आँखैअघि काललाई देखेको दिन

- अर्जुन पन्थी | 2026-08-29

सिंगो देशलाई नै विक्षिप्त बनाएको बेला हामी यात्रामा कसरी उत्साहित हुन सकौँला र?

 

भोटेकोशी बाढीले गरेको विनाश देखेर टोलाइरहेको अवस्थामा भेटिएकी रसुवा र नुवाकोटको सीमामा पर्ने बेत्रावतीकी वृद्धा। तस्बिरः अर्जुन पन्थी 

धेरै वर्ष अघिदेखि मलाई गोसाइँकुण्ड जाने मन थियो। कुनै न कुनै कारणले मौका मिलेको थिएन। यस वर्ष पनि अलि अस्वस्थ भएँ। यात्रा गर्नुभन्दा दुई दिनअघि जिउ दुख्ने, रुवा लाग्ने बिरामीबाट म भर्खरै तङ्ग्रिएको थिएँ। त्यो तङ्ग्राइले यात्रालाई अनुमति दिएजस्तो लाग्यो।

अघिल्लो दिन बिहानै उठेर सहयात्रीद्वय मुकुन्दराज पन्थी र निरोध पाण्डेसँग मेरो कारणले स्थगित योजना ब्युँताउने हिसाबले वार्ता गरेँ। सहमति पनि भयो।

बिहानै गाडीको टिकट काट्यौँ। गाडीवालालाई सोध्दा टोखा–झोर हुँदै धुन्चे जाने भनेको थियो। बिहान ६ बजेतिर हिँडेको गाडी साढे ११ बजेतिर धुन्चे पुग्ने बताएको थियो।


गोसाइँकुण्ड जाने क्रममा बीच बाटोमा पंक्तिकार (दायाँ) र सहयात्रीहरू।

गोसाइँकुण्डमा बुढाबुढी जान हुँदैन भनेर काठमाडौँमा कतिपय मान्यता रहेछ। यसबारे थप रुचि लागेर मैले लेखक राजेन्द्र महर्जनसँग जिज्ञासा राखेँ। उनले त्यसबारे आफूले किताबै लेखेको जनाए– सिलु म्ये र सामाजिक प्रतिरोध । जसमा आफ्नो लोग्नेले नलगेपछि विद्रोह गरेर यात्रा गरेर बाटोमा अपहरणमा परेकी स्वास्नीको कथा रहेछ।

त्यो किताब मार्टिन चौतारीको पुस्तकालयमा रहेछ।

तयारीका लागि निरोधजी र म शुरूमा मार्टिन चौतारी पुग्यौँ, त्यहाँबाट मैले उल्लिखित किताब लिएँ। यो किताब यात्रामा सँगै लिएर जाने विचार आयो। यात्राका क्रममै पढ्ने कि फर्किएपछि पढ्ने, त्योचाहिँ निश्चित थिएन। तर कुनै यात्रामा आफूले पढ्न खोजेको किताब पनि साथमा हुनु मलाई सधैँ रमाइलो लाग्छ।

त्यसपछि हामी ठमेलतिर किनमेलको निम्ति लाग्यौँ। त्यहाँ सस्ता ट्रेकिङ सामान पाइन्छन् भन्ने थाहा थियो। केहीबेर गरेर साँझतिर घर फर्कियौँ।

रसुवा म यसअघि पनि पुगेको थिएँ, २०६० सालतिर। तर त्यो यात्राको सम्झना अहिले मेरो स्मृतिमा धमिलिँदै गएको थियो। बाटो कस्तो होला, धुन्चे पुगेपछि के गर्ने, कहाँ बस्ने– यीमध्ये कुनै कुरा पनि स्पष्ट थिएन।

हाम्रो योजना पनि त्यस्तै अधुरो थियो।

धुन्चे पुगेपछि गोसाइँकुण्डतर्फ जतिसक्दो माथिसम्म जाने। जहाँ पीठ टेकाउन पाइन्छ, त्यहीँ कतै बास बस्ने। दोस्रो दिन पनि गोसाइँकुण्डतर्फकै यात्रा गर्नुपर्ने हुन्थ्यो। जनै पूर्णिमाको दिन गोसाइँकुण्ड जाने यात्रुहरूको भीड, उनीहरूको यात्रा र बाटोको जीवनलाई नजिकबाट हेर्ने। त्यसपछि फर्कने।

