समाजको पिँधमा रहेका महिला अझै अस्तित्वविहीन, आवाजविहीन र स्तरहीन कोटीमै राखिएका छन् । तमाम प्रक्रिया, संरचना र अभ्यासहरुले महिलालाई कहिल्यै आफ्नो कथा आफैं भन्नलायक ‘व्यक्ति’ ठानेको छैन ।
आत्मकथा, अनुभवकथा लेखनलाई महिलाले आफ्नो स्मृति र दृष्टिकोणमाथि भएको नियन्त्रण भत्काउने कदमका रूपमा लिनुपर्छ ।
हामीजस्ताको अनुभव लेख्नलायक हुन्छ र ?’
गएको चार वर्षदेखि म यही प्रश्न भिन्न–भिन्न व्यक्तिहरूको मुखबाट सुनिरहेको छु । सीमान्त समुदायका व्यक्तिका आत्मकथा, स्वस्मृति–अनुभूति र संघर्षका कथाहरू लेख्ने–लेखाउने सामूहिक काममा लागिरहँदा मैले सुन्ने तात्कालिक स्वाभाविक अभिव्यक्ति हो यो । यो अभिव्यक्तिमा ‘हामीसँग अनुभव छ’ भन्ने स्वीकारोक्ति छ । सीमान्तकृत समुदायका व्यक्तिहरूको यस्तो स्वीकारोक्ति पनि लामै समय निश्चित स्थापित शासकीय वैचारिकीसँग लड्ने–भिड्ने क्रमसँगै बलियो हुँदै जान थालेको हो ।
उनीहरूका अनुभवजन्य संघर्ष–कथाहरू सार्वजनिक तथा निजी तवरमै ‘अर्थहीन’, ‘कमसल’, ‘बेकामे’ भनेर पन्छ्याइयो । अनेक व्यवधानका कारण सीमान्तमा रहँदै आएकाहरूले आफ्ना अनुभव बाहिर ल्याउने सन्दर्भमा कहिले आफैंप्रति इमानदारीका साथ यस्तो प्रश्न गर्ने गर्छन् । कहिले व्यङ्ग्यात्मक शैली र आलोचक चेतसहित सबैलाई प्रश्न गर्ने गर्छन् ।
आफ्ना अनुभवकै आधारमा फेरि पनि सामाजिक र सार्वजनिक रूपमा बहिष्कृत, अपमानित र असुरक्षित हुनुपर्ला कि भन्ने डरले पनि यस्ता प्रश्न उब्जिने र प्रकट हुने गरेका हुन् ।
अनुभव सबैका हुन्छन् । तर, जितारु, शासक, कथित उच्च तह, नस्ल, वर्गका विशेषगरी पुरुषका अनुभव ‘महान्’ हुन्छन् भनियो । उनीहरूका युद्धकौशलता, बुद्धिमानी, चतुरपन, कूटनीतिक र अरूमाथि हैकम राख्न सक्ने विशेषतायुक्त अनुभवहरूलाई विशेष स्थान दिई गौरवमय इतिहासको विषय ठहर्याइयो अनि राज्य, समाज र परिवार सञ्चालनका सामाजिक–सांस्कृतिक संहिता, वैचारिकी निर्माण तथा ज्ञान उत्पादनका बृहत् आधार बनाइयो । अनुभव र स्मृतिकेन्द्रित लेखनको अवधारणा, मापदण्ड, ढाँचा र शैली शासक–जितारुअनुकूल निर्माण गर्ने कामलाई एकरेखीय ढाँचामा व्यापक बनाइयो । शाषित र महिलाहरूमाथिको एकाधिकार कायम राखिराख्ने खालका ऐतिहासिक स्मृतिहरूमार्फत उच–नीचतालाई स्थायित्व दिइयो । दमन परम्पराको प्रतिरोधी ऐतिहासिक अनुभव, सीमान्तकृतहरूले गरेका प्रतिवादी अनुभव र इतिहासहरू विस्मृत बनाइए । सीमान्तकृतका अनुभव अनि इतिहासलाई दबाएर उनीहरूको स्मृति, प्रतिरोध र वैचारिकीमाथि प्रभुत्व स्थापित गरियो ।
