मल्लिका शाक्यको कविता : आमा सती

- मल्लिका शाक्य | 2021-09-24

मल्लिका शाक्य

ह्वारह्वार दन्किरहेको आगोमा सेकिएका ताता ओठहरूलाईगब्बरसिंहका हातजस्ता ढक्कनले छोपेँ मैलेताकि तिम्रा म्वाइँहरूले नछोऊन् तिनलाई ।तिम्रो चुलबुले सुवासडढ्न बेर छैन यी फिलिङ्गाका रापहरूमा ।चिताको ज्वालामुखीसँगै विस्फोट भएरसिनित्त खरानी छरपस्टिन बेर छैन जताततै ।

लाभाका त्यान्द्राहरू उछिट्टिन खोजिरहेछन्छालाका पत्रमुनिबाट ।बिन्ती नअँगाल तिमी, नखेल मेरा चुल्ठो-पछ्यौरीसँगम चाहन्नँमभित्रको सुसाइड बमतिमीलाई निशाना बनाएर पड्कियोस् ।

म गलिरहेछु भित्रभित्रैतिमीले जोगाउनु छ आफूलाई यो गलाइको संक्रमणबाटमबाट कोसौँ भाग्न सक्ने भएकी भएहाँसीहाँसी आशीर्वाद दिन्थेँ म तिमीलाई आजजाऊ मेरो मुटुको सबैभन्दा प्यारो टुक्रापात भएर पछ्याऊ उसलाई, जो हुरी भएर हिनहिनाइरहेछबुँद भएर विलीन होऊ, जहाँ महासमुद्र गर्जिरहेछ ।

तर कठै !त्यो हुरीको हुङ्कार सुनिदैन कतै कहीँक्षितिजमा घाम उदाउँछ-अस्ताउँछबादल गर्जन्छ, पानी दर्कन्छबिनाकुनै स्पर्श, बिनाकुनै हलचलसी ग्रेड सिनेमाको पर्दाजस्तोकस्तो अभागी स्थूलता हो यो, कस्तो अपशकुनि जडताफूलहरू फुल्छन्, ओइलाउँछन्, झर्छन् र सड्छन्सात व्यञ्जनको मैनमोडेल पस्किएँ मैले आफ्नै थालीमाबिस्मातको बास्ना, बिस्मातको स्वाददिक्पालले चहारेको मूर्दा बस्तीजस्तैकस्तो चीर निन्द्रा हो यो, कस्तो अजैविक अप्रमादिता ।

तिमी अत्तालिँदै, भक्कानिँदै दौडादौड गरिरहेछौतिम्रो सानो पिठ्युँमा मेरो अस्तित्व सडिरहेछ-गलिरहेछर खस्दै छ क्रमश: क्षणभंगूरबिसालाक्षी मेरा सुवासहरू, महालक्ष्मी आँखाहरूमेरो भावना, मेरा मान्यता, साकम्बरी-संकरीमेरो आमात्व, कामाख्या ।

कहालिँदाकहालिँदा सुकेछन् तिम्रा परेलीहरूबस, बाबा, तिमीलाई एक सुस्केरा बिसौनी चाहिएको छ यतिखेर ।

जाऊ कुनै रजिस्टरमा र लेखाऊ आफ्नो नामगर पुकारा कि महान् हुरीले आफ्नो बाँसुरी बनाओस् तिमीलाईउथलपुथल छाओस् तिमीमासिङ्गो काँचुली फेरियोस्तङ्ग्राबाट ब्युँत तिमी मेरी प्यारी झुसिलकिरीप्वाँख पलाओस् तिम्रा पाखुरीमा । ललकार तिमी आफैँलाईछेड युद्ध आफैँसँगक्रूर शत्रुहरू यतिखेर हामीभित्रै सलबलाइरहेछन्निस्तेज पार तिनका रक्तबीज सुराकीहरूलाईतोडिदेउ तहसनहस काला दुर्गहरूलाई वहन गर महादेव-महाकालीको संहारकता।त्यो महान् हुरीलाईप्रलयकारी उन्मादको खाँचो छ यो बेला । बहकिन देऊ आफ्ना छटपटीहरूलाईताकि तिम्रो कदले उचाइका सीमाहरू पार गरून्आत्मसात् गर विरक्तिलाईताकि तिम्रो मनले धृष्टता र चुनौतीका गहिराइहरूमा गोता मारून् । हुरी हो जीवन प्रिय,सुँघ सुगन्ध उहापोहको ।

प्रकाशित मिति : वैशाख २८, २०७८स्रोत : https://shilapatra.com/detail/57536?fbclid=IwAR0CUV75Ue7GGnFoObqZj35folojfbq5t8gEFt9Uj8_gew8CPIzCETHilm0


About the Author

मल्लिका शाक्य

South Asian University, India