मार्टिन चौतारीको अक्षय कोषमा सहयोगका लागि अपील

प्रिय साथी/पाठक,

यहाँलाई विदितै छ, अध्ययन-अनुसन्धानमै केन्द्रित रहेर काम गर्ने स्वतन्त्र प्राज्ञिक संस्थाहरू नेपालमा निकै थोरै छन्। तिनै थोरै मध्येको एउटा संस्था मार्टिन चौतारी हो। गएको ३२ वर्षदेखि यसले निरन्तर सार्वजनिक बहस-छलफल चलाउनुका साथै सामाजिक अध्ययन-अनुसन्धान एवं प्रकाशन गर्दैआएको छ, र नेपालको सार्वजनिक वृत्त (पब्लिक स्फेयर) लाई विस्तार गर्नमा चौतारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। कुनै दलविशेष र विचारविशेषको पक्षपोषण नगर्ने यो स्वतन्त्र प्राज्ञिक संस्था देश र विदेशका अध्येता र प्राज्ञिकहरूमाझ नेपालकै उम्दा नागरिक संस्थाको रूपमा परिचित छ।  

          २०४८ कात्तिकदेखि अनौपचारिक छलफल समूहको रूपमा मार्टिन चौतारी सञ्चालनमा आएको हो। २०५९ मंसिरदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक नागरिक संस्थाको रूपमा दर्ता भई हाल पाँच किसिमका काममा यो संलग्न छ : १) सार्वजनिक बहस-छलफल, २) अध्ययन-अनुसन्धान, ३) अनुसन्धान-प्रशिक्षण, ४) प्रकाशन, र ५) सार्वजनिक पुस्तकालय सञ्चालन।

          प्रारम्भमा पाक्षिक र पछि साप्ताहिक छलफल चलाउँदै आएको चौतारीमा हाल हप्तामा दुई दिन (आइतबार र मंगलबार) विविध विषयमा सार्वजनिक छलफल आयोजना हुन्छ। यस बाहेक, विभिन्न विषयका रिडिङ सेमिनार, कार्यशाला, व्याख्यान र वार्षिक अन्तर्राष्ट्रिय अनुसन्धान-सम्मेलन पनि यसले आयोजना गर्छ।

          समाज विज्ञानका विविध विषयमा आधारभूत तथा नीतिगत अनुसन्धान गर्ने नेपालकै अब्बल संस्थाको रूपमा मार्टिन चौतारी परिचित छ। शिक्षा, मिडिया, राजनीति, विकास, डिजिटल राइट्‌स, इन्टरनेट लगायत विभिन्न समसामयिक तथा ऐतिहासिक विषयहरूमा चौतारी आफैले अध्ययन-अनुसन्धान गर्ने मात्र नभई नयाँ पुस्ताका अध्येतालाई पनि चौतारीले यी कार्यमा संलग्न गराउँदै आएको छ। विभिन्न फेलोशिप दिएर, वार्षिक सम्मेलन तथा विभिन्न कार्यशालामा अनुसन्धान पत्र प्रस्तुत गर्न लगाएर तथा चौतारीका प्रकाशनमा स्थान दिएर चौतारीले युवा पुस्तालाई अनुसन्धानप्रति प्रवृत्त गराउँदै आएको छ।

          चौतारी भित्रबाट हुने अनुसन्धान तथा बाहिर रहेका कतिपय अनुसन्धानकर्मीका अनुसन्धान/लेखनलाई चौतारीले पुस्तकाकार रूपमा बाहिर ल्याएको छ। चौतारी पुस्तक शृंखला अन्तर्गत २०८२ पुस सम्ममा १२० ओटा पुस्तक मार्टिन चौतारीबाट प्रकाशित भइसकेका छन्। त्यस बाहेक, नेपाली भाषाको वार्षिक जर्नल समाज अध्ययन (पहिले मिडिया अध्ययन भनिएको, स्था. सन् २००६) र अंग्रेजी भाषाको छ-महिने स्टडीज इन नेपाली हिस्ट्री एण्ड सोसाइटी (स्था. सन् १९९६) को सम्पादकीय गृह पनि मार्टिन चौतारी हो। पुस्तक र जर्नल बाहेक विभिन्न शोध-संक्षेप, नीति-पत्र, प्रतिवेदन, सन्दर्भ-ग्रन्थ पनि चौतारीले प्रकाशन गर्दैआएको छ। चौतारीबाट प्रकाशित प्राज्ञिक सामग्री विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा सामेल गरिएका छन्।

