त्यस बखतको धरान

- अर्जुन पन्थी | 2026-10-09

औसत एउटा जिन्दगीलाई म भीमबहादुर पाँडेको त्यसबखतको नेपाल जस्तै "त्यस बखतको धरान" भन्न चाहन्छु, जहाँ लेखक थापाले आफ्नो शैशव अनि किशोरावस्थाको वर्णन गर्दै धरानको सामाजिक र राजनीतिक इतिहास पनि बताउँछन्।

सन् १९६० को दशकताका धरानस्थित छाता चौक (नेपाल पिक्चर लाइब्रेरी) ।

बजारमा एउटा नयाँ किताब आएको छ, औसत एउटा जिन्दगी (२०८२)। फाइनप्रिन्टद्वारा प्रकाशित, वसन्त थापाद्वारा लेखिएका लेखहरूको सङ्कलन। यसमा रुचि जाग्नुमा मेरा केही कारण थिए – पहिलो, घच्चीका अनुवादक भनेर चिनिएका मान्छेको जिन्दगी जान्नु। दोस्रो, उनको अनूदित किताब पढ्दा कतिपय शब्दमा पाउने गुरुत्वले तान्नु।

पढ्दै जाँदा मैले त्यहाँ उनी जन्मेको धनकुटा – डाँडागाउँ भेटें, धरान झरेको बसाइँ देखेँ, धरानमा बेलायती सेनाहरू बसेपछि बदलिँदै गएका फुस्रे र घोपा गाउँको विगत भेटें, दार्जिलिङेहरू किन आए र उनीहरूसँग धरानेहरू कसरी प्रभावित भए भन्ने थाहा पाएँ, बिहारी र बंगालीहरूले पनि धरानलाई आकार दिएको कुरा पढें, अनि पढें मुक्तिकामी बा र सङ्घर्षशील आमाको कथाभित्र 'सर्वहारा' वसन्त थापाको बाल्यकालीन र युवावयको जीवन।

त्यहाँ थापाको "औसत" जिन्दगी मात्र थिएन। सन् २००७ सालदेखि २०२७ सालसम्मको धरानकै कथा थियो। त्यस बखतको धरानमा लेखक कसरी ढलीमली गर्छन्, कसरी आफ्नो जीवनबाट धरानको जीवनगाथा कथा सुनाउँछन्, किताबको मौलिकता यही हो।

डाँडागाउँ, फुस्रे र घोपा क्याम्प

खासै तिथिमिति लेख्दैनन् लेखक। किताबभरि उनी कहिले जन्मे होलान् भनेर धुइँपत्ताल खोजेँ, कतै भेटिनँ। डाँडागाउँमा २००७ सालको मिर्मिरे या उषाकालमा जन्मेका होलान्। उनका बाबु कुनै बेला राणा राज्यका कारिन्दा थिए। त्यसपछि परिवार धरान झर्‍यो तर किन झर्‍यो, कसरी झर्‍यो पत्तो दिँदैनन् लेखक।

परिवार धरान झरे पनि बज्यैले डाँडागाउँको जरोकिलो छाडेकी थिइनन्। त्यसैले उनी धरानबाट फुत्त फुत्त डाँडागाउँ हुर्रिन्थे। कहिल्यै नरिसाउने बज्यै, गाली पनि नगर्ने, बिहीबारे हाटमा लगिरहने। थापा लेख्छन्, "चुम्बकजस्तो थियो डाँडागाउँ।" चुम्बकैजस्ती हुँदी हुन् उनकी बज्यै पनि। तर भावनात्मक भएर मात्र के गर्नु डाँडागाउँलाई बिर्साउने सम्झना छन् धरानमा पनि।

सानैमा उनले देखेको धरान डाँडागाउँभन्दा बृहत् थियो। त्यहाँ स्कुल, कलेज, अस्पताल, फिल्म हल सबै थिए। भूगोलका हिसाबले त्यो धरान विशाल भारतसँग प्रत्यक्ष थियो। भारतीय मात्र होइन, समुद्रपारका "गोराहरू"पनि उनले त्यहाँ देखेका थिए। धरान सिरानको फुस्रेमा गोराहरूले डेरा जमाएका थिए। पूर्वेली युवाहरूलाई ब्रिटिस मिलिटरीमा लैजानका लागि धरानमा उनीहरूले "डिपो" खोलेका थिए।

