पत्रकारता पढ्ने र पढाउनेलाई उपयोगी
2021-10-08मार्टिन चौतारीले प्रकाशन गर्दै आएको नेपाली मिडियासम्बन्धी जर्नलको पछिल्लो अंक मिडिया अध्ययन-४ बजारमा आएको छ । जर्नलमा पत्रकार विनय कसजू, कुन्दन अर्याल, शिव गाउँले, स्तम्भकार सीके लाल, अनुसन्धानकर्ता हर्षमान महर्जन, अनुभव अजित, दीपक अर्याल र केही थप लेखक-पत्रकारका गरी १८ वटा सामग्री समेटिएका छन् ।
जर्नलमा राष्ट्रिय सूचना आयोगका अध्यक्ष विनय कसजूले 'मिडियाको लोकतान्त्रीकरण र सामाजिक आन्दोलन' लेखमा नयाँ संविधानमा आफूलाई नचाहिने, हानिकारक सूचना, विज्ञापन तथा अन्य विषयवस्तुबाट सुरक्षित हुन पाउने जनताको सञ्चार अधिकार स्पष्ट पारेका छन् । जनतालाई सूचनाले कसरी भ्रमित पार्नसक्छ भन्ने विश्लेषण गर्दै कसजूको लेखमा उल्लेख छ, 'जुन मिडियाले महिलालाई विज्ञापनको रुपमा प्रस्तुत गर्छन्', नांगो चित्रण गरेर समाचार, फिल्म आदि उत्पादन गर्छन्, महिलालाई गहनामा लोभ्याएर विज्ञापन बढाउँछन्, महिलालाई परम्पागत रुपमा प्रस्तुत गर्छन्; तिनै मिडियाबाट लैंगिक समानताका कुरा कसरी उठ्नसक्छ ?'
जर्नलमा पत्रकार कुन्दन अर्यालले नेपाली सन्दर्भमा जागरुक सञ्चार उपभोक्ताको कल्पना गरेका छन् । एउटै घटनाबारे जान्न पनि दुई वा त्योभन्दा बढी सञ्चारमाध्यमको समाचार सुनेर विश्लेषण गर्नुपर्ने वर्तमान अवस्थामा मिडियाका सामग्री जस्ताको तस्तै ग्रहण गर्नु हुँदैन भन्ने उनको लेख तर्कसंगत छ ।
जर्नलमा चौतारीमै आबद्ध अनुसन्धानकर्ता हर्षमान महर्जनको 'पञ्चायती शासनमा विकासका लागि सञ्चार अवधारणको राजनीति' लेखले पञ्चायती व्यवस्थामा सञ्चार क्षेत्रको प्रयोग तथा नियन्त्रण गर्ने भन्नेजस्ता पक्षलाई प्रस्ट्याएको छ । महर्जनले लेखेका छन्, 'राष्ट्रिय सञ्चार सेवा योजनामा जनताकी अपनत्व थिएन । यो पञ्चायत सरकारद्वारा नेपाली जनतामाथि लादिएको थियो । तर त्यस बेलाको दरबारले नेपाललाई आधुनिकीकरणको अवधारणाअनुसार परिवर्तन गरिरहेको थियो ।'
शिव गाउँले 'नेपालमा खोजपत्रकारिताका चुनौती' मा नेपाली पत्रकारको सुरक्षास्थिति, प्रकाशकको अनावश्यक डर तथा सम्पादक आफ्ना कामप्रति त्यति गम्भीर नहुने पक्षलाई उठाएका छन् । स्तम्भकार सीके लालको 'नेपाली सञ्चारको गन्जागोल' शीर्षकमा टिप्पणी छापिएको छ । 'नेपाल पत्रकार महासंघको चुनाव र महिला उम्मेदवार' विषयमा संगीता लामाको टिप्पणी, मिडिया सर्वेक्षणः एक सिंहावलोकनमा अर्जुन पन्थीले सर्वेक्षणका कतिपय प्रश्नावली आफैँले भर्ने गरेको उल्लेख गरेका छन् । राजेन्द्र पराजुलीको 'कतै नटिक्ने मान्छे' र आन्वका गिरीको 'रेडियोमा मेरो अनुभव' छ । नेपाली मिडियाबो वस्तुस्थिति विश्लेषण गरिएका लेखहरु चौतारीको जर्नलमा छापिएकाले जर्नल सञ्चारसम्बद्ध व्यक्तिलाई सहयोगी सिद्ध हुँदाहुँदै पिन जर्नलमा समेटिएको केही विषयप्रति भने अहिले नै त्यो लेखिने बेला भइसक्यो भन्ने प्रश्न उठाइदिएको छ ।
अन्नपूर्ण पोष्ट, ३० भदौ २०६६, पृ. ७