२००७ सालमा राणा शासन अन्त्य हुँदा नेपालमा साधारण लेखपढ गर्न सक्नेको संख्या सयकडा दुईभन्दा कम थियो ।
त्यसमा पनि शिक्षित महिलाको संख्या त नगण्य थियो । कारण, राणाकालीन नेपालमा सर्वसाधारणको शिक्षामा पहुँचलाई धेरै हदसम्म निषेध गरिएको थियो । तर पद्मशमशेर २००२ सालमा शासनरूढ भइसकेपछि उक्त शिक्षा नीतिमा १८० डिग्री परिवर्तन आयो, औपचारिक रूपमै । पद्मशमशेरले आफू प्रधानमन्त्री बनिसकेपछि दिएको भाषणमा रैतीहरूमाझ पनि ‘उपयुक्त शिक्षा’ प्रचार गर्नुपर्ने आवश्यकता दर्साएका थिए । दुनियाँलाई नपढाई, नियन्त्रण गरेर, मूर्ख बनाएर राख्ने होइन कि उनीहरूलाई ‘उपयुक्त शिक्षा’ दिनुपर्दोरहेछ, अन्यथा अरूको लहैलहैमा लागेर सरकारकै विरुद्ध जाइलाग्न सक्दा रहेछन् भन्ने चेत खुलेको उक्त वक्तव्यले बताउँछ ।
पद्मशमशेरको सोही वक्तव्यमै महिला शिक्षाबारे पनि एउटा वाक्य परेको छ, जसले महिलाले सिद्धान्त : औपचारिक शिक्षा हासिल गर्ने बाटो खोलेको थियो । यद्यपि, उनले उक्त बाटोको सीमासमेत सोही वक्तव्य मार्फत बाँधिदिएका थिए, ‘महिलाले शिक्षा आर्जन गर्न त हुन्छ, तर त्यस्तो शिक्षाले उनीहरूको चरित्र र व्यवहारमा दुष्प्रभाव पार्नु हुन्न’ भनेर । यो नीतिगत ‘डिपार्चर’पछि काठमाडौंमा र अन्यत्र पनि बालिकाहरू स्कुलमा पढ्न थालेको पाइन्छ ।
पद्मशमशेर शासनमा आएको करिब छ महिनामा समाजमा एक किसिमको खुला बहस गर्ने वातावरण सिर्जना भएको थियो, कम्तीमा ‘गैरराजनीतिक’ मुद्दामा । ‘गोरखापत्र’मा छापिएका सामग्रीबाट त्यो कुरा अनुभूत हुन्छ । ‘गोरखापत्र’ले आफ्नो आकार र आवृत्तिसमेत बढाएको थियो भने पाठक संख्यामा पनि निकै वृद्धि भएको थियो । त्यस्तै, पाठकहरूको पत्रिकामा सहभागिता पनि ह्वात्तै बढाएको थियो, सम्पादकलाई चिठी स्तम्भ मार्फत । यस्ता चिठीहरूले सुरुआती दिनमा ‘गोरखापत्र’मा एक पृष्ठभन्दा पनि बढी स्थान पाएका देखिन्छन् । केही समयपछि चिठी र लेखमा भिन्नता गरियो र लेखलाई समेत स्थान दिन थालियो । ती चिठी र लेखहरूमा स्त्री शिक्षाको विषयले राम्रै स्थान पाएको थियो । शिक्षा विभागको मुखपत्र ‘नेपाल शिक्षा’ मा पनि महिला शिक्षाबारे केही सामग्री छापिएका थिए । अन्य विषयमा भन्दा मूलत: यही विषयमा महिलाहरूले बहसमा भाग लिएका थिए ।
महिला शिक्षाको आवश्यकता
