स्वतन्त्र रडियो दमनको कथा

2021-10-11

शिवप्रसाद भट्टराई

वि.सं २०६१ साल माघ १९ गते बिहान गरिएको शाही घोषणा सँगसँगै सञ्चार क्षेत्र र सञ्चारकर्मीहरुमाथि गरिएको दमन, हस्तक्षेप एवं त्यसको प्रतिरोधसम्बद्ध विविध यथार्थ वृतान्तहरुले भरिएको पत्रकार विनोद ढुङ्घेलको प्रस्तुत पुस्तक मूल रुपमा त्यस समयमा नेपालभरिका स्वतन्त्र रेडियोहरुले भोग्नुपरेका विविध दमनचक्र र त्यसको प्रतिरोधमा नेपालभरि गरिएका विभिन्न किसिमका संघर्षहरुको ऐतिहासिक एवं प्रामाणिक दस्तावेजको रुपमा प्रकाशित हुनपुगेको पाइन्छ । जम्मा पाँच परिच्छेदमा विभाजन गरि लेखिएको प्रस्तुत पुस्तकको परिच्छेद एकमा त्यसबेला स्वतन्त्र रेडियोमाथि भएका भौतिक, आर्थिक एवं कानुनी दमन आदिको इतिवृत प्रस्तुत गर्दै परिच्छेद दुईमा उपर्युक्त किसिमका दमनहरुको कारण स्वतन्त्र रेडियोमाथि पर्न गएको प्रतिकुल प्रभाव र त्यसले रेडियो पत्रकारिताको क्षेत्रमा सिर्जना गर्नुपरेका सङ्कटापन्न स्थितिको सम्यक् विश्लेषण प्रस्तुत गरेको छ ।
अभिव्यक्त स्वतन्त्रताका पक्षधर पत्रकारहरुको सही र यथार्थ सूचना सम्प्रेषण गर्ने दायित्वलाई बलपूर्वक दबाएर नागरिकको सुसूचित हुन पाउनुपर्ने अधिकारमाथि नै ठूलो प्रहार गरिएको अवस्थामा पत्रकारहरु मौन नबसी सडक–सङ्घर्षकमा प्रस्तुत भएका र यस क्रममा देशभरिका एफएम प्रसारण माध्यमहरुलाई समाचार र सूचनामूलक कार्यक्रमहरुको प्रसारणमा प्रतिबन्ध लगाइएको अवस्था तत्काल फुकुवा गर्न गरिएका चरणवद्ध सङ्घर्षमा विविध यथार्थहरुलाई पुस्तकको परिच्छेद तीनमा वर्णन गरिएको छ । प्रेस स्वतन्त्रता हनन्सम्बन्धी सम्पूर्ण परिदृश्यहरुको निन्दा गर्दै शान्ति र लोकतन्त्रका लागि प्रेस स्वतन्त्रताका पक्षमा भए–गरिएका विविध सङ्घर्ष, पत्रकारहरुमाथि गरिएका दमन र धरपकड, स्वतन्त्र रेडियो बचाउ आन्दोलन, केन्द्रीय कार्यसमितिको गठन, यस किसिमको आन्दोलनको क्रममा देशभरिका पत्रकार र नागरिक समाजका तर्फबाट प्राप्त भएको सहयोगात्मक समर्थन आदि विविध पक्ष र पाटाहरुको क्रमबद्धरुपमा विस्तारपूर्वक वर्णन पुस्तकमा गरिएको छ । यस्ता वर्णनहरु विभिन्न स्रोत र सामग्रीहरुमा आधारित भएर गरिएको हुनाले यसको सापेक्षतामा पुस्तकभित्र स्वतन्त्र पत्रकारितामाथि भएको दमन र त्यसको प्रतिरोधको जीवन्त चित्रण पाइन्छ । यो परिच्छेदमा सडक–सङ्घर्षका विविध आयाम र त्यसका प्रत्येक आरोह–अवरोहहरुको विस्तृत चर्चा गरिएको छ । कू–विरुद्धको आन्दोलनमा रेडियो, रेडियोको विशिष्ट आन्दोलन, रेडियो पत्रकारहरुको सचेत भूमिका, स्टुडियोमार्फत् नै गरिएको अवज्ञा, उपचारात्मक तथा प्रतिकारात्मक किसिमले अंगालिएको कानुनी बाटो र रेडियो–स्वतन्त्रता संरक्षणका लागि राज्यपक्षसँग गरिएका विविध किसिमका वार्ता, छलफल र अन्तरक्रियापछि पनि सङ्घर्षका नयाँ कार्यक्रम घोषणा गर्न बाध्य र विवश हुनुपरेको विविध यथार्थहरुको नालीबेलीको समग्र पक्ष पनि यो परिच्छेदमा समाहित छ ।

