संगीता र टासीविरुद्ध देखिएको नश्लवाद

- जेबी विश्वकर्मा | 2025-10-17

कुनै निश्चित रंग, धर्म, समुदाय र वर्गको एकाधिकारको ‘सर्वोच्चता’ लाई वैधता दिने र बाँकीलाई ‘अन्यकरण’ गर्ने राष्ट्रवादको अभ्यास संसारैभरि छ, नेपालमा पनि यस्तो राष्ट्रवादको जग भत्किसकेको छैन। राष्ट्रवाद एक सांस्कृतिक अवधारणा पनि हो, यसले उत्पीडित जातजाति र समुदायलाई हेर्ने निश्चित विभेदकारी दृष्टिकोण तयार पारेको हुन्छ।

What you should know :

  • हुम्लाकी टासी ल्हान्जोम र मधेशकी संगीता कौशल मिश्रलाई मन्त्री बन्ने क्रममा उनीहरूको अनुहार, वंश र भाषाका आधारमा नेपाली नागरिकता नस्वीकार्ने नश्लीय राष्ट्रवाद देखियो।
  • नेपालमा खसआर्य समुदायको प्रभुत्वमा आधारित राष्ट्रवादी सोचले आदिवासी, जनजाति, मधेशी र दलित समुदायलाई बारम्बार 'नेपाली' प्रमाणित गर्न बाध्य बनाएको छ।
  • यस्तो विभेदकारी राष्ट्रवादले देशको विविधता, समानता र सहअस्तित्वलाई कमजोर बनाउँदै उत्पीडित समुदायमाथि अन्याय र बहिष्करणलाई निरन्तरता दिएको छ।

यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

जेन–जी विद्रोहपछि अन्तरिम सरकारले मन्त्रीमण्डल विस्तार गर्ने क्रममा जेन–जी पुस्ताको प्रतिनिधित्व गर्दै हुम्लाकी टासी ल्हान्जोम मन्त्री बन्ने सूचना सार्वजनिक भयो । नाम सार्वजनिक हुनेबित्तिकै ‘उनी नेपाली नागरिक होइनन्’ भन्ने प्रचारले व्यापकता पायो । मूलतः खसआर्य समुदायका राजनीतिक मात्रै होइन, युवा पुस्ताले पनि उनको अनुहारको बनोट, वंश र भाषाका आधारमा ‘नेपाली नागरिक होइनन्’ भन्ने प्रमाणित गर्न निकै ठूलो कसरत गरे ।

हिमाली आदिवासी समुदायकी टासीले ‘नागरिकता’ सार्वजनिक गरेर नेपाली भएको प्रमाणित गर्नुपर्ने परिस्थितिको सामना गर्नुपर्‍यो । हिन्दु पहाडी राष्ट्रवादी प्रभुत्वका कारण आदिवासी–जनजातिले राज्यसत्ता र शासक जातिलाई ‘नेपाली नागरिक’ भएको पटक–पटक प्रमाणित गर्नुपरेको छ । यो नश्लीय राष्ट्रवादको निकृष्ट नमुना हो । देशको नागरिकको सार्वभौमिकतामाथिको प्रहार मात्रै होइन, आदिवासी जनजातिमाथिको नश्लीय अत्याचार हो ।

यस्तो अत्याचार मधेशी समुदायले अझ बढी खेप्नुपरेको छ । एक किसिमका पहाडी सम्भ्रान्त वर्ग मधेशीलाई अहिले पनि नेपाली मान्न तत्पर छैन । अहिले पनि मधेशी समुदायले ‘नेपाली हुँ’ भन्न नागरिकताको प्रमाणपत्र पेस गरिरहनुपर्ने बाध्यताबाट मुक्त हुन पाएका छैनन् । नश्लीय पहाडी राष्ट्रवाद यति हाबी हुन्छ कि मधेशीले राष्ट्रिय सरोकारका मुद्दामा आवाज उठायो भने त सिधै ‘भारतीय एजेन्ट’ को दर्जा दिइन्छ । नेपाली राज्यसत्ता मधेशीलाई स्वीकार गरिहाल्ने पक्षमा छैन ।

