भानुभक्त बाजेजस्तै किन लाग्छन् ?

- प्रत्यूष वन्त | 2021-09-24

युनिभर्सिटी अफ पेन्सिलभानियाबाट सन् १९९६ मा इतिहासमा विद्यावारिधि गरेर नेपाल फिरेका प्रत्यूष वन्त अहिले मार्टिन चौतारीमा आबद्ध छन् । इतिहासकार वन्तले थुप्रै किताब र जर्नल पनि सम्पादन गरेका छन् । उनी एक दशकभन्दा बढी समयदेखि निरन्तर प्रकाशित भइरहेको जर्नल ‘स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी’ (सिन्हास)का संस्थापक सम्पादकसमेत हुन् । उनले सन् १९९९ मा भानुभक्तमाथि अनुसन्धान गरेर ‘द करिअर अफ भानुभक्त एज अ हिस्ट्री अफ नेपाली नेसनल कल्चर, १९४०-१९९९’ शीर्षकको लामो लेख लेखेका थिए । नेपालीभाषी समाजमा भानुभक्तको प्रतिस्थापनमा केन्द्रित रहेर वन्तसँग दीपक सापकोटा र किरण दहालले गरेको कुराकानीः

नेपाली समाजमा भानुभक्तलाई कसरी आइकनको रूपमा स्थापित गरियो ?

हामी सबैलाई भानुभक्त आफ्नै परिवारको बाजेजस्तो किन लाग्छ ? मैले यसै प्रश्नको उत्तर खोज्न अनुसन्धान गरेँ । जीवित भानुभक्त र उनले गरेको साहित्य-कर्ममाथि मलाई कम रुचि थियो । अनुसन्धान गर्ने क्रममा जीवित भानुभक्तलाई पनि अलिकति ध्यान दिनुपर्योस । उनको साहित्यिक कर्मलाई पनि ध्यान दिनुपर्योा । मैले अनुसन्धान गर्न खोजेको विषयमाथि लेखेका मान्छेहरूले ती दुईवटै पक्षमाथि लेखेको हुनाले पनि मैले त्यो अध्ययन गर्नुपर्यो । तर, अनुसन्धान गरेर कुन प्रश्नको उत्तर खाजेको होस् भनेर कसैले सोध्छ भने मेरो जवाफ हुन्थ्यो, भानुभक्त सबैको बाजे कसरी हुन आए ? तपाईं-हाम्रो बाजेको नाम एकअर्कालाई थाहा नहोला तर भानुभक्त तपाईं-हाम्रो परिवारकै बाजेजस्तो हाम्रो दिमागमा कसरी बस्न आए ? यो अध्ययन गर्ने क्रममा मैले अनुसन्धानको जे तरिका अपनाएँ र जे पाएँ, त्यसलाई मैले दुईवटा लामो आर्टिकलमा पस्किएँ । सन् १९९६ मा निस्किएको मेरो लामो आर्टिकलमा चाहिँ मैले के तर्क गरेँ भने नेपालीहरूको जातीय पहिचान नेपालभन्दा बाहिर, विशेषगरी बनारसमा सुरुमा र पछि सन् १९२० को दशकमा चाहिँ विशेष जोडतोडसहित दार्जिलिङमा हुन थाल्यो । जातीय पहिचान निर्माण गर्ने सांस्कृतिक कर्मीहरूका लागि भानुभक्त जातीय आइकनका रूपमा प्रयोग गर्न मिल्ने भए । तर, प्रयोग गर्न मिल्ने आइकनचाहिँ रेडिमेट थिएन । किनकि, त्यो उनीहरूले कतै सुपर मार्केटमा किन्न मिल्दैन थियो । त्यो आइकनलाई उनीहरूले निर्माण नै गर्नुपथ्र्यो ।

