जेबी टुहुरेको बकपत्र

- भास्कर गौतम | 2021-09-24

म जस्ताको दृष्टिकोणबाट समाज परिवर्तनबारे सोच्ने चेष्टा गरे, कम्युनिस्ट नेताहरू जनताको पक्षमा परिवर्तनलाई संस्थागत गर्न चुकेको सवालमा अर्कै धुन भेटिन्छ । त्यो धुनले हामीलाई भनिरहेको छ— वामपन्थी काल्पनिकीमा छाएको अन्धकार कल्पनाभित्रको हो वा बाहिरको, पहिला त्यो छुट्याऔं ।

भास्कर गौतम

अहिले मेरो निधनपछि केही समाचार आएका, शब्दगुच्छा बर्सिएकाले मैले थोरै थप्नैपर्ने देखें । हुन त म बितेको आज चार दिन मात्र भयो । म बित्नासाथ, विराटनगरमा २०४५ सालताका लभ प्रधानको चुलाचुली आर्टस्मा भेट भएका, त्यस बेलाका एक फुच्चे भाइले केही लेख्नैपर्छ भने । त्यसैले यो बकपत्र लेख्ने निधो गरें ।

मलाई हेक्का छ, अहिले मेरा हितचिन्तकमा केही निराशा छाएको छ । अलिअलि मेरो मृत्युले, अलि धेरै कम्युनिस्ट आन्दोलनभित्र जनताको लोकतन्त्र मरेतुल्य रहेको अवस्थाले । यस्तो निराशालाई थप निराश बनाउनु यो बकपत्रको उद्देश्य होइन । तर म बित्ने र जनताका लागि मरेतुल्य रहेको कम्युनिस्ट आन्दोलनमा पुराना र नयाँ दल जन्मने समय उस्तैउस्तै भयो । मैले केही कुरा थप्ने स्थिति बन्यो ।

२०२० को दशकले मेरो जीवनमा नयाँ मोड लियो । ‘सचित्र चीन’ पत्रिका पढ्दापढ्दै म कम्युनिस्ट विचारतर्फ आकर्षित भएँ । दुःखजिलो गरेर खाने परिवारमा मेरो जन्म भयो । प्राथमिक शिक्षासमेत मैले पूरा गर्न नपाएकाले कुनै रणनीतिक सोच बोकेर म कम्युनिस्ट भएको थिइनँ । ‘सचित्र चीन’ पत्रिकाले मलाई कम्युनिस्टहरू असल हुन्छन्, इमानदार हुन्छन्, गरिब–दुःखीको जीवन राम्रो बनाउन लागिपर्छन् भनेर सिकायो । मलाई ती कुराहरू उचित लागे । मेरा सम्पर्कहरू पनि उस्तै बन्दै गएपछि म त्यसै गर्न तम्सिएँ । लोकसंगीतको प्रभावमा ममा गाउने रहर जागेकाले कम्युनिस्ट बन्ने धुनमा गीत गाउँदै होमिएँ । मैले स्वर भरेको तलको गीतमा अभिव्यक्त भावजस्तै म कम्युनिस्ट रहन प्रतिबद्ध रहें :

जनताको छोरा हुँ म, तिनकै लागि बाँच्छु

मर्नुपरे हाँसीहाँसी, तिनकै लागि मर्छु

मेरो बुद्धि सीप सारा, तिनकै सम्पत्ति हो

तिनकै लागि मर्छु, बाँच्छु केको आपत्ति हो !