‘बेकामे’ भनिएका शाषित–अनुभवहरूलाई निजी अर्थात् पारिवारिक वृत्तभित्र मौखिक कथाहरूमार्फत केही हदसम्म जीवित राखिए । पुस्तान्तरण गरिए । तिनले शाब्दिक विसर्जनका लागि स्थान र महत्त्व भने पाउन सकेनन् । विडम्बना, त्यस्ता मौखिक कथाहरूसमेत ज्ञाताको हैसियतमा रहिआएका पुरुषनिर्मित ‘पुरुषार्थ’ युक्त गाथाले भरिभराउ हुने गर्छन् । जिजुआमा, हजुरआमा, आमाहरूका अनुभव र स्मृतिकथाका ‘हिरो’ मूलतः तिनै हजुरबा, बा, श्रीमान् र छोरा–नाति हुने गर्छन् ।
जस्तै, आत्मकेन्द्रित स्मृतिकथा लेखनमा जुटेका महिलाका ताजा अनुभव–कथाहरू कि बाबु, श्रीमान्, कामकाजी वृत्तका पुरुष हाकिम, सहकर्मीको गुणगान र कृतघ्नपनको फेहरिस्तमै टुङ्गिन्थे । कि भने लेखकहरूप्रतिको उनीहरूको अनुदार व्यवहार तथा कार्यशैली उदारतामा परिणत भएको सुखद क्षणमा सकिन्थे । त्यहाँ भुक्तभोगी महिला आफूनिकटका पुरुषकै गुणगान र रूपान्तरणको साक्षी भई प्रस्तुत हुन्थे । र, परिवार, निकटतम, आत्मीय सम्बन्धमा रहेका पुरूषका ‘इमानदार’ अनि ‘दक्ष’ सहायककै हैसियतमा उभिएका हुन्थे । आफू शिक्षित हुनु, जागिरे बन्नु, सामाजिक क्षेत्रमा संलग्न हुनु, छोरी, बुहारी, श्रीमती, आमा, हजुरआमाको भूमिकासँगसँगै व्यावसायिक भूमिकामा समेत टिकिरहनु र सफलता हासिल गर्नुको भारी जस ‘हिरो’ हरूमा समर्पित गरिन्छन् । जबकि तिनै कथा मौखिक रूपमा भनिँदा–सुनिँदा केही हदसम्म त्यहाँ भोक्ताको भूमिका र हैसियत कहाँनेर हो भन्ने केही संकेत पाउन सकिन्थ्यो । शब्दहरूमा ढालिँदा तिनै कथा थप ‘हिरो’ मय बन्न पुग्थे । र, ‘मैले मेरो कथा लेखेँ, कथाको हिरो म आफैं बनेँ’ भन्ठान्दै सन्तोष मान्ने गरिन्छ ।
शाषित–पीडितको पीडा, आक्रोश, उकुसमुकुसको कथामा घरपरिवार, समाजले बुझेको, हेरेको, देख्न चाहेको र अपेक्षा गरेको दृष्टिकोणहरू हावी भएर आउने गर्छन् । जस्तै, ‘म महिला, त्यसमाथि पढ्न नपाएको, दलित, एकल, गरिब भएकैले म ज्यादै पीडित भएँ वा छु’ भन्ने यथार्थलाई मजैले बोध गरिएको कुरा प्रकट हुने गर्छ । त्यो भोक्ताले शाषित र दमितकै अकाट्य दैनिकी झेलेको कुराको वास्तविकता हो । तर, लेखक आफैं प्रभुत्वशाली दृष्टिकोण अनुरूपकै ‘पीडित’ कै छविभित्रै कैदी बनिरहनुचाहिँ दमित मानसिकताको पुनरुत्पादनको योद्धा बन्नु पनि हो ।
एकातिर पीडितको कथा भन्नासाथ दर्दनाक हेपाइ–चेपाइकै कथा हुनुपर्छ, हेपिएकाहरूको मानसिक–भावनात्मक–व्यवहारिक–वैचारिक वस्तुस्थितिलाई वास्तै नगर्ने बरु त्यसमा पनि हेप्ने–चेप्नेकै पराक्रमी गाथा उनिनुपर्छ भन्ने मानसिकता बदलिन बाँकी छ । अर्कोतिर पीडित–हिरो हुनका लागि भएभरका संरचनागत, प्रक्रियागत, सैद्धान्तिक, व्यावहारिक भँडखाडा, पर्खाल र तगारालाई चामत्कारिक तवरमा एक्लैले पार गरेको हो भनेझैं अर्थ लाग्ने कथा भनिनु वा लेखिनुपर्छ भन्ने धङ्धङी पनि छ । ‘पीडित’ एक्कासि ‘हिरो’ बन्नेखालका रहस्यमयी अनुभव–कथाको वास्तविकता, सत्यता र लेखकको इमानदारीप्रति त्यसले प्रश्न उब्जाउँछ ।
