काठमाडौँबाट डोल्पालीको चिठी

- अंकलाल चलाउने | 2019-12-02

अंकलाल चलाउने

अम्बर गुरुङका शब्द सापटी लिँदै— कहिले लहर कहिले तरंग, यो जिन्दगीका के कुरा ? अर्को पत्र अर्को भेट।०००

आमा शिर निहुराई,

पाउपरि ढोग गर्दछु !

कसरी चलिरहेछ गृह संसार ? एक्काइसौं शताब्दीको समय अठारौं शताब्दीको परिस्थिति गुज्रेकै होला हगि ! आमा मेरो कत्रो इच्छा छ, इमेलबाट सन्देश प्रवाह गर्ने। च्याट, टेलिफोनबाट भलाकुसारी गर्ने। अहिलेको खबर अहिले नै पठाउने र पाउने पनि। तर रहर कहिल्यै पनि पूरा हुन सकेन। फोनको कुरा गर्ने हो भने नाउँ त सुन्या छु, देख्या छैन भन्नुहुन्छ। कम्प्युटर, इन्टरनेटका त के कुरा। अनि उही कापी कलमको सहाराबाट यो चिठी कोर्दैछु। अहँ ! साँच्चै मैले पठाएका पत्रहरू पढ्न कसलाई दुःख दिनुभा’को छ ? यो पनि दुःख लाग्दै छ कि एउटा चिठी त के, आफ्नो नाम र हस्ताक्षर गर्न सक्नेसम्मको साक्षर हुनुहुन्न। त्यसैले यो चिठी पनि किन लेखूँजस्तो लाग्छ।

तपाईंसँग छुट्टिएको पनि यत्रो समय भइसक्यो। के के भयो होला त्यो गैरीगाउँमा ? खरखोलाबाट बग्ने ठिहिर्‍याउने पानी बगिरहेकै होला। उरी जंगलको मध्य भागमा फुट्ने पानीको मुहानबाटै ल्याएको पिउने पानी खेर गइरहेकै होला। फेरि आमा, पानी पनि खेर जान्छ र ? भनेर प्रश्न नगर्नुहोला किनकि त्यहाँका लागि बगेर गएको हो। यहाँ सहरका लागि त खेर गएको हो। यहाँ पानी किनेर खानुपर्छ। त्यही पाउन पनि मुस्किल पर्छ। एक जार पानी र आधा लिटर तेलको मूल्य एउटै छ।

अनि...! एकछिन सजिलो सास फेर्न नपाउने त्यो अविराम बाह्रमासे काम, छ मास ज्यूनार गर्न हम्मेहम्मे पर्ने त्यो उब्जनीले निरन्तरता पाइरहेकै होला। नपाओस् पनि कसरी ? उही परम्परा, उही रीति, उही चलन अनि सोच पनि उही। त्यो भ्यागुत्ते संसार। केही गर्नेजस्ता माथ्लाघरे भाने अंकल त लोग्नेछोरा बटुलेर कलब्रेक र म्यारिजमा जम्छन् रे। अरूको त के कुरा— जाँड खाए, रक्सी खाए, अघिपछि कुरा काटे, कुटपिट गरे त्यही त हो दिनचर्या। अनि गाउँका केटाकेटीले क्यारमबोर्डमा कब्जा जमाएको सुनेको थिएँ।

अनि आमा, त्यो आरनको चिसो भुइँमा बसेर खलकको हावाले भु...भु...आगो फुक्दै फलाम तपाउने, कुटो कोदालो हँसिया, खुकुरी इत्यादि बनाउने चामे लोहारको दैनिकी उही होला ? जोइ छोराछोरीको सात जहान पाल्नुपर्ने उसका दुई हातले।

चाड, पर्व, विवाह, भोजभतेरमा बज्ने चाउरे दमाईको दमाहा बजिरहेकै होला ? बिचराको त्यही दमाहा थियो, पेट पाल्ने आधार। बेलामौकामा थाङ्ना टाल्ने काम पनि गथ्र्यो। ठाउँ अवसर पाएको भए वरिष्ठ कलाकारै बन्न सक्ने मान्छे हो। खुब सोख राख्थ्यो वाद्यवादनमा। त्यही दमाहामा तालताल झिक्थ्यो। कसैको हातमा बाँसुरी देखे एकैछिन भनी मागेर तिरिरी...को धुन गुञ्जाइहाल्थ्यो। जे जसो जिन्दगी जिइरहेकै थियो।

