
मानव सभ्यताको इतिहासलाई नियाल्दा एउटा कुरा स्पष्ट देखिन्छ, समयसँगै मानिसले काम गर्ने तरिका परिवर्तन गरेको छ। विज्ञान, प्रविधि र ज्ञानको विकासले जीवनका लगभग सबै क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको छ। चिकित्सा विज्ञान यसको एउटा उत्कृष्ट उदाहरण हो। आजभन्दा केही दशकअघि शल्यक्रिया भनेको ठूलो चिरा लगाउने, धेरै रगत बग्ने, लामो समय अस्पताल बस्नुपर्ने र निको हुन महिनौं लाग्ने प्रक्रिया थियो। बिरामीले पीडा पनि धेरै सहनुपर्थ्यो। तर आज अवस्था बदलिएको छ। आधुनिक प्रविधि, लेप्रोस्कोपिक र रोबोटिक शल्यक्रियाजस्ता विधिहरूले ठूलो चिरा सानो प्वालमा सीमित गरिदिएका छन्। शरीरमा कम क्षति हुन्छ, संक्रमणको जोखिम कम हुन्छ, बिरामी छिटो निको हुन्छ र अस्पतालको खर्च पनि घट्छ।
चिकित्सा विज्ञानको यो प्रगति केवल उपचारको सुधार मात्र होइन, “कम क्षति गरेर राम्रो परिणाम प्राप्त गर्ने” सोचको विकास पनि हो। यही सिद्धान्त शासन व्यवस्थामा पनि लागू हुनुपर्छ। शासनको उद्देश्य नागरिकमाथि नियन्त्रण कायम गर्नु मात्र होइन, उनीहरूको जीवन सहज, सुरक्षित र सम्मानजनक बनाउनु हो। यदि शल्यक्रियामा चिकित्सकले शरीरमा न्यूनतम चोट पुर्याएर रोग निको पार्नुपर्ने हुन्छ भने शासन संचालनमा राज्यले नागरिकको जीवन, अधिकार र अवसरमा न्यूनतम नकारात्मक प्रभाव पार्दै अधिकतम सार्वजनिक हित सुनिश्चित गर्नुपर्छ। धेरै ठाउँमा शासनको अभ्यास अझै पनि पुराना शैलीको शल्यक्रियाजस्तै देखिन्छ। निर्णयहरू अचानक गरिन्छन्, परामर्श कम हुन्छ, पारदर्शिता कमजोर हुन्छ र त्यसका कारण समाजमा अविश्वास, असन्तोष र विभाजन बढ्छ। परिणामस्वरूप, समस्या समाधान गर्न खोज्दा झन् नयाँ समस्या सिर्जना हुने अवस्था आउँछ। राज्य र सरकार प्रति जनस्तरमै नकारात्मक प्रभाव पर्छ, निराशाजनक अवस्था आउछ र कतिपय अवस्थामा बिद्रोहको अवस्था समेत आउँछ।
सुशासनका महत्वपूर्ण आधारहरु
सुशासनको पहिलो आधार पारदर्शिता हो। चिकित्सकले बिरामीलाई शल्यक्रिया किन आवश्यक छ, कसरी गरिन्छ, के जोखिम हुन सक्छ र त्यसबाट के लाभ प्राप्त हुन्छ भन्ने कुरा स्पष्ट रूपमा बताउनु पर्छ। यस्ता जानकारीबिनाको उपचारलाई आजको संसारमा स्वीकार्य मानिँदैन। त्यसैगरी, सरकार र सार्वजनिक संस्थाहरूले पनि आफ्ना निर्णय, नीति र खर्चबारे नागरिकलाई स्पष्ट जानकारी दिनुपर्छ। निर्णय कसरी भयो, किन भयो र त्यसबाट अपेक्षित परिणाम के हुन् भन्ने कुरा खुला रूपमा सार्वजनिक गरिनुपर्छ। जब प्रक्रिया पारदर्शी हुन्छ, तब नागरिकमा विश्वास बढ्छ। पारदर्शिताको अभावले भने शंका, अफवाह र असन्तोषलाई जन्म दिन्छ।
सुशासनको दोस्रो आधार स्पष्टता हो। अस्पष्ट निर्देशन, दोहोरो मापदण्ड र बदलिँदो व्याख्याले प्रशासनिक अन्योल सिर्जना गर्छ। शल्यक्रियामा चिकित्सकलाई के गर्नुपर्ने हो भन्ने कुरा स्पष्ट हुन्छ। लक्ष्य निश्चित हुन्छ र प्रक्रियाहरू प्रमाणमा आधारित हुन्छन्। शासनमा पनि नीति, नियम र प्रक्रियाहरू स्पष्ट हुनुपर्छ।