फुस्रेमा गोराहरू आएको सन् १९५३ ताकातिर थियो। गाउँ गाउँ गएर गल्लाहरूले उठाएका युवा त्यो डिपोमा सङ्कलित हुन्थे र विश्वमा कतै न कतै बेलायतले लडेका लडाइँमा लगिन्थे। त्यो कथा त बेग्लै लेख्नुपर्छ, तर गोराहरूले धरानमा धेरै कुराको सुविधा ल्याएको कुरा यहाँ महत्त्वपूर्ण छ।

साप्ताहिक रूपमा गोराहरूले ओगटेको फुस्रेमा सिनेमा देखाइन्थ्यो। लुकेर भए पनि थापा त्यहाँ जान्थे। त्यहाँ सिनेमा मात्र होइन, गोराहरूले ल्याएका ल्याण्डरोभर, लरी, एम्बुलेन्स पनि उनले त्यही बेला देखे। फुस्रेमै रहेको बेला गोराहरूले पहाडी लडाका लैजान जोगबनीदेखि धरानसम्म बाटो बनाउन थालेको पनि देखे।

किताबमा रचनाहरू त्यसरी राखिएको छैन, जसरी मैले बयान गरेको छु। जस्तो धरानमा गोराहरूको विवरण पढ्न मलाई १४ वटा निबन्ध पार गर्नुपरेको थियो।

अस्थायी रूपमा फुस्रेमा बसेको डिपो सन् १९५९ घोपा गाउँमा सर्‍यो। जसलाई धरानेहरूले "घोपा क्याम्प" भनेर चिन्न थाले। तर टाढाका हामीले अहिले चिन्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान।

घोपामा स्थायी क्याम्प जमेपछि धरानको बैंस आउँछ। थापा लेख्छन्, "घोपा आफैमा पूर्ण र एउटा छुट्टै संसार थियो।"

मलाया (हालको पश्चिम मलेसिया) स्वतन्त्र भए पनि त्यहाँ कम्युनिस्ट छापामारहरूले दु:ख दिइरहेका थिए, उनीहरूलाई तह लगाउन लडाकू युवा चाहिएको थियो। अङ्ग्रेजहरूले लडाकू युवा भर्ती गर्न नेपालको पूर्वमा धरान र पश्चिममा पहिला भैरहवाको पक्लिहवा र
सन् १९७० पछि पोखरा रोजेका थिए।

यही बेला धरानमा लेखकसँगै स्कुल पढिरहेका किशोरहरू भटाभट हराउँथे। पछि थाहा हुन्थ्यो उनीहरू भर्ती भए रे। तेह्र-चौध वर्षकालाई "बोय" भनेर लगिन्थ्यो। सोह्र-सत्रका युवालाई "रिक्रुट" र बाँकीलाई "क्लर्क" भनेर। स्कुलबाट भटाभट हराउने युवकहरूलाई धरानबाट लरीमा खाँदेर जोगबनी, कलकत्ता हुँदै जहाजमा हालेर मलाया पुर्‍याइँदो रहेछ।

"छे महिने"छुट्टीमा फर्केका उनीहरूले धरानलाई रौनक दिएका थिए। त्यति बेलै नेशनल पानासोनिक रेडियो घन्किन्थ्यो धरानमा। त्यसैबाट धरानेहरूले समुद्रपारका कथाहरू सुन्न पाएका थिए।

लेखक थापाले ब्रिटिसहरू धरानमा आउनुलाई "धन्न" भनेका छन्। शायद नआएको भए धरानको हराभरा उनले देख्न पाउने थिएनन्। धरानमा लाहुरेहरू आउजाउ गर्न थालेपछि त्यहाँको हावामा आधुनिकता मिसियो, समृद्धि भित्रियो। औलो लाग्ने खडेरीयुक्त धरान घडेरीमा परिणत हुन थाल्यो। लाहुरबाट सेवानिवृत्तहरू पनि त्यहीँ बस्न थाले, पुल बाटाहरू बने। मलाया बान्कीका घरहरू बने।

दार्जिलिङेहरू

फुस्रेबजारमा अस्थायी डिपो रहँदैको कुरा हो, गोराहरूले कर्मचारीका रूपमा अङ्ग्रेजी जानेका दार्जिलिङे युवालाई धरानमा ल्याए। डिपो फुस्रेबाट घोपा सर्दा त्यहाँको "सिभिल लाइन"को बस्ती दार्जिलिङेहरूले भरिभराउ भयो। दार्जिलिङेहरू आफू मात्र आएनन्, सँगै कला-सङ्गीत पनि लिएर आए।