ग्राउन्ड लेभलबाटै आइकन निर्माण गर्दै जाने काम गरे उनीहरूले । १९२० र ३० को दशकमा दार्जिलिङमा यो काम प्रमुखताका साथ भयो । मेरो दाबीचाहिँ के हो भने सन् १९४०को वरिपरि सूर्यविक्रम ज्ञवालीले सम्पादन गर्नुभएको एउटा पुस्तक ‘भानुभक्त स्मारक ग्रन्थ’ प्रकाशित भएपछि र त्यो नेपालमा उपलब्ध भएपछि मात्र भानुभक्तबारे नेपालीले बढी जानकारी पाउन थालेका हुन् । र, भानुभक्त त्यसपछिका दशकमा जसरी राष्ट्रिय पहिचानको एउटा आइकन बने, त्यसपछि मात्र नेपालभित्र पनि आइकन बनाइयो । दुईवटा रमाइलो प्रक्रियालाई हामीले ध्यान दिनुपर्छ । एउटा १९४० भन्दाअघि भारतमा विभिन्न हिसाबले निर्वासन वा आफ्नो खुसीले बसेकाहरूका लागि जातीय पहिचान बनाउने क्रममा उनीहरूलाई एउटा हिरो चाहियो र भानुभक्त छाने । र, भानुभक्तको हिरोपन निर्माण गर्नुपर्ने भएकाले उनीहरू सुरुदेखि नै त्यो काममा लागे । १९४० तिर भानुभक्तको त्यो किसिमको जातीय पहिचान नेपालमा आयात गरिएको हो भनेर मज्जाले देखाउन सकिन्छ । र, मैेले अनुसन्धानमा त्यो कसरी भयो भनेर देखाएको छु ।

१९४० पछि भारत र नेपालमा भानुभक्तलाई आइकन बनाउन दुई भिन्नभिन्न तरिका अपनाएको देखिन्छ । भारततिरको त मैले चासो दिएर हेरेको छैन । त्यो लेख ‘द करिअर अफ भानुभक्त एज अ हिस्ट्री अफ नेपाली नेसनल कल्चर, १९४०-१९९९’मा मैले ६ दशकमा भानुभक्तलाई कसरी बलियो राष्ट्रिय आइकन बनाउँदै लगियो, त्यो कसरी विस्तारित भयो र अन्त्यमा भानुभक्त तपाईं-हाम्रो बाजेजस्तो कसरी बन्न पुगे भन्ने प्रश्नको उत्तर दिन खोजेको छु । विश्लेषणका लागि मैले दुईवटा उपाय अपनाएँ । एउटा ‘माध्यम’ के थियो भन्नेमा ध्यान दिएँ । र, माध्यमका रूपमा समयक्रमलाई ध्यान दिएँ ।

माध्यम अध्ययन गर्दा सुरुमा ‘टेक्स्ट’लाई हेरेँ । लिखित माध्यमबाट भानुभक्तको राष्ट्रिय आइकनको निर्माणचाहिँ कसरी भयो ? यसमा विभिन्न थरीका टेक्स्टको प्रयोग भयो भन्ने मेरो दाबी छ । ठूलाठूला किताबहरू उनीमाथि लेखिए । कसैले उनको जीवनी लेखे । कसैले उनको साहित्यिक कर्ममाथि टिप्पणी लेखे । कसैले उनका साहित्यिक सिर्जनामाथि समालोचनात्मक टिप्पणी राखेर लेखे । नेपाली साहित्यको इतिहास लेख्ने कोहीकोहीले चाहिँ कालखण्ड छुट्याएर प्रस्तुत गरे । जस्तो, सत्ताइस सालमा निस्किएको ‘नेपाली साहित्यको इतिहास’मा ताना शर्माले भानुभक्तभन्दा अघिको युग भनेर भनिदिनुभयो । अरूहरूले पनि त्यो फर्मेटलाई पछ्याए । त्यसपछिको साहित्य-इतिहास लेखनमा पनि त्यही कुरा आयो, भानुभक्त अघि र पछि ।

