कृति परिचय

2021-10-11

पराजुलीको मिडिया संवादको अन्तर्वस्तु

शेखर पराजुली मार्टिन चौतारीका मिडिया अनुसन्धानकतर्ता हुन् । विगत लामो समयदेखि मिडियाका विभिन्न विषयमा कलम चलाउँदै आएका पराजुलीले मिडियाका विभिन्न पक्षमा विश्लेषणात्मक लेखहरु प्रकाशन गरिसकेका छन् ।
 
पछिल्लो समयमा प्रकाशित पराजुलीको मिडिया संवादः नेपाली पत्रकारिताबारे अन्तर्वार्ता नामक कृति छापा मिडियादेखि विद्युतीय मिडियासम्ममा आबद्ध साथै पत्रकारितासँग सम्बन्धित संस्थाहरुमा काम गरिरहेका ख्यातिप्राप्त व्यक्तिहरुसँग छापा माध्यम, प्रसारण माध्यम (विद्युतीय सञ्चार), क्षेत्रीय (विभिन्न स्थानमा रहेर पत्रकारिता गर्ने) माध्यम, पत्रकारिता प्रशिक्षण, पत्रकारका संस्थाजस्ता पाँचवटा विषयमा केन्द्रीकृत भएर गरिएको अन्तर्वार्ताको संगालो हो ।

नेपाली मिडियाबारे उठ्ने गरेका सवालहरु, त्यस्तै सञ्चारगृहहरुको संस्थागत सुधार, सरकारी सञ्चारमाध्यममा हुने राजनीतीकरण, काठमाडौँकेन्द्रित पत्रकारिता, अदक्ष पत्रकार सञ्चारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थामा गर्नुपर्ने सुधार, श्रमजीवी पत्रकारका विविध समस्याजस्ता गहनतम विषयलाई केन्द्रबिन्दु बनाएर गरिएको संवादले यी र यस्तै विषयसँग सम्बन्धित विविध विषयको उठान उक्त कृतिले गरेको छ नै त्यससँगै मिडिया क्षेत्रमा कार्यरत सम्पूर्ण प्रत्यक्ष सरोकार राख्ने त्यस्ता विषयलाई कसरी सहज तरिकाबाट निदान गरी समाधानका बाटाहरु खोज्न सकिन्छ भन्ने कुरा पनि संवादका क्रममा उठेका छन् ।

पाँच भागमा छुट्याएर अन्तर्वार्ता लिइएको उक्त कृतिमा खण्ड 'क' मा छापामाध्यमसँग सम्बन्धित युवराज घिमिरे, नारायण वाग्ले, कनकमणि दीक्षित, बबिता बस्नेत, ओम शर्मा र विकास रौनियारसँग गरिएको सम्वादलाई समावेश गरिएको छ । त्यसै गरी खण्ड 'ख' मा प्रशाखामाध्यमसँग सम्बन्धित भएर त्यही क्षेत्रमा आबद्ध रघु मैनाली, गोपाल गुरागाईं र आरती चटौतसँग संवाद गरिएको छ । खण्ड 'ग' मा चाहिँ क्षेत्रीय मिडियासँग सम्बन्धित किशोरकुमार कार्की र चन्द्रकिशोरसँगको संवादलाई मिडिया संवादमा समाहित गरिएको छ । खण्ड 'घ' मा अर्थात् चौथो खण्डमा पत्रकारिता शिक्षण प्रशिक्षणमा नाम चलेका रामकृष्ण रेग्मी र पी खरेलको संवाद अनि अन्तिम खण्ड अर्थात् खण्ड 'ङ' मा पत्रकार संस्थासँग सम्बन्धित विष्णु निष्ठुरी र राजेन्द्र दाहालसँग गरिएको कुराकानी गरी जम्मा १५ जनाको संवादको संगालो 'मिडिया संवादः नेपाली पत्रकारिताबारे अन्तर्वार्ता' नेपाली मिडियाका विभिन्न आयामहरु खोतल्नका साथै पत्रकारिताका विद्यार्थी, अध्येयता, पत्रकारलगायतका मिडियामा रुचि राख्ने सबैका निम्ति उपयोगी देखिन्छ ।

नेपाली मिडियाको संख्यात्मक वृद्धिसँगै गुणात्मकतामा पनि वृद्धि भएकै छ तर नेपाली मिडियामा देखापरेका विविध कमजोरीले मिडिया जगत अर्थात् राष्ट्रको चौथो अंगमाथि नै लाग्ने गरेका धेरै आरोपहरुलाई सहनुपर्ने बाध्यता पनि जीवन्त नै छ । यस्ता कमजोरी र समस्यालाई छलफल, संवाद र बहसको पाटो बनाउनु जरुरी छ । त्यसकारण मिडिया क्षेत्रमा लामै अनुभव संगालेका पराजुलीले यो प्रयासले पत्रकारितासँग सम्बन्धित र सरोकारवाला सबैलाई जान्न, बुझ्न र सुधार गर्न वा यसबारेमा बहस, छलफल र संवाद चलाउन सहयोगी हुनेछ ।

छलफल साप्ताहिक, २९ पुस २०६४, पृ. ६


About the Author

More Blogs