फुरुक्क फुरुक्क उफ्रँदै, लसक्क लसक्क कम्मर मर्काउँदै नाच्ने बादिनी सीता दिदी कहाँ छिन् आजभोलि ? उनको नाचमा तालमा ताल मादल घन्काइदिने बाबुको ठेगान नभएको उनको छोरा अझ निपुण भयो होला। कति दिन नाच्दै, दैलो दैलो चाहार्दै गुजारा चलाउने होलिन् ! अनि त्यस्तै सधैं पारि वनमा भैंसी चराउन जाने गोपाले दाइको भाका रनबन थर्केकै होला। जब पारि वनमा गीतको डाको फुट्थ्यो, वारि खेतबारीमा अभ्यस्त किसानी थकाइ मेटाएको लामो सुस्केरा हाल्थे। वि श्राम लिन्थे। कान ठाडा पारेर सुन्थे। हेर्नुस् त आमा, त्यो एउटा गायक साँच्चै गोपालेको जिन्दगी बाँचेको हो।

गाउँको त...ल बस्ने सार्की दाइ कसरी बाँचेका होलान् ? उनले बनाउने दोच्चा मान्छेले लाउन छोडिसके। गोल्डस्टार, एडिडस, हाइटेक आदि जस्ता कम्पनीबाट उत्पादित जुत्ताले दोच्चाको अवशेषसम्म टिक्न दिएनन्। आमा झन्झट नमान्नुहोला के के लेखेछ भनेर। तर आमा गाउँ छोडेको धेरै समयमा भएका परिवर्तन खुब जान्न मन लाग्या छ क्या !

अनि आमा हेपोका पियन मामाले बिरामी जाँचेकै होलान्। तीनवर्षे पुरानो औषधि ट्याब्लेट बाँडेकै होलान्। के गरून् बाध्य छन्। बाध्यताबाटै परिपक्व डाक्टर भइसके त्यहाँका लागि। डाक्टरको पाइलो कहिल्यै रड्किने होइन। औषधि पनि कहिल्यै समयमा पुग्ने होइन। अहँ ! आमा जनसंख्या गुरुको खबर के छ ? हैन मैले कृष्ण गुरुको कुरा गरेको क्या। नझुक्किनुस्। स्कुलमा हामीलाई जनसंख्या शिक्षा पढाउने भएर गुरुलाई हामी जनसंख्या गुरु भनी बोलाउँथ्यौं। बिस्तारै अरूले पनि उहाँलाई जनसंख्या गुरु भनी चिन्न थालेका थिए। उहाँका सात सन्तान छोरीहरूको संख्या पनि दर्जन पुग्न लागे होलान् हगि। छोराको आशमा बहुपत्नीबाट बर्सेनि बच्चा जन्माउने गुरु हामीलाई थोरै सन्तान ईश्वरको वरदान भनेर पढाउनु हुन्थ्यो। आठ कक्षा उत्तीर्ण गरेर शिक्षक भएका गुरुको शैक्षिक योग्यता आठै छ। जे होस्, एक्काइसौं शताब्दीको शिक्षा भनिने पाठ्यक्रम पनि गुरुले धानेकै छन्।

आमा धेरै भयो गन्थन, तर एउटा कुरा सोधिहाल्छु है— आँखा भएका अन्धा अजीव जुकाहरूको संख्यामा कत्तिको कमी आएको छ। खै के आउँथ्यो र हैन ! क, ख, ...ज्ञको ज्ञान छैन। रवाफीहरूको साम्राज्यमा धोबी भएर बाँच्न बेस लाग्छ हामी जिब्रो भएका लाटाहरूलाई। अनि जहिल्यै सदरमुकाम रल्लिने मोतीराम बूढो गाउँमा छिर्‍या छ कि छैन ? कहिले खेतबारीमा एक पाइलो टेक्नु त परै जाओस्, राम्ररी जग्गासम्म चिनेको छैन। लालपुर्जामा स्वामित्व राख्छ। त्यही खेतबारीमा दस नंग्रा खियाउने, पसिना बगाउने कमैयालाई दुई छाक मीठो छैन। आमा जिज्ञासा त धेरै भए। अझ कत्ति धेरै थिए। मेरो खबर उल्लेख गरेकै छैन। सबै लेख्दा चिठीले सीमा नाघ्ने डरले सक्दो छोटो पार्ने प्रयास गर्दै मतिर फर्कंदै छु।