शासकबाटै शिक्षाबारे र महिला शिक्षाबारे पनि सकारात्मकता प्रदर्शन गरेपछि त्यसले सरकारी खबर पत्रिकामा समर्थन पाउनु अनौठो भएन । गोरखापत्रले एक कदमअघि बढेर ‘छोराछोरीलाई नपढाउने आमाबाबु शत्रु हुन्’ भन्न भ्यायो । त्यस्तै, ‘नेपाल शिक्षा’ ले सम्पादकीयमा लेख्यो, ‘एक जमाना थियो, जब यसो भन्ने चलन थियो : स्वास्नीमानिसलाई शिक्षा दिनु के छ – नचाहिँदो उपन्यास पढ्ने सोख बढाइदिनु छ, घमण्डी बनाएर लोग्ने, सासू–ससुरालाई नटेर्ने पारी सेवा गर्नाको सट्टा तिनको तिरस्कार गराउनु छ, घरको कामकाजमा ध्यान नदिएर त्यस्सै समय बरबाद गर्ने तुल्याउनु छ । तर आज त्यो जमाना छैन । अहिले पनि स्त्री शिक्षा कस्तो होस् भन्ने कुरामा वादविवाद चल्न सक्छ, तर स्त्रीलाई शिक्षा दिन हुन्छ वा हुँदैन भन्ने कुरामा त सबै दिनैपर्छ भन्नामा एकमत होलान् । स्त्री शिक्षाकै पूर्ण विरोध गर्नेसम्मकै स्वार्थी पुरुष त कोही होलाजस्तो लाग्दैन ।’
महिलालाई शिक्षित बनायो भने बिग्रन्छन् भन्ने जमाना सकिएको तथा महिला शिक्षाको विरोध गर्ने स्वार्थी मानिस समाजमा नहोलान् भनेर ‘नेपाल शिक्षा’ का सम्पादकले ठाने पनि पुरुषप्रधान समाजमा महिलालाई शिक्षा पचिहाल्ने कुरो थिएन । यद्यपि राणाकालमा श्री ३ को ठाडै विरोध एक त गर्न सकिन्नथ्यो, दोस्रो गरे पनि सरकारी पत्रमा त्यसले स्थान पाउने सम्भावना थिएन । तसर्थ, उनीहरूले आफ्ना भावना अप्रत्यक्ष व्यक्त गरे । उनीहरूले सरकारी प्रयत्नमा होमा हो जोडे र सँगै ‘तर’ भन्दै फुँदा पनि थप्न भ्याए ।
‘स्त्री शिक्षा पनि जरुरी छ, तर पहिले पुरुष शिक्षाको दरकार छ’ भन्दै भरतराज उपासकले लेखे– पहिले पुरुषहरू शिक्षित नभई स्त्री शिक्षाको द्वार खुल्दैन । तसर्थ स्त्री शिक्षाको भन्दा पुरुष शिक्षाकै बर्ता आवश्यक छ ।’ अर्का पाठक बलदेव सिंह पनि स्त्री शिक्षाले प्राथमिकता पाएकोमा खुसी देखिएनन् ‘स्त्री शिक्षाका लागि स्कुल खुले मात्र हाम्रो देशको उन्नति हुने होइन । हामी गरिब भएकाले शिक्षामा खर्च गर्न सक्दैनौं । पहिले आफ्नो देश सुधारी फेरि हामीले स्त्री शिक्षातिर ध्यान दियौं भने बेस होला कि जस्तो लाग्छ ।’ त्यस्तै मेदिनीप्रसाद उप्रेतीले लेखे, ‘जुन देशमा सयकडा ९५ पुरुष अनपढ छन्, त्यहाँ स्त्री शिक्षाको के महत्त्व † देशोन्नति हुँदै गएमा महिलागणले पनि शिक्षाको स्थान पाउनेछन् ।’
देशोन्नतिपश्चात् मात्रै महिला शिक्षित हुने केहीको मत भए पनि केही अरूले देशोन्नतिको पूर्वसर्त नै महिला शिक्षा ठहर्यानएका थिए । शिक्षा विभागका डाइरेक्टर जनरल मृगेन्द्रशमशेरको कथन थियो, ‘स्त्री शिक्षा नभई देश उन्नत हुन सक्तैन भन्ने कुरामा वादविवाद हुन सक्तैन । महिलावर्ग शिक्षित नभई देशमा शिक्षा फैलिन सक्तैन ।’
महिला अशिक्षित हुँदाका बेफाइदा
