समाज अध्ययन जर्नलको सम्पादकीय निर्देशिका

  1. समाज अध्ययन नेपाली भाषाको वार्षिक जर्नल हो । मार्टिन चौतारीद्वारा वि.सं. २०६३ (सन् २००६) देखि नियमित रूपमा निकालिँदै आएको मिडिया अध्ययन जर्नलकै विस्तारित स्वरूप हो समाज अध्ययन । नेपाली समाजका विविध आयामबारे नेपाली भाषामा लेखिएका खँदिला र विश्लेषणात्मक सामग्रीको अभाव भइरहेको सन्दर्भमा मिडियासहित समाज विज्ञानका अन्य विधालाई पनि समेट्दै यससम्बन्धमा अध्ययन/अनुसन्धान गर्न चाहनेका लागि साझा चौतारी उपलब्ध गराउने उद्देश्यले समाज अध्ययनको शुरूआत गरिएको हो ।
     
  2. यस जर्नलमा समाज विज्ञानका कोर विषय समाजशास्त्र, मानवशास्त्र, इतिहास, राजनीतिशास्त्रलगायत आमसञ्चार, भाषा, कला, संस्कृति, दर्शन, भूगोल, अर्थ, कानुन, साहित्य, शिक्षा, जनस्वास्थ्य, वातावरण, विकास, आदि बारेका सामग्री छापिने छ । ती विषयका अनुसन्धानात्मक लेख, टिप्पणी, साहित्य समीक्षा, पुस्तक समीक्षा, अन्तर्वार्ता, चित्रकथा, सन्दर्भ सूची र महत्त्वपूर्ण एवं ऐतिहासिक दस्तावेजले यसमा ठाउँ पाउनेछन् ।
     
  3. समाज अध्ययन जर्नलमा प्रकाशनार्थ पठाइने सामग्री मौलिक हुनुपर्छ । अन्य ठाउँमा प्रकाशित वा प्रकाशनार्थ दिइएका सामग्री समावेश गरिनेछैन । यद्यपि दुर्लभ र पुराना लेख वा दस्तावेजहरूको सान्दर्भिकता मूल्यांकन गरी पुनःप्रकाशन गर्ने नीति रहेको छ । अंग्रेजी वा अन्य भाषामा लेखिएका सामग्रीलाई पनि उपयोगिताका आधारमा नेपालीमा अनुवाद गरेर सम्बन्धित लेखक वा प्रकाशकको अनुमति लिई प्रकाशन गर्न सकिनेछ ।
     
  4. कपिराइट अथवा बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी प्रचलित कानुनको प्रतिकुल हुने गरी अनधिकृत रूपमा कोही कसैको रचना वा त्यसको अंश समावेश गरिएका कुनै सामग्री जर्नलमा प्रकाशनार्थ पेश गरेको पाइएमा त्यस्तो सामग्री तत्काल अस्वीकार गरिनेछ भने सम्बन्धित लेखकलाई मार्टिन चौतारीका भावी प्रकाशनमा पनि ठाउँ दिइने छैन ।
     
  5. समाज अध्ययनमा प्रकाशित सामग्रीमाथि मार्टिन चौतारी र सम्बन्धित लेखकको सर्वाधिकार रहनेछ । दुवैको स्वीकृतिमा मात्र स्रोत खुलाएर यसको पुनर्मुद्रण गर्न पाइनेछ ।
     
  6. यसमा प्रकाशन हुने सामग्री पुस्तक समीक्षा (अधिकतम १५ सय शब्द) बाहेक साधारणतया तीन हजारदेखि दश हजार शब्दसम्मका हुनेछन् । तर विषय र लेखन हेरी केही छोटा वा लामा सामग्री पनि प्रकाशन गर्न सकिनेछ । लेखसँगै सान्दर्भिक तालिका, नक्सा, बक्स, तस्बिर आदि समावेश गर्न सकिनेछ । त्यस्ता सामग्री अन्यत्रबाट साभार गरिएको हो भने सम्बन्धित व्यक्ति वा संस्थाबाट स्वीकृति लिने जिम्मा लेखक स्वयंको हुनेछ ।
     
  7. प्राप्त सामग्रीहरूको महत्त्व र सान्दर्भिकता तथा जर्नलको नीति र उद्देश्यका आधारमा सम्पादक समूहले प्रारम्भिक छनोट गर्नेछ । छनोटपश्चात् सम्पादकीय समूहका सदस्य र समूहबाहिर रहेका सम्बन्धित विषयमा दखल राख्ने कम्तीमा दुई जना व्यक्तिले प्रेषित सामग्रीको सूक्ष्म अध्ययन (पियर रिभ्यू) गर्नेछन् । अध्ययनपश्चात् तिनले दिएका सुझावका आधारमा लेख/सामग्री परिमार्जन गर्न लेखकलाई आग्रह गरिनेछ ।
     
