंकर बितेको तीस वर्षपछि उनकै स्मृतिमा लेखेको एउटा निबन्धमा सो घटनाबारे बताएकी छन् । डेरामा सजाउन शंकरले भारतीय चिन्तक तथा कलाकार रवीन्द्रनाथ ठाकुर (टैगोर) ले कोरेका पेन्टिङ फ्रेममा हालेर झुन्ड्याउन खोजिरहेका थिए । सजिइन लागेका चित्र भारतीय कलाकारले कोरेको थाहा पाएपछि, शंकरका भाइ यादव लामिछानेले आपत्ति जनाए । विदेशी चित्रको साटो आफ्नै देशका कलाकारले बनाएका देशकै चित्र सजाउनु उचित हुने राय प्रकट गरे । रत्नाका अनुसार पन्ध्र वर्षजतिका यादव देशप्रेमले ओतप्रोत भएकाले त्यसो भनेका थिए । एकातिर त्यही राष्ट्रप्रेमले साहित्य संवर्द्धनका निम्ति पुरस्कार स्थापना गराउँदै थियो भने, अर्कातिर तन्नेरीहरूको ‘अन्य’ लाई हेर्ने दृष्टिकोण पनि निर्माण गर्दै थियो ।

तन्नेरी वयमा लाग्दै गरेका यादवलाई टैगोरका पेन्टिङको गुणवत्ता, तिनमा व्यक्त भाव वा कलाका रूपमा तिनका सामर्थ्य र कमजोरीबारे उस्तो चिन्ता थिएन । बरु उनमा हुर्किएको राष्ट्रप्रतिको आस्थाले टैगोरलाई गैरनेपाली, बंगालीभाषी, भारतीय र परचक्री मात्रका रूपमा बुझ्न सघाउँथ्यो । नेपाली घरका भित्तामा टैगोरहरूका चित्र सजिइन थाले, आफू, आफ्नो पहिचान र मुलुक नै संकटग्रस्त हुन सक्छ भन्ने भयले उनलाई गाँजेको थियो । वा, भारतप्रतिको अरू चित्तदुखाइ पनि थिए होलान् । ठूलो देशको भइटोपल्ने भारतीयले हेपेको कुनै आभास पाएर पनि उनले त्यसो भनेका हुन सक्छन् । राष्ट्रप्रतिको उनको बुझाइ र आस्थामा आत्मविश्वासको कमी र त्रासको मात्रा बढी भएको उनको अभिव्यक्तिले देखाउँछ ।

दाजु लेखक शंकर लामिछानेले भाइलाई दिएको जवाफमा भने आत्मविश्वासको यो स्तरको अल्पता देखिँदैन । तुरुन्त घतलाग्दो जवाफ दिन सक्ने व्युत्पन्न मतिका कारण पनि हुन सक्छ, उनले बोलेको वाक्य रोचक छ । टैगोरका चित्र भित्तामा टाँस्दै शंकरले भनेछन्, ‘आफ्नो देश त झ्यालबाट बाहिर हेरे भइहाल्यो नि !’ उनको सरल, स्पष्ट र पुग्दो जवाफ बुझ्न यादव कति समर्थ थिए, थाहा छैन । शंकरको जवाफमा न आफ्नो देश र यताका कलाकारप्रति अतिरञ्जनापूर्ण मोह देखियो, न भारत वा अन्य देश र त्यहाँका बौद्धिकप्रति अनावश्यक क्षुब्धता नै । त्यसो त रवीन्द्रनाथप्रतिको हदै ठूलो झुकाव भएको उनको लेखनमा कतै झल्किँदैन पनि । शंकरको जवाफ आफूप्रतिको विश्वासका जगमा उभिएको थियो, र त्यसमा थियो कला बुझ्ने र आस्वादन गर्ने प्रबुद्धता पनि ।

त्यति मात्रै होइन, शंकर लामिछानेको नेपाली भाषाबारेको बुझाइमा उस्तै आत्मविश्वास झल्किएको पाइन्छ । राष्ट्रवादले नै उनको कलाचेतना र भाषाप्रतिको संवेदनशीलतालाई निर्धारण गरिदिएको थिएन । जस्तो, आफ्नो निबन्धकृतिलाई दिइएको मदन पुरस्कार ग्रहण गर्दाताका कमलमणि दीक्षितलाई दिएको अन्तर्वार्तामा शंकरले नेपाली भाषाबारे भनेका छन्, ‘योभन्दा राम्रो भाषा पनि मर्‍यो । योभन्दा नराम्रो भाषा पनि टिकिराखेको छ । र नेपाली त मलाई मन पर्छ कसोकसो, हुन त म आफैं पनि बडा अङ्ग्रेजी र उर्दू, संस्कृत र कहिलेकहिले केके नेवारी पनि प्रयोग गरिदिन्छु । अँ, तर हाम्रो भाषामा एउटा मैले के देखेको छु भने सम्भावना प्रशस्त छन्... ।’ यसैमा उनले तारानाथ शर्माको नाम लिएर ठेटको नाममा पुरानोपट्टि अर्थात् झर्रोपट्टि फर्कने काम पनि उचित होइन भनेका छन् । यसो भन्दा ‘अन्य’ भाषाप्रति नकारात्मक छैनन् र शुद्धताको चर्को आग्रहसमेत गरेका छैनन् । केवल आफ्नो भाषाप्रतिको स्वाभाविक आकर्षणलाई व्यक्त गरेका छन् ।