डा. संगीता कौशल मिश्रलाई अन्तरिम मन्त्रिपरिषद्मा सहभागी गराउनबाट रोक्नका लागि पनि उनको नागरिकतालाई हतियार बनाइयो । यति ठूलो जेन–जी विद्रोहको जगमा बनेको सरकारमा समेत मधेशी समुदायकी संगीता मिश्रको नाम काटिनुको पछाडिको मुख्य कारण पहाडी राष्ट्रवाद हो ।

यति मात्रै होइन, नश्लीय राष्ट्रवाद अति लोपोन्मुख अवस्थामा रहेका आदिवासी जनजाति हुन् वा ऐतिहासिक आर्थिक–राजनीतिक र सामाजिक–सांस्कृतिक दमन र उत्पीडनमा पारिएका दलितलाई मानिसको दर्जासमेत दिन तयार छैन । शासक जाति र समुदायले निर्माण गरेको यस्तो नश्लीय राष्ट्रवादले नेपालको विविधता र बहुलतालाई अहिले पनि सम्मान गर्न सकेको छैन । कुनै निश्चित रंग, धर्म, समुदाय र वर्गको एकाधिकारको ‘सर्वोच्चता’ लाई वैधता दिने र बाँकीलाई ‘अन्यकरण’ गर्ने राष्ट्रवादको अभ्यास संसारभरि नै भइरहेको छ, नेपालमा पनि यस्तो राष्ट्रवादको जग अझै भत्किसकेको छैन ।

राष्ट्रवादको जग

नेपालमा राष्ट्रवाद र राष्ट्रिता एकै किसिमले गोलमटोलमा प्रयोग हुने गरेको देखिन्छ । राष्ट्रियता देशको भूगोल, जनसमुदाय, जातजाति, भाषा, संस्कृति र सबैका सार्वभौमसत्तामा अन्तरनिहित हुन्छ । समृद्ध देश निर्माणमा आन्तरिक राष्ट्रियता बलियो हुनुपर्छ, जसका लागि देशभित्रका सबै सार्वभौम नागरिकले समानताको प्रत्याभूति गर्ने परिवेश निर्माण गरिनुपर्छ ।

आन्तरिक राष्ट्रियता बलियो भयो भने मात्रै राष्ट्रिय एकता निर्माण हुने र बाह्य हस्तक्षेपविरुद्ध प्रतिरोध गर्न सम्भव छ । अर्कोतिर, राष्ट्रवाद राष्ट्रियताविरोधी दक्षिणपन्थी र प्रतिगामी अवधारणा हो । यसले कुनै निश्चित जाति, समुदाय वा राष्ट्रको जातीय श्रेष्ठतालाई वैधानिकीकरण गर्छ, अन्य समुदायको अस्तित्वमाथि प्रहार गर्छ वा ‘अन्यकरण’ गर्छ र सहअस्तित्वलाई अस्वीकार गर्छ । अन्य समुदायको सभ्यता, भाषा, संस्कृति र अस्तित्वलाई स्वीकार गर्दैन । एउटै नश्ल र जातिको एकाधिकारलाई संस्थागत गर्ने नश्लीय वा जातीय श्रेष्ठता राष्ट्रवादको जग हो ।

नेपाल विविध सभ्यता, जातजाति, भाषा, धर्म र संस्कृतिको समष्टिसहितको देश हो अर्थात् सबैको अस्तित्वलाई स्वीकार गरियो भने मात्रै नेपालको राष्ट्रियता बलियो हुन्छ । तर, नेपाली राज्यसत्तामा खसआर्यको निरन्तर प्रभुत्व कायम छ । राजा महेन्द्रले स्थापित गरेको पहाडी खसआर्यको वर्चस्वमा आधारित एक जाति, एक भाषा, एक भेष र संस्कृतिको राष्ट्रवादी अवधारणा अहिले पनि अभ्यासमा छ । यसले खस–नेपाली भाषालाई मात्रै नेपाली भाषा मान्छ र अन्य मातृभाषीलाई नेपाली मान्न हिचकिचाउँछ ।

