टेलिभिजन : सञ्चारकर्मीका अनुभूति

2021-10-10

- यम विरही

लोकतान्त्रिक प्रणालीको जीवनतत्व भनेकै सञ्चारमाध्यम । खुला समाजमा स्वस्थ जनमत निर्माण गर्न पनि सूचना प्रवाहको महत्वपूर्ण स्थान छ । सूचनाले नै विचारको विनिमय गर्दछ । भनिन्छ, अभिव्यक्ति स्वतन्त्रता राज्यको चौथो अंगको रूपमा दिने गरेको सञ्चारमाध्यममार्फत मुखरित हुन्छ ।

दृश्य सञ्चारमाध्यममा सबैभन्दा जेठो मानिएको नेपाली टेलिभिजनको इतिहास पनि त्यति लामो छैन । यद्यपि, अन्यको तुलनामा एनटीभीको उमेर जेठो हो । यसको प्रसारणा अभ्यासले २५ वसन्त व्यतीत गरिसकेको छ ।

पछिल्लो समयमा नेपालमा आधा दर्जन बढी टेलिभिजन च्यानल खुलेका छन् । यी च्यानलका आयामलार्इ लिएर पर्याप्त बहस र छलफल भने हुन सकेको थिएन । यसै सन्दर्भमा 'नेपाली टेलिभिजन: अभ्यास, अनुभूति र विश्लेषण' नाम कृति भर्खरै सार्वजनिक भएको छ । कृतिले नेपाली टेलिभिजनका विविध पक्षमाथि खोजतलास गरेको छ । उक्त अनुसन्धानात्मक कृतिलार्इ मेहनतसाथ सम्पादन गरेका छन्, दीपा गौतम र शेखर पराजुलीले । दीपा एनटीभीसम्बद्ध सञ्चारकर्मी हुन् भने शेखर मिडिया अनुसन्धानकर्ता ।

अधिकांश लेख टेलिभिजनकै अनुभवीद्वारा लिपिबद्ध गरिएको छ । अनुभवीहरूले काम गर्दै, सिक्दै जाँदा निरन्तरको अभ्यासपछि समाचार पनि परिष्कृत बन्दै गएको टिप्पणी गरेका छन् ।

कृतिमा अग्रज अनुभवी दुर्गानाथ शर्मा, मदनकुमार शर्मा, शेखर पराजुली र रमा सिंहलगायतले नेपाली टेलिभिजनको लेखाजोखा र मूल्यांकन गरेका छन् ।
'क्याम्पसमा सिकेको ज्ञान, आफैले तालिम लिँदा जानेको केही सीप र अग्रजहरूको अनुकरण गरेर धेरैले सिक्ने गरेको अवस्था छ', सञ्चारविज्ञ शरच्चन्द्र वस्तीको भनाइ उद्धृत गर्दै पृष्ठ संख्या १३१ मा उल्लेख छ, 'टेलिभिजन विषयमा नै उच्च शिक्षा हासिल गरेका वा गहन तालिम लिएका पत्रकारहरूको संख्या न्यून छ । मालिकहरू योग्य र अनुभवीको तुलनामा कम पारिश्रमिकमा काम गर्ने कमजोर जनशक्ति राख्न चाहन्छन् ।' सञ्चारकर्मी जगत नेपालले निजी टेलिभिजन च्यानलका समाचार शीर्षकअन्तर्गत यसरी अनेकौँ अनुभूति प्रस्तुत गरेका छन् ।

नेपाली टेलिफिल्मको चिरफार गर्दै एनटीभीमा चौबीस वर्ष बिताएका सञ्चारकर्मी लय संग्रौला आफ्ना अनुभव यसरी राख्छन्, 'पारिवारिक कथामा टेलिफिल्म बनाउने निर्देशक कम उत्साही भएको अवस्था छ अहिले । यस्ता टेलिफिल्ममा भारतीय टेलिफिल्मको प्रभाव तीव्र देखिनु अर्को कमजोर पक्ष हो ।' उनका अनुभवमा नेपाली टेलिफिल्मलार्इ स्तरीय बनाउन सर्जक र यस क्षेत्रका सम्बन्धित व्यक्तिहरू जाथरुक नहुने हो भने नेपाली टेलिफिल्मको दुर्दिन टाढा छैन ।

यस्तै स्तम्भकार चक्रमान विश्वकर्माले समाजको कलंकको रूपमा रहेको जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि नेपाली मिडिया र विशेषगरी टेलिभिजन च्यानलहरूले अपेक्षित भूमिका खेल्न नसकेको टिप्पणी आफ्नो लेखमार्फत गरेका छन् । यस्तै दीपक रौनियारले नेपाली टेलिशृंखला लोकप्रिय भएको, तर जिम्मेवार नभएको अनुभव राखेका छन् ।

टेलिभिजनको हास्यव्यंग्य कार्यक्रममा कलाकारको अपरिपक्वता ठूलो समस्या रहेको बताउँदै रौनियार अघि लेख्छन्, 'यस्तो अपरिपक्व र गैरजिम्मेवार टिप्पणीबाट तत्कालका लागि दर्शक हँसाउन सकिए पनि अन्ततोगत्वा नकारात्मक असर नै पुर्याउँछ ।

'सम्भवत: अनुभवीद्वारा लेखिएकाले पनि हुनसक्छ लेखहरू गहिराइमा पुगेका छन् । सञ्चारविज्ञका उद्धरणले पनि पुस्तकको वजन अरू बढाउको हो । पुस्तकको वजन अरू बढाएको हो । पुस्तक पत्रकारिताका विद्यार्थी, अनुसन्धानकर्ता र सञ्चारकर्मीका लागि निकै लाभदायी हुने देखिन्छ । सञ्चारमाध्यमको नागरिकलार्इ सूचना, शिक्षा सन्देश एवं मनोरञ्जन दिलाउने कार्यमा अहं भूमिका छ । जिम्मेवारीपूर्वकको प्रस्तुतिले टेलिभिजनबाट त्यो भूमिका निर्वाह सम्भव रहेको सन्देश कृतिले दिन खोजेको छ । पुस्तकमा नेपाली टेलिभिजनबाट प्रसारित हुने विभिन्न कार्यक्रमका अनुभूति, पेसागत मूल्यमान्यता, नैतिकता एवं दायित्वबारे जसताको तस्तै तथ्य पाठकसमक्ष राखिउको छ । सरल, सुन्दर र परिष्कृत भाषाशैलीका कारण पनि पुस्तकले पाठकको मन जित्ने अपेषा राख्न सकिन्छ ।

अन्नपूर्ण पोष्ट ८ चैत २०६५ (21 March 2009), पृ ६


About the Author

More Blogs