दार्जिलिङमा कसरी फैलियो नेपाली भाषा ?

- अर्जुन पन्थी | 2026-08-14

दार्जिलिङमा नेपाली भाषा केवल नेपालबाट बहुसंख्यक मानिस गएको कारण फैलिएको होइन। श्रम-आप्रवासन, त्यहाँ पुगेका विभिन्न समुदायबीच नेपाली सम्पर्क भाषा बन्नु, मिसनरीहरूको भाषिक काम, काशीका पण्डितहरूको ‘भाषा शुद्धीकरण’ र स्थानीय भाषाहरूबीचको अन्तरक्रियाबाट दार्जिलिङको नेपाली भाषाले आफ्नो स्वरूप ग्रहण गरेको हो।

भारतको दार्जिलिङको सिंगामारीस्थित नर्थ पोइन्ट एकेडेमीका विद्यार्थीले नेपाली भाषा मान्यता दिवस (२० अगस्ट, २०२५) का अवसरमा आयोजित कार्यक्रममा बनाएको भित्तेपत्रिका (तस्बिर साभार : दार्जिलिङ टाइम्स डटकम) ।

२०७३ सालमा देहरादून गएको बेला त्यहाँ रहेका ‘गोर्खाली’हरूले बोल्ने ‘गोर्खे’ बोली बुझ्न मलाई गाह्रो भएको थियो। बरु, त्यसअघि दार्जिलिङ जाँदा दार्जिलिङेहरूले आपसमा बोलेको भाषा प्रस्टै बुझिन्थ्यो। देहरादूनको ‘गोर्खे’ बोली बुझ्न अप्ठ्यारो दार्जिलिङको बुझ्न सजिलो किन लाग्यो, यो सामान्य चासो मेरो मनमा बसिरहेको थियो। 

देहरादून घुमेर फर्केपछि मलाई दार्जिलिङको भाषा विकासबारे जान्न मन लाग्यो। त्यसका लागि दार्जिलिङको भाषा आन्दोलनका हस्तीत्रय सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सुधपा) मात्र मेरो समझमा थिए। तीमध्ये पनि पारसमणिका रचनाले उत्तर देलान् कि भन्ने लाग्यो। किनभने पारसमणि कालेबुङमै जन्मिएका थिए। अघिल्ला दुई हस्तीचाहिँ बनारस हुँदै दार्जिलिङ गएका थिए।

त्यति बेला मैले मार्टिन चौतारीको पुस्तकालयमा पारसमणिका रचनाहरू खोजें, भेटिएनन्। अध्येता प्रत्यूष वन्तसँग पारसमणिका रचना पढ्नका निम्ति मागें। उनले आफ्नो निजी पुस्तकालयबाट एक दिन केही किताबहरू ल्याइदिए। त्यसमा एउटा टिपन-टापन थियो। त्यो मार्च १९६९ मा छापिएको रहेछ कालेबुङबाटै। 

लगत्तै उनले अप्रिल १९६९ मै रोचक संस्मरण छपाएका रहेछन्। जसमा २५ ओटा रचना भेटिए। त्यसबाहेक काठमाडौँमा दश दिन (२०३२), रमाइलो सम्झना खरसाङको (१९७८ जुलाई) र अच्युत मल्ल ताराको सम्पादनमा रहेको प्रकाश-पिण्ड पत्रिकाले पारसमणि विशेषाङ्क पनि छापेको रहेछ। सबै पढें, तर विशेष रूपमा टिपन-टापन पढें। जसमा सन् १९१७ देखि सन् १९६९ जनवरीसम्मका ३२ ओटा रचना थिए। यो लेख मुख्यत: पारसमणिको टिपन-टापनकै 'टिपन-टापन' हो।

दार्जिलिङको पहाडी भेगमा हिन्दी र बङ्गला जस्तो उन्नत र अंग्रेजी जस्तो अन्तर्राष्ट्रिय भाषाको बीचमा नेपाली भाषाले बाँच्नलाई कस्तो सङ्घर्ष गर्नुपरेको होला ? सुरुको प्रश्नसँग कुतूहल पनि परिमार्जित भएको थियो।