‘हाम्रा कथा चलनचल्तीअनुरूप लेखिन–पढिनलायक बनाउनुपर्छ’ भन्ने ध्याउन्नअन्तर्गत अपनाइने त्यस्तो शैली वर्चस्वशाली अनुभव–कथा, श्रवण–पठन–लेखनको प्रभाव हो । र, पुरुष, पुरुषार्थ–अनुकूलित हुर्काईबढाई, विचार निर्माण तथा पुनर्निर्माणको उत्तम नमुना हो । त्यो महिलावादी सिकाइ–पठन–लेखन संस्कृति, महिलावादी वैचारिकी निर्माणका निमित्त गर्नुपर्ने छलफल, चिन्तन–मननको संस्कृति र स्थान दुवैको अभावको उपज हो ।
नेपाली समाज निर्माणमा महत्त्वपूर्ण र हस्तक्षेपकारी भूमिका खेलेका महिलाहरूको कमी थिएन/छैन । तर, यत्तिको व्यहोराका अनुभव–कथा आफैं लेख्ने अभ्यास भर्खरै सुरु भएको छ । दमित मानसिकता र नियन्त्रित विचारको भारी बिसाउने कदम बल्ल त चाल्न थालिएको छ । नेपालको लोकतान्त्रिक व्यवस्था सुरु भएसँगै नेपाली समाजका सीमान्तका अनुभव तथा संघर्ष–कथाहरू बाहिरिन थालेका हुन् ।
मंगलादेवी सिंह, साहना प्रधानजस्ता राजनीतिक हस्ती महिलाहरूको जीवनी अरूद्वारा लेखिए । बृहत् शान्ति सम्झौतापछि माओवादी ‘जनयुद्ध’ का योद्धा तथा उक्त युद्धको चपेटामा परेकाहरूका अनुभव–कथाहरू लेखिने चलन बाक्लियो । त्यसबेला तुलनात्मक रूपमा पुरुषहरूकै कथाहरू बढीजसो लेखिए पनि आफैंले आफ्नो कथा लेख्ने महिलाहरू उल्लेख्य मात्रामा देखा परे । त्यसयता आफ्नो कथा आफैं लेख्ने अभ्यासले निरन्तरता पाएको छ ।
यद्यपि महिला स्वयंले लेखेको बलियो आत्मपरक कथालाई स्थापित ढर्रा र खाकाअनुरूप मापन गरी ‘स्तरहीन’ मान्ने मानसिकता र व्यवहार बलियै छ । त्यसले भुक्तभोगी स्वयंलाई आफ्नै स्मृति–कथा उधिन्न, अभिव्यक्त गर्न र उन्न उत्प्रेरित गर्दैन बरु निषेध र व्यापक असहयोगसँग पौंठेजोरी खेल्दै लेख्नुपर्छ । र, त्यसले व्यक्तिगत सामाजिक–सामुदायिक पुँजी र झिनो अभ्यासकै बलबुतामा आफ्ना कथा सार्वजनिक गर्ने सानो जमातको प्रयासलाई बेवास्ता गर्छ । जबकि सिपालु र स्थापित मानिएको लेखक (खासगरी पुरुष) ले महिलाका वास्तविक निजत्व–कथाहरू समेटेर बनाएको सामग्री भने साहित्यिक पुँजी, भाषा, शिल्प, प्रस्तुतिको हिसाबले ‘महिलाकेन्द्री उच्चकोटी’ को सृजना मानिन सक्छ । किनकि ती लेखन–पठनको वर्चस्वशाली विचार, रुचि र व्यावसायिक बजारसँग केही न केही तालमेल र पहुँच राख्न सक्ने हुन्छन् ।
