राजनीतिक लोकप्रियतावादको जोखिम 

- जेबी विश्वकर्मा | 2024-06-28


जिम्मेवार नेतृत्वमाथि उठेका तर्कपूर्ण प्रश्नको राजनीतिक जवाफ दिनु नेतृत्वको जिम्मेवारी हो । तर प्रश्न उठ्नबाट वञ्चित गर्ने, प्रश्न उठाउने व्यक्तिमाथि सामूहिक आक्रमण गर्ने परिपाटी आफैंमा अधिनायकवादी राजनीतिको संकेत हो ।

राजनीतिक दर्शनशास्त्र समाज, राजनीति र अर्थतन्त्रलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने विश्व दृष्टिकोण हो । तिनै दृष्टिकोण र विचारका आधारमा राजनीतिक पार्टी र संगठन निर्माण हुने गर्छन् । लोकतान्त्रिक व्यवस्थामा राजनीतिक पार्टीले राज्य सञ्चालन गर्छन् । यसर्थ, तिनै राजनीतिक पार्टीले अवलम्बन गरेको विचार, सिद्धान्त र दृष्टिकोण नै राज्य सञ्चालनका क्रममा अभ्यासमा आउँछन् । त्यसैले राज्य सञ्चालन गर्ने पार्टीको राजनीतिक दृष्टिकोण के छ भन्ने कुराले जनताको जीवन कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्छ । हुन त कुनै राजनीतिक सिद्धान्तको जरुरी छैन भन्ने पार्टी पनि छन् तर कुनै वैचारिक दृष्टिकोण अपनाउँदैनौं भन्नु आफैंमा यथास्थितिवादी विचारको प्रतिनिधित्व गर्नु हो ।

हुन त संसारभरि नै राजनीतिक विचार र दृष्टिकोणबारे बहस कमजोर हुँदै गएको छ । संसारभरि सबैभन्दा धेरै चर्चा हुने मार्क्सवाद होस् वा पुँजीवाद, यस्ता सैद्धान्तिक राजनीतिक प्रश्नमाथिको बहस कुनै निष्कर्षमा पुगिरहेको छैन । यसैको परिणाम संसारभरि नै लोकप्रियतावाद (पपुलिजम्) राजनीति बढ्दो क्रममा छ । यस्तो राजनीतिको मुख्य लक्ष्य जनतालाई आकर्षक नारा दिएर राजनीतिक सत्ता प्राप्त गर्नु हो । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प हुन् वा ब्राजिलका बोल्सोनारो वा भारतका नरेन्द्र मोदी सबैले जनताको आवश्यकताभन्दा पनि भावनालाई शक्ति आर्जनको हतियार बनाएर राजनीति गर्छन् । ट्रम्पले ह्वाइट सुप्रिमेसी र आप्रवासीविरोधी विचारलाई प्रियतावादी राजनीतिक अभियानमा प्रयोग गरेका थिए भने मोदीले हिन्दु अतिवादलाई । यसरी निश्चित समूहलाई अर्को समूहविरुद्ध प्रयोग गर्नु प्रियतावादको राजनीतिक दर्शन हो ।

यस्तो प्रियतावादी राजनीतिको आधार भने स्थापित राजनीतिक पार्टीहरू नै हुन् । स्थापित राजनीतिक पार्टीहरूले विगतमा ठूला–ठूला क्रान्ति, संघर्ष र आन्दोलन गरेर राजनीतिक व्यवस्था रूपान्तरण गरे । नेपालका सबैजसो लोकतान्त्रिक राजनीतिक रूपान्तरणको नेतृत्व पार्टीहरूले नै गरेका हुन् । तर, सत्तामा पुगेपछि ती राजनीतिक पार्टीहरू विचार, सिद्धान्त र जनजीविकाका सवालबाट विमुख भएका छन् ।

विगतका क्रान्ति र संघर्षका क्रममा जनतासमक्ष गरेका वाचा धुलिसात् भइसकेका छन् । सामन्तीविरुद्ध लडेका पार्टी र तिनको नेतृत्व पुँजीपतिमा रूपान्तरित भएका छन् । भ्रष्टाचारविरुद्ध संघर्ष गरेकै नेतृत्व या त भ्रष्टाचारमा संलग्न छ वा भ्रष्टाचारीको संरक्षणमा । धेरैजसो पार्टीको केन्द्रमा सामान्य नागरिक, मजदुर, किसान र श्रमिकका सवालमा कुनै छलफल हुँदैन, ती पार्टीको सम्झनाबाट मेटिइसकेका छन् । जनताका जीवनमा नयाँ–नयाँ संकट थपिएका छन्, तर ती संकट सम्बोधन गर्न राजनीतिक नेतृत्वको कुनै चासोको विषय रहेन । जनताको आशा र अपेक्षाको क्रूरतापूर्वक हत्या गरिएको छ ।

