पुस्तकमा टेलिभिजन
2021-10-10मार्टिन चौतारीले प्रकाशित गरेको पछिल्लो पुस्तक नेपाली टेलिभिजनः अभ्यास, अनुभूति र विश्लेषण मा नेपाली टेलिभिजनको विगत र वर्तमान विश्लेषण गरिएको छ । पुस्तकको नाम नेपाली टेलिभिजन भने पनि सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनको विषयले पुस्तकमा धेरै ठाउँ पाएको छ ।
दीपा गौतम र शेखर पराजुलीद्वारा सम्पादित पुस्तकमा १३ लेखकका लेख समावेश छन् । पुस्तकको परिचय खण्डमा पराजुलीले टेलिभिजन संस्कृतिबारे लेखाजोखा गरेका छन् । यसमा टेलिभिजन स्थापनाकाल र पछि टेलिभिजनमा निजी क्षेत्रको प्रवेशलाई छोटो रुपमा विश्लेषण गरिएको छ । नेपाली टेलिभिजनहरुले प्रसारण गरिरहेका कार्यक्रम कस्ता-कस्ता छन् भनेर पनि देखाउन खोजिएको छ ।
पुस्तकलाई इतिहास, समाचर, टेलिभिजन, वृत्तचित्र र टेलिभिजनमा समावेशीकरण खण्डमा बाँडिएको छ । इतिहास खण्डमा नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धकहरु दुर्गानाथ शर्मा र मदनकुमार शर्माले नेपाल टेलिभिनको इतिहास विवेचना गरेका छन् । दुर्गानाथ शर्माले नेपालमा टेलिभिजनको सुरुवात नेपाल टेलिभिजनको समाचार कार्यक्रम जनशक्ति र प्रविधिक पक्ष केलाएका छन् । मदनकुमार शर्माले टेलिभिजन कार्यक्रमलाई मनोरञ्जनात्मक कार्यक्रम सूचनामूलक कार्यक्रम शैक्षिक कार्यक्रम, साहित्यिक कार्यक्रम र विविध भनी व्याख्या गरेका छन् ।
समाचार खण्डअर्न्तर्गत नेपाल टेलिभिजनकी प्रमुख समाचार सम्पादक रमा सिंहले टेलिभिजनमा काम गर्दाका तीतामिठा अनुभव उचारेकी छन् । उनले लेखेकी छन् गन्तव्यबिनाको यात्राले अन्योल उब्जाउँछ भनेझै नेपाल टेलिभिजन पनि आफ्नो यात्रामा अलमलिएको पाइन्छ । यसले शासन सत्तासँग निरपेक्ष रही आफ्ना लक्ष्य निर्धारण गर्न सकेको छैन । सरकारमा आउने परिवर्तनसँगै तालमा ताल मिलिाउनु यसको पहिलो काम भएको छ ।
उनले समयको विकासक्रममा नेपाल टेलिभिजनमा समाचारको स्वतन्त्रता कस्तो हुँदै आएको छ भनेर पनि उल्लेख गरेकी छन् । उनले गणतन्त्रपछिको स्थिति पनि अरू समयजस्तै अन्यौल हुनु दुःखदायी हो भनी आफ्नो निचोडमा लेखेकी छन् ।
त्यस्तै निजी क्षेत्रको बारेमा कान्तिपुर टेलिभिजनका संवाददाता जगत नेपालले लेखेका छन् । उनले निजी टेलिभिजनको स्थापना र त्यसपछि सरकारी पक्षबाट विशेषगरी शाही शासनबाट निजी टेलिभिजनहरुले भोग्नुपरेको नमिठो अनुभव पाठकसामु पोखेका छन् । खेलकुद पत्रकार राजु सिलवालले नेपाली टेलिभिजनका खेल समाचार र कार्यक्रमबारे लेखेका छन् । उनले खेल कार्यक्रम धेरै कम भएको पनि उल्लेख गरेका छन् ।
खण्ड तीनमा लयप्रसाद सङ्गौला र दीपक रौनियारले नेपाली टेलिफिल्मको समीक्ष गरेका छन् । सङ्गौलाले नेपालको पहिलो टेलिफिल्म श्री ५ पृथ्वीनारायण शाहदेखि हालसम्म बनेका हास्यश्रृङखलाले पारेका सकारात्मक र नकारात्मक प्रभावको विवेचना गरेका छन् ।
रौनियारले नेपाली हास्य टेलिशृङखलाहरू लोकप्रिय छन् तर तिनीहरु सामाजिक रुपले जिम्मेवार नभएको उल्लेख गरेका छन् । उनले अर्कालाई नहोच्याई, राज्य र समाजको उछितो नकाढी विभिन्न वर्ग र समुदायको मन नदुखाई हँसाउने पो हँसाउनु भनेका छन् । त्यस्तै हाम्रा टेलिशृङखला निर्देशकहरुले जे बिक्छ त्यही बेच्ने गरेका छन् भनेर आलोचना गरेका छन् ।
चौथो खण्डमा टंक उप्रेतीले नेपाल टेलिभिजनमा वृत्तचित्रको इतिहास यसको विषयवस्तु केलाएका छन् । त्यस्तै दीपा गौतमले स्तिरकप्ट लेखन अभ्यास र शैलीका साथै उनले २०१३ सालदेखि सुरु भएको नेपालको स्तिरकप्ट लेखन यहाँसम्म कसरी आइपुग्यो भनी विश्लेषण गरेकी छन् ।
अन्त्यको खण्डमा चक्रमान विश्वकर्मा र जयप्रकाश चौधरीले नेपाली टेलिभिजन भाषिक आदि रुपले कति समावेशी छ, छैन भनेर समीक्षा गरेका छन् । उनीहरुले नेपाली छेलिभिजनहरुको ध्येय नाफा कमाउनेमा केन्द्रित भएकाले समावेशीकरणको मुद्दा पछाडि परेको हो ।
दैनिकी डट कम