टिपन-टापनमा पारसमणिका पूर्वजको बसाइँसराइबारे एउटा लहरो छ। जसले पारसमणि कसरी कालेबुङमा जन्मे भन्ने जान्न सघाउँछ। पारसमणिका हजुरबुबा (मावली?) र बुबा भाग्यमणि प्रधान भक्तपुरको बहाल छाडी काशी बनारसमा पढ्न भनी गएका थिए। काशी पुगेका भाग्यमणि एक पटक बेपारको सिलसिलामा दार्जिलिङतिर उक्लिए । शायद गंगानारायण पनि। त्यति बेला भाग्यमणिले काशीबाट भानुभक्त आचार्यको रामायण लगायतका किताब बिक्री गर्न लगेका थिए। त्यहाँ उनी भागिराम नामले चिनिन थाले। भागिरामले अरू बेला पनि काशीबाट नेपालीमा लेखिएका थुप्रै पुस्तकहरू दार्जिलिङ लगेर बेच्न थाले। त्यसै क्रममा उनको बसोबास उतै भयो, छोरा पारसमणि सन् १८९८ मा कालेबुङमै जन्मे।

भाषाको विकासको सन्दर्भमा भने पारसमणिका बाबुको बसाइभन्दा नेपालबाट गएका आम मानिसको बसाइँसराइको लहरो महत्त्वपूर्ण छ। 

नेपालको पूर्वी भेगबाट पहाडी बाटो हुँदै आम मानिसहरू दार्जिलिङमा काम गर्न पुगेका थिए। उनीहरूलाई अंग्रेजहरूले त्यहाँ लगेका थिए। पारसमणिको स्रोतअनुसार सन् १८२९ अघि दार्जिलिङमा कोही पनि अंग्रेज आएका थिएनन्। दुईचार घरहरू लिम्बू तथा लेप्चा र नेपालबाट सिक्किम हान्न गएकाहरूको थियो। नत्र दार्जिलिङ सुनसान थियो। अहिले दार्जिलिङ रहेको पहाड सिक्किमको अधीनस्थ थियो। 

१ फेब्रुअरी १८३५ मा सिक्किमका राजाले दार्जिलिङ क्षेत्र अंग्रेजलाई बेचे। त्यसपछि अंग्रेज डा. क्याम्पबेल सन् १८३९ मा नेपालबाट दार्जिलिङमा सुपरिटेन्डेन्टको रूपमा सरुवा भए। अंग्रेजहरूको योजनाअनुसार उनले त्यहाँ मान्छे जम्मा पार्न सुरु गरे।

जंगल फाँडेर बस्ने उत्साह दिएकाले विशेष गरी नेपाली, भुटानी र सिक्किमका लेप्चाहरूले त्यहाँ डाँडाकाँडा ढाक्न थाले। सन् १८३० तिर सिक्किममा राज्यको अत्याचार बढेकाले त्यहाँका लेप्चा जनसंख्याको दुईतिहाइ अर्थात् १२ सय लेप्चाहरू नेपालमा आई शरण परेका थिए। उनीहरूलाई पनि अंग्रेजहरूले दार्जिलिङमा फर्काए। 

औपचारिक रूपमा सन् १८३९ देखि दार्जिलिङमा बस्न थालेका आप्रवासी मजदुरहरूले जङ्गल फाँड्नेलगायत काम गर्न थाले। सन् १८५४ मा दार्जिलिङमा चिया खेती गर्न ठीक छ भन्ने सङ्केत पाएपछि नेपाली कामदारको माग झन् बढ्यो। पूर्वी पहाडका नेपालीहरू झनै ओइरिन थाले। ‘चियाको बोटमा त पैसा फल्छ रे’ भन्दै पैसा टिप्न गएका नेपालीहरूको जनसंख्या दुईदुना चार हुँदै बढ्यो। सन् १९०१ सम्ममा १,३४,००० पुग्यो। पारसमणि सन् १९६९ सम्म दुई लाख नेपालीभाषी दार्जिलिङमा भएको अनुमान गर्छन्।

त्यसपछि दार्जिलिङ त नेपालीभाषी सर्वसाधरण, अंग्रेज साहेबलगायत बंगाली तथा अन्य भारतीयहरूको जम्का हुने थलो बन्यो। तीमध्ये बहुमत संख्या नेपालीभाषी नै थिए। प्रधानले त करिब ९० प्रतिशत नै दाबी गरेका छन्। 