नागरिकले आफ्नो अधिकार र कर्तव्य बुझ्न सक्नुपर्छ। व्यवसायीले लगानी गर्दा नियम कस्ता छन् भन्ने थाहा पाउनुपर्छ। कर्मचारीले आफ्नो जिम्मेवारी कहाँसम्म हो भन्ने स्पष्ट रूपमा जान्नुपर्छ। स्पष्टता नभएको ठाउँमा विवेकको नाममा मनपरी निर्णय हुन्छ, जसले भ्रष्टाचार र पक्षपातलाई प्रोत्साहन दिन्छ।
विश्वास सुशासनको अर्को महत्वपूर्ण स्तम्भ हो। कुनै पनि बिरामीले आफूलाई शल्यक्रिया गर्ने चिकित्सकमाथि विश्वास नगरेसम्म सहज अनुभव गर्न सक्दैन। त्यस्तै, नागरिकले आफ्नो राज्य र संस्थामाथि विश्वास नगरेसम्म लोकतन्त्र बलियो हुन सक्दैन। विश्वास कानुनले मात्र सिर्जना गर्दैन, व्यक्तिको व्यवहारले सिर्जना गर्छ। सरकारले वाचा गरेको काम पूरा गर्दा, संस्थाले निष्पक्ष सेवा प्रदान गर्दा र नेतृत्वले नैतिक आचरण देखाउँदा विश्वास निर्माण हुन्छ। एकपटक विश्वास गुमेपछि पुनः प्राप्त गर्न धेरै समय लाग्छ। त्यसैले राज्यका सबै तहमा विश्वास निर्माणलाई प्राथमिकता दिनुपर्छ।
सुशासनको चौथो आधार निष्पक्षता वा न्यायपूर्ण व्यवहार हो। शल्यक्रिया गर्दा चिकित्सकले सबै बिरामीलाई समान सम्मान र व्यावसायिक जिम्मेवारीका साथ व्यवहार गर्नु पर्छ। अन्यथा डाक्टर, स्वास्थ्यकर्मी, स्वास्थ्य प्रशासक तथा अस्पताल प्रश्नको घेरामा पर्छन्। महिला होस् वा पुरुष, सम्पन्न होस् वा बिपन्न, पढेको होस् वा नपढेको, प्रभावशाली होस् वा सामान्य नागरिक, उपचारको गुणस्तरमा भेदभाव हुनु हुँदैन। शासनमा पनि यही सिद्धान्त लागू हुन्छ। कानुन सबैका लागि समान हुनुपर्छ। अवसर, सेवा र स्रोत वितरणमा निष्पक्षता हुनुपर्छ। यदि केही व्यक्तिलाई विशेष सुविधा र अरूलाई उपेक्षा गरियो भने राज्यप्रतिको नागरिकको भरोसा कमजोर हुन्छ। निष्पक्षता केवल कानुनी विषय मात्र होइन, नैतिक जिम्मेवारी पनि हो। राज्यले कमजोर वर्गको हितमा नीति, योजना तथा कार्यक्रम बनाउनु पर्छ र उनीहरु आत्मसम्मानका साथ बाच्न पाउने अधिकारको सुरक्षा गर्नु पर्छ।
सुशासनको महत्व
अहिलेको अवस्थामा सुशासनलाई अझ बढी सूक्ष्म र संवेदनशील हुनुपर्ने आवश्यकता छ। विगतमा प्रशासनको सफलता आदेश दिने र नियन्त्रण गर्ने क्षमताले मापन गरिन्थ्यो। आज भने नागरिकको सन्तुष्टि, सेवाको गुणस्तर, उत्तरदायित्व र समावेशिताले सुशासनको मापन गर्छ। आधुनिक शल्यचिकित्सा बिज्ञान जस्तै आधुनिक शासनले पनि "कम हस्तक्षेप, बढी प्रभाव" को सिद्धान्त अपनाउनुपर्छ। अनावश्यक नागरिकलाई सास्ती दिने नियमहरू हटाउने र सेवामा सहज पहुँच सुनिश्चित गर्ने काम राज्यको प्राथमिकता बन्नुपर्छ।
नेपालजस्ता विकासशील मुलुकमा यो विषय अझै महत्त्वपूर्ण छ। यहाँ नागरिकले धेरै समयसम्म कागजी झन्झट, ढिलासुस्ती, अस्पष्ट प्रक्रिया र शक्तिको दुरुपयोग व्यहोर्नुपरेको अनुभव सुनाउँछन्। सेवाग्राही कार्यालय चहारिरहेका हुन्छन्, तर निर्णय समयमै हुँदैन। कहिलेकाहीँ नियमभन्दा सम्बन्ध बलियो देखिन्छ। यस्ता अवस्था सुशासनका बाधक हुन्। राज्यले नागरिकलाई पीडा दिने पुरानो प्रशासनिक संस्कृतिबाट बाहिर निस्कनुपर्छ। सेवामुखी, जवाफदेही र नागरिकमैत्री संस्कृतिको विकास आवश्यक छ।