मैले यो गीत गाएँ कि यो गीत बाँचें, त्यो हेक्का मृत्युपछि समेत ममा रहेन । आफ्नो जीवनबारे म केही बेहोसी रहें । त्यो बेहोसीको भार मेरो परिवारका प्रत्येक सदस्यले राम्रैसँग बेहोरे । तर आफ्नो बेहोसीभन्दा बढी म होमिएको कम्युनिस्ट आन्दोलनको हुस्सुपनले मलाई आश्चर्यमा पारिरह्यो । कतिपय अवस्थामा अपमानबोधसमेत गराइरह्यो । लौ, मैले पो कम पढेंÙ खासै भारीभरकम कुरा नबुझीकनै भविष्यको आशा बोकेर गरिबको हित गर्न कम्युनिस्ट आन्दोलनमा होमिएँÙ तर एमालेका ज्ञानीहरूले राजनीतिक पद, सामाजिक प्रतिष्ठा र सत्ताभोगको जगमा निजी प्रगति गर्ने कार्यमै मात्र कसरी कम्युनिस्ट हुनुको अर्थ फेला पारे, त्यो हास्यास्पद छ । दुःखकष्ट गरेर कम्युनिस्ट आन्दोलनमा होमिएका प्रत्येक भुइँमान्छेका लागि अपमानजनकसमेत छ । यस्तो एमाले प्रवृत्ति समग्र कम्युनिस्ट आन्दोलनमै हावी भइरहँदा मेरा धेरै सहकर्मीहरूमा उत्पीडनबाट गरिबजनलाई मुक्ति दिलाउने जुन निश्छल बोध थियो, त्यसको निरन्तर हत्या भइरह्यो । यो चानचुने कुरा होइन । तर यसरी अनगिन्ती निश्छल बोधको अविरल हत्या भइरहेको देख्दा मेरो बेहोसी मलाई सधैं चानचुने लागिरह्यो ।

हुनलाई मेरा मित्र अशोक राईले एमालेका नेताहरू २०४८ सालताकादेखि नै आकाशे खुर्सानीजस्ता भएको ठहर गरेका थिए । उनको तात्पर्य थियो— एमालेका नेताहरूले माथिमाथि मात्र हेरे, भुइँमान्छेका दुःखकष्ट बुझेनन्, परित्यक्तहरूलाई अवसर वितरण गर्ने मामिलामा कुनै सरोकार राखेनन् । तर त्यो बेला मदन भण्डारी र जीवराज आश्रितहरू जिउँदै थिए । कार्यकर्ता र नेतृत्वको ठूलै तप्कामा आफ्नो बुद्धि र सीप जनताको सम्पत्ति ठान्ने भाव बलियो थियो । जनताकै लागि मर्ने, जनताकै लागि बाँच्ने प्रतिबद्धतामा पूर्णतः ह्रास आइसकेको थिएन । त्यसैले अशोक कामरेडको कुरालाई त्यो बेला मैले समग्र कम्युनिस्ट आन्दोलनको सानो भँगालो मात्र ठानें, मूलप्रवाह ठानिनँ ।

पञ्चायतकालमा संगीन राज्यबाट बच्दै समथर बस्तीहरू र भीरपाखाका गाउँहरूमा गीत गाउँदै हिँडिरहँदा अन्तिममा विश्राम लिने थलो विराटनगर नै थियो । त्यहाँ मेरा आफ्नै आर्थिक कठिनाइहरू थिए । अनेक सानातिना व्यवसायपछि मैले दुःखजिलो गरेर खान र परिवार पाल्न पहिला शीतल लज र पछि मौसम लज चलाएँ । मैले चलाएँ के भनूँ, मेरी पत्नी सतीदेवीले चलाइन् । म त सांस्कृतिक टोलीहरूसँगै डुलिहिँड्थें । त्यहीँ पनि चुलाचुली आर्टस् र कोशी पुस्तक पसलसँगै मेरो लज कम्युनिस्ट गतिविधिको सम्पर्कथलो थियो । पञ्चायतको लामो कालखण्ड हामीले धेरै सानो सम्पर्कमा बसेर काम गर्‍यौं, राज्यको दमन र सुराकीबाट बच्दै हिँड्यौं । त्यसैले हुन सक्छ, २०४६ सालको उन्मुक्त राजनीतिक वातावरणसँगै कम्युनिस्ट आन्दोलनको मूल कति छिटो धमिलियो, पत्तै भएन ।

म काठमाडौंतर्फ बसाइँ सरेताका मजस्ता अनेकौं भुइँमान्छे कामको खोजीमा विदेश जान थाले । मेरो मृत्युको समयसम्म आइपुग्दा बिदेसिनेको लर्को उत्पातै छ । भनिन्छ, हाम्रो अर्थतन्त्र उनीहरूकै रगत–पसिनाले थेगेको छ । जसै रोजगारीको खोजीमा श्रमिकहरू विदेशतर्फ भासिए, त्यसै माओवादी जनयुद्धअघि र पछिको कम्युनिस्ट आन्दोलनभित्र देश भासिँदै गयो । कामरेडहरूमा निजी सम्पत्ति बटुल्ने र सत्ताभोगलाई नै उपलब्धि मान्ने मान्यता हावी भइरहँदा हाम्रा मुट्ठीभर कम्युनिस्ट नेताहरूले मेलै गाएको गीतलाई आफैं चरितार्थ गर्न थाले :

बसाइँ हिँड्नेको ताँतीले

बस्नेको मन रुवाउँदछ

लाखौंका लागि उजाड छ यो देश

मुट्ठीभरलाई त स्वर्ग छ !