रिचर्ड इङ्गलिसले सन् १९८५ को लेखमा उल्लेख गरेअनुसार सन् १८७० को दशकमा दार्जिलिङ र पश्चिमी आसाममा तीन सय चिया बगानहरू बनाइएका थिए। सन् १८८१ मा दार्जिलिङमा रेल पनि आयो। रेल मार्ग बनाउने काममा पनि नेपालीभाषीहरूको श्रम पसिना बगेको थियो। 

चिया बगानमा काम गर्ने कामदारका कारण जङ्गल फँडानी मात्र भएन, चिया मात्र उत्पादन भएन, दार्जिलिङ पहाडमा रेल ल्याउने काम मात्र पनि भएन। सँगसँगै माध्यम भाषाको रूपमा नेपाली भाषाको पनि विस्तार हुँदै गयो। 

पारसमणि प्रधान र उनकाे कृति 'टिपन-टापन' (तस्बिर स्रोत: हिमाली च्यानल दार्जिलिङ) ।


त्यहाँ नेपाली सबैभन्दा श्रेष्ठ भाषा त थिएन। समयक्रममा क्रमश: आउने कामदारबीचको सम्पर्क भाषा बन्दै गयो। नेपालबाट त्यहाँ एक्कै पटक मानव समूह गएको थिएन। एकै ठाउँबाट र एउटै भाषी पनि गएका थिएनन्। सन् १८४० देखि अंग्रेजहरू नजाँदासम्म अथवा त्यसपछि पनि लगभग सय वर्षभन्दा बढी समयसम्म निरन्तर आप्रवासन भइरह्यो। जसले गर्दा नयाँ आउने मानव समूह, विभिन्न जातीबीच बोलिने सम्पर्क भाषाको रूपमा नेपाली भाषा विकसित भयो। 

त्यति बेला नेपाल, भुटान, सिक्किम विभिन्न ठाउँबाट आएका कामदारहरूलाई निजीभन्दा माध्यम भाषाको खाँचो थियो। तीमध्ये बहुसंख्यक नेपालबाट आएको हुनाले नेपालीहरूको माध्यम भाषा नै त्यहाँको भाषा बन्यो। अङ्ग्रेजी त त्यहाँका शासकको भाषा थियो। श्रमिकको थिएन। श्रमिकलाई अङ्ग्रेजी सिक्नुपर्ने आवश्यकता पनि थिएन। त्यो ब्रिटिस अफिसर, प्रशासक, स्कुल तहमा सीमित भाषा थियो। 

दार्जिलिङमा नेपाली भाषी जनसंख्या धेरै भए पनि, अल्पसंख्यक अनेपालीले बहुसंख्यक नेपालीले बोल्ने भाषालाई हेयको दृष्टिले हेर्दथे। पारसमणिले एक अन्तर्वार्तामा आफूले पढ्ने बेलाको कुरा सम्झँदै भनेका छन्, “सन् १९१३ तिर दार्जिलिङका अनेपाली शिक्षकले नेपाली भाषालाई ‘कुल्लीको भाषा’ भन्थे, यो सम्झँदा रुन मन लाग्थ्यो, रिसले चुर हुन्थ्यौँ।”

यति हुँदाहुँदै पनि केही अंग्रेजहरूको चासोमा यो भाषा परेको थियो। उनीहरूले ‘धोखाबाजी र टेडोपना नभएका’ कामदारकै छोराहरूलाई लेखापढी गराउने सोच गरे। त्यसो गरेमा मजदुरका पढेका छोराहरू चिया कमानमै काम लाग्न सक्थे। चिया कमानमा शिक्षित मजदुरहरू पनि चाहिन्थे। पारसमणिका अनुसार सन् १८७० को दशकमा जोर्डन नामका ‘कमाने साहेब’ले ६ जना पर्वते लड्काहरूलाई काशी पढ्न पठाए। 

अंग्रेजहरुले 'टी गार्डेन' वा 'टी स्टेट' भने पनि मजदुरहरुले त्यसलाई 'चिया कमान' भन्थे। त्यो उपनिवशेकालीन दार्जिलिङे श्रमिकहरूले चलाएको शब्द थियो।

काशीमा पढ्न गएका सोझा पर्वते केटाहरू देखेपछि त्यहाँ बसेका क्रिश्चियन धर्मप्रचारकहरू लोभिए। त्यसमध्ये म्याकफर्लेन नामका एक प्रचारक थिए। दार्जिलिङमा अरू पनि सरल नेपाली श्रमिकहरू भएको थाहा पाएर उनले ती पढ्न गएका लड्काहरूका साथ लागि पहाडतिर उकालिए।