  8. सम्पादनपश्चात् लेखको अन्तिम प्रारूप स्वीकृतिका लागि लेखकलाई देखाइनेछ । लेखमा व्यक्त विचार एवं त्यसमा प्रयोग गरिएका तर्क र तथ्यप्रति लेखक स्वयं जिम्मेवार हुनुपर्नेछ ।
     
  9. सामान्य अवस्थामा लेखको सफ्ट या इलेक्ट्रोनिक कपीमात्र स्वीकार गरिनेछ । ए–फोर (A4) आकारको पृष्ठमा चारै किनारामा एक–एक इन्च खाली छोडिएको, हरेक पृष्ठमा पृष्ठ संख्या उल्लेख भएको हुनुपर्नेछ । युनिकोड या प्रीति, श्रीनाथ बोल्ड तथा कान्तिपुर फन्ट प्रयोग गर्न सकिनेछ । लेखको सफ्टकपी सम्पादन समूहका सदस्यलाई वा samaj.adhyayan@gmail.com वा मार्टिन चौतारीमा बुझाउन सकिनेछ ।
     
  10. पादटिप्पणी (फुटनोट) सम्बन्धित पृष्ठको पुछारमा संख्यात्मक क्रममा हुनुपर्ने छ । तालिकाभित्र उल्लिखित कुनै पाठ्यांशको पादटिप्पणी दिनुपर्ने भएमा सोही तालिकाको ठीक तल कुनै संकेत चिह्नका साथ दिन सकिनेछ ।
     
  11. अनुसन्धान वा लेखनको सिलसिलामा लिइएका कुनै प्रकारको सहयोगका लागि कसैप्रति धन्यवाद वा कृतज्ञता ज्ञापन गर्नु परेमा लेखको अन्तमा सन्दर्भसूचीभन्दा अगाडि उल्लेख गर्न सकिनेछ । साथै, लेखको सबभन्दा पछिल्तिर बढीमा १०० शब्दसम्मको लेखक परिचय चौतारीले अपनाउने शैलीमा लेखी पठाउनुपर्नेछ ।
     
  12. छापिने सामग्रीको हिज्जे, फुटनोट वा सन्दर्भ सामग्रीको एकरूपताका लागि मार्टिन चौतारीको शैलीलाई पछ्याइनेछ ।
     
  13. कसैको भनाइ वा लेखनलाई सीधै उद्धृत गर्दा ५० शब्दसम्मको उद्धरण भएमा डबल इन्भर्टेड कमा (“ ”) भित्र तथा त्यसभन्दा बढी भएमा छुट्टै अनुच्छेदमा अक्षरको आकार सामान्यभन्दा दुई प्वाइन्ट घटाई ‘इन्डेन्ट’ गरेर राख्नुपर्नेछ । यस्तो उद्धरण पुस्तक वा अन्य सामग्रीबाट उद्धृत गरिएको हो भने त्यसको अन्तमा स्पष्टसँग स्रोत खुलाउनुपर्ने छ जस्तै:
     
    • आपूर्ति बढ्नु नराम्रो होइन । छनौटको अवसर उपलब्ध हुन्छ । प्रतिस्पर्धाले गुणस्तर बढाउँछ । प्रस्तुतिलाई सुधार गर्छ । हुनुपर्ने त त्यसो हो तर हुँदैन । एउटाले अखबार पढे, सबै त्यही गर्छन् । एउटाले गजल बजाए, अर्काले पनि बजाउनु परिहाल्यो । यो ‘म पनि’ को लक्षणले श्रोतालाई विरक्त बनाउन सक्छ । प्रतिस्पर्धाले सिर्जनाभन्दा पनि सुरक्षित तरिकालाई बढावा दिनु जडताको लक्षण हो । (लाल २०५९ : १११)
       
    • यदि कसैद्वारा व्यक्त भनाइ हो भने कुन मिति र सन्दर्भमा व्यक्त गरिएको भन्ने कुरा उद्धरणको अन्तमा पादटिप्पणी (फुटनोट) दिई उल्लेख गर्नुपर्ने छ । जस्तैः खगेन्द्र संग्रौलासँग असार १२, २०७३ मा गरिएको कुराकानी ।
       
