चौतारी पुस्तक श्रृंखला ९
विकास र वातावरणबीचको अन्तरसम्बन्धबाट उत्पन्न वातावरणीय प्रतिफल र खतराहरू समाजका विभिन्न समूह , वर्ग, जाति/ जनजाति आदिमाझ हुने असमान वितरणबाट नै ' वातावरणीय न्याय' को अवधारणाको विकास भएको हो । विश्वव्यापी रूपमा नै समाजमा ज्ञान र शक्तिको असमान वितरण भएकाले शक्तिविहीन/ गरिब/ पिछडिएका/ अल्पसङ्ख्यक जाति, वर्ग, समूह, क्षेत्र, देशहरूले साधारणतया वातावरणीय खतराहरूको ठूलो बोझ उठाउन परिरहेको छ; उनीहरू अन्यायमा परिहेका छन् ।
यो अन्यायले उनीहरूको ' स्वच्छ वातावरणमा बाँच्नपाउने' अधिकार हनन् त भएको छ नै यसले ' पीडित परिवारको' स्वास्थ्य, शिक्षा आदिमा नकारात्मक असर पार्ने भएकाले उनीहरूको जीविकोपार्जनमा समेत सङ्कट उत्पन्न गरेको छ । प्रत्येक मानिसको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार स्थापना गरी ' पीडित परिवारको' जीविकोपार्जनमा सुधार ल्याउनु वातावरणीय न्यायको उद्देश्य हो । यसै सन्दर्भमा २०५८/ ५९ सालमा पोखराको सहरी सन्दर्भमा देखिएका वातावरणीय न्यायसम्बन्धी समस्याहरूको अध्ययन भएको थियो । सोही अध्ययनमा आधारित लेखहरूको सँगालो हो, वातावरणीय न्यायको सहरी सन्दर्भ ।
वातावरणीय न्यायसम्बन्धी अध्ययन / लेखहरू नेपाललगायत अन्य विकासशील देशहरूको सन्दर्भमा कमै मात्र उपलब्ध भएकाले ती देशहरूका समाजको सन्दर्भमा ' वातावरणीय न्याय' को अवधारणालाई विस्तृत गर्न कठिनाइ भएको छ । पुस्तकमा समावेश लेखहरूले सहरीकरणका सन्दर्भमा उब्जने वातावरणीय न्यायसम्बन्धी समस्याहरू, ती समस्याका कारकहरू र समाधानका केही उपायहरू पस्केका छन् । यर्सथ पुस्तकले सहरी सन्दर्भमा ' वातावरणीय न्याय' को अवधारणा परिमार्जन र विस्तृत गर्न सघाउ पुर्याउने छ ।
समाजशास्त्रमा विद्यावारिधि गर्नु भएका जगन्नाथ अधिकारीले कृषि तथा ग्रामीण विकास, समाजशास्त्र र वातावरण संरक्षणसम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धान गर्नु भएको छ । उहाँका नेपालको ग्रामीण समाज अर्थतन्त्र, सहरीकरण, खाद्य-सुरक्षा र वातावरणीय न्यायसम्बन्धी लेख तथा पुस्तकहरु प्रकाशित छन् ।
पुस्तकमा के छ -