फर्कँदा सूर्यकुण्ड हुँदै झर्ने कि अर्को बाटो समात्ने भन्ने निर्णय पनि बाटोमै गर्ने कुरा थियो।

योजना सामान्य थियो, तर त्यसको अन्तिम रूप भोलिको यात्राले नै तय गर्नेवाला थियो। कहाँसम्म पुगिन्छ, कहाँ रात बिताइन्छ, कति हिँडिन्छ–हामीलाई केही थाहा थिएन।

भोलिको यात्राको कुनै निश्चित नक्सा थिएन तर मन भने स्पष्ट थियो– जाने गोसाइँकुण्ड हो।

यसअघि गोसाइँकुण्ड गएका उज्ज्वल पन्थीले १० भदौको बिहान बालाजुसम्म आफ्नो गाडीमा लिफ्ट दिए। त्यसपछि यात्राका लागि बालाजुबाट हामी तीन र अरू यात्रु सँगै अघि बढ्यौँ।

शिवपुरीको डाँडा काटेर छहरे, लिखु, विदुर हुँदै लगभग सवा नौ बजे हामी नुवाकोटको त्रिशूली बजार पुग्यौँ। गाडी केहीबेर रोकियो, चार्ज गर्न रहेछ। खाना खाने ठाउँ पनि त्यहाँ रहेनछ। चिया खाएर १५ मिनेट बिताएपछि हामी फेरि अघि बढ्यौँ। नदीको किनारमा रहेको त्रिशूली बजारबाट उकालो लाग्दै रसुवातर्फ जाँदै थियौँ।

गाडी गुडेको करिब पाँच मिनेट मात्र भएको थियो। अचानक अगाडिबाट केही मानिसहरू आत्तिएर दौडिँदै आए।

“आयो! आयो! आयो!” उनीहरू चिच्याउँदै थिए।

के भएको हो, हामीले केही बुझ्न सकेनौँ। मैले त ठानेँ, कतै गाडीले बच्चालाई ठक्कर दियो कि, त्यसैले मानिसहरू आत्तिएर दौडिएका होलान्!

अनुमान गलत थियो। बाढी आएको रहेछ।

न वर्षा, न कुनै पूर्वसूचना– यति ठूलो बाढी कसरी आयो होला भन्ने सोच्न पनि नपाउँदै त्यो दृश्य हाम्रो आँखाअगाडि खुल्यो। एक्कासि कालो मुस्लोजस्तै पानीको भेल गर्जिँदै हामीतिर आयो। पानीसँगै ढुङ्गा, माटो र काठका टुक्राहरू बगिरहेका थिए। त्यो देखेर हाम्रो गाडी फनक्क घुम्यो र केही तलसम्म तीव्र गतिमा हुइँकियो।

गाडीभित्र सबैको अनुहारमा डर जमिसकेको थियो। कसैले केही बोल्न सकेको थिएन। बाहिरबाट आएको बाढीको गर्जन र मानिसहरूको चिच्याहटले सन्नाटा छाएको थियो।

मैले झ्यालबाट बाहिर हेरेँ। आँखैअगाडि एउटा पुललाई बाढीले छुन थाल्यो। त्यहाँ केही मानिसहरू आत्तिएर यताउति गरिरहेका थिए।

त्यसपछि मेरो सातो गयो।

हाम्रो गाडी डाइभरले उडाएझैँ महसुस हुन्थ्यो। त्यत्तिकैमा अर्को एउटा गाडी बाढीबाट जोगिन फर्किन खोज्दा त्यो तुफान थामियो। बाटो जाम भयो। वरिपरि चिच्याहट बढ्दै गयो। अब गाडीभित्र बसिरहनु झन् खतरनाक लाग्यो। हामी उकुसमुकुस हुँदै गाडीबाट ओर्लियौँ।

बाहिर कैयौँ मानिसहरू ज्यान जोगाउन भागिरहेका थिए।

महिलाहरू बच्चाहरूलाई काखमा च्यापेर दौडिरहेका थिए। बुढाबुढीलाई छोराछोरीले तानेर माथितिर लैजाँदै थिए। एक जना दाइ दुईवटा खसी डो¥याउँदै दौडिरहेका थिए। साउँकोभन्दा ब्याजको माया।