रवीन्द्रनाथ टैगोरको कलाकारिता र शंकर लामिछानेको चेतनाबारे यति उल्लेख गरेपछि, शंकरका गुरु र उनले सृजनात्मक प्रेरणा लिएका महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि सम्झनु अनुचित हुँदैन । देवकोटा र टैगोरबीच व्यक्तिगत सम्बन्ध, चिनजान वा कुनै किसिमको सम्पर्क भएको स्पष्ट लिखत पढ्न पाइएको छैन । साहित्यिक इतिहासका अध्येताले यी दुई सर्जकका सम्बन्धबारे खुलस्त बताउन सक्लान् । तर, टैगोरका विचारमा देवकोटाले गरेको एक टिप्पणी भने यहाँ सान्दर्भिक ठहर्छ । देवकोटाको असाध्यै धेरैले सम्भवतः धेरै पटक पढेको निबन्ध ‘के नेपाल सानो छ ?’ मा उनले टैगोरको स्मरण गरेका छन् । ‘...ठाकुरबाबाको देखासिकी गर्ने सबै सिकारु विश्वप्रेमी विश्वसिद्धान्ती लेखक र कविहरू भुल्दछन् कि विश्वप्रेम भनेको चीज स्वदेशमै विकासिन्छ ... ।’

युद्धले आक्रान्त पार्दै लगेको विश्वमा राष्ट्रका नाममा विभाजित मानव समुदायले एकअर्कालाई निमिट्यान्न बनाइरहेकामा टैगोरले आफ्ना आलोचनात्मक विचार प्रवाह गरेका थिए । राष्ट्रवादबारे उनले दिएका आलोचनात्मक भाषण संगृहीत भएर सन् १९१७ मा ‘नेसनलिज्म’ शीर्षक पुस्तक नै प्रकाशनमा आइसकेको थियो । टैगोरले स्पष्ट शब्दमा भनेका थिए, ‘न रङ्गहीन वैश्विकताको अस्पष्टता, न राष्ट्रभक्तिको भयङ्कर स्वपूजन, यी दुवै मानव इतिहासका लक्ष्य होइनन् ।’ त्यसैलाई इंगित गर्दै देवकोटाले आफ्नो राष्ट्रवादको प्रवर्द्धन गर्न टैगोर र उनका विचारबाट प्रभावित सबैमाथि व्यंग्य कसेका हुन् । यस व्यंग्यात्मक पंक्तिसम्म आइपुग्नुअघि उनले कैयौं सन्दर्भमा मैदानी भूभागप्रतिको चिडचिडाहट र पहाडी भूबनोटको अतिशय प्रशंसा गरिसक्छन् निबन्धमा । ‘महापुरुषको जन्म’ हिमालको नजिक हुने र भारतका मैदानी जमिनका ‘ताता मगज’ मा भने ‘सधैं असन्तुष्टि मात्रै उम्लिइरहने’ दाबी गरेका छन् । त्यति मात्रै होइन, उनै ठाकुर बाबाको घर भएको कलकत्ताजस्तो मैदानी भूमिलाई औपन्यासिकता नभएको ‘रित्तो पट बिछ्याएजस्तो’ मात्र देखेका छन् ।

यस निबन्धमा देवकोटाको मूल वैचारिकी राष्ट्रवाद हो । पन्ध्रवर्षे यादव लामिछानेले टैगोरका चित्रमा गरेको टिप्पणीलाई लालित्यपूर्ण र संस्कृतनिष्ठ भाषामा विस्तारमा व्याख्या गर्दा बन्ने भनेकै देवकोटाको निबन्ध हो । यसर्थ, २०१० सालवरपर चेलो लामिछाने आफ्नो देश, नेपालीपन र आफ्नो भाषाप्रति जुन स्तरको आत्मविश्वासमा आइपुगेको थियो, २००२ सालतिर गुरु देवकोटा त्यस हदमा आत्मविश्वासी बन्न नसकेको प्रमाणका रूपमा यस निबन्धलाई बुझ्न सकिन्छ । आफ्नोलाई प्रेम गर्न, आफ्ना पहाड र फूल, आफ्नो भागमा परेको आकाश र बादल, आफ्नै भाषा बोल्ने मान्छे, र आफ्नो साहित्यलाई माया गर्न अर्कोलाई कमसल भन्नु नै ऊ बेला प्रचलित रहेको र अहिले बौरिएर आएको राष्ट्रवादको मुख्य वैचारिकता हो । यसरी हेर्दा नेपाली भाषाको इतिहास छैन भन्नेहरू पनि उसै गरी राष्ट्रवादकै सिकार भएका हुन् भन्न सकिन्छ ।

