कोभिडमा अहोरात्र खट्ने ‘हिरो’लाई सम्मान, ‘जिरो’लाई खबरदारी

- मधुसूदन सुवेदी | 2021-09-24

मधुसूदन सुवेदी

कहिलेकाहीँ लाग्छ, म किन लेखूँ ? छलछाम, जालझेल र तिगडमबाज, दलतन्त्र र गुटबन्दीको यो जमानामा मेरो विचार कसले सुन्छ ? सत्ता र विपक्षीको दोहोरीमा दर्शकदीर्घामा बसेको व्यक्तिको मधुरो तर वास्तविक आवाज कसले सुन्छ ? फेरि मनले मान्दैन र भन्छ, तिमीले अहिले नलेखे कहिले लेख्‍ने ? तिमीले समाजको यथार्थ र वास्तविकता लेख्नैपर्छ ।

अहिले हामी सम्भवतः इतिहासकै कठिन घडीमा छौँ । कोरोना महामारीले संसारका ख्यातिप्राप्त स्वास्थ्य वैज्ञानिकहरू र आफ्ना जनताका लागि जिम्मेवारी महसुस गर्ने नेतृत्वले संक्रमणबाट जोगिन/जोगाउन अथक प्रयत्न गर्दै छन् । खोपको व्यवस्था र जनस्वास्थ्यका मापदण्डको पालन गर्न/गराउन आफ्नो ध्यान दिएका छन् । नेपालमा भने दिनानुदिन सर्वसाधारणलाई गाह्रो छ ।

एम्बुलेन्स नपाएर कोरोना संक्रमित अस्पतालमा पुग्न पाएका छैनन् । अस्पतालमा बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु परेको छ । एकातिर अस्पतालका बेड खाली छन्, अर्को अस्पतालमा बिरामीको भीडको व्यवस्थापन गर्न सकिएको छैन । अस्पताल पुग्दासम्म संक्रमित बाँच्ने कोसिस गरिरहेका हुन्छन् । तर, अस्पताल पुगेपछि दृश्य झनै कारुणिक बन्छ । सरकारी अस्पतालमा बाहिरबाटै बिरामीको भीड हुन्छ, बेड अभाव हुन्छ । कतिपय ठाउँमा त बेड अभावले अस्पताल चहार्दै भौँतारिनुपर्ने हुन्छ । अर्कोतिर निजी अस्पतालहरूमा कोरोना संक्रमित बिरामीको उपचार शुल्क निकै महँगो हुँदा, आफू पनि मर्ने र सबै सम्पत्ति पनि सकिने डरले जान चाहँदैनन् ।

सामाजिक सञ्जाल कोरोनाका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली र समवेदनाले भरिएका छन् । कोभिड-१९ का कारणले हामीले थुप्रै साथीभाइ, ईष्टमित्र, नाता-कुटुम्ब गुमाउनुपर्दाको दुःख र पीडासँगै राजनीतिक दाउपेच र फोहोरी खेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना र लोकतान्त्रिक चरित्रको राज्यव्यवस्था नै संकटमा पर्ने हो कि भन्ने अड्कलबाजी गरिँदै छ । जनतामा व्यापक रोष पैदा भएको छ । नेपाली जनता सचेत छन् र सामाजिक रूपान्तरणका लागि राजनीतिक पार्टीहरूलाई अभिमतमार्फत दबाब दिन सक्षम हुने छन् ।

गैरजिम्मेवार नेतृत्वसत्ताको जोड-घटाउ, बिहान मुख्यमन्त्री पदबाट राजीनामा साँझ शपथ ग्रहण, आफ्नै पार्टीका उम्मेदवारलाई भोट नदिने खुलमखुला चुनौती । बिहान जुट्छन्, साँझ गालीगलौज गर्दै फुट्छन् । जनतालाई निषेधाज्ञा जारी गरेर शीतल निवास, बालुवाटार, बूढानीलकण्ठ, खुमलटार, कोटेश्वरमा दिनरात सत्ता-शक्तिका खिचडीबारे भेटघाट चलिरहेका छन् । संसद्जस्तो गरिमामय पद खसी-बोकाजस्तो मोलमोलाइमा कहिले यता त कहिले उता लाग्दै छन् । रातको १२ बजे सत्ता र शक्तिका लागि मन्त्रिपरिषद्को मिटिङ बस्छ, अर्कोतर्फ विपक्षीको जोड-घटाउका लागि तानातान, दौडधूप । अरूले सुन्दा चलचित्रको काल्पनिक चित्रणजस्तो तर नेपालको वास्तविकता । उनीहरूका लागि सत्ता, शक्ति, पद, आफ्नो मान्छेको नियुक्तिबाहेक अरू सबै मिथ्या हुन् ।