त्यहाँ भुक्तभोगीहरू केन्द्रमा रहँदारहँदै पनि फगत कथाका ‘विषय’ वा ‘वस्तु’ का रूपमा मात्रै उभ्याइएका हुन सक्छन् । केन्द्रीय व्यक्तिको जीवन्त अनुभवलाई स्थान दिँदादिँदै पनि लेखकको ‘विषय’ वा ‘वस्तु’ प्रतिको दृष्टिकोण, लक्षित पाठक, पठन–बजारअनुकूलको खुराक र त्यसलाई पस्कने शैलीअनुरूप कथावस्तुलाई रोचकता प्रदान गर्ने कामले बढी महत्त्व पाउने गर्छ । त्यस्ता अनुभव–कथाहरूले महिलाका विशेषगरी सीमान्तमा रहेकाहरूको आत्मपरक जीवन्त अनुभवको वास्तविक मर्म र अर्थलाई हुबहु उतार्ने सामर्थ्य गुमाइसकेका हुनेछन् । अझ, सीमान्तमा रहेका समुदाय, व्यक्तिको कोणबाट ती अपुरा मात्रै होइन, असान्दर्भिक र अनर्थकारी पनि हुन सक्छ भन्ने वास्तविकतालाई पनि ढाकछोप गर्न सक्छ । बरु निश्चित ढर्राका चिन्तन र लेखन अभ्यासहरूकै बलबुतामा दमित, किनाराकृत र अपहेलित महिलाका स्मृति–कथा तौलिने मापदण्डलाई स्थायित्व प्रदान गर्दै लैजान्छ । त्यसले महिलाहरूलाई आफ्नो विगत र वर्तमान केलाएर बाहिर ल्याउनु पहिल्यै अघोषित, तर सशक्त रूपमा ‘अनुपयोगी’ बनाइदिन सक्छ ।
मूल कुरा, महिला तथा पीँधका आवाज र अनुभव अझै पनि सामाजिक–वैचारिक रूपमा मान्य छैनन् । उनीहरूका जीवन्त अनुभव, संघर्ष, पीडा, त्यसप्रतिको बुझाइ र त्यसले जन्माएको इच्छाबारे अभिव्यक्ति दिने विषयमा लगाइएको निषेध कायम छ । महिलाभित्रका पनि अझ पीँधमा रहेकाहरू अझै अस्तित्वविहीन, आवाजविहीन र स्तरहीन कोटीमै राखिएका छन् । यी तमाम प्रक्रिया, संरचना र अभ्यासहरूले महिलालाई कहिल्यै आफ्नो कथा आफैं भन्नलायक ‘व्यक्ति’ ठानेको छैन । महिलालाई दमित, शाषित, पुरुषको दोस्रो दर्जाको परिपूरक तथा सहायकको मानसिकता र विचारको मानसिक तथा वैचारिक भारी बोकाउने क्रम जारी छ ।
त्यसैले प्रभुत्वशाली विचार र जबरजस्ती लादिएको मानसिकतासँग लड्न सहज छैन । भिन्न पृष्ठभूमि र अवस्थाका महिलामाथि पारेको प्रत्यक्ष प्रभावकै कारण उनीहरूको आत्मपरक अनुभव–कथाहरूमा स्वत्व (सेल्फ) भेट्न गाह्रो छ । आलोचक चेत र विश्लेषणको पक्ष झिनो छ । अन्तरसम्बद्ध (इन्टरसेक्सनल) पाटाहरू र त्यसको जटिलताप्रति ध्यान पुर्याउन सकिएको छैन ।
समाजमा महिलालाई कहिल्यै पनि एक स्वतन्त्र व्यक्तिको हैसियत नदिनुको व्यापक प्रभाव हुन् यी । उनीहरूका भोगाइ, पीडा, संघर्ष, सम्झौता, सफलतालगायतका सबै–सबैमाथि पित्तृसत्तात्मक सामाजिक–सांस्कृतिक–राजनीतिक–वैचारिक शक्तिद्वारा राखिएको निषेध र नियन्त्रणका परिणाम हुन् । महिलाहरूसँग भएको अनुभव र विवेकको प्रयोग गर्न नदिईकनै उनीहरूलाई ‘विवेकहीन’ ठहर्याइनुको नजिता हो ।