कामरेडहरू विगतका शासकहरू जस्तै मुट्ठीभरमा पर्न मरिहत्ते गरिरहेको मैले बुझ्दै गएँ । यो पनि बुझ्दै गएँ— गीतमा भन्दा फरक बसाइँ नहिँड्नेको मन पनि रुने रहेछ ! त्यसैले बसाइँ सर्ने, सर्न चाहने र सर्न नसक्ने सबै किसिमका भुइँमान्छेको मन कम्युनिस्ट राजनीतिमा भइरहेको निश्छल बोधको अविरल हत्याले थप रुवाउँदो छ । उनीहरू निरन्तर तिरस्कृतसमेत छन् । मुट्ठीभरले सत्ताभोगको कारोबारका लागि मात्र उत्पीडितका सरोकार उपयोग गरिरहेको अवस्था छ । म पनि त्यसरी उपयोग हुन नसकेपछि मात्रै मेरो दशकौंको अटुट प्रतिबद्धताले २०६६ सालमा नेकपा (माओवादी) मा ठोक्किने मोड लियो । त्यसको केही वर्षपछि दोस्रो संविधानसभामा म मनोनीत भएँ । त्यसले मेरो समग्र सांस्कृतिक जीवनमा केही नौलोपन ल्यायो । मेरो सीप र बुद्धि जनतालाई समर्पित गर्ने थप उत्साह जाग्यो । त्यही उत्साहको बलमा नयाँ धुन रच्ने र कम्तीमा सातै प्रदेशमा सांस्कृतिक कार्यक्रम गर्ने पछिल्लो धोको अपुरो रहँदै मेरो इहलीला सकियो ।

सर्वविदित छ, ‘आम दिदीबहिनी हो’ बोलको गीत मेरो मृत्युसँगै पुनः चर्चामा छ । मेरो जीवनमा खास समय थियो जतिखेर मलाई लाग्थ्यो, देशमा महिलाहरू धेरै पछाडि पारिएका छन् । मलाई अद्यापि लाग्छ, जबसम्म महिलाको स्थिति उकासिँदैन मुलुकमा प्रगति हुँदैन । झापा विद्रोहले आक्रान्त भई थोरबहुत निराश भएर अलिक निष्क्रिय बसेका बेला ‘चरी भरर’ शीर्षक पुस्तक मेरो हात पर्‍यो । त्यसमा एकदेव ज्ञवालीले लेखेको कविता मलाई मन पर्‍यो । कविता गुनगुनाउँदा–गुनगुनाउँदै लय बसेपछि त्यो गीत बन्यो । तर कविता अलिक अपूर्ण लागिरहेकाले मैले रामेशसँग मिलेर केही पंक्ति मिलाएँ । त्यसपछि पनि महिला सवालमा कुरा अपुग लागेपछि कवि बम देवानलाई केही थप्न अनुरोध गरें । अनेकौं सहकार्यपछि गीतले पूर्णता पायो । जनताले गीत औधी रुचाए । म यही गीतबाट जनतामाझ स्थापित भएँ ।

संस्कृतिकर्मीको हैसियतमा मैले गीत गाउँदै देश डुलेकाले संगीतबारे केही भनूँ । मेरा रोचक प्रसंगहरूमध्ये धेरै भेगका जनताले भनेको एउटा कुरा यस्तो छ, ‘मैले विद्यालयमा जति सिकें, त्योभन्दा बढी तपाईंको गीतबाट सिकें ।’ संगीतबाट पाएको शिक्षा विद्यालयका तुलनामा कति बढी वा कम हो, त्यो मेरो ज्ञानबोधभन्दा बाहिर छ, तर संगीतले मानिसको मनमस्तिष्क तरंगित गर्ने र हृदयमा गहिरो स्पर्श गर्ने वास्तविकतालाई मैले धेरै प्रकारले महसुस गरें ।