म्याकफर्लेन १८७० मा तिनै पर्वते केटाहरूको साथ लागि दार्जिलिङ नजिकै कालेबुङमा आइबसे। त्यति बेला पारसमणि प्रधानका अजा (हजुरबुवा) गंगानारायण प्रधानसँग म्याकफर्लेनको भेट हुन्छ। सम्भवत: उनैको सम्पर्कबाट गंगानारायणले सन् १८७४ मा धर्म परिवर्तन गरेर क्रिस्तान भए।

गंगानारायण काशीमा पढेका र त्यहीँबाट व्यापार गर्दागर्दै दार्जिलिङतिर उक्लिएका शिक्षित मानिस पनि थिए। उनले धार्मिक मिसन चलाउन आएका म्याकफर्लेन र त्यसपछि टर्नबुललाई नेपाली भाषा सिकाए। सन् १८८३ मा त टर्नबुलसँग मिलेर बाइबललाई नेपाली भाषामा उल्था पनि गरे। नेपाली सिक्ने क्रममा टर्नबुललगायतका अंग्रेज साहेबहरूले नेपाली भाषाको शब्दकोश तथा व्याकरण पनि तयार गर्न थाले।

सन् १९०५ अघि लेखिएका सबै व्याकरणहरू जम्मै अंग्रेज भाषाविद् र पादरीबाट लेखिएका थिए। जस्तो जर्ज गियर्सनले सन् १९१६ मा प्रकाशित लिङ्ग्वीस्टिक्स सर्भे अफ इण्डियामा खस कुरा वा नेपाली भाषाबारे थोरै उल्लेख गरे। त्यसपछि सन् १८२० मा जेम्स ए. ऐटनले ग्रामर अफ नेप्लिज ल्याङ्ग्वेज लेखे। सन् १८८७ मा टर्नबुलले बाइबल अनुवाद गरेपछि व्याकरण पनि लेखे। सन् १८९२ मा एजिएफ ब्राउनले म्यानुअल अफ खस गोर्खाली अर पर्वतियाको दोस्रो संस्करण निकाले र सन् १८९९ मा एमई डोपिङ-हेपेन्सटाल र कुसल सिं बुढाथोकीद्वारा खस गोर्खाली ग्रामर एण्ड भोक्यावुलरी लेखियो। 

सन् १९०५ अघि अनेपालीले व्याकरण लेख्नुमा पारसमणिले एउटा तर्क प्रस्तुत गर्छन्, “नेपालीमा विद्वानहरू सबै ब्राम्हण थिए अनि तिनीहरूको झुकाउ थियो संस्कृत भाषापट्टि। नेपाली भाषामा लेख्ने काममा तिनीहरूको उपेक्षा थियो।” कसैले नेपालीमा लेखेमा संस्कृतका पण्डितहरूले घनघोर विरोध गर्थे। 

यो रिक्ततामा धर्म प्रचारको निम्ति मिसनरीहरूले नेपाली भाषाप्रति चासो बढाइरहे। शब्दकोश तथा व्याकरण लेखिरहे। नेपाली भाषाबारे अंग्रेजहरूको चासो र बाइबल नेपालीमा अनुवाद भएपछि बहस र विवादहरू हुँदै गए। खासगरी मिसनरीहरूको अनुवाद कर्ममाथि काशी र नेपालतिरबाट खण्डनमण्डन हुन थाल्यो। संस्कृत पढेका पण्डितहरूले तब नेपाली भाषाप्रति चासो राख्न थाले।

भारतमा अंग्रेज विरुद्धको आन्दोलन चलिरहँदा अंग्रेजी भाषाको विरुद्ध स्थानीय भाषाको पनि संरक्षण वा ‘भाषा सेवा’ हुनुपर्छ भन्ने सङ्घर्ष चलिरहेको थियो। त्यो समयमा नेपाली भाषा आन्दोलनको पक्षमा दार्जिलिङ, खरसाङ, कालेबुङ क्षेत्रका मानिसहरू एकजुट भएर लागिरहेका थिए।