महिला शिक्षा र देशोन्नतिको सम्बन्ध स्त्री शिक्षासम्बन्धी बहसमा रोचक हिसाबले गाँसिएको छ । बहसमा व्यक्त तर्कको मजबुन यस्तो थियो : नेपाली महिला शिक्षित भएनन् र ती शिक्षित नहुँदा देशकै दुरवस्था भयो । न तिनले पुरुषलाई सुख दिन सके, न तिनले बालबच्चालाई उचित संस्कारै दिन सके । फलत: घर घर रहेन । समाज बिग्रियो । मुलुक अधोगतितर्फ गयो ।
महिलाले शिक्षा नपाउदा पुरुषले दु:ख पाएकोले स्त्री शिक्षाको अवश्यकता दर्साउने केही थिए । पाठक ‘ख’ को कथन थियो, ‘शिक्षाको अभाव र शिक्षा भए पनि त्यसको व्यभिचार ? ले गर्दा हाम्रा नेपालमा स्त्री जातिहरू अन्न सिध्याउन र विदेशी चीजले अंगप्रत्यंग सिंगारी पुतली बन्न अघि सरेका छन् । युरोप, हिन्दुस्तानतर्फका स्त्री जातिमा राम्रा शिक्षा भएकाले उन्नति कति राम्रो छ । यहाँका आइमाईहरू लोग्ने मानिसको पसिनाको कमाइमा मनपरी गरी कर्तव्यमा समेत बाधा दिने भइरहेका छन् ।’
स्त्री शिक्षा अभावबाट हुन सक्ने सम्भावित खतरालाई अर्को पुरुषले यसरी दर्साए, ‘छोरीलाई असल शिक्षाबाट वञ्चित गराई अनेकन बाहिरी गहनाले सजधजसाथ ढल्कँदो यौवनावस्थासम्म घरमा राख्ता अभिसारिकाको रूपमा ढल्कन जान के बेर ? यस्तो भएमा बाबुको इज्जत, नाम, कुलमा कलंक लाग्छ ।’
गोरखापत्रले सम्पादकीयमा लेख्यो, ‘स्त्री भनेका गृहस्थ जीवनका मूल थाम हुन् । केटाकेटी उमेरदेखिन यथोचित शिक्षा पाएमा उनीहरूले आफ्नो गार्हस्थ्य जीवनलाई अवश्यै पनि चहकिल्याउनेछन् । शिक्षित आइमाईलाई समय र विद्याको मूल्य थाहा हुन्छ । उनीहरूको समय बेकारमा कहिल्यै बित्न पाउन्न । शिक्षित स्त्रीका सन्तानहरूले बालककालदेखि नै तालिम पाउँछन् ।’
महिला पुरुषको आधा अंग भएको तर सो आधा अंग काम नलाग्ने पत्रु भएकाले राष्ट्रको उन्नति हुन नसकेको भन्ने पुरुषहरूको ठहर देखिन्छ । त्रिचन्द्रका यज्ञविक्रम राणाले राष्ट्रलाई चरासँग तुलना गरे, ‘राष्ट्र एउटा चरो हो । पुरुष र स्त्री यसका दायाँ र बायाँ पखेटा हुन् । एउटा पखेटाले मात्र चरा कदापि उड्न सक्तैन ।’
पुरातन मूल्य, मान्यताहरू हटाउन लेखकहरू भरमग्दुर प्रयत्नरत देखिन्छन् । स्त्री शिक्षा विदेशीको नक्कल होइन भन्ने पुष्टि गर्न उनीहरू गार्गी, मैत्रेयीजस्ता पौराणिक विदुषीको नाम उल्लेख गर्दै महिला शिक्षालाई हिन्दू धर्ममा वर्जित नगरिएको तर्क गर्छन् । अर्कोतिर, महिला शिक्षित भए भने पुरुषको हाराहारीमा आउन खोज्छन् । पुरुषको ‘डोमेन’ (बाहिरी कार्य) मा लाग्छन् । भाग खोसिदिन्छन् । फलत: पुरुष शक्तिको आधारै ढल्छ । तसर्थ महिलाई पुरुषकै जस्तै होइन कि ‘उपयुक्त’ शिक्षा दिनुपर्नेमा सबैजसो पुरुषको जोड देखिन्छ ।
महिलाका लागि ‘उपयुक्त’ शिक्षा