पछाडि फर्केर हेर्दा गाडीबाट देखिएको पुलमा केही बच्चासहित मानिसहरू आत्तिएका देखिन्थे। तर निर्दयी बाढीले त्यो पुललाई एकैछिनमा गुडुम्म पारेर भत्काइदियो। जमिन भूकम्पझैँ थरथर कामिरहेको थियो। त्यो कालले हामीलाई पनि लखेटीरहेको थियो।

पुल भत्किँदाको आवाज, बाढीको गर्जन र वरिपरीको चिच्याहट एकैपटक मिसिए। त्यो दृश्य कुनै फिल्मको जस्तो लाग्थ्यो– कालो। अँध्यारो। डरलाग्दो।

पानी कैयौँ मिटर माथिसम्म उछालिँदै, फेरि पछारिँदै गरिरहेको थियो। सुनामी आएको जस्तो।

अब तान्ने भयो भन्ने डरसँगै हामी बाटो छाडेर पहाडतिर उकालिने गोरेटो खोज्दै दौडिरहेका थियौँ। बाढी पनि आफ्नै बाटोमा हामीलाई पछ्याउँदै आइरहेको थियो। पानीका छिटाहरूले हाम्रो शरीर छुन थालिसकेका थिए। त्यतिबेला नदीतिर र पछाडि फर्केर हेर्ने आँट थिएन, तर पानीको गर्जनले हामी कति नजिक छौँ भन्ने सम्झाइरहेको थियो।

दौडिँदादौडिँदै म बीच बाटोमै लडेँ। खुट्टा मर्कियो र दुख्यो। तर त्यहाँ दुखाइ महसुस गरेर बस्ने समय थिएन। उठेँ र फेरि दौडिएँ– त्यो बेला प्रत्येक सेकेन्ड जीवन र मृत्युबीचको दूरीजस्तो थियो।

चारैतिर भागदौड चलिरहेको थियो।

कोही बाटोको पर्खाल चढेर माथि निस्किन खोजिरहेका थिए। कोही समात्न नसकेर खसेर तल झर्दै थिए। मानिसहरू एकअर्कालाई बोलाइरहेका थिए, चिच्याइरहेका थिए, तर त्यो कोलाहलमा कसैको आवाज स्पष्ट सुनिँदैनथ्यो।

त्यही बेला संयोगले एउटा सिँढी भेटियो।

त्यो सिँढी त्यतिबेला हाम्रो लागि भगवानजस्तै थियो– मैले देखेको भगवान!!!

हामीले त्यसलाई समातेर माथितिर दौडियौँ। खुट्टा दुखिरहेको थियो, सास फुलेको थियो, शरीर काँपिरहेको थियो। त्यो सिँढी नभेटिएको भए त्यहाँ कति मानिस बाढीमा परेर मर्थे होलान्, कल्पना गर्न पनि सक्दिनँ।

हामी सिँढी हुँदै पहाडतिर उक्लियौँ। माथि पुगेपछि पनि डर कम भएन। तलबाट बाढीको गर्जन निरन्तर सुनिइरहेको थियो। हामी सुरक्षित ठाउँमा पुगेका थियौँ, तर आँखाअगाडि देखिएको विनाशबाट मन अझै उम्किनँ सकेको थिएन। 

त्यति ठुलो बाढीको अगाडि हाम्रो हतार, हाम्रो दौड र हाम्रो प्रयास केही पनि थिएन। धन्न हामी कालको बाटोमा परेनछौँ ।

त्यो दिन हामीले प्रकृतिको एउटा यस्तो रूप देख्यौँ, जसलाई शब्दमा बयान गर्न गाह्रो छ। मृत्यु कति नजिक हुन सक्छ भन्ने कुरा हामीले त्यही दिन आफ्नै आँखाले देख्यौँ।

त्यो भयावह दृश्य अझै पनि मेरो आँखाअगाडि नाचिरहेको छ– कालो भेल, भत्किँदै गरेको पुल, भागिरहेका मानिसहरू, काखमा च्यापिएका बच्चाहरू, चिच्याहट र जीवन जोगाउन गरिएको त्यो अन्तिम दौड।

