रेडियोका कुरा

2021-10-10

घनश्याम खड्का

कुनै समय रेडियो सुन्न पर्खनुपर्थ्यो। सुरुमा दिनको साढे चार घन्टा प्रसारण थालेको रेडियो अलिअघिसम्म पनि बिहान ६ बजेदेखि ११ बजेसम्म, दिउँसो १ बजेदेखि राति ११ बजेसम्म मात्रै बज्थ्यो ।

रेडियो नेपाल मात्रै प्रसारण हुँदाको समयमा हुर्केको पुस्ताको यो अनुभव अचेल चौबीसै घन्टा बज्ने छ्यासछ्यास् ती एफएम भएको यो जुगमा हुर्कंदै गरेकाका लागि अपत्यारलि लाग्दो हो ।

एफएम नसुनिने कुनै कुनो सायदै होला देशमा । यो वर्षान्तमा मात्रै दुई सय ९० एफएम रेडियोले प्रसासरणका लागि इजाजतपत्र लिए । त्यसको झन्डै आधाभन्दा बढी अर्थात् १ सय ५३ त सञ्चालनमा आइसकेकै निकै भइसक्यो । प्रतिस्पर्धामा टिक्न रेडियो नेपाल पनि २४ घन्टे प्रसारण थालिसकेको छ ।

दशकयता सञ्चारमा नेपालले मारेको फड्को दक्षिण एसियामै नमुना मानिन्छ । एफएम रेडियोको संख्याले पनि त्यस्तै देखाउँछ । जनतालाई सुसूचित गर्न र तिनको आवाज राज्यसम्म पुर्यायउन रेडियोले ठूलो भूमिका निर्वाह गरेको छ । श्रोताले खोजेजस्तो कार्यक्रम उत्पादन भइरहेका छन् ? आवाजहीनहरूको आवाज कति र कसरी समेटिएको छ ? प्रश्न धेरै छन् ।
 
हालै मार्टिन चौतारीले निकालेको पुस्तक 'स्वतन्त्र रेडियोको एक दशकः विकास, बहस रसामाजिक सरोकार' ले उत्तर दिने जमर्को गरेको छ । दशकयता एफएफले गरेको विकास र चुनौती पर्गेल्न चौतारीले पौने चार सय पृष्ठको यो पुस्तकमा एक दर्जन लामा लेख समेटेको छ ।
यसअघि उसले रेडियोबारे 'स्थानीय रेडियोः सम्भावना र उपयोगिता-२०५९', 'रेडियो नेपालको सामाजिक इतिहास-२०६१', 'रेडियोसँग हुर्कंदा-२०६२', 'रेडियो पत्रकारिताः एफएममा समाचार र संवाद-२०६२' र 'शाही शासनमा स्वतन्त्र रेडियोः दमन र प्रतिरोधको कथा-२०६४' जस्ता पुस्तक प्रकाशन गरसिकेको छ ।
डेनिस अन्तर्राष्ट्रिय विकास सहयोगको मानव अधिकार र असल शासन सल्लाह इकाइको आर्थिक सहयोगबाट छापिएको यो पछिल्लो पुस्तक तीन खण्डमा विभक्त छ । पहिलोमा स्वतन्त्र रेडियोको विकास, उपलब्धि र चुनौतीबारे सामग्री छन् । यसमा गोपाल गुरागाई, देवराज हुमागाई, पवनप्रकाश उप्रेती, माधवकुमार बस्नेत, कोमल भट्ट र विनय गुरागाईंका लेख छन् ।

दोस्रो खण्ड एफएम रेडियोले समेटेका सामाजिक सरोकारका कार्यक्रमबारे छ । यसमा हरकिला अधिकारी, कृष्णराज सर्वहारी, जेबी विश्वकर्मा र धीरेन्द्र प्रेमषिर्का लेख छन् । तेस्रोमा चाहिँ एफएममा श्रोताको पहुँच र सहभागिताबारे प्रत्युष वन्त र गुणाकर अर्यालले मसी खर्चेका छन् ।

२०५२ मा रेडियो नेपालले एफएमको सुरुवात गर्यो् । तर  पहिलो स्वतन्त्र एफएमचाहिँ 'रेडियो सगरमाथा' हो, जसले २०५४ जेठ ५ मा इजाजत पाएर जेठ ९ मा प्रसारण थाल्यो । त्यसयता वर्सेनि एफएम संख्या बढ्दै गएको छ । राजधानीमा थप एफएम आउन नसक्ने गरी  फ्रिक्वेन्सी सकिएको छ । यसबारे पुस्तकमा तथ्यांकसहितका खोजबिन छन् । सुरुवाति दिनमा एफएम थोरै थिए, श्रोता धेरै । अचेल ठिक उल्टो छ । विज्ञापनको दर र संख्या घटेको छ । मुस्किलले औंलामा गन्न सकिने एफएम फाइदामा होलान् । धेरै भए पनि एफएमहरू सबै उस्तै छन् । सबैले एकैखाले कार्यक्रम बजाउँछन् । कलसाइन बजेको बेलाबाहेक अरू समय श्रोताले आफू कुन रेडियो सुनिरहेको छु भनेर छुट्टयाउन सक्दैनन् । संख्या धेरै हुनाले खोजिएको रेडियो  फ्रिक्वेन्सीलाई ठ्याक्कै भेट्न सकिँदैन । कतिपय रेडियो स्टेसनको आवाज अचेल आउनै छाडेको छ । आए पनि त्यसको गुणस्तर घटेको छ । यी विषयमा पनि पुस्तकमा विश्लेषण र बहस छ ।

पुस्तकमा कमजोरी पनि धेरै छन् । 'नेपालको परिवेशलाई हेर्ने हो भने काठमाडौं र बाहिरका केही ठाउँ बाहेक अन्य ठाउँमा अहिलेसम्म रेडियो ट्युन गर्न त्यति अप्ठेरो स्थिति आइसकेको छैन तर बढ्दो स्टेशनहरूको संख्याले गर्दा भोलिका दिनहरूमा यो स्थिति नेपालका अन्य क्षेत्रमा पनि देखिन थाल्नेछ ।' इक्वेल एक्सेसका प्राविधिक संयोजक पवनप्रकाश उप्रेतीको लेखमा प्रयुक्त यो वाक्य गल्ती र अस्पष्टताको एउटा नमुना मात्रै हो । राम्रो सम्पादन हुँदो हो त थोरै पृष्ठमा पनि पुस्तक पठनीय हुने थियो ।

कान्तिपुर (कोशेली), २०६५ पुस ४ (2009 Jan 17), पृष्ठ ग


About the Author

More Blogs