भानुभक्तमाथि फुटकर लेख त यति आए कि कहाँकहाँ मात्र आएनन् भनेर सोच्नुपर्छ । पत्रिका, साहित्यिक पत्रिका वा किताबको च्याप्टरको रूपमा धेरै नै आयो । सयौं हजारौं लेख आए जुन पढेर पनि भ्याइँदैन । सन् ४० र ५० को दशकमा यो कर्म अघि बढिसकेको थियो । लिखित सामग्रीहरूको एउटा थाक बनाइयो । पञ्चायतमा राष्ट्रिय शिक्षा नीति बनाएर स्कुलहरूमा टेक्स्टबुकहरूको निर्माण गरिन्थ्यो । पहिला भानुभक्तमाथि विभिन्न सामग्री तयार पारेका मानिसहरू नै पछि टेक्स्टबुक लेख्न आइपुगे ।

कतिपयले चाहिँ थोक सामग्रीको प्रभावमा परेर विभिन्न कुराहरू लेखे । जस्तो, नेपाली विषयमा हामीलाई चिठी लेख्न सिकाउँदा पनि स्कुलमा भानुजयन्ती कसरी मनाइयो भनेर आफ्नो साथीलाई चिठी लेख्नुपथ्र्याे । भानुभक्तको ‘रामायण’ वा उनको अरू कुनै साहित्यिक कृतिबाट केही च्याप्टर झिकेर पाठ बनाइएको पनि देखिन्छ । मैले अनुसन्धान गर्दा कुनै एउटा क्लासको एउटा टेक्स्टबुकमा टेक्स्टबुकको झन्डै १० प्रतिशत सामग्रीचाहिँ भानुभक्तसँग सम्बन्धित रहेको पनि पाइयो । मानौं, एउटा टेक्स्टबुकमा २० वटा च्याप्टर थियो भने दुईवटा च्याप्टरचाहिँ भानुभक्तसँग सम्बन्धित थियो । यसरी मान्छेहरूमा टेक्स्टबुकबाट भानुभक्तको छाप परेको हो । साहित्यिक इतिहासकारहरू वा समालोचकहरूको बीचमा भानुभक्त आदिकवि हुन् कि होइनन् भन्ने बहस गर्नेहरूले पनि भानुभक्तलाई केन्द्रमा राखेर विवाद अघि बढाइरहे । त्यसैले नेपाली समाजमा टेक्स्टमा आधारित भएर भानुभक्तसँग सम्बन्धित एउटा राष्ट्रिय पहिचान तयार गर्न सजिलो भयो । तर, यो काम टेक्स्टको रूपमा मात्र भएन । विभिन्न स्केच, पोस्टर, मूर्तिबाट पनि भयो ।

मलाई थाहा भएसम्म भानुभक्तको मूर्ति पनि पहिलोपटक नेपालभन्दा बाहिर नै बन्यो । दार्जिलिङमा सन् १९४९ मा उनको मूर्ति बनाएर खडा गरिएको थियो । त्यो मूर्ति देखेपछि हाम्रा बालकृष्ण सम र उनकी छोरी ज्वाला सम मिलेर एउटा स्केच बनाए । स्केचलाई पछि कमल दीक्षित र अरूहरू मिलेर कलकत्ता लगेर पाँच हजार कपी पोस्टरको प्रिन्ट गरे । प्रत्येक प्रिन्ट एक रुपैयाँ गोटामा नेपालमा बेचेको कुरा स्वर्गीय कमल दीक्षितले मलाई भन्नुहुन्थ्यो । टेक्स्ट र अन्य पोस्टर, मूर्तिका रूपमा पनि भानुभक्त देशभरि फैलिए । पञ्चायतकालपछि जन्मेको मान्छेले भानुभक्तलाई स्वाभाविक रूपमा राष्ट्रिय पहिचानसहितको व्यक्ति ठान्थ्यो । तर, यही कुरा आजभन्दा एक सय वर्षअघि जन्मेको मान्छेले ठान्दैनथ्यो । हामीले राष्ट्रिय पहिचानको निर्माणचाहिँ कसरी हुन्छ भनेर सोच्दा मेरो तर्क थियो— राष्ट्रिय पहिचानहरू केही दशकका केही व्यक्ति, संस्था र केही टेक्नोलोजीहरूको कारणले बन्न जान्छ । जस्तो, सन् १९१० तिर जन्मिएका मेरा बाजेपुस्ताचाहिँ स्कुल नै गएको भए पनि भानुभक्त नै पढेर हुर्कंदैनथे । भानुभक्तका कथाहरू सुरु भएर प्रसारण भएको २००७ सालको राणा शासनको अन्त्यपछि हो ।

भानुभक्त नै किन आइकन बने ? पछि घरघरमा रामायण पढिन थाल्यो भनिन्छ । उनी आइकन बन्नुमा नेपाली भाषाको बिस्तारले पनि काम गरेको हो ?