सुशासनका लागि प्रविधिको प्रयोग पनि महत्त्वपूर्ण छ। आधुनिक शल्यचिकित्सा प्रविधिले जटिल कामलाई सरल, सटीक र सुरक्षित बनाएको छ। शासनमा पनि डिजिटल प्रणाली, खुला तथ्यांक, अनलाइन सेवा र एकीकृत सूचना प्रणालीले पारदर्शिता र दक्षता बढाउन सक्छन्। तर प्रविधि आफैं समाधान होइन। यदि संस्थागत संस्कार, नैतिकता र उत्तरदायित्वको अभाव छ भने प्रविधिले पनि अपेक्षित परिणाम दिन सक्दैन। त्यसैले प्रविधिसँगै मूल्य, आचरण र संस्थागत सुधारलाई पनि प्राथमिकता दिनुपर्छ।
सुशासनको एउटा महत्वपूर्ण पक्ष भनेको शक्तिको प्रयोगमा संयमता हो। शल्यक्रियामा जति आवश्यक छ त्यति मात्र चिरा लगाइन्छ। अनावश्यक हस्तक्षेपले बिरामीलाई थप क्षति पुर्याउँछ। शासनमा पनि शक्तिको प्रयोग आवश्यक सीमा भित्र हुनुपर्छ। शक्ति प्रदर्शन, प्रतिशोध, पक्षपात वा अनावश्यक नियन्त्रणले नागरिक स्वतन्त्रता र लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउँछ। सशक्त राज्य भनेको धेरै शक्ति प्रयोग गर्ने राज्य होइन, आवश्यक परेको बेला मात्र शक्ति प्रयोग गर्ने र बाँकी समयमा नागरिकको अधिकारको संरक्षण गर्ने राज्य हो।
आजको समाजमा सूचना तीव्र गतिमा फैलिन्छ। त्यसैले विश्वास निर्माण गर्न वर्षौं लाग्न सक्छ, तर अविश्वास फैलिन केही घण्टा मात्र पर्याप्त हुन्छ। यही कारण नेतृत्व तहका व्यक्तिहरूले आफ्नो व्यवहारमा इमानदारी, पारदर्शिता र उत्तरदायित्व प्रदर्शन गर्नैपर्छ। नेतृत्वको नैतिकता संस्थाको संस्कृतिमा प्रतिबिम्बित हुन्छ र हुनुपर्छ। माथिल्लो तहमा निष्पक्षता र उत्तरदायित्व भए तल्लो तहमा पनि त्यसको सकारात्मक प्रभाव पर्छ।
अन्तमा,
आधुनिक शल्यचिकित्सा बिज्ञानले हामीलाई एउटा गहिरो पाठ सिकाउँछ। प्रगतिको अर्थ केवल छिटो काम गर्नु होइन, कम क्षति गरेर राम्रो परिणाम हासिल गर्नु हो। समाज र राज्य सञ्चालनमा पनि यही सिद्धान्त लागू हुनुपर्छ। शासनले नागरिकलाई अनावश्यक पीडा, झन्झट र अन्याय नदिई सेवा प्रदान गर्न सक्नुपर्छ। यसको लागि पारदर्शिता, स्पष्टता, विश्वास र निष्पक्षता सबै तहको शक्ति संरचनामा संस्थागत हुन आवश्यक छ। स्थानीय तहदेखि संघीय सरकारसम्म, सार्वजनिक संस्थादेखि निजी क्षेत्रसम्म, र नेतृत्वदेखि सामान्य कर्मचारीसम्म सबैले यो मूल्यलाई आत्मसात गर्नुपर्छ।
शल्यचिकित्साले ठूलो घाउबाट सानो घाउतर्फ यात्रा गरेको छ भने शासनले पनि दमन, अपारदर्शिता र अविश्वासबाट संवाद, उत्तरदायित्व र भरोसातर्फ यात्रा गर्नुपर्छ। सुशासन भनेको शक्ति प्रदर्शन गर्ने कला होइन, नागरिकलाई कमभन्दा कम पीडा दिँदै न्याय, सेवा र अवसर उपलब्ध गराउने क्षमता हो। यही सोचले मात्र समृद्ध, न्यायपूर्ण र विश्वासिलो समाज निर्माण गर्न सक्छ।
(सुवेदी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक तथा जनस्वास्थ्य संकायका पूर्वप्रमुख हुन्।)
कात्तिक १६, २०८३
स्रोत : https://swasthyakhabar.com/story/64194
मधुसूदन सुवेदी