  14. लेखमा प्रयोग भएका तथ्यांक, तालिका, बक्स, तस्बिर, उद्धरण सबैको सन्दर्भ सामग्री वा स्रोत उल्लेख गर्नुपर्ने छ । लेखको अन्तमा उल्लेख गरिएका सन्दर्भ सामग्रीको सूची दिनुपर्ने छ । लेख वा पादटिप्पणीमा उल्लेख गर्दा लेखकको थरका साथमा वर्ष र कुनै सामग्री जस्ताको त्यस्तै उद्धृत गरिएमा पृष्ठ संख्यासमेत खुलाउनुपर्ने छ (जस्तै : अधिकारी २०६१; ओझा २०६० : २५) । तीन जनासम्म लेखक/सम्पादक भए तीनै जनाको थर (जस्तै : नेपाल, हमाल र जोशी २०६१) र त्यो भन्दा धेरै भएमा पहिलो व्यक्तिको थरपछि ‘र अरू’ थप्नुपर्छ (जस्तै : वन्त र अरु २०६२) । वि.सं. बाहेक अन्य संवत् हो भने मितिका अघिल्तिर सन्/ने.सं. आदि लेख्नुपर्छ । सन्दर्भ सामग्रीको सूचीमा भने सबै लेखक/सम्पादक, प्रकाशन मिति, शीर्षक, पुस्तक वा पत्रिकाका नाम, प्रकाशन स्थान र प्रकाशकको नाम, म्यागेजिन वा जर्नल भए त्यसको अंक आदि विवरणहरु खुलेको हुनुपर्ने छ । सन्दर्भसूची लेखक/सम्पादकको थरको वर्णानुक्रमका आधारमा राखिन्छ । अन्य भाषाको सामग्री उद्धृत गरिएको भए मूल पाठमा नेपाली भाषा र देवनागरी लिपिमा अनुवाद गरी राख्नुपर्ने छ भने सन्दर्भ सूचीमा सम्बन्धित भाषा र लिपि नै राखिनुपर्छ । स्रोतको प्रकृतिका आधारमा सन्दर्भ सूचीको तरिका तलका उदाहरणमा दिइएअनुसार हुनुपर्ने छ :
     
    • पुस्तक : गिरी, आन्विका । २०७२ । मान्छेको रङ । काठमाडौः सांग्रिला बुक्स ।
       
    • सम्पादित पुस्तक : Bhatta, Pramod, ed. 2009. Education in Nepal: Problems, Reform and Social Change. Kathmandu: Martin Chautari.
       
    • सम्पादित पुस्तकको लेख : Onta, Pratyoush and Devraj Humagain. 2017. Janajati Magazines and the Contents of the Subaltern Counterpublic Sphere during the 1990s. In Political Change and Public Culture in Post-1990 Nepal. Michael Hutt and Pratyoush Onta, eds., pp. 99–123. Delhi: Cambridge University Press.
       
    • मोनोग्राफ भित्र समेटिएको निबन्ध वा अध्याय : Raj, Yogesh and Bhaskar Gautam. 2015. Framing Approaches to Ruptures. In Courage in Chaos: Early Rescue and Relief after the April Earthquake. Pp. 17–26. Kathmandu: Martin Chautari.
       
    • जर्नलको लेख : Maharjan, Mahesh Raj. 2015. Emigrants’ Migrant Wives: Linking International and Internal Migration. 
      Studies in Nepali History and Society 20(2): 217–247.
       
    • कार्यपत्र : KC, Gaurav. 2013. In Quest of Becoming an Anthropologist: A Life and Work of Dor Bahadur Bista.
      Paper presented at the "Workshop for Young Researchers-2013" organized by Martin Chautari, January 2, Kathmandu.
       
    • शोधपत्र : Aryal Khanal, Neeti. 2004. Silent Screams: A Study on Sexual Violence against Blind Women of Kathmandu Valley.
      MA thesis, Tribhuvan University.
       
    • अप्रकाशित सामग्री : कोइराला, भारतदत्त, संयोजक । २०५९ । विद्युतीय सञ्चारमाध्यमलाई व्यवस्थित र विकसित गरी सञ्चालन गर्नेबारेका सुझावहरू ।
      अप्रकाशित प्रतिवेदन, श्री ५ को सरकार, सूचना तथा सञ्चार मन्त्रालय ।
       
    • म्यागेजिनको लेख, अखबारको लेख र समाचार (क्रमशः) : पन्थी, अर्जुन । २०७२ । इन्टरनेट विस्तारका लागि नीतिगत सुधार ।  लिभिङ वीथ आइसिटी ४(३) : ४०–४१ ।

      पराजुली, लोकरञ्जन । २०७३ । राणाकालीन महिला । कान्तिपुर (कोसेली), असार ४, पृ. ख ।

      The Kathmandu Post. 2016. TRC has over 52K Cases to Decide in 7 Months. July 18, p. 1.
       
    • इन्टरनेटमा उपलब्ध लेख : Parajulee, Shekhar. 2007. Seven Decades of Radio Listening in Nepal. Westminster Papers in Communication and Culture 4(2): 52–67. Available at: http://www.westminsterpapers.org/articles/10.16997/wpcc.85/; accessed January 9, 2010.
       
    • पुस्तक समीक्षा : Basnet, Chudamani. 2010. Out Here in Kathmandu: Modernity on the Global Periphery, reviewed by Mark Liechty. 
      Studies in Nepali History and Society 15(2): 441–445.


सम्पर्क
सम्पादक मण्डल, समाज अध्ययन
मार्टिन चौतारी, काठमाडौँ, नेपाल
पोस्ट बक्स १३४७०; फोन ५३३८०५०, ४१०२०२७, ४१०२२४३
फ्याक्स ५३४००५९ इमेल samaj.adhyayan@gmail.com
वेब साइट www.martinchautari.org.np