          वि.सं. २०६३ देखि मार्टिन चौतारीले आफ्नो पुस्तकालय सार्वजनिक प्रयोगका लागि खुला गरेको छ। अहिले २६,५०० भन्दा बढी पुस्तक तथा अनुसन्धान प्रतिवेदनहरू, नेपालभरिबाट प्रकाशन हुने जर्नलहरू, प्रमुख अखबार र म्यागेजिनहरू यो पुस्तकालयमा संगृहीत छन्। विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, पत्रकार र नीति-निर्माता लगायतलाई लक्षित गरी खोलिएको यस पुस्तकालयबाट वार्षिक रूपमा करिब ३,००० भन्दा बढीले सेवा लिँदै आएका छन्।

          चौतारीले तीन दशकभन्दा बढी समयदेखि गर्दैआएका यी प्राज्ञिक कर्मलाई निरन्तरता दिन झन्-झन् कठिन हुँदैछ। चौतारी जस्ता स्वतन्त्र प्राज्ञिक संस्थालाई सहयोग गर्ने सरकारी वा सामाजिक परिपाटी हामीकहाँ बसिसकेको छैन। 

          त्यसैले, आफ्नो कामलाई निरन्तरता दिन सधैँ अन्तर्राष्ट्रिय दाता/प्रतिस्पर्धामा चौतारीले भर पर्नु परेको छ। नेपालमै सञ्चालनमा रहेका विदेशी दातृ संस्था/आईएनजीओको ध्यान पनि सेवामूलक, पैरवीमूलक वा “तत्काल प्रभाव देखिने” काममा हुँदा नेपाली समाजलाई बुझ्न सघाउने र लामो दुरीमा मात्र प्रभाव देखिने प्राज्ञिक कर्मतर्फ उनीहरूको रुचि देखिँदैन। नेपालमा चन्दा वा दानबाट स्कूल, क्याम्पस, अस्पताल, मन्दिर तथा पाटीपौवा निर्माण जस्ता ठूल्ठूला भौतिक निर्माणका काम वा लाखौंका पुरस्कार स्थापना नभएका पनि होइनन् तर चौतारीले गर्ने जस्ता प्राज्ञिक काममा स्थानीय दाताहरूको पनि खासै रुचि देखिएको छैन।

          यस्तो विषम परिस्थितिमा सहृदयी नेपाली दाताहरूको ध्यान प्राज्ञिक क्षेत्रतर्फ पनि जाओस् र यस क्षेत्रमा पनि नेपाली स्रोतबाट समेत केही काम हुन सकोस् भनेर मार्टिन चौतारीले आफ्ना शुभेच्छुकहरू समक्ष अनुरोध गर्न थालेको छ। यसै सिलसिलामा हामीले गर्दैआएका माथि उल्लिखित कामहरूलाई दीर्घकालसम्म निरन्तरता दिन सकियोस् भन्ने ध्येयले एउटा अक्षय कोष स्थापना गरेका छौं। यो कोषमा ५ करोड रुपैयाँ उठाउने हाम्रो लक्ष्य छ। यो कोषमा प्राप्त ब्याजबाट हाम्रा उल्लिखित गतिविधिलाई निरन्तरता दिन सकिने हाम्रो विश्वास छ।

त्यसैले, सो कोषका लागि तपाईंको तर्फबाट सक्दो आर्थिक सहयोग गरी नेपालमा प्राज्ञिक क्षेत्रको विकासमा मार्टिन चौतारीले गरेको प्रयत्नमा साथ दिन तपाईं समक्ष हामीले यो निवेदन गरेका हौँ।

         तपाईंले हामीलाई तलको ठेगानामा प्रत्यक्ष/फोन सम्पर्क गरी वा निम्न बैंक खाता वा ई-सेवा मार्फत सहयोग रकम उपलब्ध गराउन सक्नुहुनेछ। प्राप्त हुने प्रत्येक सहयोगको हामी पारदर्शी तरिकाले हिसाब राख्नेछौँ एवं दाताको स्वीकृतिमा प्राप्त सहयोग रकम सहित उहाँहरूको नाम मार्टिन चौतारीको वेबसाइटमा उल्लेख गर्नेछौँ।

ठेगाना बै‌ंक विवरण ई-सेवा विवरण

मार्टिन चौतारी
२७ जीतजंग मार्ग, थापाथली
काठमाडौँ, नेपाल

फोन : ०१-५३३८०५०/४१०२०२७/४१०२२४३
इमेल : chautari@mos.com.np

खातावालाको नाम : मार्टिन चौतारी (Martin Chautari)
बचत खाता नं. : ०८१००१५१८७४०१ (AC no.: 0810015187401)
बैंकको नाम : नबिल बैंक लिमिटेड (Nabil Bank Ltd.)
शाखा : बखुण्डोल, ललितपुर (Bakhundol, Lalitpur)

ई-सेवा  नं. : ९८४८८६७२१७