सिँढी–सिँढी उक्लिएर हामी एउटा टारमा पुग्यौँ। त्यो टार यसअघि मैले देखेको तुम्लिङटारजस्तै लाग्यो। तुम्लिङटारमा पनि तल मनकामनाबाट टारतिर निस्कँदा कुनैबेला सिँढीसिँढीको बाटो निस्केको अनुभव थियो। हामी गुल्मी अर्घाखाँचीतिर त्यस्तो बाटोलाई ‘ड्वा’ भन्छौँ।

त्यो ड्वाले त्यतिबेला हाम्रो जीवनमा केही आशा थपेको थियो।

गेर्खुटारमा पुगेपछि त्यहाँ जम्मा भएका मान्छेहरू अलि शान्त देखिन्थे। कम्तीमा आफ्नो ज्यान जोगिएको थियो। तर आफ्ना मान्छेहरू जोगिए कि जोगिएनन् भन्ने चिन्तामा छटपटाइरहेका थिए। 

कोही स्थानीयहरू भन्दै थिए– “सत्र–अठार सालतिर पनि यहाँ ठूलो बाढी आएको थियो, तर यति ठूलो थिएन।”

अर्काथरिका मान्छेको आफ्नै अनुमान थियो। कोही भन्दै थिए, “उत्तर चाइनातिर छ घण्टा बसमा यात्रा गर्दा पनि पार गर्न नसकिने ठूला–ठूला ड्यामहरू छन्। ती ड्यामहरू फुटे, भत्किए र त्यही पानीले यस्तो बाढी आयो।”

हल्लाहरू गेर्खुको आकाशमा मडारिरहेका थिए।

हल्लाहरू सुन्दै गेर्खु डाँडाबाट हाम्रो गाडी फनक्क फर्किएको बाटो हेर्यौँ , बाटोको निशान केही थिएन। बाटोमा नदी बगिरहेको थियो। खाना खान रोकिने भनिएको बेत्रावतीको पनि नामोनिशान छैन रे भन्ने पनि सुनियो। हाम्रो गाडीका सहचालक भन्दै थिए– त्रिशूली बजारमा चार्ज गर्न १५ मिनेट नरोकिएको भए, हामी यतिबेला मलेखुतिर हुन्थ्यौँ होला।

त्यहाँ सुनेका कुरामध्ये मलाई अर्को कुरा पनि रोचक लाग्यो– नदीको नाम। स्थानीयहरू यो नदीलाई भोटेकोशी भनिरहेका थिए। काठमाडौँ आउँदा जाँदा कसैले त्रिशूलीलाई भोटेकोशी भनेको सुनिएन। तर कतै पढेको थिएँ– यसको उद्गम गोसाइँकुण्ड क्षेत्र हो।

गोसाइँकुण्डबाट झरेको एउटा कुण्डको पानीले यत्रो ठूलो त्रिशूली नदी कसरी बनाउँछ होला र भन्ने शङ्का त मलाई पहिल्यैदेखि थियो।

तर गेर्खुले त्यो जिज्ञासा शान्त गरिदिँदै थियो।

भोटेकोशी भनेको त काठमाडौँबाट पूर्वतिर, तिब्बततर्फबाट आउने नदीलाई मात्र सुनेको थिएँ। जुन नदी तलतिर सुनकोशीमा मिसिन्छ र कोशी प्रणालीको हिस्सा बन्छ।

यताको नदीलाई पनि भोटे कोशी भनिएको सुन्दा मलाई अचम्म लाग्यो। मलाई ‘त्रिशूली’ भन्दा ‘भोटेकोशी’ नै भन्न मन लाग्यो। नदीका नाम केवल नक्सामा कोरिएका मात्र थिएनन्। तिनका आफ्नै स्थानीय स्मृति र भूगोल हुन्छन् भन्ने कुरा त्यहाँ महसुस भयो।

तर गेर्खु टारमा त्यो दिन नदीको नामबारे छलफल गर्न मानिसहरूको मन कहाँ थियो र? अत्तालिएको बेला।

कोही रोपाइँतिर गएका आफन्तको चिन्तामा थिए। रोपोमा गएका छ जना गाउँमा थिएनन्। सायद बाढीसँगै बगेका थिए। कोही ड्राइभरी गर्न गएका आफ्ना मान्छेहरूको खबर पर्खिरहेका थिए।

धादिङबाट आएको एउटा समूहका बाँकी साथीहरू हराइरहेका थिए। गाडीको के भयो, मान्छेहरूको के भयो– केही थाहा थिएन।

