मिडिया चासो
2021-10-11नेपालमा मिडियामाथि अनुसन्धान गर्न आवश्यक प्राज्ञिक संरचना बन्न नसकेको परिप्रेक्ष्यमा मार्टिन चौतारीले 'मिडिया अध्ययन' नामको वार्षिक जर्नल सुरु गरेको छ ।
देवराज हुमागाईं, प्रत्यूष वन्त, शेखर पराजुली, कोमल भट्ट र कृष्ण अधिकारीको सम्पादनमा निस्किएको पहिलो अंकमा मूलधारको पत्रकारितामा क्रियाशील पत्रकार र अनुसन्धाताहरुका लेख समावेश गरिएका छन् । जर्नललाई लेख, माघ १९ को असरसम्बन्धी विशेष टिप्पणी, संस्मरण, अन्तर्वार्ता, प्रतिवेदन र पुस्तकसमीक्षा गरी विभिन्न भागमा बाँडिएको छ ।
ग्रामीण पत्रकारितादेखि टेलिभिजनको विज्ञापनसम्म र रेडियो व्यवस्थापनदेखि पोखराको छापाखानासम्म यसमा अटाए पनि यो जर्नलले धेरै कुरा अझै समेट्न सकेको छैन । केही संस्थागत र केही व्यक्तिगत विज्ञापनजस्ता लाग्ने लेखले नेपालको सञ्चारक्षेत्रको प्रतिनिधित्व गर्न सक्दैनन् । मिडिया जर्नल एउटा गहकिलो वार्षिक दस्तावेज हुनुपर्छ, जसमा अनुसन्धानात्मक सामग्री समेटिएको होस् ।
स्रोतः नेपाल समाचारपत्र 'सौगात', १३ माघ २०६३, पृ. ख