प्रक्रिया, विधि, मूल्य र मान्यता उनीहरूका लागि तपसिलका विषय हुन् । उनीहरू गैरलोकतान्त्रिक कदम पनि देश र जनताको हितमा भएको दाबा गर्छन् र उनीहरूका आसेपासे र लम्पट पिछलग्गुहरूले आलोचनात्मक सुझाव दिनुको सट्टा गलत निर्णय र कार्यान्वयनको रफु गर्दै दिन बिताइरहेका छन् । उनीहरूका लागि कोरोनाले ज्यान गुमाउनु, बेरोजगार बन्नु, बिहान-बेलुका छाक टार्न नसक्नु महत्वपूर्ण विषय हैनन् । आखिर यो कहिलेसम्म ? घरमा आगो लगएर खरानीको व्यापार गर्नेलाई कुरीकुरी । महामारीमा जनतालाई खोपको व्यवस्था गर्नुको सट्टा जनतालाई निषेधाज्ञा लगाएर सत्ताको चास्नीमा डुबुल्की मार्नेलाई धारे हात ।

घरमा कोरोनाको बिरामी छट्पटिएका बेला अस्पतालमा बेड खाली छ कि भनेर फोन गर्दा फोन नउठ्ने र उठेको ठाउँबाट अर्को ठाउँमा सम्पर्क गर्न भन्ने अनि अर्को ठाउँमा फोन गर्दा फेरि नउठ्ने गर्दागर्दै परिवार गुमाउनेको पीडा र आक्रोश सुन्ने फुर्सद उनीहरूलाई छैन । थाहै नपाइकन धेरै मानिस मृत्युको छेउमा पुगेका समाचारले उनीहरूलाई छुँदैन । व्यक्ति हार्नु र जित्नु ठूलो कुरा होइन, अस्पतालमा छट्पटाइरहेको व्यक्तिको ज्यान बचाउनु अहिलेको मुख्य काम हो भन्ने उनीहरू स्वीकार गर्दैनन् । उनीहरू संवेदनाहीन प्राणी हुन् ।

कोरोनाको कहरबाट बच्न सबै एकजुट भएर लाग्ने बेला संसद् विघटन र मध्यावधि चुनाव किन र कसका लागि ? के अस्पताललाई उपचार केन्द्र नबनाई मतदान केन्द्र बनाउन खोजिएको हो ? अब बिरामीलाई अक्सिजनको सट्टा मतपत्र थमाउन खोजिएको हो ? संकटको समयमा किन चाहियो चुनाव ? यस्तो हर्कत गर्ने नेतृत्वप्रति प्रश्न गर्नैपर्छ र इतिहासको कठघरामा राख्नुपर्छ ।

कोभिड-१९ का हिरोहरूमुलुकको शासन सञ्चालनको जिम्मा पाएका राजनीतिक पार्टी र उनका भ्रातृ संगठनहरूले कोरोनासँग जुध्न हिरोको भूमिका निर्वाह गर्न सकेनन् । कालो बादलमा चाँदीको घेरा भनेझैँ समाज स्वार्थी, मतलबी र ढोंगी मात्र छैन । यहाँ सेवा, माया, कर्तव्य र करुणा पनि छ । यिनै ससाना सकारात्मक कर्मले सामाजिक संकटमा निरन्तर आशा जगाइरहन्छ । अहोरात्र खटेर उपचार गर्ने डाक्टर, नर्स, एम्बुलेन्स ड्राइभरहरू, प्रयोगशालामा काम गर्ने व्यक्तिहरू, स्वाब संकलनकर्ताहरू, क्वारेन्टिन केन्द्रहरूमा काम गर्नेहरू, फार्मेसीमार्फत सेवा दिइरहेकाहरू, अत्यावश्यक वस्तुहरूको सेवामा खटेका व्यक्तिहरू, सरसफाइकर्मीहरू, कोरोना उपचार केन्द्र व्यवस्थापन र विदेशबाट फर्किएका नेपालीलाई सम्बन्धित जिल्लासम्म सुरक्षित रूपमा पुर्‍याउनका लागि खटेकाहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । यी व्यक्तिहरू यो कठिन समयका नायक÷हिरो हुन् जसले दिनरात खटेर, आफू संक्रमित हुने चुनौतीको बाबजुद प्रशंसनीय कार्य गरिरहेका छन् । अस्पतालबाट सन्चो भएर फर्केकाहरूले ती सबै सहयोगीप्रति आभार व्यक्त गर्दै उपचारपछि नयाँ जीवन पाएर घर फर्केकाहरूको सुखद अनुभवका समाचार पनि छन् ।