त्यही निषेध र नियन्त्रणका कारण महिलाहरूका स्मृति–कथामा निजत्व र स्वत्वको खोज, बोध र स्थान–दाबी अति महत्त्वपूर्ण छ । महिलाहरूले आफ्नो स्मृति–कथामा आफैंले आफैंलाई न्यायोचित स्थान र हैसियत दिन अझै धेरै वैचारिक र मानसिक कसरतको खाँचो छ । कथा लेख्ने प्रसंग चल्नासाथ ‘मेरो अनुभव पनि कथा हुन्छ ?’ भन्ने प्रश्नसँगसँगै चरणबद्ध रूपमा ‘मैले लेख्न सकुँला र ?’, ‘म कथाको हिरो हुन सक्छु र ?’, ‘मैले आफ्नो कथा लेखेर के हुने हो र ?’, ‘मेरो कथा कसले किन पढ्ला र ?’ भन्ने अनेक प्रश्नको ओइरो लाग्ने गर्छ । यी प्रतिप्रश्न अनुभवबाहिर नल्याउने ध्येयले सोधिएका होइनन् ।
६ वर्षअघि ‘तिमी रिसर्चर कसरी बन्यौ भन्ने अनुभव लेख न’ भनेर मलाई एकजना अग्रज अध्येता दाइले भन्नुहुँदा ‘मेरो अनुभव लेख्ने बेला भएको छैन’ भन्ने तात्तातो प्रक्रिया दिएको थिएँ । त्यो मैले आफ्नो अनुभव लेख्नबाट उम्किनका लागि दिएको जवाफ थिएन । त्यसबेला मेरो अनुभव के नै छ र लेख्नुपर्ने ? भन्ने सोच ममा बलियो थियो । तर, जब मैले आफ्नो अनुभव लेख्न थालेँ, तब आफूलाई खोज्न थालेँ । आफ्नो वैचारिकी निर्माणको प्रक्रियाहरूलाई सुक्ष्म रूपमा केलाउन थालेँ । त्यसले आफू बाँचेको समाज, समय, सम्बन्ध, सहकार्य, (अ)सहयोगहरूलाई ओल्टाइ–पल्टाईकन, टक्टक्याईकन हेर्ने, बुझ्ने र विभिन्न कोणबाट अर्थ्याउन सक्ने खुबीको विकास गरायो । किनाराकृतहरूको अनुभव लेख्ने उचित समयबारेको सोच र अडान पनि परिवर्तन भयो । भाषा, शिल्प र शैलीबारे पनि केही जान्ने मौका पाएँ ।
विचार अभिव्यक्त गर्ने, निर्माण गर्ने सन्दर्भमा यस्ता प्रश्न र तिनले जन्माउने प्रतिफ्रश्नबीच अन्तर्त्रिया हुनुपर्छ । ती प्रश्न, प्रतिप्रश्नलाई अटुट र सघन रूपमा अभ्यास गर्दै आइएको लैंगिक सामाजिकीकरण प्रक्रिया, सोच्ने तौरतरिका, बुझ्ने–बुझाउने कोणहरूसँग गाँसेर हेरिनु, बुझिनु अनिवार्य छ । ज्ञान उत्पादनका ज्ञाता, कर्ता पुरुष र ज्ञानको निष्क्रिय अनुकरणकर्ता तथा ‘ज्ञात वस्तु’ महिलाको बृहत् संकथनको इतिहासलाई बुझ्नु अति आवश्यक छ । विभिन्न पक्ष र आयामहरूसहित ती प्रश्नको एकभन्दा बढी सापेक्षित उत्तरको खोजी गर्नु आवश्यक छ । ती उत्तर श्यामश्वेत स्वरूपमा भेट्ने अपेक्षा निरर्थक छ भन्ने विषयमा पहिले स्पष्ट हुन सके खोजी कार्यमा नैराश्यता र जटिलताको मात्रा स्वतः कम हुन्छ ।
निजत्व कथा अभिव्यक्त गरिनु वा लेखिनुमा धेरै विषयले भूमिका खेले पनि यो मूलतः नितान्त व्यक्तिगत काम–कुरा नै हो । त्यसैले महिला स्वयंले वैचारिक, मानसिक र बौद्धिक तवरमा आफूमा भएका सोच, दृष्टिकोण, बुझाइका पत्रहरू फुकाउने, केलाउने र तिनलाई पुनः सोच्ने, फेरि बुझ्ने र विभिन्न कोणबाट विभिन्न सम्बन्धसहित अर्थ्याउने कसरत गर्नैपर्छ । आत्मकथा, अनुभवकथा लेखनलाई महिलाहरूले आफ्नो स्मृति र दृष्टिकोणमाथि भएको नियन्त्रण भत्काउने कामका रूपमा लिनुपर्छ ।
प्रकाशित : भाद्र १८, २०७९
स्रोत : https://ekantipur.com/koseli/2022/09/03/166217216505786114.html