अन्य जाति, भाषिक–सांस्कृतिक समुदायमाथि घृणा गर्छ । २०७८ को जनगणनाअनुसार, नेपालमा १४२ जातजाति र १२४ मातृभाषा बोल्ने मानिस छन् । तीमध्ये करिब ४५ प्रतिशतले मात्रै खस–नेपालीलाई मातृभाषाका रूपमा अभ्यास गर्दै आएका छन् भने ५५ प्रतिशतले मातृभाषाको अभ्यास गरेका छन् । तर, नेपाली राष्ट्रवादी अवधारणाले मातृभाषी जनसंख्यालाई ‘खाँट्टी’ नेपालीका रूपमा स्विकार्दैन । यस्तो विभेदकारी राष्ट्रवादी अवधारणा नै नश्लीय वा जातीय राष्ट्रवादको जग हो ।

राष्ट्रवाद सांस्कृतिक अवधारणा पनि हो । यसले उत्पीडित जातजाति र समुदायलाई हेर्ने एउटा निश्चित विभेदकारी दृष्टिकोण तयार पारेको हुन्छ । जस्तो– खस–नेपाली भाषा नबोल्ने वा फरक जातीय–सांस्कृतिक पृष्ठभूमिका व्यक्तिलाई विदेशीले परिचालित गरेको ठान्ने र अराष्ट्रिय करार गर्ने सोच, चिन्तन र व्यवहार नश्लीय राष्ट्रवादको उपज हो । मधेशीलाई नेपाली हो भन्न हिचकिचाउने, आदिवासी जनजातिलाई तिब्बती देख्ने दृष्टिकोण यही एकल जातीय सांस्कृतिक अवधारणाको उपज हो ।

विगतदेखि नै नेपालका उत्पीडित जातजाति, मधेशी र सीमान्तीकृत समुदायले एकल जातीय प्रभुत्वमा आधारित नश्लीय राष्ट्रवादविरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेका छन् । तर पनि देशकै नागरिकले ‘म नेपाली हुँ’ भन्ने पुष्टि गर्दै हिँड्नुपर्ने बाध्यताबाट उत्पीडित र सीमान्तीकृत समुदाय अझै मुक्त हुन पाएका छैनन् । त्यसैले जातीय अहंकार, सीमान्तीकृत समुदायमाथि घृणा र द्वैषमा टिकेको राष्ट्रवादको जग नभत्किँदासम्म आन्तरिक राष्ट्रियता बलियो हुन सक्दैन भने न्याय र समानतासहितको सामाजिक–सांस्कृतिक पर्यावरण पनि निर्माण हुन सक्दैन ।

राष्ट्रवादको परिणाम

राष्ट्रवादले शासकीय अहंकार फैलाउँछ । यस्तो राज्यमा विशेषगरी उत्पीडित समूहलाई राज्यमाथि सहजै प्रश्न गर्न, आलोचना गर्न र प्रतिरोध गर्न दिइँदैन । ती समुदायले जायज र तर्कपूर्ण प्रश्न गरे भने नश्लीय राष्ट्रवादको डन्डा चलाइन्छ र उल्टै निषेध गरिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रवादको जग अश्वेत समुदाय, आप्रवासी र महिलाविरोधी प्रवृत्ति हो ।

उनको राष्ट्रवादको अभ्यास अश्वेतविरोधी र आप्रवासीमाथि घृणा फैलाउनेदेखि देशनिकाला गर्ने तहसम्म प्रकट भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवाद मुस्लिम र सीमान्तीकृत समुदायविरुद्ध पोखिँदै आएको छ । यसरी आप्रवासी, अश्वेत, फरक धार्मिक समूह र सीमान्तीकृत समूहलाई जबर्जस्त निषेध गर्ने र घृणा फैलाउने राष्ट्रवादले आर्थिक–राजनीतिक र सांस्कृतिक सत्ता वरपर रहेका बाहेक अन्य समुदायमाथि गर्ने बहिष्करण र दमनले स्वाभाविक रूपमा विद्रोह जन्माउँछ ।