कोभिड-१९ सुरु हुँदादेखि नै संक्रमितको ज्यान बचाउन अहोरात्र खटेका डाक्टर विगत १४ महिनादेखि आफ्नो घरपरिवार, बाबुआमा, ईष्टमित्रसँग राम्ररी भेटघाट गर्न पाएका छैनन् । उनीहरू ड्युटी सकेर घर गए पनि छुट्टै कोठामा क्वारेन्टिनमा बस्छन् । घरमै भए पनि परिवारबाट बिल्कुलै अलग बस्छन् । परिवारले ल्याएर अलग्ग राखिदिएको खाना खाएर ड्युटी जान्छन् या सुत्छन् । उनीहरूले श्रीमती-श्रीमान्, छोराछोरी, बाबुआमालाई टाढैबाट हेरेर चित्त बुझाएका छन् । कतिपयले आफ्नै परिवारलाई कोरोनाका कारण गुमाएका छन् ।

उनीहरूले बिदाको दिन र २०७७ सालको चाडपर्व अस्पतालमै बिताए । दसैँ, तिहार, छठ, ल्होसारजस्ता चाडपर्वमा प्रियजनसँग भेटघाट हुन नपाउँदा पनि धेरै चिन्तित छैनन् तर आफ्नो कार्य क्षेत्रमा अक्सिजनजस्तो न्यूनतम सुविधासमेत हुन नसक्दा बिरामीले ज्यान गुमाउनुपरेकामा दुःखी छन् । सत्ताको फोहोरी खेलले उनीहरूलाई चिन्तित बनाएको छ । सबै नेपालीले खोप लगाउने वातावरणका लागि सरकारले पहल गरोस् भन्छन् ।

ज्यान जोखिममा राखेर काम गर्दा सरकारले दिने भनेको जोखिम भत्ता नपाउँदा पनि कोही कर्तव्यबाट भागेका छैनन् । जो अस्पतालबाट आफ्नै घर जान पाउनेहरूले दुव्र्यवहार भोग्न नपरे पनि कोठा लिएर बसेकाहरू दुव्र्यवहारमा परेका छन् । कोभिडको समयका यी हिरोहरूले आफ्नो ज्यानको पर्वाह नगरी अरूको ज्यान बचाउन लागिपरेका छन्, उनीहरूलाई सम्मान गर्दै काम गर्ने हौसला दिनुको सट्टा अवहेलना गर्नु मानवता हराउनु हो ।

परिवारको साथ छाडेर पेसागत जिम्मेवारी पूरा गर्दै बसिरहेका नर्सहरू बिरामीको सेवामा निकै खेटेका छन् । साना छोराछोरी, आमाबाबु, सासूससुराको हेरविचार गर्न पाएका छैनन् । समयमा खान पाएका छैनन्, डबल ड्युटीले सुत्न पाएका हुँदैनन् । पीपीई लगाएर संक्रमितको सेवा गर्दागर्दै आफैँ संक्रमित भएर कोही अस्पतालमा भर्ना छन् भने कोही आइसोलेसनमा बसेका छन् । कोरोना संक्रमितको प्रत्यक्ष उपचारमा खटिएका नर्सहरूको योगदान महत्वपूर्ण छ ।

कोभिड-१९ को नमुनाहरू संकलन गर्ने र जाँच गरी समयमै नतिजा दिन अहोरात्र खट्ने टेक्निसियनहरू आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहेका छन् । प्रयोगशाला प्राविधिकहरू अग्रणी रेखामा देखिँदैनन् तर तिनीहरूले लगनपूर्वक काम गरिरहेका छन् । दिनभर ल्याबमा खट्नेहरू कोभिड समयका पर्दा पछाडिबाट काम गर्ने हिरोहरू हुन् ।

कोभिड-१९ विरुद्धको लडाइँमा बिरामीलाई उनीहरूको घरबाट अस्पतालसम्म र अस्पतालबाट घरसम्म पुर्‍याउने एम्बुलेन्स चालकहरू अग्रपंक्तिका योद्धाहरू हुन् जो सदैव संक्रमणको उच्च जोखिममा हुन्छन् । एम्बुलेन्स चालकहरू दिनभर सम्भावित टच पोइन्टहरूका साथ उच्च जोखिम बिरामीहरू बोक्छन् र प्रत्येक यात्राको साथ जोखिमको स्तर बढ्दै जान्छ । यद्यपि तिनीहरूले निडरतापूर्वक र प्रशंसनीय रूपमा साथ आफ्ना कार्य पूरा गरिरहेका छन् । उनीहरू आफ्नो कारणले परिवारका सदस्यलाई कोरोना सर्छ कि भन्नेमा चिन्तित छन् । बिरामीको छट्पटीसामु उनीहरू बलियो आत्मविश्वाससाथ सेवा गरिरहेका छन् । एम्बुलेन्समा बिरामीको अवस्था हेरेर अक्सिजन लगाउनुका साथै आश्वासन दिने काम पनि गरिरहेका हुन्छन् ।

सरसफाइ कर्मचारीहरू पीपीईमा बाफिँदै बिरामी सुतेका ओछ्यानका तन्ना फेरिरहेका छन्, कपडा मिलाइरहेका छन्, बिरामीसँग कुरा गरी उनीहरूको आत्मबल बढाउन मद्दत गरेका छन् । अस्पतालका भुइँ र संक्रमितले प्रयोग गरेका चर्पी घोटिरहेका छन् । संक्रमण फैलिने डर सबैभन्दा धेरै उनीहरूलाई हुन्छ । कोभिड अस्पतालमा सरसफाइ भएन भने संक्रमण फैलिने डर झनै धेरै हुन्छ । सरसफाइ कर्मचारीहरू भएनन् भने त अस्पताल अस्तव्यस्त हुन्छ र संक्रमण फैलिने हुन्छ । सरसफाइकर्मीलाई धेरै मानिसले बेवास्ता गरेका हिरो हुन् ।

क्वारेन्टिन व्यवस्थापन, राहत वितरण, जुलुसलगायतका भीडभाड नियन्त्रण आदिमा सुरक्षाकर्मीले राम्रो काम गरेका छन् । सेनाले शव व्यवस्थापनमा आफ्नो भूमिका निभाएका छन् । कोभिड हिरोहरू सुट-बुट हैन मास्क र फेससिल्ड लगाउँछन् । तिनीहरू आफू संक्रमित हुनसक्ने थाहा हुँदाहुँदै पनि अरूको जीवन रक्षाका लागि दिनरात आफ्नो काममा लागिपरेका छन् ।

कोभिड-१९ को सन्दर्भमा हामीकहाँ यस्ता नेता छन् भनेर सम्झिनका लागि केही स्थानीय सरकारका जनप्रतिनिधि, मेयर, उपमेयरको भूमिका पनि महत्वपूर्ण छ । प्रदेश र संघीय सरकारसँगको संयोजन राम्रो हुन नसक्दा कतिपय ठाउँमा कोरोना संक्रमण रोक्न कठिन भइरहेको छ । प्रदेश र संघीय सांसदहरू सत्ताको छिनाझपटीले स्थानीय रूपमा काम गर्ने वातावरण बन्न दिएन । यस्तो अवस्थामा आन्तरिक स्रोत परिचालन गरी अस्पतालतिर मात्र ध्यान दिने होइन, टेस्ट, क्वारेन्टिन र कन्ट्याक ट्रेसिङमा पनि उत्तिकै ध्यान दिन जरुरी छ । सबै बिरामीका लागि अस्पतालको आवश्यकता पनि पर्दैन । होम आइसोलेसनमा बसेकालाई अपहेलना हैन, स्नेह, माया, सहयोग र सान्त्वनाको आवश्यक पर्छ । यो काम ईष्टमित्र, साथीभाइ, नाता-कुटुम्ब र स्थानीय सरकारले गर्न सकिन्छ । जटिल समस्याका बिरामीलाई अस्पतालमा लैजाने, बिरामी र कुरुवालाई गर्नुपर्ने सहयोग, स्वास्थ्यकर्मीसँग बिरामीको अवस्थाबारे जानकारी, एम्बुलेन्सको व्यवस्था, शववाहनसमेतको व्यवस्थामा सबै मिलेर उत्तिकै ध्यान दिनु जरुरी छ ।