देवकोटाले टैगोर, उनको मैदानी घर र उनका विचारमाथि व्यंग्य गरेको केही दशक बित्न नपाउँदै, नेपाली बौद्धिक ईश्वर बरालले उनै टैगोरका कथाहरूको नेपाली अनुवाद गरे । मूल बंगाली भाषाबाटै अनुवाद गरेका एक्काइस कथाको सँगालो ‘रवीन्द्रनाथका कथा’ सन् १९६२ मा भारतको सरकारी संस्थान साहित्य अकादमीले प्रकाशन गरेको हो । यस अनुवादलाई दुवै भाषामा पारंगत बरालले केवल हाता लागि भएको एउटा जागिरे उद्यमका रूपमा मात्र लिएका थिएनन् भन्ने उनैले लेखेको संग्रहको भूमिकाबाट थाहा पाइन्छ । साहित्य समालोचनामा आफूलाई सिद्धहस्त ठहर्‍याइसकेका बरालले टैगोरका साहित्यिक रचनाको उच्च मूल्याङ्कन गरेरै अनुवादमा जुटेको जनाउ दिएका छन् भूमिकामा— ‘संसारका श्रेष्ठ कथाकारका हाराहारी रवीन्द्रनाथलाई पनि निजका कथाले प्रतिष्ठित गरेका छन् ।’ आफ्ना सिर्जनकर्मीको श्रेष्ठता स्थापित गर्न टैगोर वा अरू कसैको सृजन–सामर्थ्यसँग भयग्रस्त हुन जरुरी छैन भन्ने दसी हुन् बरालका अनुवादमा प्रकाशित एक्काइस कथा ।

भारतमा गान्धी र टैगोरबीच चलेका बहस र तिनमा व्यक्त उनीहरूको वैचारिक मतभिन्नता अध्ययन गर्ने अवसर पाएका बौद्धिकले राष्ट्रवादमा निहित भय पहिचान गर्न सकेका थिए कि ? ‘पूर्व’ को सभ्यता संवर्द्धनका निम्ति पश्चिमा ज्ञान परम्परा, तिनका दर्शन वा तिनका जीवनदृष्टिबाट भाग्न आवश्यक छैन र तिनका सामर्थ्यलाई पहिचान गरेर आफ्नो बनाउन हिम्मत गरे आफ्नै कल्याण हुन्छ भन्ने मतमा अडिग थिए टैगोर । सोही विचारको जगमा उनले विश्वभारतीजस्तो विश्वविद्यालयको परिकल्पना एवं सञ्चालन गरे । बौद्ध र इस्लाम, क्रिस्चियन र हिन्दु सबै धर्म एवं तीसँग जोडिएका संस्कृति र सभ्यताबारे विशद शोध र अध्ययन गराए । न चीन जान डराए, न त्यहाँका बौद्धिकलाई शिक्षकका रूपमा निम्त्याउन, न युरोपका बौद्धिकलाई बोलाएर अनुसन्धान गराउन । उनीसँग मतभिन्नता भएका गान्धी समेतले विश्वभारती र शान्तिनिकेतनजस्ता संस्थाको महत्त्व आत्मसात् गरेर तिनको हितका निम्ति काम गरेका थुप्रै प्रमाण छन् ।

बराल र लामिछानेजस्ता सर्जक र विद्वान् पनि राष्ट्रवादको सीमाबद्धतामा कैद थिए भने, लेखनका क्षेत्रमा जति उपलब्धि हासिल गरे, सम्भवतः त्यति गर्ने थिएनन् । न टैगोरबाट लाभ लिन्थे, न त्यति आत्मविश्वाससाथ बोल्न र लेख्न सक्थे । तर, नेपाली भाषा र साहित्यको मियोमा घुमेको नेपालको आमवृत्तमा भने राष्ट्र–निःसृत भयका बाक्ला छाप प्रशस्त भेटिन्छन् । भाषा प्रयोग र प्रसारका घुमाउरा तरेली आफैंमा खँदिला खोजबिनका रोचक सम्भावना हुन् । काठमाडौंका आकरमा सञ्चित लिखतहरूमा भेटिने अनेक संकेत जोड्न जान्ने र कथा बुन्न सक्ने जौडे अन्वेषकले नेपाली आमवृत्तबारे अद्यापि नसुनिएका कति चित्ताकर्षक कहानी लेख्न सक्दा हुन् । कतिपय घोत्ल्याइँका प्रतिफल बिस्तारै सतहमा आउलान् ।

प्रकाशित : भाद्र १०, २०७९
स्रोत : https://ekantipur.com/opinion/2022/08/26/166147754932435865.html


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai