एक/डेढ वर्षमै नयाँ विकल्प आउँछ : डा. सोहन साह

- तराई मधेसमा पुराना दलहरू अस्तित्व जोगाउन संघर्ष गरिरहेका छन् भने नयाँ समूहहरू निर्माण भइरहेका छन्।
- विभेद अन्त्य गर्न सफल भए पनि मधेसी राजनीतिले प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसक्दा शक्ति क्षयीकरण भएको छ।
- नयाँ पुस्तामा मधेसी नेतृत्वप्रति आकर्षण घट्दै गएको छ, जसले नयाँ नेतृत्व विकासमा सङ्कट पैदा गरेको छ।
तराई मधेसमा उकुस मुकुस छ । एकातिर पुराना मधेसवादी दलहरू आफ्नो अस्तित्व जोगाउने दौडधुपमा छन् भने अर्कोतिर नयाँ–नयाँ समूह तथा संगठनहरू निर्माण भइरहेका छन् । युवाहरू पनि संगठित हुने प्रयास गरिरहेका छन् । मधेस केन्द्रित दलहरू जनतामा जान विभिन्न कोसिस गरिरहेका छन् ।
कोही मोर्चा बनाएर, कोही नयाँ दल बनाएर जनतालाई विश्वासमा लिने प्रयास गरिरहे पनि खासै प्रभाव देखिएको छैन । पटक–पटक परीक्षण भइसकेका नेता र दलहरूमा पुस्तान्तरण, पार्टीको संरचना, विचारशैली, कार्यशैलीमा परिवर्तन नदेखिएसम्म जनतामा खासै प्रभाव नपर्ने देखिन्छ ।
जेनजी आन्दोलनपछि त मधेसी दलमात्र होइन, मधेसी समाज पनि अन्योलमा देखिएको छ । अब विकल्प के त ? मधेसको राजनीति कसरी अगाडि बढ्छ ? मधेसको राजनीतिमा कसले अगुवाइ गर्छ भन्नेजस्ता विषयमा मधेसका राजनीतिक अभियन्ता एवं विश्लेषक डा. सोहन साहसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश ः
तपाईंले मधेसका विषयमा अध्ययन अनुसन्धान गरेर पुस्तक नै प्रकाशन गर्नुभएको छ । मधेसकै मुद्दाहरूमा क्रियाशील हुनुहुन्छ । सामाजिक सञ्जालमा पनि निरन्तर लेखिरहनु भएको देखिन्छ । पछिल्लो समय मधेसको राजनीतिलाई तपाईंले कसरी हेर्नुभएको छ ?
यसलाई दुई–तीन वटा दृष्टिकोणबाट हेर्नुपर्छ । पहिलो, मधेसको राजनीतिलाई ऐतिहासिक पृष्ठभूमिबाट हेरिनुपर्छ । तराई कांग्रेसदेखि उपेन्द्र यादव हुँदै सीके राउतसम्म आइपुग्दा मधेसले विभेदविरुद्ध गरेका उत्कर्षपूर्ण संघर्षमा उल्लेख्य सफलता पनि हासिल भयो । मधेस आन्दोलन यता बागमतीमा धेरै पानी बगिसकेको छ र विभेदको केही हदसम्म न्यूनीकरण भएकै हो । काठमाडौँले मधेस आन्दोलनका थुप्रै मुद्दालाई स्वीकार गर्नु मधेसी राजनीतिको ठुलो सफलता हो ।
दोस्रो, राजनीतिक सफलतापछि मधेसले आफूलाई इनोभेटिभ तरिकाले अघि बढाउन सकेन । मधेसी राजनीति प्रत्यक्ष विभेद हटाउन त सफल भयो, तर अप्रत्यक्ष विभेद अन्त्य गर्न र प्राप्त उपलब्धिलाई संस्थागत गर्न बलियो राजनीतिक शक्ति आवश्यक पर्थ्यो । अहिले त्यही शक्तिमा ठुलो क्षयीकरण भएको देखिन्छ । पछिल्लो निर्वाचनलाई नै हेर्ने हो भने, मधेसका स्थापित शक्तिहरू यसरी कमजोर भए कि उनीहरूले स्पष्ट बहुमत त परै जाओस्, सम्मानजनक उपस्थिति पनि जनाउन सकेनन् । २० वर्षको अन्तरालमा सम्भवतः पहिलोपटक मधेसवादी दलहरूबिनाको सरकार बनेको छ । यसले मधेसी राजनीतिले आफ्ना उपलब्धिलाई जोगाउन सक्दैन कि भन्ने ठुलो आशङ्का जन्माएको छ ।
तेस्रो, अहिले नयाँ स्वरूपका विभेदहरू सुरु भएका छन् । उदाहरणका लागि, डिजिटल माध्यमबाट हुने विभेदका विषय आइरहेका छन् । अहिले राजनीतिमा आउँदै गरेको नयाँ पुस्ता वा जेनजीले २०६२/०६३ को जस्तो प्रत्यक्ष विभेद भोगेको छैन । उनीहरूले मधेसको राजनीतिलाई कसरी बुझ्छन् भन्नेमा ठुलो अन्योल छ । यस्तो अवस्थामा मधेसी दलहरूले आफूलाई कसरी सान्दर्भिक राखिरहन्छन् भन्ने ठुलो चुनौती हो । दुःखको कुरा, नयाँ र जेनजी पुस्तामा मधेसी राजनीतिक नेतृत्वप्रति आकर्षण तीव्र रूपमा घट्दो छ, जसले नयाँ नेतृत्व विकासमा ठुलो सङ्कट पैदा गरेको छ ।
देशमा भएका राजनीतिक परिवर्तनपछि बनेका सरकारका कारण मधेसको राजनीति वा मधेसी समाज त्रासमा छ कि ‘पर्ख र हेर’ को अवस्थामा छ ? तपाईंले कसरी बुझ्नु भएको छ ?
न त त्रासको अवस्था छ, न त ‘पर्ख र हेर’ कै । यहाँ अर्कै मनोविज्ञान निर्माण भएको छ । मोटामोटी रूपमा मधेसी जनताले के बुझिसकेका छन् भने संविधानले प्रदान गर्नुपर्ने अधिकारहरू सुनिश्चित गरिसकेको छ र अब थप नयाँ केही आउनेवाला छैन । उदाहरणका लागि मैले नै अहिले संविधान संशोधनको बहसको औचित्य छैन भन्दा मधेसका केही युवा अभियन्ताहरूले मेरो आलोचना पनि गर्नुभयो । तर मैले मधेसकै हितलाई ध्यानमा राखेर त्यो भनेको थिएँ । मधेसी दलहरूले जतिसुकै दाबी गरे पनि संविधान संशोधनमा थप्नका लागि उनीहरूसँग नयाँ एजेन्डा छैन । यदि केही छ भने पनि त्यो प्राप्त गर्नका लागि मधेसी शक्ति यति कमजोर भइसकेको छ कि अघि बढ्नुको साटो झन् पछाडि हट्नुपर्ने स्थिति आउन सक्छ । त्यसैले अहिले नयाँ मुद्दा के ल्याउने भन्नेबारे ठुलो अन्योल छ ।

तपाईं मधेसका स्थापित दलहरूलाई सोध्नुहोस्– अहिले तपाईंहरूको युनिक सेलिङ प्रपोजिसन के हो ? उनीहरूसँग पुरानै रटानबाहेक केही नयाँ जबाफ छैन र हुँदैन पनि । त्यसैले मधेसका जनता कुनै द्विविधामा छैनन्, किनभने ती दलहरूसँग अब नयाँ केही छैन भन्नेमा उनीहरू विश्वस्त भइसकेका छन् ।
राजनीतिक रूपमा ओरालो लागेका र एजेन्डाविहीन बनेका मधेसवादी दलहरू अब कसरी सर्भाइभ गर्छन् ?
त्यसका लागि मधेसले नयाँ युगअनुकूलका नयाँ एजेन्डा तय गर्नुपर्छ र नयाँ युवाहरूलाई राजनीतिमा प्रवेश गराउनुपर्छ । अब पुरानै अनुहार, पुरानै एजेण्डा र मुद्दाले राजनीति हुँदैन । राजनीतिक परस्थिति पूरै चेन्ज भइसकेको छ । नेपाली कांग्रेस पुरानै दल भए पनि नयाँ युवाहरूको प्रवेशले त्यहाँ केही न केही ऊर्जा थपेको देखिन्छ । महाधिवेशनले गर्दा युवाको आकर्षण त्यो पार्टीमाथि परेको छ । एमालेले त्यो ऊर्जा थप्न सकेको छैन ।
त्यस्तै, मधेसी राजनीतिमा नयाँ ऊर्जा र नयाँ अनुहारहरूको खडेरी छ । जसपा नेपालमा उपेन्द्र यादवपछिको नयाँ अनुहार को हुन् ? सो पार्टीमा उपेन्द्र यादवपछि नेतृत्व लिन सक्ने क्षमतावान नेता को हुनुहुन्छ ? सीके राउतपछिको विकल्प को हो ? मधेस प्रदेशमा जसपा सबैभन्दा ठुलो दल भए पनि उसले प्रदेशलाई ऊर्जा दिन सक्ने, पढेलेखेका युवा, गैरआवासीय मधेसी, डाक्टर, वकिल र बुद्धिजीवीलाई आकर्षित गर्न सक्ने कस्तो नयाँ अनुहार अघि सारेको छ ? मधेसका कुनै पनि राजनीतिक दलमा ऊर्जा नयाँ मानिसहरूको प्रवेश र उनीहरूले पाउने अवसरबाट आउँछ । तर हामी अझै पनि पुरानै चाकडी प्रथा, गुटबन्दी र आन्तरिक तानातानमा अल्झियौँ । फलस्वरूप, मधेसी पहिचानसहितको आन्दोलन निर्माण गर्न सकिएन । दलहरूको यो ठुलो विफलता हो ।
पुराना र ठुला दलहरूको विकल्प खोज्दै गर्दा मधेसवादी दलको साटो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वा कांग्रेसले नै मधेसको हित गर्छन् भन्ने विकल्पमाथि छलफल गर्न सकिँदैन ?
त्यसरी सोच्न सकिँदैन । राजनीतिमा आफ्ना मुद्दा स्थापित गर्न बार्गेनिङ पावर र शक्ति सन्तुलन चाहिन्छ । रास्वपा, कांग्रेस वा एमालेसँग मधेसका मुद्दा काठमाडौँमा स्थापित गर्ने त्यो बार्गेनिङ पावर हुँदैन । त्यो शक्ति मधेसी राजनीतिसँगै हुन्छ ।

म ठट्टा गर्दै भन्ने गर्थें, काठमाडौँमा मजबुत होइन, मजबुर सरकार चाहिन्छ । मजबुत सरकारले सीमान्तकृतहरूको अधिकार खोस्न सक्छ, जबकि मजबुर सरकारले ती अधिकार जोगाउन बाध्य हुन्छन् । काठमाडौँमा सरकार बनाउन मधेसी दलहरूको सङ्ख्या निर्णायक भयो भनेमात्र अधिकारको रक्षा हुन्छ । यदि त्यो मोलमोलाइ गर्ने क्षमता नै घटेर गयो भने समस्या निम्तिन्छ । त्यसैले मधेसवादी राजनीतिको पूर्ण विकल्प कांग्रेस वा रास्वपा हुन सक्दैनन् ।
तर तपाईं आफैँ भन्दै हुनुहुन्छ, उनीहरूको शक्ति क्षीण भइसक्यो, मुद्दै छैन र उठ्न सकिरहेका छैनन् । यस्तो अवस्थामा मधेसका लागि कांग्रेस, एमाले, माओवादी वा रास्वपा नै विकल्प बन्ने देखिन्छ नि, होइन र ?