- यो प्रश्नको उत्तर दुई खण्डमा दिनुपर्ने हुन्छ । भानुभक्तको मृत्यु भएपछि सबैभन्दा पहिले उनलाई चिनाउने काम मोतीराम भट्टले गरे भनेर हामी सबैले पढेकै हो । १९औं शताब्दीको अन्तिम दशकमा भानुभक्तबारे मोतीरामले एउटा जीवनी लेखे । त्यो जीवनी बनारसमा प्रकाशित भयो ।

सूर्यविक्रम ज्ञवाली बनारसमा हुर्किए । तर, उनले आफ्नो संस्मरणको एक ठाउँमा भनेका छन्, ‘म बनारसमै जन्मेर हुर्केको भए पनि मलाई बाल्यकालमा मोतीरामले भानुभक्तमाथि लेखेको जीवनीबारे जानकारी छैन ।’ अब यो तथ्य कुन सन्दर्भमा सम्झिन सान्दर्भिक हुन्छ भने आफ्नो उमेर लगभग २० वर्ष पुगेका बेला सूर्यविक्रम ज्ञवालीको भेट भाषाकेन्द्रित एक्टिभिस्टहरूसँग हुन्छ । त्यो कर्ममा उनी आफू पनि सम्मिलत हुन्छन् । यो समूहले भानुभक्तलाई मोतीरामको जीवनीमार्फत फेरि भेट्छ । अंग्रेजीमा यसलाई ‘रिडिस्कोभर’ भन्नुपर्छ । कुन सन्दर्भमा भने जीवनी लेखेर भानुभक्तलाई मोतीरामले ‘डिस्कभर’ गरेका हुन् भने त्यो जीवनी प्रकाशित भएको लगभग ३० वर्षपछि बनारसमा निश्चित किसिमका भाषाकेन्द्रित एक्टिभिस्टहरूले भानुभक्तलाई मोतीरामले लेखेको उनको जीवनीमार्फत रिडोस्कोभर गरे ।

जातिको पहिचान निर्माणमा लागिरहेका मान्छेहरूलाई नेपाली भाषा राम्रो माध्यम जस्तो लाग्यो । र, त्यो भाषा प्रयोग गरेको एउटा हिरो छान्नका लागि उनीहरूले भानुभक्त उपयुक्त ठाने र त्यसलाई ‘कल्टिभेट’ गर्न थाले । अर्कै सन्दर्भमा अर्कै हिरो खोजिएको भए अर्कै मान्छे पो राष्ट्रिय पहिचानको हिरो बन्थ्यो कि ! बन्थ्यो कि बन्दैन थियो भन्ने प्रश्नमा बन्न सक्ने सम्भावना रहन्थ्यो । तर, निश्चित सन्दर्भमा भानुभक्तलाई छानियो । र, उनलाई राष्ट्रिय हिरो बनाउने काम गरियो ।

अब तपाईंहरूले सोध्नुभएको दोस्रो प्रश्नको खण्डलाई चाहिँ यसरी सोच्नुपर्छ, भानुभक्तले रामायण नेपालीमा अनुवाद गरिसकेपछि घरघरमा पढियो भन्ने कुरा तथ्यमा आधारित हो कि राष्ट्रिय मिथक हो ? यो कुरा छुट्ट्याऊँ । २००७ सालमा राणा शासन अन्त्य हुँदा यो अवस्थाबारे लेख्ने धेरै व्यक्तिले नेपालमा तत्कालीन अवस्थामा साक्षरतादर दुई प्रतिशत रहेको बताएका छन् । त्यसले हामीले बुझ्नुपर्ने कुरा के हो भने दुई प्रतिशत मात्र साक्षरतादर भएको बेला घरघरमा रामायण पढिएको थियो कि घरघरमा रामायण अरू कसैले पढेर सुनाएका थिए ? वा, घरघरमा रामायण पढियो भन्ने कुरा मिथक मात्र हो ?