अन्त्यमा,यस संकटमा थप क्षति हुनबाट जोगाउन र मुक्ति पाउन गतिशील नेतृत्वका साथ राज्यले आफ्नो सम्पूर्ण शक्ति लगाएर काम गर्नुको सट्टा सत्ता लुछाचुँडीमा समय खर्चिनु सामाजिक अपराध हो । कोरोनाजस्तो साझा शत्रुसँग लड्न सबै पार्टीको महत्वपूर्ण भूमिका हुनु जरुरी छ । सहायता प्रदान गर्नसक्ने विकास साझेदारहरूसँग सहायताका लागि यथेष्ट पहल र अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित गर्न आवश्यक कदम चाल्न ढिला भइसकेको छ । खोपको वितरण समुचित रूपमा हुने कुरा सुनिश्चित गरिनुपर्दछ ।

सबै सुरक्षित नभएसम्म हामी कोही पनि सुरक्षित रहदैनौँ । राज्य सत्तामा बसेका र आफ्नो पहुँच भएकाहरूले चुनावी क्षेत्रमा केही थान मास्क, अक्सिजन सिलिन्डर, साबुन, स्यानिटाइजर हस्तान्तरण गरेको फोटो सामाजिक सञ्जालमा राखेर कोरोनाको कहरबाट बच्न सकिँदैन । समग्र स्वास्थ्य प्रणालीमा सुधार ल्याउने काममा एकजुट हुन आ-आफ्नो क्षेत्रबाट सक्रियतापूर्वक लाग्नैपर्छ । सही कार्यको धन्यवाद र गलत कामको भण्डाफोर गर्नेपर्छ । कोरोनाको समयका हिरोहरूलाई नमन जसले अरूको ज्यान बचाउन आफ्नै जीवन जोखिममा राखेर काम गरिरहेका छन् ।

कवि शरद देवकोटाको कवितामार्फत आफ्नो यो लेख बिट मार्न चाहन्छु :-

चित्त बुझ्दैन केही लेखौँआँखी होइन्छ कि भन्ने डरमन मान्दैन केही बोलौँबाइलो होइन्छ कि भन्ने डर ।यो डरैडरको भुमरीमा निरुद्देश्य बाँच्दाकतै कोलमा नारिएको गोरुजस्तै भइन्छ कि भन्ने डर ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य विभागका प्रमुख प्राध्यापक सुवेदी चिकित्सा समाजशास्त्री तथा मानवशास्त्री हुन् । उनको लेखनरसहलेखनमा ‘स्टेट, सोसाइटी एन्ड हेल्थ इन नेपाल’, ‘द स्टेट अफ सोसियोलोजी एन्ड एन्थ्रोपोलोजी स् टिचिङ एन्ड रिसर्च इन नेपाल’ जस्ता पुस्तक प्रकाशित छन् ।

र यो पनि

आउनुस्, सबै मिली ‘पागल’ गोविन्द केसीलाई फेरि गाली गरौँ

प्रकाशन मिति : जेठ ९, २०७८स्रोत : https://ekagaj.com/article/thought/14880?fbclid=IwAR2MfhybQhkd4x4NEJECazeb6k1CCt-4pKux0QycR6FgLAQiABZkTH-RpLI


About the Author

Madhusudan Subedi मधुसूदन सुवेदी

Patan Academy of Health Sciences, Lalitpur, Nepal

More Blogs