नेपालको सन्दर्भमा पनि बेला–बेला नश्लीय राष्ट्रवाद उग्र रूपमा देखापर्छ । टीकापुरमा भएको घटनापछि थारूमाथि राज्यले बर्बर दमन गर्‍यो । थारूका घर जलाइए, संग्रहालय जलाइयो, कुटपिट भयो । तर, थारूमाथि भएको दमनले धेरै नेपालीलाई छोएन किनकि राष्ट्रवादी अवधारणाले थारूलाई नेपालीका रूपमा स्वीकार गर्न अप्ठ्यारो पार्‍यो । मधेश विद्रोहका बेला सरकारी दमनबाट दर्जनौं मानिस मारिए । तर, राष्ट्रवाद मनलाई दुखेन ।

अन्तरजातीय प्रेम सम्बन्धकै कारण पश्चिम रुकुममा ६ जना युवाको निर्ममतापूर्वक हत्या भयो । त्यसले पनि नेपाली राष्ट्रवादलाई छोएन । यी सबै शृंखलाले के देखाउँछ भने शासक र सत्ता वरिपरि रहेका समूहले यस्ता गम्भीर मुद्दामा उनीहरूलाई नेपाली देख्दैन । बरु शत्रुतापूर्ण व्यवहार गर्छ । यस्तो राष्ट्रवादले राष्ट्रिय एकता, परस्पर सम्मान र सहकार्यका बाटाहरू बन्द गरिदिन्छन् । परिणामतः देश र जनताले अग्रगतिको बाटो पक्रिन सक्दैनन् ।

दक्षिण अफ्रिकामा अश्वेतमाथि तत्कालीन राज्यसत्ताले गरेको दमनविरुद्ध नेल्सन मण्डेलाले निकै लामो संघर्ष गर्नुपर्‍यो । गोरा समुदायको रंगवादी राष्ट्रवादमा आधारित सत्ताले बहुसंख्यक अश्वेतमाथि अमानवीय र आपराधिक विभेद र दमन गरेका कारण त्यस्तो सत्ताविरुद्ध समानता, न्याय र सहअस्तित्वसहितको राज्य निर्माणका लागि उनले लामो संघर्ष गर्नुपरेको थियो ।

यसको अर्थ दमनकारी राष्ट्रवादले आन्तरिक र बाह्य द्वन्द्व वा युद्ध निम्त्याउँछ । त्यसैले राष्ट्रवादले देशलाई बलियो बनाउने होइन, कमजोर र जोखिमको यात्रामा लैजान्छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने नेपाली नागरिकलाई नेपालीको व्यवहार नहुने परिस्थिति बलियो हुँदै गयो । यसले स्वाभाविक रूपमा द्वन्द्व निम्त्याउँछ किनकि उत्पीडित समुदाय अब दमन सहन किमार्थ तयार छैन ।

नेपालको जातीय, भाषिक, सांस्कृतिक विविधताको सम्मान र स्वाभिमानलाई अस्वीकार गरियो भने यसले अन्तरघुलन, सहकार्य र सहअस्तित्वसहितको समाज स्थापित हुन दिँदैन । समाज र राष्ट्रको प्रगति आपसी हित र सामूहिक प्रयत्नबिना असम्भव छ । त्यसैले सबै नागरिकको पहिचान, स्वाभिमान र सार्वभौमिकताको संरक्षणका लागि नश्लीय राष्ट्रवादमा आधारित विचार, दृष्टिकोण र व्यवहारमा रूपान्तरण अनिवार्य आवश्यकता हो ।

जेन–जी विद्रोह र राष्ट्रवाद

राज्यका शासक, राजनीतिक पार्टी र तिनको नेतृत्वले गरेको कुशासनबाट वाक्क भएका जेन–जीले राज्यविरुद्ध सानदार विद्रोह गरे । यसले पुराना राजनीतिक दल, तिनको नेतृत्व, शासक र कर्मचारीतन्त्रमा एक हदसम्म हलचल पैदा भएको छ । तथापि राष्ट्रवादी भूतमा सवार राष्ट्रघातीमाथिको प्रतिरोधलाई तीव्र बनाउनुपर्ने आवश्यकता छ । जनताको करबाट तलब–भत्ता खाने उच्च पदस्थ कर्मचारीले विदेशी पीआर र ग्रिनकार्ड लिएको खुलासा भएको धेरै भइसक्यो ।