पुस्तकको चौथो परिच्छेदमा पत्रकारहरुले प्रेस स्वतन्त्रताको पक्षमा चलाएका विविध किसिमका सङ्घर्ष र आन्दोदनका क्रममा समग्र सञ्चार जगत्ले निर्वाह गरेको भूमिका, खोसिएको रेडियो स्वतन्त्रता प्राप्तिका लागि कानुनी व्यवसायी, पेशागत समूह, नागरिक समाज, मानवअधिकारकर्मी र अन्तराष्ट्रिय क्षेत्रका सञ्चार जगतबाट प्राप्त सहयोग, समर्थन र धारणा एवं जनआन्दोलन–२ पछि मुलुकमा लोकतन्त्र स्थापना भएको अवस्थामा पनि सञ्चार जगत्ले प्रेस–स्वतन्त्रताको पक्षमा निरन्तर सचेतकको भूमिका निर्वाह गर्न अग्रसर हुनुपर्ने आजको सामयिक आवश्यकतामा गहन प्रकाश पारिएको छ ।

पाँचौ परिच्छेदमा नेपालका रेडियोहरु आफ्नै सफलताका कारण निरङ्कुश प्रवृतिको सिकार हुन पुगेको र माघ १९ को शाही घोषणा सँगसँगै यसले काला दिनहरुको सामना गर्नुपरेको यथार्थको चर्चा गर्दै नेपालमा सबै रेडियोहरुले आफ्नो प्रसारणको स्तर, विश्वसनीयता र लोकप्रियता अझअभिवृदि गर्न क्रियाशील हुनुपर्ने आवश्यकतामा प्रकाश पारिएको छ । यसो हुनसकेमा नै भ्रमको शासन चलाउने शासकीय असंवेदनशीलतालाई चिर्न सकिन्छ । यसका लागि रेडियोले सदैव नागरिक अधिकार र हितका लागि निरन्तर क्रियाशील हुनुपर्छ । शाही शासन विरुद्ध भएको स्वतन्त्र रेडियोकर्मीहरुको आन्दोलनमा नागरिकहरुबाट प्रान्त सहयोग र समर्थनले पत्रकार जगत्लाई यो सन्देश प्रवाहित गरेको छ भने राज्यपक्षलाई खुला समाजको वर्तमान युगमा कुनै पनि सरकारले बन्द समाज टिकाउन सक्दैन भन्ने यथार्थहरुलाई विभिन्न साक्ष उदाहरणहरुका कसीमा व्याख्या–विश्लेषण गर्ने सार्थक प्रयास पुस्तकले गरेको छ । पुस्तकले अनुसूचीमा स्वतन्त्र रेडियो बचाउन आन्दोलनसम्बन्धी काठमाण्डौं घोषणापत्र, राजालाई देशभरिका स्वतन्त्र एफएम रेडियोहरुका तर्फबाट दिइएको ज्ञापनपत्र, स्वतन्त्र रेडियोको आत्मकथा र सूचना तथा सञ्चार मन्त्रालयसँग वार्ताका लागि स्वतन्त्र रेडियो बचाउन आन्दोलन केन्द्रीय सङ्ग्रहित छ । मूल रुपमा त्यसबेलाको रेडियोले भोग्नु परेका अत्यन्त त्रासदपूर्ण अवस्था र दुःखद नियतिहरुमाथि विस्तृत रुपमा प्रकाश भएका दमन, पत्रकारहरुको सङ्घर्ष र प्रतिरोध एवं प्रभावसम्बद्ध विविध सत्य र यथार्थ समावेश गरिएको कारण यस विषयमा रुचि राख्ने सबैका लागि पुस्तक पठनीय र सङ्ग्रहणीय समेत बन्न पुगेको पाइन्छ ।

स्रोतः गोरखापत्र(शनिबार), २८ पुस २०६४, पृ. २


About the Author

More Blogs