रेडियो पत्रकारिताः एफएममा समाचार र सम्वाद विषयक पुस्तक सार्वजनिक
2021-10-18पोखरा, १७ माघ। मार्टिन चौतारीले प्रकाशित गरेको रेडियो पत्रकारिताः एफएममा समाचार र सम्वाद नामक पुस्तकको सोमबार पोखरामा एक कार्यक्रम गरी सार्वजनिक गरियो ।
प्रत्यूष वन्त, शेखर पराजुली, देवराज हुमागाई कोमल भट्ट र कृष्ण अधिकारीद्वारा सम्पादित उक्त पुस्तकमा एफएम रेडियोबाट प्रसारण भइरहेको समाचार र सम्वाद कार्यक्रमको स्तरीयता, व्यवसायिकता, सम्भावना र चुनौतीको बारेमा उल्लेख गरिएको छ ।
पुस्तकमा नेपालमा एफएम रेडियोको विस्तार, रेडियो अध्ययनः सैद्धान्तिक धरातल र हाम्रो प्रयास, कानुन नीति तथा सरकारी रवैया, माघ १९ पछि एफएम रेडियोको दशा, काठमाडौंमा एफएम रेडियोमा समाचारको अभ्यास, हालचालका हालचाल, कान्तिपरु एफएमको समाचारलाई फर्केर हेर्दा, पोखरेली एफएम रेडियोमा समाचार, एफएम रेडियोमा हुर्कदो अन्तर्क्रिया, पोखरेली एफएममा सार्वजनिक डबलीको खोजी, तामाङ भाषाका रेडियो कार्यक्रममा बहसको स्वरुप शीर्षकका अनुसन्धानमूलक सामग्री समावेश गरिएका छन् ।
मार्टिन चौतारी र ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपालद्वारा संयुक्त रुपमा आयोजना गरिएको पुस्तक सार्वजनिक कार्यक्रममा डा. विश्वकल्याण पराजुलीले पुस्तकमा समेटिएका सामग्रीको बारेमा टिपण्णी गर्दै पुस्तकमा समेटिएका सम्पूर्ण सामग्री अनुसन्धानमूलक रहेको हुँदा पुस्तकले आगामी दिनमा थप अनुसन्धानको लागि ढोका खोलिदिएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सम्पूर्ण सञ्चारमाध्यमले आफ्नो प्रकाशन/प्रसारण नीति तय गर्नुपर्ने कुरामा जोड दिँदै सरकारले नेपालमा रहेका सञ्चारमाध्यमलाई नियन्त्रण गरी आफ्नो अनुकूल बनाउन ‘प्रोपोगाण्डा बार’ सुरु गरेको कुरालाई स्पष्ट पार्नुभयो ।
ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपालका अध्यक्ष शिवलाल मल्लले जनतालाई सुसूचित गराउने एफएम स्टेशनहरुको प्रमुख दायित्व हो भन्नुभयो ।
कार्यक्रममा हिमचुली एफएमका समाचार प्रमुखको रुपमा अनुराग अधिकारी, अन्नपूर्ण एफएमका स्टेसन म्यानेजर दीपेन्द्र श्रेष्ठ, मेचीकाली मिडिया सोसाइटीका अध्यक्ष माधव शर्माले रेडियो पत्रकारिता गर्नेहरुको लागि पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
स्रोतः आदर्शसमाज, १८ माघ २०६२ऽ, पृ. १