घोपा क्याम्पमा २०२४/२५ सालतिर गोपाल योञ्जनले दार्जिलिङबाट हिमालय कला मन्दिरको टोली लिएर आए। क्याम्पमा नेपालीभाषीहरू पनि बस्ने भएकाले सङ्गीत कार्यक्रम आयोजना हुन्थ्यो। उता चलेका गीतहरू धरानमा लोकप्रिय हुँदै गए। हम जायेगाका जोकहरू सुन्न पाइयो। थापा लेख्छन्, "गिटार बजाउन पनि दार्जिलिङेहरूबाटै सिकियो।" बिस्तारै "दार्जिलिङे कल्चर"बाट धरान प्रभावित हुँदै गयो।

दार्जिलिङेहरूले आफ्नातिरका किताबहरू पनि धरानमा चिनाए। प्रकाश कोविद, इन्द्रबहादुर राई, शिवकुमार राई, लैनसिंह वाङ्देल लगायतका। ती किताब पढ्दा धराने युवकले पनि दार्जिलिङतिरका नाम कण्ठस्थ गर्न थाले। लेखकले पनि काठमाडौँभन्दा पहिला दार्जिलिङ नै घुमे। रेस्टुराँको लाइभ बयान्ड त्यहीँ देखे, सुने। "हेलो सोम" भन्ने शब्द त्यहीँ सुने।

"दाइ" भनेर सम्बोधन गर्दा पाखे भइने हुनाले, "दाजु" भन्ने शब्द पनि धरानेले उतैबाट सिके। दार्जिलिङेहरूसँगै धरानमा मोमो आयो। थुक्पा आयो। चाउमिन आयो। युवा पुस्तामा काठमाडौँभन्दा पहिला दार्जिलिङ एउटा सपनाजस्तै भएको थियो। त्यसैले पनि धरानले छुट्टै वैशिष्ट्य बनाउँदै गयो।

बिहारी र बंगाली

दार्जिलिङे मात्र होइन, सन् १९५० पछि धरानमा बिहारी र बंगालीहरू पनि प्रशस्तै भेटिन्थे। चिलदृष्टिले हेर्ने हो भने धरान, कोशी तटको शहर हो। अलि पश्चिम चतरा छ, त्यहाँबाट नजिकै त्रिवेणीमा सुनकोशी, अरुण र तमोर मिल्दछन् अनि सप्तकोशी बन्दछ। सप्तकोशी अलि दक्षिण लागेपछि बाँध बाँधिएको छ। त्यो सन् १९५४ मा बाँधिएको हो। धरानतिरका डाँडाहरू काटेर त्यहाँको ढुङ्गामाटो लगेर कोशीको बाँध बनाइयो। बाँध परियोजनाको मुख्य कार्यालय धरानमा राखियो। परियोजनाका कामदारहरूको "कोलोनी" धरानमा थियो। यो पनि घोपा क्याम्पको "सिभिल लाइन" जस्तै थियो। त्यहाँ विशेष अवसरमा फिल्महरू देखाइन्थे। विश्वकर्मा पूजामा धरानेहरूले त्यहाँ गएर पनि फिल्म हेरे।

कोलोनीमा बस्ने परिवारलाई खोलिदिएको क्लिनिक त्यहाँ थियो। स्थानीयहरूले पनि त्यहाँ उपचार गराउन पाउँथे। त्यहाँ पनि बिहारी र बङ्गाली डाक्टरसँग धरानेहरूको हेलमेल भयो। त्यसबाहेक भारतीयहरू धरानमा आउने कारण थियो अध्यापन।  बिहारी र बंगाली मास्टर धरानमा कति थिए कति ? उनीहरू नै धरानका सुरुसुरुका गुरुहरू थिए। जसले धरानमा खोलिएका स्कुललाई संस्थागत गराउन मदत गरे।

अहिलेको चटपटेजस्तै बिहार र बंगालमा प्रचलित "घुघुनी" बेच्ने बिहारी, पुरी तरकारी खान पाइने "हुटेल", चप र सिङ्गडा बेच्ने "देसी मान्छे", सानो बाकस हातमा लिएर पिर्कामा बसाली कपाल काट्न डुलिहिँड्ने हजामहरू थापाले सानैमा देखे।

