टेलिभिजनमा महिला
2021-10-11मोहन मैनाली
दीपा गौतमले लेखेको पुस्तक काँचको पर्दाले टेलिभिजनमा महिला यति मिहिन ढङ्गले विश्लेषण गर्नुपर्ने, यति बृहत र यति गम्भीर विषय हो भन्ने कुरालाई प्रष्ट पारेको छ । यस किताबले भनेको छ–महिलालाई सरकारले जसरी हेप्ने गर्छ नेपाली टेलिभिजनले पनि त्यसरी नै हेप्ने गर्छ । नेपाली टेलिभिजनमा देखाइने टेलिसिरियलमा पुरुषलाई दिमागी काम गर्ने र महिलालाई पुरुषको व्यक्तिगत सम्पत्तिको रुपमा चित्रण गर्ने गरिएको कुरा पुस्तकमा उदाहरणसहित प्रस्तुत गरिएको छ । विज्ञापनमा पुरुषलाई ज्ञान दिने अनि महिलालाई पुरुषको अर्ति सुन्ने, अवोध र निरीह प्राणीका रुपमा चित्रण गर्ने गरिएको छ । टेलिभिजनले समाजमा जस्तो संस्कार छ त्यसैलाई देखाउँदा यसले महिलाप्रति सामाजिक भेदभाव र अवहेलना कायम राख्नु उचित हो भन्ने छाप छोड्छ ।
यस किताबले निकालेको अर्को निष्कर्ष हो–नेपाली टेलिभिजनले महिलाको वास्तविक तस्विर प्रस्तुत गरेको छैन । वास्तविक जीवनमा महिलाको काम कठिन छ, त्यो सजिलै गर्न सकिदैन तर टेलिभिजनले त्यसलाई सजिलो देखाएर महिलाप्रति शोषण गरेको छ । कताबमा महिलाप्रतिको सामाजिक विभेदका विशेषज्ञलाई उद्दत गरिएको छ–महिला,तिनका समस्या र पीडाले टेलिभिजनमा ठाउँ पाउँदैनन्, पाइहालेमा पनि थोरैमात्र पाउँछन् । टेलिभिजनमा महिला र पुरुषलाई फरक–फरक स्तरका आदरार्थी शब्द लगाइन्छ । पुरुषलाई तपाई र महिलालाई तिमी । यसले महिला र पुरुष समान छैनन् भन्ने धारणालाई अझ गाढा बनाएको छ । महिलालाई ‘च्वाँक’ जस्ता शब्द लगाइन्छ । पुस्तकले उठाएको अर्को पक्ष हो–टेलिभिजनले महिलाको वैवाहिक अवस्थालाई अनावश्यक रुपमा उछाल्ने गरेको छ भने उसको नामका अगाडि श्रीमती भनेर लेख्ने तर विवाहित पुरुषको अन्तर्वार्ता लिएको छ भने उसको नामका अगाडि उसको वैवाहिक अवस्था झल्काउने शब्द नलेख्ने चलन छ । धेरै देशका पत्रकारले लोकका अगाडि लाज नलागोस् भनेर यसरी ठाउँ कुठाउँ कसैको वैवाहिक अवस्था झल्काउँदैनौ भनेर वाचा गरेका छन् तर नेपालमा यस्तो कुरामा लजाउने दिन आइसकेको छैन । दीपाजस्ता यही पेसाका समीक्षक अलि धेरै भएमा र यस्ता आलोचना सुनेर गल्ती सुधार गर्ने चलन नेपाली सञ्चारमाध्यममा बसेमा मात्र यस्तो दिन चाँडै आउँला ।
महिलालाई अस्त्तित्व नाम नभएकी प्राणीका रुपमा प्रस्तुत गर्न टेलिभिजनलाई लाज लाग्दैन भन्ने कुरा पनि किताबमा प्रष्ट पारिएको छ । टेलिभिजनमा कुनै दम्पती देखा परे भने पुरुषको मात्र नाम लेखिन्छ । जस्तैः श्रीमान्÷श्रीमती माधवप्रसाद घिमिरे । श्रीमती भनेका श्रीमान्का छाया हुन्, श्रीमान् मरेपछि उनीसँगै सती जाने भन्ने नेपाली समाजले त्यागेको सोचाइलाई नेपाली टेलिभिजनले नेपाली नेपालीको दिमागमा जबरजस्ती थोपरिरहेका छन् ।
टेलिभिजन प्रसारण उद्योग पुरुष वर्चस्व रहेकाृ क्षेत्र हो । यहाँको जनशक्तिमा महिला थोरै छन् । त्यसमाथि नीति निर्माण तहमा त उनीहरु छैनन् भन्दा पनि हुन्छ । यस्तैगरी, कुनै पनि क्षेत्रको जनशक्तिमा त्यस क्षेत्रले सेवा दिने समाजको जातीय, लैङ्गिक, सांस्कृतिक, भाषिक र धार्मिक विविधता झल्कनुपर्छ भन्ने मान्यताका आधारमा जाँच गर्ने हो भने नेपाली टेलिभिज थर्ड डिभिजनमा पनि पास हुदैनन् । किताबमा यो कुरा पनि प्रस्ट रुपमा देखाइएको छ ।
पत्रकारितामा विविध धर्म, जातजाति, समुदाय, लिगं र भौगोलिक क्षेत्रका मानिसको प्रतिनिधित्व गराउनुपर्छ भन्ने कुरा अमेरिकीहरुले तीस वर्षभन्दा पहिल्यै आत्मसात गरेका थिए । यसका लागि समानुपातिक प्रतिनिधित्व नभएका समुदायका मानिसलाई यस पेसामा लाग्न आकर्षित गर्ने, तालिम दिने, नियुक्ति दिने, बढुवा गर्ने काम गर्नुपर्छ भनेका थिए । नेपाली टेलिभिजन यस कुरालाई ध्यानै नदिईकन नयाँ नेपाल बनाउने अभियानमा जुटेको छ ।
यो किताब दीपा गौतमले आफ्नै पेसाका बारेमा समीक्षा हो । उहाँले लामो समयदेखि यस विषयमा लेखहरु लेख्नुभएको थियो । यस किताबमा राखिएका धेरै लेख यसअघि विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका थिए भने केही नयाँ छन् । तर पुराना लेखलाई पनि परिमार्जन गरिएको छ । त्यसैले, यो किताब नेपाली टेलिभिजन उद्योग र धेरै हदसम्म समग्र नेपाली पत्रकारिताको लागि मार्गदर्शक बनेको छ । महिला सम्बन्धी विषयमा नेपाली टेलिभिजन उद्योगले समयानुकुल सुधार गर्न चाहेमा अरु केही गर्नुपर्दैन, यो किताब पल्टाए पुग्छ ।
यस किताबले महिलाको प्रस्तुती, महिलाको सहभागिता र महिलाप्रतिको व्यवहारका मामलामा नेपाली टेलिभिजन प्रसारण उद्योगको छवि कुरुप देखाएको छ । नेपाली टेलिभिजन प्रसारण उद्योगलाई आफ्नो अनुहार कुरुप भएको देख्दा रिस उठ्नु र उसले प्रतिक्रिया जनाउनु स्वाभाविकै हो ।
स्रोतः कान्तिपुर, २२ वैशाख २०६४, पृ. ५–६