त्यसो भए रामायण कसरी फैलियो त ?

- मैले रामायण कहाँ छापियो र त्यो टेक्स्ट कसरी बिक्रीवितरण भयो भन्नेबारे अनुसन्धान गरेको थिएँ । त्यो प्रयास धेरै टाढा गएन । तर, बनारस र यूपीका अन्य सहरबाट छापिएर उत्तर आएपछि नेपालको मध्यपश्चिमभन्दा पश्चिम पट्टिचाहिँ रामायण धेरै वितरण नभएको भन्ने संकेत पाइएको थियो । मैले यो अनुसन्धान गर्दा उमेरले त्यति बेलै ६० काटिसकेका व्यक्तिहरू (जो सुदूरपश्चिमतिरै हुर्किए)लाई सोध्दा पाल्पा-तानसेनभन्दा पश्चिमतिर रामायणको फिजिकल ड्रिस्ट्रिब्युसन वा पठन-संस्कृति कमजोर रहेको पाइयो । यसलाई मैले प्रमाणितचाहिँ गर्न सकेको छैन । त्यसैले यो कुरा कतै पनि उल्लेख गरेको छैन । रामायणको फिजिकल कपीको डिस्ट्रिब्युसन नेपालको मध्य, मध्यभाग, मध्य पश्चिमभन्दा पूर्वपट्टि वा नेपालको मध्य र पूर्वपट्टिचाहिँ भएको हो । रामायण बिक्री त भयो तर घरका सबै सदस्यले अक्षर चिन्न नसक्ने अवस्थामा आफैंले पढेर बसेका चाहिँ होइनन् । तर, त्यो कथा पढ्नसक्ने मान्छेहरू गाउँघरमा थिए । घरभित्र र सामूहिक हिसाबले पनि पढेर सुनाउने भएकाले यो कथा एक प्रकारले बाँडीचँडी सुनियो ।

हामीले सुनेको कुरा के भने, पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरे तर भावनात्मक एकीकरणचाहिँ भानुभक्तले गरे । रामायणबाट भावनात्मक एकीकरण भयो भन्ने कथा मेरो अनुसन्धानबाट सूर्यविक्रम ज्ञवालीमै पुग्छ । सन् १९४० तिर प्रकाशित उनको किताब ‘भानुभक्त स्मारक ग्रन्थ’का दुईवटा लेख र एउटा प्राक्कथनमा उनले यही कथा भनेका छन् । एक किसिमको राष्ट्रिय गाथा उनले प्रपोज गरे । त्यो धेरैपटक दोहोर्यााइयो । हामीले पनि पढ्यौं । हामीलाई पनि त्यही हो जस्तो लाग्छ र हामी पनि त्यही भन्छौं ।

पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरेझैं भानुभक्तले भावनात्मक रूपमा नेपालको एकीकरण गरेकै हुन् त ?

- यस प्रश्नको उत्तर खोज्नु मेरो अनुसन्धानको उद्देश्य थिएन । इतिहासमा रुचि राख्ने मान्छेले यो प्रश्नको जवाफ भिन्नभिन्न किसिमबाट दिन सक्छन् । अहिले पृथ्वीनारायण शाहले एकीकरण गरेका हुन् कि गोरखा राज्यलाई विस्तार गरेका हुन् भन्ने जुन बहस चलेको छ, त्यस्तै बहस भानुभक्तमाथि पनि गर्न सकिन्छ । मेरो मुख्य चासोचाहिँ भानुभक्तको राष्ट्रिय गाथा कसरी तयार भयो भनेर जान्नु थियो । भानुजयन्ती र भानु जन्मस्थल कसरी तीर्थस्थलका रूपमा निर्माण भए र हुनुपर्छ भन्नेमा केन्द्रित बहसहरूको उत्खनन गर्न प्रयास मात्र गरेको हुँ मैले ।

सुधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) ले बनारसमा भानुभक्तमाथि खेलेको ‘रोल’ मोतीराम भट्टको भन्दा प्रभावकारी हुन पुग्यो त ?

