ग्रामीण अस्पताल सेवाको गुणस्तरमा अस्पतालको अभिशासन र व्यवस्थापनका ढाँचाको प्रभाव: नेपालभित्रको एक तुलनात्मक अध्ययन

- अनुप सुवेदी

Discussion Type: Research Seminar Series | Date: 06 Dec 2026 | Time: 03:00 PM

Details

6 December 2026/२० मङ्सिर २०८३ (आइतबार, दिउँसो ३ बजे)
Research Seminar Series
ग्रामीण अस्पताल सेवाको गुणस्तरमा अस्पतालको अभिशासन र व्यवस्थापनका ढाँचाको प्रभाव: नेपालभित्रको एक तुलनात्मक अध्ययन
डा अनूप सुवेदी, सिनियर कन्सल्ट्यान्ट, कीर्तिपुर अस्पताल र मेधर्म क्लिनिक

सारांश
स्रोतहरू सीमित रहेका नेपालका जस्ता परिवेशहरूमा ग्रामीण अस्पताल सेवाको गुणस्तर सुधार गर्नका निम्ति अस्पतालको व्यवस्थापन र अभिशासन (गभर्नेन्स) संरचनाहरू र अस्पालभित्रका कामकारवाहीका प्रक्रिया र सेवा वितरणका नतीजाहरूका बिचको सम्बन्ध बुझ्नु महत्त्वपूर्ण छ। यस अध्ययनमा एउटै भौगोलिक क्षेत्र र समान सामाजिक-सांस्कृतिक परिवेशमा अवस्थित तर फरक अभिशासन र व्यवस्थापनका ढाँचा भएका दुई दुईवटा अस्पतालका दुईवटा जोडीहरूभित्र तुलनात्मक मूल्याङ्कन गरिएको थियो। प्रत्येक जोडीमा सरकारी स्वामित्व र सञ्चालन भएका अस्पताल र गैर-सरकारी संस्थाको स्वामित्व र सञ्चालन भएका अस्पताल समावेश थिए। यो मिश्रित-विधि (मिक्स्ड-मेथड्स) अध्ययनमा बिरामीका सर्वेक्षणहरू, प्रत्येक अस्पतालको संरचना, प्रक्रियाहरू र परिणामहरूको मूल्याङ्कन गर्ने मानकीकृत प्रश्नावलीहरू, अस्पतालका संरचना र सञ्चालनलाई निर्देशित गर्ने कानुनी कागजातहरू, अस्पतालका लेखा परीक्षण प्रतिवेदनहरू र विशेष जानकार व्यक्तिसँगका अन्तरवार्ताहरुको प्रयोग गरेर साङ्ख्यिक र गुणात्मक आँकडा र सूचना सङ्कलन गरिएको थियो।

तुलनात्मक अध्ययनमा गैरसरकारी संस्थाका अस्पतालहरूले सरकारी अस्पतालले भन्दा धेरै बढी संख्यामा ग्राहकहरूलाई सेवा प्रदान गर्ने, र सरकारी अस्पतालको तुलनामा धेरै उच्च वित्तीय दक्षताका साथ बढी विविधतापूर्ण र विशेषज्ञतापूर्ण आपतकालीन र गैर-आपतकालीन सेवाहरू प्रदान गरेको देखियो। दुई थरी अस्पतालका अभिशासन र व्यवस्थापन संरचनाहरूमा भिन्नता र अस्पताल सेवाका नतीजाहरूमा देखिएका भिन्नताहरू बिच अन्योन्याश्रयी सम्बन्ध (कोरिलेशन) हुन सक्ने देखियो। ग्रामीण अस्पतालहरूका सेवा प्रवाहका परिणामहरुको ती अस्पतालका प्रशासन र व्यवस्थापनका संरचनाहरू र प्रक्रियाहरूसँग गहिरो सम्बन्ध हुन सक्छ। त्यस्ता अस्पतालका अभिशासनका ढाँचाले तिनीहरूका सेवाप्रवाहका परिणामहरूलाई कसरी प्रभावित गरेका छन्, र अभिशासन र व्यवस्थापनको ढाँचामा कस्तो पुनर्गठन गर्दा अस्पतालसेवालाई बढी गुणस्तरीय बनाउन सकिन्छ भनेर राम्रोसँग स्पष्ट पार्न थप अध्ययनहरू आवश्यक छन्।
 

वक्ता परिचय
डा अनूप सुवेदीले संयुक्त राज्य अमेरिकामा रेडिङ अस्पतालको रेजिडेन्सी कार्यक्रमबाट इन्टर्नल मेडिसिनमा रेजिडेन्सी, टुलेन विश्वविद्यालयको फेलोशिप कार्यक्रमबाट सङ्क्रमणरोगमा फेलोशिप र टुलेन विश्वविद्यालयकै वैश्विक स्वास्थ्य कार्यक्रमबाट जनस्वास्थ्य र ट्रपिकल चिकित्सामा स्नातकोत्तर तहको अध्ययन पुरा गर्नुभएको छ। उहाँ हाल कीर्तिपुर अस्पताल र मेधर्म क्लिनिक्स मा कार्यरत् हुनुहुन्छ। चिकित्सकीय काम बाहेक उहाँका प्राज्ञिक र अनुसन्धानमूलक काम नवोदीयमान रोग, प्रतिजैविक-प्रतिरोध, अस्पतालमा सङ्क्रमण नियन्त्रण र विपन्न राष्ट्रको स्वास्थ्य प्रणालीको सुधारमा केन्द्रित छन्। 
- अनुप सुवेदी

Past Events