चौतारी पुस्तक शृङ्खला ७१
आजको नेपालमा देखापरेका परिवर्तनका बुँदा र प्रवृत्तिको सन्दर्भसित बेमेल ज्ञान–उत्पादनमा नै नेपाली प्राज्ञिक इतिहासलेखन रुमलिरहेको छ । यसले गर्दा नेपाली समाजमा इतिहासकारको स्थानमान खस्केको हो । गम्भीरतम अनुसन्धान विषयको रूपमा इतिहास असान्दर्भिक भएको हो । यो दयनीय स्थितिका लागि कल्पना–शून्य नेपाली इतिहासकारहरू जिम्मेवार छन् । लेखक योगेश राजको तर्क के रह्यो भने इतिहासअध्ययनका प्रचलित अनुशासन–संरचना थोत्रा भएकाले वर्तमान नेपाली परिदृश्यमा इतिहास विधा नै धरापमा परेको हो । यस पुस्तकमा उनले उपलब्ध अनुशासनलाई थाती राखेर हामीले विषय–वस्तु, सन्दर्भ–बिन्दु, विधि र तर्कप्रणाली गरी चार स्तरमा नेपालको इतिहासलेखनलाई बदल्नु छ भनेका छन् । आफ्नो जिरहलाई स्पष्ट गर्न यहाँ उनले दुई सन्दर्भ–बिन्दु क्रमभङ्ग र सम्भारलाई अघि सारेका छन् । यी सन्दर्भ–बिन्दुबाट नेपाली इतिहास केलाउँदा नेपाली समाजमा आएका परिवर्तन र नेपालीहरूले थेग्न परिरहेको उकुसमुकुसबारे नौलो दृष्टि फेला पार्न सकिन्छ भन्ने उनको यहाँ तर्क रहेको छ ।
योगेश राज दक्षिण एशियाली इतिहास र इतिहासलेखनको बहुविध अध्ययन गर्छन् । उनी नेपाल ईन्जिनियरिङ्ग कलेज, भक्तपुरमा पढाउँछन् र सो कलेजमा सामाजिक प्रतिरक्षा प्रविधि अनुसन्धान केन्द्रका निर्देशक हुन् । उनले दैनिक उपभोग्य वस्तुको उत्पादनका ठुल्ठूला प्रयास र दक्षिण एशियामा औपनिवेशिक राज्यव्यवस्थाको सह–प्रादुर्भावबारे विशेष शोध गरेका छन् । उनका पछिल्ला दुई पुस्तक हिस्टरि आय्ज् माइन्डस्केप्स् (मार्टिन चौतारी, सन् २०१०) र दि जर्अनल्स् अफ् क्याप्टिन् किन्लक् (जगदम्बा प्रकाशन, सन् २०१२) हुन् । हाल उनी मार्टिन चौतारीका फेलो छन् ।
विषयसूची
- भूमिका - १
- नेपालको इतिहासमा विधागत हस्तक्षेप : सम्भावना, प्रकार र चुनौती - ४
- नेपाली इतिहासलेखनको एकसरो इतिहास - ४
- प्रचलित इतिहासलेखनका केही गूढ समस्या - ७
- सन्दर्भ-बिन्दु, विषयवस्तु, विधि र तर्कप्रणालीकोस्तरमा हस्तक्षेप - ११
- विधागत हस्तक्षेपको एउटा दृष्टान्त : क्रमभङ्ग र सम्भारकोइतिहास - १६
- तीनवटा छोटा कथा - १६
- क्रमभङ्ग र सम्भार - १७
- किन क्रमभङ्ग र सम्भार? - २३
- सारांश - २६