ती दलहरूबाहेक नयाँ विकल्प पनि आउन सक्छन् । अहिले सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको युग छ, जहाँ कुन नेता कहिले उदाउँछ र को हराउँछ भन्न सकिँदैन । एकदुई वर्षको अन्तरालमै नयाँ मानिसहरूले नयाँ मुद्दा स्थापित गर्न सक्छन् । हाम्रै वर्तमान प्रधानमन्त्रीको उदयलाई हेरौँ न । पाँच वर्षअघिसम्म उहाँलाई कतिले चिन्थे ? तीन–साढे तीन वर्ष स्थानीय तहमा रहेर उहाँ यो ठाउँमा आइपुग्नुभयो । जब यो सम्भव छ भने मधेसमा उपेन्द्र यादव वा सीके राउतको विकल्प किन निस्कन सक्दैन ? त्यो पूर्ण रूपमा सम्भव छ । मधेसमा उकुमुकुस छ, मधेस राजनीति र दलका नेताहरूको विकल्प दिने जमात तयार हुँदैछ ।
मधेसका ६–७ वटा दल मिलेर अग्रगामी मोर्चा बनाएका छन् । के यो मोर्चाले तपाईंले भनेजस्तै मधेसलाई अघि बढाउन सक्ला ? यसको भविष्य कसरी हेर्नुभएको छ ?
पहिलो कुरा, यो अग्रगामी मोर्चाको युनिक सेलिङ प्रपोजिसन के हो ? त्यो स्पष्ट हुनुपर्छ । दोस्रो, यो मोर्चाले मधेसका विविध आवाजलाई कमजोर बनाउँछ कि भन्ने डर छ । सबै मधेसवादी दलहरू एउटै ठाउँमा मिसिए भने मधेसका फरक–फरक मुद्दा कसले उठाइदिने ? केन्द्रमा कांग्रेस–एमाले मिलेपछि जनताका लागि प्रतिपक्षका रूपमा रास्वपामात्र विकल्प बनेजस्तै स्थिति मधेसमा पनि हुन सक्छ । सबै मधेसवादी दल एकै ठाउँमा केन्द्रित हुँदा जनताले अर्कै नयाँ विकल्प रोजिदिन सक्छन् । मधेसमा धेरै ठुलो जनसङ्ख्या छ । त्यहाँ विविधता छ । जनतालाई विकल्प दिइरहनु पर्छ । विकल्पविहीन राख्यो भने कुनै अर्कै खेमातिर जान सक्छ ।
तर भनिन्छ, एकता नै बल हो । मधेसवादी दलहरू विभाजित हुँदा शक्ति क्षीण भयो, त्यसैले मोर्चा वा एकता आवश्यक छ भन्ने तर्कलाई तपाईं किन अस्वीकार गर्नुहुन्छ ?
म यसको विपक्षमा उभिएको होइन, केवल राजनीतिक विश्लेषण प्रस्तुत गरेको हुँ । यस्तो मोर्चाबन्दीले लोकतन्त्रमा हुनुपर्ने विचारको विविधतालाई सम्बोधन गर्न सक्दैन । जनताका पीडा र आवश्यकता फरक–फरक हुन्छन्, जसलाई फरक राजनीतिक दृष्टिकोणले उठाउनुपर्छ । यदि सबै दल एउटै भए भने जनताका फरक मुद्दा कसले उठाउने ? मोर्चामा दलित वा अन्य समुदायको प्रतिनिधित्व छ भनिए पनि जनताको नजरमा त्यो एउटै शक्ति हो । विचारको विविधता हराएपछि जनताले आफ्ना असन्तोष पोख्ने ठाउँ पाउँदैनन् । त्यो बेला अर्को दुर्घटना हुनसक्छ ।

मधेसका जनताले त दलहरू धेरै भए, टुक्रेर नबस, एक ठाउँमा आएमामात्र भोट दिन्छु भनेका छ नि । यसमा तपाईंको विचार के हो ?