- हो । तर, हामीले के कुरा याद गर्नुपर्छ भने मोतीरामले भानुभक्तमाथि नलेखिदिएका भए अथवा डिस्कभरी-१ नभएको भए डिस्कभरी-२ नहुन सक्थ्यो । मोतीरामले लेखिदिएको टेक्स्टलाई रिडिस्कभर गरेर तपाईंले भनेजस्तै पहिला बनारसमा फैलाइयो । त्यो ग्रुपचाहिँ १९२० को हाराहारीमा दार्जिलिङ पुग्छ । घरणीधर र सूर्यविक्रम बनारसमा हुनुहुन्थ्यो । उहाँहरूपछि दार्जिलिङ पुग्नुभयो । दार्जिलिङमा उहाँहरू र पारसमणि प्रधानले भानुभक्तलाई राष्ट्रिय हिरो बनाउने कल्टिभेसनको काम गर्नुभयो ।

त्यसो भए पहिलोपटक नेपालभन्दा बाहिरै भानुभक्तको आविष्कार भएको हो ?

- हामीलाई यो विषय सुन्दा अनौठो लाग्छ । तर, उनलाई पहिलोपटक नेपालबाहिरै चिनाइएको हो । यी राष्ट्रिय हिरोको पहिचान र पुनर्पहिचान नेपालभन्दा बाहिर भयो । उनको सालिक पनि पहिलोपटक नेपालभन्दा बाहिरै खडा भयो । पहिलो भानुजयन्ती नेपालभन्दा बाहिर मनाइयो । र, यो सबै पुस्तक, सालिक र अन्य रूपमा पछि नेपालमा आयात गरियो । पछि नेपालभित्र त्यसलाई अर्कै रूपमा कल्टिभेट गरियो । नेपाल भित्याइसकेपछि दार्जिलिङ र नेपालभित्र भानुभक्तको कल्टिभेसन भिन्नभिन्न स्वरूपबाट भएको छ ।

भानुभक्तलाई आइकन बनाउन राज्य स्तरबाट चाहिँ कस्तो रोल खेलियो ?

- १९४० अघि सुधपालगायत उहाँका अरू सहकर्मीले दार्जिलिङमा बसेर भानुभक्तलाई राष्ट्रिय हिरो बनाउने जग बसाले । त्यति बेला नेपालमा राणा शासन थियो । सूर्यविक्रम ज्ञवालीले सम्पादन गर्नुभएको ‘भानुभक्त स्मारक ग्रन्थ’मा भानुभक्तलाई आदिकवि भनिएको छ । यो शब्द जुद्धशमशेरले आफ्नो सन्देशमा प्रयोग गरिदिएका हुनाले भानुभक्तलाई आदिकवि भन्न अरूलाई पनि सजिलो भयो भन्ने धेरैको विचार छ । मलाई पनि त्यस्तै लाग्छ । त्यसो भएपछि मात्र भानुभक्तलाई नेपालमा इम्पोर्ट गर्न सकियो र नेपालमा भानुभक्तको छुट्टै किसिमको कल्टिभेसन अगाडि बढ्यो । सन् ४०, ५० र ६० को दशकमा जुन कल्टिभेसन भयो र यसले थोक सामग्रीको निर्माण गर्योक, त्यसैमा आधारित भएर मान्छेले टेक्स्ट बुक लेख्न थाले । भानुभक्तको जन्मस्थल, भ्रमणबारे थुप्रै कुरा आउन थाल्यो । ७०, ८० को दशकमा पनि यो आइरह्यो । राज्यले चाहिँ हामी सबैको सम्झना निर्माण गर्ने काममा त्यसरी रोल खेल्यो । राज्यले रोल खेलेन भन्ने त हुँदै होइन । पञ्चायती तीन दशकको आफ्नो दोस्रो भागमा चाहिँ पञ्चायतले टेक्स्ट बुकमार्फत यो काम गर्योल । रेडियोमार्फत पनि भानुभक्तमाथिका सामग्री बजे । रेडियो त राज्यकै हातमा थियो । राज्यका विभिन्न संयन्त्रको प्रयोग भएर टेक्स्टबुक, पत्रिका, रेडियो, राज्यले दिनसक्ने आर्थिक सहयोगमार्फत भानुभक्तलाई बलियो बनाउँदै लग्यो । पछि भानुजयन्तीलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन थालियो । स्कुलका विद्यार्थीलाई भानुभक्तको जन्मजयन्ती मनाउन लगाइयो ।

त्यसो भए अबचाहिँ हामीले अप्रत्यक्ष रूपमै भानुभक्तलाई आइकन बनाइरहेका छौं ?