घोपा क्याम्पमा काम गर्ने मानिस र उनका परिवार तथा रिकुटेहरूको नापजाँच र उपचार गर्न अस्पताल खोलिएको थियो। अस्पतालको सरसफाइ गर्न भारततिरबाट मानिस ल्याइन्थ्यो। ती मेहतरहरू एक्लै आउँदैनथे, छुट्टीमा गएका उनीहरू हिउँदता फर्किंदा धरानमा कालो बुङ्गुर खेदाउँदै आउँथे। धरानेले त्यो किन्थे र पाल्थे। थापा लेख्छन्, "धराने कालो सुँगुर भनेर अचेल नाम कहलिएको छ जताततै। त्यो त नाम मात्र जोडिएको हो। असलमा त्यसको परम्परागत स्रोत त सीमापारि थियो।"

धरानसँग भारतको भौतिक सीमा त जोडिएको थियो। तर अभौतिक सीमाहरू कोरिन बाँकी नै थियो, मलायाबाट आउने चिठीको ठेगानामा "पूर्णिया जिल्ला, जोगबनी पोस्ट, धरान" भनेर लेखिएको हुन्थ्यो। त्यो कुरा धरानमा मात्र सीमित थिएन। त्यहाँभन्दा सुदूर उत्तरको भोजपुर दिङ्लालाई पनि "पूर्णिया मण्डलाअन्तर्गत पूर्व नम्बर ४ भोजपुर दिङ्ला" भनेर लेखेका प्रमाणहरू मैले भेटेको छु।

यसो विचार गर्दा विश्वयुद्धपछि पनि युद्धहरू नचलेको भए धरानमा कलकत्ते, बनारसी, इलाहवादी, पटनादेखि मान्छे यति बाक्लो आउँथे होलान् र ? धोबीका घरहरू हुन्थे होलान् र ? लेखकले धरानको यस्तो विविधता देख्न पाउँथे होलान् त ? मलाई लाग्यो, विश्वयुद्धपछिका युद्धहरूले धरान जस्तो शहरलाई बाँकी विश्वसँग थप साक्षात्कार गरायो।

सन् १९६२ तिर बर्मेली र आसामीहरू धरानमा आएर बसेका थिए। मधेशमा कामत अर्थात् दुई-चार बिगाहा खेतीको जमिन किनेका उनीहरू, जग्गाको आयस्ता खाएर धरानमा बस्थे। त्यसबाट आउने दाल-चामल खाँदै केटाकेटी पढाउन उनीहरूले धरान रोजेका थिए। उनीहरूले त्यहाँ बर्मेली आसामी संस्कार पनि भित्राए। हुन त धरानमा मलाया लाहुरेका परिवारले लुङ्गी नलगाउने होइनन् तर त्यो लुङ्गीलाई व्यापक बनाउने काम चाहिँ उनीहरूले गरेका थिए।

नाना तरहले धरानमा विविध ठाउँबाट मान्छेहरू बसाइँ आएका थिए। त्यही भएर थापाले लेखेका छन् – धरान त नेपालको "माइक्रोकोज्म" हो। सानो नेपाल जस्तै थियो धरान।

बेलायत सरकारले धरानमा गोर्खा भर्ती केन्द्रको स्थापना गरेपछि सन् १९६२ मा बनाएको गल्फ कोर्स (रविन गिरी) ।

आमाबाको जिन्दगी

लेखक थापाले बा इन्द्रबहादुर "फक्कड"खालको भएकाले आमाले घर धानेको कुरा गर्छन्। सानै छँदा उनले धरानमा आमाले खोलेको एउटा खित्रेमित्रे दोकान भोगेका थिए। त्यही दोकानमा उनले स्कुल पढ्दापढ्दै काम गर्न सुरु गरे।

बा चाहिँ सर्वहारा मुक्तिको आन्दोलनमा थिए। मुक्तिकामी बा चुरोटका अम्बली, लम्बेतान गफ गर्ने, घरको उति वास्ता नगर्ने। तैपनि उनी शोभियत संघसम्म पुग्छन्, कसरी पुगे होलान् ? सुरुमा पत्तो पाइँदैन। त्यो जान्न किताबको अन्तिम पाठ पढ्नुपर्छ।

भएको के रहेछ भने, बा विराटनगरको मजदुर आन्दोलनदेखि नै कम्युनिस्ट पार्टीमा आकर्षित रहेछन्। पछि क्षयरोगका शिकार पनि भए। उपचारको निम्ति कम्युनिस्ट बाटाहरूमध्ये रायमाझी पथ समातेर उनी मस्कोसम्म पुगेको बुझिन्छ। 

पार्टीप्रति बाको समर्पित जिन्दगी र परिवारको बेहाल देखेर हुनुपर्छ, लेखकले "बाँच्न गाह्रो कम्युनिस्टपुत्र भएर" भन्ने सिङ्गो लेख नै लेखेका छन्। के "गैरलाहुरे" भएर बाँच्न गाह्रो भएको थियो ? यो प्रश्नले भने मलाई पछ्याइरह्यो। किनभने अवसरहरू धरानले "कम्युनिस्टपुत्र"लाई दिएकै थियो। बाह्र-तेह्र वर्षको उमेरमै "बोय"मा भर्ती हुन केले रोकेको थियो होला त ?