सबैले फोन दबाईरहेका थिए। तर लागिरहेको थिएन। फोन नलाग्नु त्यतिबेला सबैभन्दा डरलाग्दो खबरजस्तो हुन्थ्यो।

के गर्ने, कसरी गर्ने भन्ने अन्योल थियो। एकअर्कालाई सान्त्वना दिने मानिसहरू पनि आफूजस्तै त्रसित थिए।

भोकले मानिसहरू व्याकुल थिए। हामीलाई पनि भोक लागिरहेको थियो। हाम्रा डाइभर दयालु रहेछन्। उनले हामीलाई खाने ठाउँ देखाउन टारैटार हिँडाए। अरू पनि सँगै आए।

गाउँलेहरू जम्मा भएर त्रसित रुपमा कुरा गरिरहेका देखिन्थे।

गेर्खुटारमा एउटा सानो पसल रहेछ। मानिसहरू त्यही पसलमा पुगेर जे–जे पाइन्थ्यो, किनिरहेका थिए। तर केही समयपछि पसलमा खानेकुरा पनि सकिन थाल्यो। तलबाट आएका ड्राइभरहरू भोक लागेको भन्दै पसलतिर दौडिरहेका थिए, तर उनीहरूलाई खुवाउने पर्याप्त खानेकुरा थिएन। 

कोही बेलौती टोकिरहेका थिए। कोही जे पाइन्छ त्यही खानेकुरा जुटाएर खाइरहेका थिए।

कसको मृत्यु भयो, को कहाँ छ, कसलाई के भयो– कुनै ठेगान थिएन। यस्तै अन्योलमय थियो, गेर्खुटार।

हामी पनि करिब दुई बजेसम्म त्यहीँ अलमलियौँ। हाम्रो गोसाइँकुण्ड यात्रा अब यात्राजस्तो रहेन। वरिपरि घटिरहेको विपत्तिका अगाडि हाम्रो योजना एकदमै सानो र असान्दर्भिक लाग्न थालेको थियो। अन्ततः हामीले गाडीका ड्राइभरलाई अनुरोध गरेर काठमाडौँ फर्कने निर्णय ग¥यौँ।

ड्राइभर तलबाट गाडी लिएर गेर्खुमै आए।

फर्कने क्रममा खसी डो¥याइरहेका मानिस पनि हामीसँगै आए। उनले हामीसँगै जाने अनुरोध गरे। खसीहरू हाम्रो गाडीमा राखे र हामीसँगै बसे। बाटो छेउमा राखेको उनको मोटरसाइकल बाढीले बगाइदिएछ ।

अर्का एक जना बुढा मानिस पनि भेटिए। उनको गाडी छुटिसकेको रहेछ। उनी पनि हामीसँगै फर्कने भए। यसरी हाम्रो गोसाइँकुण्ड जाने टोलीमा दुई जना नयाँ यात्रु थपिए।

खसीवाला दाइ भने अझै आशावादी थिए। उनी भन्दै थिए, “तपाईंहरू अझै गोसाइँकुण्ड जान सक्नुहुन्छ। अर्को बाटो पनि छ। फर्किनु पर्दैन।”

उनको कुरामा यात्राको उत्साह थियो। तर हाम्रो मनस्थितिमा त्यो उत्साह बाँकी थिएन।

हामीलाई लाग्यो- यस्तो अवस्थामा पनि गोसाइँकुण्डतिर लाग्यौँ भने घरमा रहेका हाम्रा परिवारहरू झन् विचलित हुनेछन्। सिंगो देशलाई नै विक्षिप्त बनाएको बेला हामी यात्रामा कसरी उत्साहित हुन सकौँला र?

त्यसैले उनले आग्रह गरे पनि हामी गोसाइँकुण्डतिर जाने प्रयास गरेनौँ। उनीसँगै हामी बाँचेर फर्केकाहरू जीवनकै अकल्पनीय सम्झना बोकेर नुवाकोटको चोकदे, ढिकुरे, छहरे हुँदै शीवपुरीको भञ्ज्याङ उक्लिएर उपत्यकाभित्र ओरालियौँ। 

१३ भाद्र २०८३ 
स्रोत : https://nepalnews.com/2026/08/29/the-day-i-saw-time-before-my-eyes/


About the Author

More Blogs