राष्ट्रवादी सोच्ने तर विदेशी परिचयपत्र लिएर बस्ने यस्ता कर्मचारी राष्ट्रप्रेमी हुन् कि राष्ट्रघाती ? टासी ल्हान्जोमलाई नेपाली हो भन्ने प्रमाणित गर्न बाध्य पार्ने राष्ट्रवादीहरूले यो प्रश्न गर्नु पर्दैन ? निकै ठूलो संख्यामा नेपाली पासपोर्टको दुरुपयोग गरी बंगलादेशी विदेश गएको समाचार आइरहेका छन् ।

यसरी नेपालीको पासपोर्ट विदेशीलाई बेच्ने दलाल राष्ट्रवादी हुन् कि राष्ट्रघाती ? के तिनीहरूको राष्ट्रघातबारे प्रश्न गरिनु पर्दैन ? सीमा अतिक्रमणमा परेका नेपाली जनता प्रत्येक दिन विदेशीसँग नेपाली भूमि जोगाउन लडिरहेका छन् । अर्कोतिर, सीमामा लडिरहेको व्यक्तिलाई नै विदेशी करार गर्न तल्लीन छ । कोशी, महाकालीजस्ता भूमि बेच्नेचाहिँ राष्ट्रवादी हुने अनि भूमिको रक्षाका लागि लड्ने नेपालीले चाहिँ नेपाली हुँ भन्ने प्रमाणित गर्दै हिँड्नुपर्ने ? राष्ट्रवादका नाममा देखिएको यस्तो दाक्लापनको अन्त्य नगर्दासम्म उत्पीडित समुदायको संघर्ष रोकिँदैन ।

गत महिना नेपालमा भएको सानदार जेन–जी विद्रोह शासकीय रूपान्तरणमा मात्रै होइन, राष्ट्रवादी अहंकार र सीमान्तीकृत समुदायलाई ‘अन्यकरण’ गर्ने नश्लीय प्रभुत्ववादविरुद्ध पनि लड्न जरुरी छ । स्वाभाविक रूपमा राष्ट्र र देश–प्रेम अत्यावश्यक छ । तर, राष्ट्रवादको आवरणमा परम्परागत शासक जाति, समुदाय र वर्गले उत्पीडित समुदायमाथि गर्ने दमनले राज्य र समाजको रूपान्तरण गर्न सक्दैन ।

नेपालको समग्र विकासका लागि शासन सत्तामा भएको जातीय एकाधिकारवादी प्रवृत्ति, नश्लीय राष्ट्रवादी व्यवहार, नेपाली भनेको म मात्रै हुँ भन्ने अहंकार, सीमान्तीकृत समुदायविरोधी बहिष्करण र घृणाको अन्त्य हुनुपर्छ । विविध जातजाति, भाषा, धर्म र संस्कृतिका मानिसले स्वाभिमान र आत्मसम्मानपूर्ण नेपाली भएर बाँच्न पाउने परिवेश निर्माण नभएसम्म विभेदकारी नश्लीय राष्ट्रवाद बलियो भइरहन्छ । यस्तो राष्ट्रवाद नेपाल र नेपाली जनताको हितविरुद्ध छ ।

प्रकाशित : आश्विन ३१, २०८२
स्रोत : https://ekantipur.com/opinion/2025/10/17/racism-against-sangeeta-and-tasi-37-22.html


About the Author

JB Biswokarma जेबी विश्वकर्मा

विश्वकर्मा लेखक एवं अनुसन्धाता हुन्। उनले नेपाली मिडिया, सामाजिक समावेशीकरण, जात व्यवस्था, लैंगिक समानता र उत्पीडित तथा सीमान्तीकृत समुदायका सामाजिक-राजनीति सवालमा लेखन र अनुसन्धान गरेका छन्।

More Blogs