नेपाली भाषालाई ‘लडाउन त जसले पनि सक्छ, अड्याउन पो गाह्रो छ’ भन्दै जागरुकहरूले भाषा सेवाको भावनामा जोड दिइराखेका थिए। काशीबाट दार्जिलिङ कमाउन गएका शिक्षितहरूको यसमा योगदान थियो। बनारसमा बागी भएर बसेका नेपालीहरू पनि दार्जिलिङतिर पुगेर कमाउनुका साथै भाषा आन्दोलनमा लागेका थिए।

अर्कोतर्फ नेपालबाहिर नेपाली भाषाबारे बहस हुने मूल थलो काशी पनि हो। काशीमा हुने भाषा बहस अंग्रेज विरुद्धको स्वतन्त्रता आन्दोलनसँग पनि जोडिएको थियो। काशीमा संस्कृत पढ्न गएका नेपालका बाहुनहरूले त्यहाँ पनि भाषामाथि नानातरहले बहस गर्न थालेका थिए। जस्तो सन् १९०६ मा प्रकाशित सुन्दरी पत्रिकामा हलन्तको प्रयोग मारामार हुन्थ्यो। तर सन् १९०८ मा प्रकाशित माधवी पत्रिकामा यसका सम्पादक राममणि आ.दी.को सिद्धान्त, हलन्त बहिष्कार थियो। पछिका विद्वानले यसमा मध्यमार्गी धारणा अपनाए। मध्यमार्गी धारणा बनाउनेमा बृहत् नेपाली-व्याकरण ‘चन्द्रिका’का रचयिता हेमराज शर्मा थिए। 

सँगसँगै दार्जिलिङमा चाहिँ ‘दार्जिलिङे बोली’को विकास भइरहेको थियो। मेरो अनुमानमा बाइबलको नेपाली अनुवादले दार्जिलिङको चिया कमानमा नेपाली भाषा बोल्ने मजदुरहरूको बोलीले पनि ठाउँ पाएको थियो। पारसमणिले दार्जिलिङमा क्रिस्तान धर्मप्रचारक र स्थानीय नेपाली भाषी मिलेर बनाइएको बोलीलाई ‘दार्जिलिङको बोली’ भनेका छन्। 

काशी बनारसमा संस्कृत पढेका बाहुनहरूले संस्कृत प्रभावित ‘काशी भाषे बोली’ स्थापित गराएका थिए। त्यो ‘काशी भाषे बोली’को प्रभाव दार्जिलिङलगायतका क्षेत्रमा काशीबाट कमाउन गएका मानिसहरूले बढाउन खोजेका थिए। काशीका पण्डित हरिहर शास्त्रीले नेपाली भाषाका पुस्तक छापी ‘काशी भाषे बोली’ प्रचार गर्ने काम गरेका थिए। यसै क्रममा हो पारसमणिका बुबा भागिरामले काशीबाट भारीका भारी पुस्तक बोकेर सिलीगुडी, नक्सलबारी आदि ठाउँमा घुमीघुमी किताब बेचेको र आम्दानी पनि गरेको। 

पारसमणि पनि आफ्ना मावली (?) हजुरबुबाभन्दा बुबाबाट प्रभावित थिए। बुबा भागिराम ‘काशी भाषे बोली’का प्रचारक थिए।

पारसमणि सम्पादक भएर खरसाङबाट काशी भाषे बोलीमा सन् १९१८ देखि चन्द्रिका नामक पत्रिका प्रकाशन गरे। चन्द्रिका जस्तो काशी भाषे बोली भएका पत्रिका दुई वर्ष नपुग्दै बन्द हुँदा, क्रिस्तान धर्मप्रचारकले सोही समयतिर छापेको गोर्खे खबर कागत ३० वर्ष निरन्तर चल्यो।

काशी भाषे बोलीका समर्थकले गोर्खे खबर कागतको भाषालाई, ‘हिन्दूहरूको अनादर’ गर्न प्रकाशन गरिएको ‘गलुवा खबर’ छाप्ने भनेका छन्। बाइबल र गलुवा खबरले निरन्तर बहसको सिर्जना त गर्‍यो। तर पादरीहरूले हिन्दी, संस्कृत र नेपाली तीन भाषा मिसिएको बाइबल लिएर प्रचारमा गएपछि घरघरमा बाइबल राखियो। त्यसैलाई पढियो। ‘दार्जिलिङे बोली’ले निरन्तरता पाइरह्यो। 