अरूको जस्तो नभए पनि धरानले घर दिएको थियो। आमाको खित्रेमित्रे दोकान चलेकै थियो। बाबुलाई मोरङ सिन्डिकेटमा काम दिएको थियो। लेखकले दार्जिलिङे साथीको सङ्गत पाएकै थिए। फुस्रे र इण्डियन कोलोनीमा फिल्म हेर्न पाइएकै थियो। धरानको पञ्चायतमा १५ वर्षमै पियन भएर काम गर्ने मौका पाएकै थियो। प्रेमकुमार काकाकहाँ लेखनदास हुन पाइएकै थियो। बाको बसको कन्डक्टर हुन पनि पाइएकै थियो। गाडी बिग्रँदा अभरमा परेका यात्रुहरूलाई गफ गरेर फकाउने कला पनि धरानले नै सिकाएको थियो।

बा कम्युनिस्ट नभएका भए विराटनगर आएर बीएको जाँच दिनै सकिँदैनथ्यो। किनभने वामपन्थी नेता पुण्यप्रसाद आचार्यले बीएको जाँच दिलाउन खुब सहयोग गरेको कुरा किताबमा उल्लेख छ। मलाई त लाग्छ लेखक थापा धरानको इन्द्रेणी रङहरूमा बाँचेका थिए।

मालगुडी डेज

भारतीय लेखक आरके नारायणको प्रसिद्ध कथा संग्रह छ, मालगुडी डेज। मालगुडी कुनै वास्तविक ठाउँ नभए पनि त्यसका कथाहरू बाल्यकाललाई सम्झेर भावुक हुने खालका छन्। वसन्त थापाले पनि धरानलाई त्यसैगरी स्मृतिमय बनाउन चाहन्छन्।

जस्तो, रङ्गशालामा फुटबल हेर्न जाँदा देखिएको क्यामेराम्यानको चर्तिकला। जसले रिल नै लोड नगरेको क्यामेराबाट हातको इसाराले खेलाडीलाई घरी दायाँ र घरी बायाँ गराउँथ्यो ! फ्ल्यास फ्ल्यास लाइट बालेर झुक्याउँदै खेल सुरु हुन ढिलाइ गरिदिन्थ्यो। उसको चर्तिकलाले दर्शकलाई चिढ्याउँथ्यो। त्यो क्यामेराम्यान नभएको भए, लेखकका "मालगुडी डेज" यति स्वादिला पक्कै हुँदैनथे। 

उनले आफू धरानमै बस्दा सत्य हरिश्चन्द्र नाटक हेर्ने मौका पाउँछन्। पछिपछि नाटकमा सहायक रोल पनि खेलेका सम्झना समेटेका छन्।

पैसा नहुँदा आमाले कम्युनिस्ट पार्टीको रातो झण्डाकै कपडाबाट सर्ट सिलाइदिएको उनी सम्झन्छन्। तर लेखेजत्तिकै दुर्दिन किताबमा देखिँदैन। उनले धरानमा छँदा सिङ्गडा, घुगुनी र चिया खान नपाएका पनि त होइनन्, दार्जिलिङ घुम्न जान नपाएका पनि त होइनन्। स्कुल, क्याम्पस पढ्न नपाएका पनि थिएनन्। फिल्म हेर्न गोरखपुरसम्म नपुगेका पनि त होइनन्। 

बनारसबाट प्रकाशित हुने हिन्दी भाषाको दैनिक टोलमै रहेको लक्ष्मी वाचनालयमा आाउँथ्यो, त्यो पढेको कुरा किताबमा छ। धरानबाट एसएलसी फेल भएकाहरू बनारस गएको उनले देखे। परीक्षा चल्ने मौसममा फेल हुनेहरूको बनारस जाने भीड नै हुन्थ्यो। थापा लेख्छन्, "नालायकहरू पास भएर आउँथे।" शायद धरान क्याम्पसमा पास भएका "लायक" र बनारसी "नालायक" हरूको जम्का पर्थ्यो। बनारस गएकाहरूले नै धरानमा भित्राएका हुन् "खराने" र "गोबर" शब्द।