सम्भवतः मानव सभ्यताले ध्वनि भेटेको समयताका नै उब्जिएको एउटा प्रश्नले ममा पनि घर बनाइरह्यो । त्यो हो, संगीतले समाजमा परिवर्तन ल्याउन सक्छ कि सक्दैन ? मलाई थाहा छ, यसको उत्तर सजिलो छैन । तर प्रत्येक युगले आफ्नो समयसुहाउँदो उत्तर मात्र खोज्दैन, समयअनुसार संगीत पनि रच्छ । आखिर संगीत गतिशील छ । यसले हाम्रो सोचसँगै रचनात्मकतालाई प्रभाव पार्छ, प्रकारान्तरले हाम्रो बोधगम्य क्षमतालाई । त्यसैले समाज परिवर्तनको अभियानमा कुनै व्यक्ति कुन हदसम्म संगीतको हिस्सा हुन्छ वा हुँदैन, त्यसमा गहकिलो विमर्श चाहिन्छ । मेरो बहानामा यतातर्फ समेत ध्यान पुगोस्, कामना छ ।

जनवादी गीतहरूबाट समेत जनताले सिकिरहेकै कारण संगीतले प्रदान गर्ने वैकल्पिक ज्ञानपद्धतिबारे म बेलाबखत घोत्लिने गर्थें । मलाई लागिरह्यो, संगीतकर्मीको जीवनका घटनाबारे एवं कुनै गीत कुन समयमा, कुन कार्यक्रममा, कुन मञ्चमा उभिएर गाइयो जस्ता विषयमा बढी ध्यान दिँदा गीतको सामाजिक जीवन ओझेलमा पर्‍यो । कुनै गीत आफैंमा के हो, गीतकारले त्यसलाई त्यसरी नै किन लेखे वा संगीत भरे, त्यसले कलाकारभित्रको उकुसमुकुसलाई कसरी अभिव्यक्त गर्‍यो, त्यो गीतको सामाजिक विरासत कस्तो रह्यो भन्नेजस्ता सवालहरूबारे हुनुपर्ने विमर्श भएनन् । समाजले कुनै कालखण्डमा संगीतबाट के सिक्यो वा सिकेन, त्यता ध्यान पुगेन । अनि जनवादी गीतहरूले समग्र कम्युनिस्ट आन्दोलनलाई कसरी तरंगित पारे, त्यसको सांस्कृतिक आधार खोजिएन ।

अन्त्यमा, मलाई सधैं लागिरह्यो म कुनै दल वा सांस्कृतिक मञ्चको मात्र नभएर खास उद्देश्यसहित खास युगमा प्रतिबद्ध रहेको संगीतकर्मी हुँ । म जस्ताको दृष्टिकोणबाट समाज परिवर्तनबारे सोच्ने चेष्टा गरे, कम्युनिस्ट नेताहरू जनताको पक्षमा परिवर्तनलाई संस्थागत गर्न चुकेको सवालमा अर्कै धुन भेटिन्छ । त्यो धुनले हामीलाई भनिरहेको छ— वामपन्थी काल्पनिकीमा छाएको अन्धकार कल्पनाभित्रको हो वा बाहिरको, पहिला त्यो छुट्याऔं । यस्तो भेदको बोध हुन सके, हालको अबोधगम्य अवस्थाले ल्याएको उदेकलाग्दो निराशा चिर्ने धुनको रचना हुन सक्छ । अनि मुक्ति यात्राले पुस्तौंपुस्ता भुइँमान्छेको जीवन सार्थक बनाउने नयाँ जुक्ति फेला पार्न सक्छ । यी यावत् विषयमा आफ्ना सहृदयी कामरेडहरूसँग जसरी भलाकुसारी गर्ने धोको बाँकी थियो, त्यस्तो मौका जुरेन । यी सबै गरिरहँदा परिवारका सबै सदस्यलाई सामान्य सुख दिने रहरका रागहरू त मैले बजाउनै जानिनँ । नपत्याए मेरी पत्नी सतीदेवीलाई सोध्नुस् । मेरो जीवनले त साथ छोडिसक्यो । अलबिदा कामरेड !

प्रकाशित मिति : भाद्र १४, २०७८स्रोत : https://ekantipur.com/opinion/2021/08/30/163028944250795914.html


About the Author

Bhaskar Gautam भास्कर गौतम

Research Fellow, Kyoto University