दार्जिलिङको बोली बनाउनेमा पारसमणिले आफ्ना अजा गंगानारायण प्रधानलाई मुख्य पात्र ठान्छन्। उनले नेपाली भाषामा अनुवाद गरेको बाइबललाई काशी भाषेले जति विरोध गरे पनि जीवनकालमा परिमार्जन गर्न दिएनन्। पारसमणि आफै अजाले अनुवाद गरेको बाइबलको भाषालाई ‘संसारको कुनै ठाउँमा कुनै कुनामा प्रचलित’ नभएको भनी विरोध गरेका छन्। जसमा तीनओटा भाषा मिसिएको थियो।

काशी बोलीका पक्षधर पारसमणिका अनुसार धर्मप्रचारकले यति गरिरहँदा पनि भाषा आन्दोलन थाकेको थिएन। काशीबाट गएका धरणीधर कोइराला सन् १९१९ मा दार्जिलिङ हाईस्कुलमा नेपाली पढाउने मास्टर नियुक्त भएका थिए। कालिम्पोङको मिसनरी हाईस्कुलमा पारसमणि प्रधान नियुक्त भए। त्यही बेला दार्जिलिङमा नेपाली भाषा शिक्षकको रूपमा पण्डित चाहिएको विज्ञापन काशीतिरका पत्रिकामा प्रकाशित हुन थाले। यो थाहा पाएर विभिन्न रोजगारीमा ल्याइएका मानिसहरू काशी बोलीको प्रधानता भएका पण्डित हुन्थे। यस बेला बाइबलको भाषा नमिल्दा पारसमणिका अनुसार ‘बाइबल विरुद्ध आन्दोलन’ पनि चल्यो। 

प्रथमपटक सन् १९३० मा प्रकाशित 'अ कम्पेरेटिभ एन्ड इटिमोलोजिकल डिक्सनरी अफ नेपाली ल्याङ्वेज' को २००७ को संस्करण (तस्बिर: अर्जुन पन्थी) ।


त्यो आन्दोलनले पछि बाइबलको भाषा परिस्कृत गराउन बाध्य भए। बाइबललाई परिस्कृत स्वरूपमा लेख्ने, नेपाली भाषा सिकिरहने र शब्दकोश तथा व्याकरण लेखिरहने काम मिसनरीहरूले गर्न छाडेका थिएनन्। भाषाविद् राल्फ लिली टर्नरले सन् १९३० मा लेखेअनुसार दार्जिलिङस्थित स्कटिस चर्चेज मिसनका मानिसहरूले अङ्ग्रेजी नेपाली शब्दकोश प्रकाशन गर्न लागेका थिए। सम्भवत: त्यो सन् १९२० वरिपरि हुनुपर्छ, किनभने त्यो बेला टर्नर र ती मिसनका मानिसबीच सम्पर्क हुन्छ। टर्नरले सन् १९१४ देखि नेपाली भाषाप्रति रुचि राख्न थालेका थिए।

जर्ज गियर्सनले भारतमा पहिलो पटक १८९० मा लिङ्ग्वीस्टिक सर्भे अफ इण्डियाको काम थालेपछि भारोपेली भाषाप्रति अरू भाषाविद्को पनि चासो बढेको थियो। सन् १९१६ मा लिङ्ग्वीस्टिक्स सर्भे अफ इण्डिया प्रकाशित भएको थियो। त्यसबाट प्रभावित भएर टर्नरले पनि नेपाली भाषाको भाषिक सर्भेको काम अल्मोडाबाट सुरु गरेका थिए। त्यही काम दार्जिलिङमा भइरहेको थाहा पाएर उनले आफ्नो मेहनत स्कटिस मिसनका अधिकारीलाई दिन चाहे। तर पछि मिसनका आर किलगोरले यो काम टर्नरलाई नै गर्नको निम्ति आग्रह गरे।

टर्नरले सन् १९३० मा लेखेअनुसार यो शब्दकोश तयार पार्न १६ वर्ष लाग्यो। पछिल्लो समय काशीबाट पढेर दार्जिलिङमा पढाइरहेका पण्डित धरणीधर कोइरालासँग सन् १९२२ को ६ महिनासम्म प्रत्येक दिन केही न केही समय बिताए। धरणीधरले शब्दकोशका २६ हजार शब्दहरू नै जाँचेर टर्नरलाई सहयोग गरे। यो शब्दकोशलाई विश्वविद्यालयका प्रेसहरूले छाप्ने जोखिम लिन चाहेनन्। पछि यस शब्दकोशको प्रकाशनमा चन्द्रशमशेरले सहयोग गरे।