त्यो तर्क राजनीतिक गणितसँग मेल खाँदैन । त्यसो बहस गर्ने हो भने त रवि लामिछाने, प्रचण्ड र शेरबहादुर देउवा पनि एउटै पार्टी बनाएर बसे भइहाल्यो नि । किन छुट्टाछुट्टै दल चाहियो ? किनकि उनीहरूका फरक–फरक एजेन्डा छन् । हिमाल, पहाडमा यतिका पार्टी छन् जब कि मधेस ती ठाउँहरू भन्दा बढी जनसङ्ख्या छन् । विविधता छन् । त्यसैले विगत २० वर्षदेखि धेरै दल अस्तित्वमा रहेर ती फरक विचारहरूलाई प्रतिनिधित्व गरिरहेका छन् । सबै एकै ठाउँमा आएमात्र शक्तिशाली भइन्छ भन्ने सोच राजनीतिक रूपमा व्यावहारिक देखिँदैन ।
त्यसो भए तपाईंको विचारमा मधेसको शक्ति र विविधतालाई सम्बोधन गर्न कति वटा दल हुनु उपयुक्त हुन्छ ?
ठ्याक्कै सङ्ख्या भन्न त कठिन हुन्छ, तर मधेसको विविधतालाई एउटै दलले कहिल्यै सम्बोधन गर्न सक्दैन । मधेसभित्र अनेकौँ आयाम छन्, काठमाडौँसँगको सम्बन्ध, मधेसभित्रका आन्तरिक मुद्दा, उत्तर र दक्षिण मधेसका भिन्नता, झापा, मोरङ, सुनसरीका आफ्नै सवाल, अनि पश्चिमका नवलपरासी, रूपन्देही र कपिलवस्तुका विशिष्ट मुद्दा । फेरि आर्थिक र राजनीतिक व्यवस्था कस्तो अपनाउने भन्नेमा पनि फरक मत छन् । अहिले मोर्चामा रहेका नेताहरूकै विचारधारा एउटै छैन, कोही पुँजीवादतर्फ ढल्किएका छन् भने कोही उग्र समाजवादतर्फ । जब नेताहरूकै विचारधारा स्पष्ट छैन र उनीहरू केवल मोर्चाका नाममा मिसिएका छन् भने जनता अन्योलमा पर्छन् । जनताले यसलाई मुद्दाको एकताभन्दा पनि नेताहरूको राजनीतिक अस्तित्व जोगाउने प्रयासका रूपमा बुझ्छन् ।
देशको राजनीति जुन गतिमा अघि बढिरहेको छ ? मधेसको वर्तमान राजनीतिले त्यो गति समात्न र आफ्नो लक्ष्य हासिल गर्न सक्ला ?
अहिलेको गति र शैलीबाट मधेसी मोर्चा वा अग्रगामी मोर्चाले लक्ष्य हासिल गर्न सक्दैन, किनभने उनीहरू आफैँ अन्योलमा छन् । अचेल नयाँ–नयाँ नाममा मोर्चाहरू बनिरहेका छन्, तर ती पुरानै अनुहारहरूको समूहमात्र हुन् । तिनमा नवीन सोच छैन । नेपाल र मधेसमा नयाँ राजनीतिक शक्ति आउँछ र स्थापित हुन्छ, यसमा ढुक्क भए हुन्छ ।
त्यो नयाँ शक्ति आउन कति समय लाग्ला ?
मैले अघि नै भनेँ, जब देशको नेतृत्वमा छोटो समयमै परिवर्तन आउन सक्छ भने अहिलेको डिजिटल र एआईको युगमा नयाँ शक्ति आउन धेरै समय लाग्दैन । अब ६ महिना, एक वर्ष वा डेढ वर्षभित्रै नयाँ शक्ति उब्जिन सक्छ । यसका साना सङ्केत अहिले नै तल्लो स्तरमा देखिन थालेका छन् । जेनजी आन्दोलन वा नयाँ राजनीतिक लहरपछि पुराना दल, नेता र परिपाटीहरू विस्थापित हुने क्रममा छन् । मधेसमा पनि पुराना दल र नेताहरूको शक्ति तीव्र रूपमा क्षयीकरण हुनेछ र नयाँ शक्ति स्थापित हुनेछ । यसमा शङ्का छैन ।
२३ असोज २०८३
स्रोत : https://www.ratopati.com/story/598351/the-power-of-old-parties-and-leaders-will-be-rapidly-eroded-in-madhesh-too