सरकारी तवरबाट २००४ सालमा कन्या स्कुल खुलेपछि गोरखापत्रले सम्पादकीयमा लेख्यो, ‘शिक्षा विभागतर्फबाट दरबार स्कुलमा कन्या पाठशाला पनि हालै खुल्यो । भविष्यका माताहरूले पनि देशकाल सुहाउँदा समुचित शिक्षा पाउने सुअवसर पाए । अब उनीहरूले खासगरी गार्हस्थ्य विज्ञान, पाकशिक्षा सन्तति शिक्षा र गृहस्थ धर्मको मर्म बुझी परिवार र आफ्नो भविष्य चहकिलो गराउनेछन् भन्ने आशा हामीलाई छ ।’
स्त्री र पुरुषको कार्यक्षेत्र भिन्दाभिन्दै भएकाले स्त्रीहरूको शिक्षा र पुरुषहरूको शिक्षा भिन्दै हुनुपर्ने तर्क पुरुष लेखकहरूको रह्यो । स्त्रीलाई शिक्षा त दिने तर त्यस्तो शिक्षा गार्हस्थ्य शिक्षा हुनुपर्छ, भूगोल इतिहास आदि विषयको हैन भन्ने अर्को पुरुष सिद्धिनाथको विचार रह्यो । उनले लेखे, ‘पकाउने, खुवाउने, धुवाउने, सिलाउने, मान्यजनलाई आदरोचित व्यवहार स्त्रीका कर्तव्य भए तापनि तीबारे स्त्रीले कुनै शिक्षा पाउँदैनन् र परिणामत: पतिले दु:ख पाएको बेला मद्दत गर्ने भक्तित्वको अभाव तिनमा हुन्छ । त्यसैले स्त्रीलाई गृहशिक्षा चाहिन्छ, भूगोल, इतिहासको शिक्षा होइन ।’ उनले थपे, ‘अहिलेको मानवसमाजले घरधन्दाको काम राम्रोसित चलाउन घरको जिम्मेवारी स्त्री जातिलाई र बाहिरी कार्यको अभिभारा पुरुष जातिउपर स्थापना गरेका हुन् ।’
महिलालाई शिक्षा पुरुषको भन्दा भिन्न हुनुपर्छ भन्ने तर्क प्रबल रूपमा राख्नेमा दरबार हाइस्कुलका प्रधानाध्यापक बोधविक्रम अधिकारी प्रमुख थिए । उनले राखेका तर्क अहिलेको परिप्रेक्ष्यमा अलि अनौठा तर ‘रोचक’ लागे पनि आफूलाई ‘प्रगतिशील’ ठान्ने तत्कालीन पुरुष समाजको प्रतिनिधि सोच थियो त्यो । उनको विचार थियो, ‘स्त्री र पुरुष मिलेर मात्र पूरा अंग बन्छ । तसर्थ आफ्नो बायाँ अंगलाई दायाँ अंगसँग समान तुल्याउन खोज्नु अर्थात् पुरुषले स्त्रीका मन शरीरको विकास हुने शिक्षा दिनु त आफ्नै हितको कुरा हो । स्त्रीलाई जो चाहिने शिक्षा हो त्यसमा र पुरुष शिक्षामा धेरै भेद रहन्छ । आजकालका पाश्चात्य हावाले भेटेका स्त्री जातिहरू त पुरुषलाई जो शिक्षा दिइन्छ, त्यो सबै हामीलाई मिलोस् हामी स्त्री जाति पुरुष जातिभन्दा कुनै कुरामा कम्ता छैनौं, हुन पनि चाहन्नौं भन्छन् । तर स्त्री जातिले पुरुषको शिक्षा पाउन गएमा गृहस्थाश्रम राम्रोसँग चल्न सक्तैन र त्यसबाट सुख र शान्ति मिल्दैन किनभने जब स्त्री जातिलाई पुरुषको इलम मिल्छ, उसमा पुरुषसँग टेकाटेक गर्ने विचार आउँछ, तँभन्दा म के कम भन्ने अभिमान चढिहाल्छ । स्त्री शिक्षा यस्तो हुनुपर्छ जसबाट उसले घरधन्दाको सारा बोझ थाम्न सकोस् र पतिको निमित्तमा सुख शान्तिको मूल बन्न सकोस् ।’ महिला शिक्षालाई अंग्रेजी भाषासँग जोडेर उनले गरेको टिप्पणी पनि उत्तिकै अनौठो छ, ‘अंग्रेजी भाषामा यस्तो मोहनी छ कि त्यो सिकेपछि अंग्रेजी धर्म पनि सिक्न मन लाग्ने र खास गरेर अंग्रेजी चालचलन सिक्न मन लाग्ने हुन्छ र आफ्नो धर्म र चालचलनलाई तुच्छ गर्न मन लाग्ने हुन्छ अनि हाम्रो हिन्दू धर्मको जग खलबलिन थाल्छ । तसर्थ धेरैजसो स्त्रीहरूलाई त विदेशी भाषाको शिक्षा दिन पनि ठीक देखिँदैन ।’
हेडमास्टर अधिकारीभन्दा एक कदमअघि बढेर ‘बाउँठे पण्डित’ले लेखे, ‘आइमाईलाई चाहिँदो शिक्षा खासगरेर स्त्रीपयोगी शिक्षा मात्र दिनुपर्छ । खबरदार † बर्ता शिक्षा दिन हुन्न ।’ त्रिचन्द्रका यज्ञविक्रम स्त्री शिक्षाको हिमायतीजस्तो देखाए पनि उनको ‘स्त्री सद्भाव’ पूरै ‘पेट्रोनाइजिङ’ छ, ‘स्त्री र पुरुषको कार्यक्षेत्र भिन्दाभिन्दै भएकाले स्त्रीहरूको शिक्षा र पुरुषहरूको शिक्षा भिन्दै हुनुपर्छ । स्त्रीहरूमा पनि पुरुषमा जस्तै बुद्धि हुन्छ तर उनीहरूको कार्य क्षेत्र गृहस्थी भएकाले सोहीअनुसारको शिक्षा ।’
गोरखापत्रले २००४ साल वैशाख १ गते ‘स्त्री शिक्षार्थ’ शीर्षकमा सम्पादकीय टिप्पणी छाप्यो र हेडमास्टरकै लाइनलाई समर्थन गर्योि, ‘स्त्रीलाई पुरुषैसरह उच्चशिक्षाको आवश्यकता ठहराउने विज्ञहरू पनि निकै देखिए । पुरुषैमा यहाँ अहिले वास्तविक शिक्षित ता सयकडा चार पनि छैनन् । हाम्रो वर्तमान समाजलाई पुरुषहरूमै बढ्ता शिक्षाका आवश्यकता छ । स्त्रीहरूले पनि शिक्षा अवश्य पाउनुपर्छ । तर शिक्षा भन्दैमा समानताको निम्ति उल्टो पुरुषसँग पाखुरा निमोठ्न सिकाउने चाहिँ स्त्रीशिक्षा त हामीलाई चाहिएको छैन । स्त्री भनेका गृहस्थ जीवनका मूल थाम हुन् । शिक्षित स्त्रीका सन्तानहरूले बालककालदेखि नै तालिम पाउँछन् । यस विषयमा आखिर हेडमास्टर साहेबकै वास्तविक विचारको नै अनुमोदन गर्छौं ।’
महिलालाई शिक्षा दिनुपर्छ भनेर कतिपय पुरुषले वकालत गरे पनि त्यस्तो शिक्षा ‘उचित,’ ‘उपयुक्त’ हुनुपर्ने, त्यस्तो शिक्षा महिलोचित हुनुपर्नेमा सबैजसो पुरुषको जोड देखिन्छ । पुरुषले खोजेको स्त्री शिक्षा महिलाहरूको घरेलु जीवनको ‘एक्स्टेन्सन’ थियो । सीमाको ‘एक्सपान्सन’ थिएन । महिलाहरूलाई माया गरेजस्तो गरेर, उल्याएर, थर्काएर, धम्क्याएर तिनलाई कठपुतली बनाएर नचाउन चाहन्थे पुरुषहरू । फरक यत्ति हो, पद्म शासनारूढ हुनुअघि शिक्षामा नियन्त्रण गरेर, त्यसपछि ‘उचित’ शिक्षा प्रदान गरेर ।
स्रोतः https://www.kantipurdaily.com/koseli/2016/05/21/20160521103111.html