यसरी दार्जिलिङमा नेपाली भाषालाई चासो दिनेमा मिसनरी मात्र होइन अंग्रेज भाषाविद्हरू पनि जोडिँदै गए। काशी भाषेहरू पनि जोडिए। पारसमणिका अनुसार पछिपछि त तत्कालीन ‘नेपाल दरबार’सँग पनि भाषाको बारेमा नमुना पठाएर ज्ञान लिन थालियो। पछिल्लो समय दार्जिलिङ क्षेत्रका स्थानीय स्कुलमा नेपाली भाषा पढाउन थालेदेखि पुस्तकको अभाव हुँदा र काठमाडौँबाट मगाइएका पुस्तकहरूमाथि भरपर्नु पर्दा ‘काठमाडौँको बोली’ पनि मिसिएको थियो। 

यद्यपि, दार्जिलिङमा नेपाली भाषा उन्नत हुनुमा पारसमणिले ‘काशी बोली’को तर्कलाई प्रधानता दिन्छन्। ‘अशुद्ध बाइबल’ नेपाली भाषामा लिएर आउँदा त्यसको खण्डनमण्डन हुँदा नेपाली शुद्ध भयो भनेका छन्। अझ उनले त ‘अशुद्ध बाइबल’को विरुद्धमा नेपाली भाषामा लेखिएको ‘शुद्ध रामायण’ दार्जिलिङमा प्रिय बन्दै गएको कुरा गर्छन्।

पारसमणिले यस सन्दर्भमा भानुभक्त आचार्यलाई बहादुर उपमा दिएका छन्: “बाहुन भए पनि भानुभक्त बहादुर हुन्, भानुभक्त बहादुर आचार्य” हुन्। 

यद्यपि दार्जिलिङको भाषा विकासमा नेपाल, भुटान, सिक्किमबाट गएका विभिन्न भाषीका जनसंख्या सबैले विकास गरेको सम्पर्क भाषा महत्त्वपूर्ण आधार हो। त्यसमा अंग्रेज मिसनरी र भाषाविद्हरुको चासो रहँदै गयो। मिसिनरीहरूले आफ्नो निहितार्थ नेपाली भाषालाई माध्यम भाषाको रूपमा आधारभूत तहमा प्रचार-प्रसार गरे। काशीका पण्डितहरूले त्यसपछि मात्र खण्डनमण्डन गर्दै सुधार्ने प्रयास गरे। अंग्रेज पादरी तथा भाषाविद्ले बाइबललाई यसअनुसार परिस्कृत गराउँदै पनि गए। त्यसपछि ‘दार्जिलिङे बोली’ परिस्कृत हुँदै गयो। 

सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सुधपा) (तस्बीर स्रोत: मदन पुरस्कार पुस्तकालय/कविता कोश)।


दार्जिलिङको स्थानीय जनसङ्ख्या, मिसनरी/भाषाविद् र काशीभाषे पण्डितहरूको आलोचना त्रिकोणीय सम्बन्धबाट दार्जिलिङको भाषा उन्नत हुँदै गएको निचोड मैले पारसमणिका लेखनीबाट बुझेको छु। 

यस अध्ययनमा मेरो अनुत्तरित प्रश्न किन देहरादून र सिमलातिर यो मात्रामा भाषा बहस भएन ? भाषा आन्दोलन भएन ? जहाँ ठूलो संख्यामा नेपालीहरू कामदार भएर गएका थिए। त्यो क्षेत्रमा नेपाली भाषामा काम गर्न रुचि राखेका राल्फ लिलि टर्नरहरू अन्त्यमा किन दार्जिलिङमै गएर आफ्नो काम पूर्ण गरे ? किन देहरादूनको भाषा हिन्दीबाट थिचिएको जस्तो छ ? यी प्रश्नहरू यहाँ अनुत्तरित नै रहे।

14 August 2026
स्रोत : https://commons-nepal.com/how-did-the-nepali-language-spread-in-darjeeling/


About the Author

More Blogs