बनारस प्रभावले कम्युनिस्टका विद्यार्थीले कांग्रेसलाई "गोबर" भन्थे। कुल्चन सक्ने बताउँथे। कांग्रेसीहरूले कम्युनिस्टलाई "खराने", फु गरेर उडाइदिन सक्ने बताउँथे। थापा "खराने" समूहका थिए। यो विभाजन विद्यार्थीमा मात्र नभएर परिवारसम्म पुगेको थियो।

क्याम्पस जीवन सकेपछि थापाले "मालगुडी डेज" सकिएको भन्छन्। तर काठमाडौँ आएपछि सङ्घर्षका दिनहरू समेटिएको "काठमान्डू डेज" पनि पनि कम्ता रमाइला छैनन्। गैरलाहुरे उनी यहाँ पनि भारतीय सैनिकका सन्तानहरू बस्ने ठमेलको सैनिक छात्रवाससँग जोडिन्छन्। ठमेलमा रक्सीले मात्तिएका कवि हरिभक्त कटुवालले भातसँग "स्याडो बक्सिङ" खेलेको प्रसङ्ग त्यहाँ छन्।

काठमाडौँमै बसेर समीक्षा साप्ताहिकमा पत्रकारिता गरेका, टुरिस्ट गाइड भएका, रेष्टुराँ खोलेका, देव आनन्दलाई नेपाल झिकाएका, अनुवादक भएका, कैयन् इन्द्रेणी अनुभव काठमाडौँ आएपछि उनले सँगालेका छन्। मलाई लाग्यो, यो किताब धरानलाई समर्पित गरेर, काठमाडौँको अर्को किताब बनाएको भए पनि त हुन्थ्यो !

अन्तमा

मैले यो किताब वसन्त थापाको जीवन जान्नको निम्ति सुरु गरेको थिएँ। अनुवादक भनेर उनलाई चिन्दा शब्दहरूमार्फत चिनेको थिएँ। तर किताब पढेपछि उनले मलाई बृहत् संसारतर्फ  लगे।

लाग्यो, उनका संस्मरणहरू उनले भनेजस्तै "मालगुडी डेज" मात्र होइनन्, सामान्य शहरको कथा मात्र पनि होइन, बरु उनी बाँचेको धरानले विश्वयुद्धपछिका युद्धहरूले आकार दिइरहेको कथा भन्दथ्यो। जहाँ लडाकू लैजाने "डिपो"हरू व्यवस्थित ढङ्गले खुलेका थिए। अङ्ग्रेजहरू भारतबाट गए पनि नेपालमा बसेर उनीहरूले पहाडी युवाहरू लगेका थिए। ती डिपो र लडाइँबाट फर्केका लाहुरेहरूका कथाले धरानलाई नयाँ स्वरूप दिएका कुरा किताबमा परेका छन्।

यो किताबलाई म भीमबहादुर पाँडेले विश्वयुद्धपछिका बदलिँदा सन्दर्भ जोडेर लेखेको त्यस बखतको नेपाल जस्तै "त्यस बखतको धरान" भन्न चाहन्छु, जहाँ लेखक थापाले आफ्नो बालख, किशोर अनि क्याम्पसवयको प्रसङ्ग सुनाउँदै जाँदा धरानको सामाजिक र राजनीतिक इतिहाससमेत खुलाउँदै जान्छन्।

धरान मात्र होइन, यसैगरी "त्यस बखतको पक्लिहवा" र "त्यस बखतको पोखरा"का अपूरा कथाहरू पूर्ण गर्न यस किताबले प्रेरित गरेको पनि छ। साथै उस्तैउस्तै विगतले परिभाषित थुप्रै जनजाति बाहुल्य गाउँका कथा पनि ।

त्यसैले यो किताब एउटा व्यक्तिको आत्मसंस्मरण मात्र होइन, "विकेन्द्रित इतिहास" पनि हो। विकेन्द्रित लेखनतर्फ केहीलाई मात्र यसले प्रेरित गर्न सक्यो भने पनि लेखक र प्रकाशक सफल हुनेछन् भन्ने मेरो दाबी छ।

9 October 2026
स्रोत : https://commons-nepal.com/dharan-at-that-time/ 


About the Author

More Blogs