- अहिले के भइरहेको छ, भन्न गाह्रो छ । मैले अहिले चासो दिएर उनीमाथि काम गरेको छैन । अहिले पनि असार २९ को जुन हप्ता छ, विभिन्न ठाउँमा भानुभक्तका नाममा जन्मजयन्तीका कार्यक्रम मनाएका सुन्छौं । स्कुले विद्यार्थीले विभिन्न तरिकाले त्यो जयन्ती मनाएका समाचार आउँछन् ।

नेपालभन्दा बाहिर पनि धेरै नेपाली बस्छन् । बाहिर पनि विभिन्न हिसाबले भानुजयन्ती मनाएका समाचारहरू सुनिन्छ । असार २९ लाई निहुँ बनाएर विभिन्न कार्यक्रम गर्ने जुन प्रक्रिया छ, त्यो रोकिएको छैन । अहिले थोरै बदलियो होला । तर, पञ्चायतले खडा गरेका पहिचानहरू प्रश्नभन्दा अलि टाढा हुन्थ्यो । बहुदल आएपछि प्रश्न सोध्न सकियो । भानुभक्तमात्र किन, विभिन्न किसिमका अरू आइकन पनि नेपालको राष्ट्रिय पहिचानसँग जोडिनुपर्छ भन्ने बहस अघि आउन थाल्यो । पहिलाझैं एकत्र रूपमा छाउन गाह्रो छ अहिले किनकि समय परिवर्तन भएको छ।

भानु अहिलेचाहिँ कति सान्दर्भिक छन् त ?

- हामीले चाहे पनि, नचाहे पनि उनी हाम्रो राष्ट्रिय संस्कृतिको पहिचान भए । त्यो पहिचानचाहिँ राष्ट्रिय पञ्चायतमा एउटा भाषा र एउटा किसिमको मात्र पहिचानलाई प्रमोट गर्ने समयमा उनी जति बलियो गरि उपस्थित थिए, अहिले त्यो रूपमा उपस्थित छन् जस्तो मलाई लाग्दैन । आजको समयमा उनी अलि कमजोर हिसाबले उपस्थित छन् । नेपाली लोकतन्त्रलाई नेपाली भाषाको मात्र पहिचानमा आधारित लोकतन्त्र बनाउन चाहनुहुन्छ भने उनी बढी सान्दर्भिक हुने भए । तर, विभिन्न पहिचानले ठाउँ पाएको देश मात्र लोकतान्त्रिक हुन्छ भन्ने विचार राख्नेका लागि उनी कम सान्दर्भिक हुने भए ।

भारतमा बसेका नेपाली मूलका मानिसलाई एकताबद्ध गर्न नेपाली भाषाबाहेक अरू कुनै तत्व छ ?

- छ । तर, त्यसका बारेमा म आधिकारिक कुरा गर्न सक्दिनँ । अनुसन्धानकर्ताको रूपमा मलाई त्यसमा खासै चासो परेको छैन । भारतमा नेपाली मूलका मान्छे विभिन्न ठाउँमा बस्छन् । सबै मान्छेले एकै किसिमको पहिचानको राजनीतिमा रुचि राख्छन् र कर्म गरिरहेका छन् भनेर पत्याउन गाह्रो हुन्छ । त्यो प्रश्नचाहिँ भारतमा बसेर भारतीय नेपालीमाथि अध्ययन गरिरहेका व्यक्तिहरूलाई सोध्नु ठीक होला ।

स्रोत : http://annapurnapost.com/news/102931


About the Author