मेरो खबर, चिन्ता नलिनुहोला। म बाँचेकै छु किचलै किचलोको बीचमा। यही किचलोका कारण हामीले हुन्छ, सत्तामा जाऊ। हाम्रा समस्या हेर। गाँस, बास र कपासमा सहजता बनाइदेऊ भनेर पठाइएका पाखा लागेका छन्। आफ्नै स्वार्थको चिन्तामा डुबेर बाँकी दुनियाँ देख्न छोडिसके। चारतले भवनमा मेरो डेरा छ। यही भवनमा एक भारतीय अधबैंसे आइमाई पनि बस्छिन्। ती अधबैंसेको के कुरा गर्नु र। जसरी नेपालको सर्वेसर्वा भारत हुन खोज्छ भन्छन् यहाँ, त्यसरी नै तिनी पनि हाम्रो सर्वोपरि हुन खोज्छिन्। शासन चलाउन खोज्छिन्। त्यसैले उनीसँग खालि किचलो पर्छ। त्यस्तै घरबेटी बा मेलो न मेसो, बेला न कुबेला किचकिचाइहाल्छन्। यस्तै छ यहाँको खबर। स्कुल, क्याम्पसभित्रै खुँडा, खुकुरी बन्दुकको लडाइँ हुन्छ। अपहरण, कुटपिट, काटमारजस्ता बीभत्स क्रियाले खुब प्रोत्साहन पाएका छन्। मेरो छेउमै बस्ने दैलेखी दाइले स्नातकोत्तरको प्रमाणपत्र हातमा लिएका छन्। पेडलरको जागिरमा मनठोक गरेका छन्। खुब दुःखेसो गर्छन्। तर प्रवीणता पत्र तहमा अध्ययनरत मेरो साथी शानदार अफिसमा सेक्रेटरीको पद अँगालिरहेको छ। यस्तै छ आमा यहाँको खबर। सर्टिफिकेटको मूल्य छैन। आफ्नो, भनसुन र चाकडी यी तीन प्रमाणपत्र पक्का छन् भने कामको पनि पक्का छ यहाँ। इज्जत, नैतिकता, कर्तव्यनिष्ठता, सभ्यता, सचेतना तथा आत्मसम्मानभन्दा बढावा पाएको छ, पैसाले। ‘जीवन भए धन’को ठाउँमा ‘धन भए जीवन’ भएको छ यहाँ। हुन पनि हो, पैसाले विलास किन्न पाइन्छ यहाँ। न्याय किन्न पाइन्छ। शक्ति किन्न पाइन्छ यहाँ। त्यसैले आमा यो जिन्दगीको के कुरा गर्नु र ! घरपरिवारसँग रमेर टोल, छिमेक, समुदायमा सौन्दर्य फुलाउने पौरखी हातहरू; युरोप, अमेरिका, अरब खाडीमा खियाउने, सहरमा आलिसान भवन ठड्याउने, छोराछोरी बोर्डिङ स्कुलमा पढाउने, धनी बन्ने सपनाको के नौली ? तर त्यही सपनाले जलाएर जिउँदो इतिहाससँगै जलेको जिन्दगीको के कुरा ?

विश्वचर्चित उपन्यास ‘आमा’का लेखक माक्सिम गोर्कीले उपन्यासमा भनेका छन्, ‘सहरका गिर्जाघरहरूमा सुनचाँदी थुप्रिएको छ, उसको ईश्वरलाई कुनै आवश्यकता छैन र तिनै गिर्जाघरहरूका ढोकाहरूमा चिसोले काँपिरहेका माग्नेहरू हात फैलाएर एकएक पैसा मागिरहेका हुन्छन्।’ साँच्चै आमा यो कुरा त म बसेको सहरमा पनि सत्य साबित हुन्छ। चैतको चर्को धुप, साउनको झिमझिमे वर्षा अनि पुसको चिसो सिरेटो केही नभनी एक लत्तो कपडा र एक गाँस खानामा जिन्दगी काट्ने पनि छ यहाँ। दस मिटरको दूरी मारुती सुजुकी सवारको पनि जिन्दगी छ यहाँ। त्यसैले आमा यहाँका खबरको पनि सीमा साध्य छैन। अम्बर गुरुङका शब्द सापटमा— कहिले लहर, कहिले तरंग, यो जिन्दगीका के कुरा ! अर्को पत्र अर्को भेट।

प्यारो छोराअंकलाल चलाउने

स्रोतः http://annapurnapost.com/news/142536


About the Author