नागरिकमा निराशा र आक्रोश व्याप्त छ । राजनीतिक पार्टीको गैरजिम्मेवार हर्कतका कारण जनता नयाँ विकल्प खोजिरहेका छन् । यसैको प्रतिबिम्ब हो, नयाँ पार्टीप्रतिको आकर्षण । नेपाली राजनीतिमा उदाएका राजनीतिक पार्टीको मूल चरित्र लोकप्रियवादी नै देखिन्छ । जनताका असन्तुष्टिलाई राजनीतिक एजेन्डा बनाएर उदाएका पार्टीसँग पनि राज्यको समग्र समस्या हल गर्ने कुनै निश्चित विचार, दृष्टिकोण र ठोस योजना छैन । प्रशासनिक सुधारबाहेक सामाजिक–राजनीतिक रूपान्तरण, निम्न वर्ग र पछाडि पारिएका समुदायको आर्थिक जीवनमा सुधार र समाजमा व्याप्त बहिष्करण र विभेद हल गर्ने कुनै वैकल्पिक विचार देखिँदैन । यसको अर्थ पुराना राजनीतिक पार्टी र तिनको व्यवहार ठीक छ भन्ने कदापि होइन ।

राजनीतिको चरित्र

प्रियतावादी राजनीतिक पार्टीहरूको मुख्य राजनीतिक दर्शन यथास्थितिवाद र पश्चगमन नै हो । संसारभरिका प्रियतावादी राजनीतिक अभ्यासले यो कुरा पुष्टि गरिसकेको छ । नेपाली जनताले भोगेका समस्या समाधानको विधि पनि राजनीतिक रूपमै खोजिनुपर्छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ पार्टीमा राष्ट्रिय समस्या समाधान गर्ने विधि छैन । सीमान्तीकृत र उत्पीडित समुदायले संघर्षबाट प्राप्त गरेको संघीयतालाई स्वीकार गर्न सकेको देखिँदैन । यसको राजनीतिक स्वार्थ संघीयताको विरोध गरिरहेका जनमतलाई आफ्नो बनाउनु हो । यो राज्य पुनःसंरचनाविरोधी पश्चगामी विचार नै हो ।

नेपालको अर्थतन्त्र जर्जर अवस्थामा छ । विदेशी भूमिमा रगत–पसिना बगाएर आप्रवासी श्रमिकले पठाएको रेमिट्यान्सबाट राज्य सञ्चालन भइरहेको छ । लोकप्रियतावादी पार्टीसँग परनिर्भर र असफल आर्थिक प्रणालीले कुनै बिकल्प दिन सकेको छैन । नेपालको गरिबीको कारण र समाधानको कुनै नयाँ विकल्प तिनमा छैन, बरु नवउदारवादी पुँजीवादी व्यवस्थाको प्रवर्द्धन नै ती पार्टीका आर्थिक नीति हुन् । आत्मनिर्भर अर्थतन्त्र निर्माण उनीहरूको प्राथमिकतामा छैन, अर्थात् लोकप्रियतावादी पार्टीले नेपालको आर्थिक रूपान्तरण गर्ने कुनै सम्भावना देखिँदैन ।

नेपाली समाजमा आर्थिक, सामाजिक, बहुआयामिक विभेद र बहिष्करण व्याप्त छ । सम्भ्रान्त, पुँजीपति, राज्यसत्तामाथि निरन्तर दोहन गरिरहेको वर्ग र समुदायको दबदबा कायमै छ । यस्ता सामाजिक अन्तरविरोधको हल नगरी सामाजिक रूपान्तरण सम्भव छैन । ती मुद्दाको पहिचान र रूपान्तरण अहिलेको आवश्यकता हो । तर, समाजमा दैनिक रूपमा भइरहेका हिंसा, अत्याचार, शोषण, दमन, विभेद र बहिष्करण अन्त्य गर्ने सवाल प्रियतावादी राजनीतिको केन्द्रमा कहिल्यै पर्ने गरेको छैन । नेपालका प्रियतावादी पार्टी पनि योभन्दा भिन्न छैनन् । संसारभरिको प्रियतावादी राजनीतिक अभ्यासलाई हेर्ने हो भने यसको नेतृत्व उग्र राष्ट्रवादी र उत्पीडनकारी हुने गरेका छन् । ट्रम्पको ह्वाइट सुप्रिमेसी, मोदीको हिन्दु अतिवाद यसका उदाहरण हुन् । नेपालका प्रियतावादीसँग जातिवाद, नश्लवाद, पितृसत्ता अन्त्यको कुनै दृष्टिकोण छैन । तिनको नेतृत्वमा धर्मनिरपेक्षता र नश्लवादी अभ्यास प्रकट हुने गर्छ । सामाजिक विविधतालाई सहजै स्वीकार नगर्नु निर्जाती एकाधिकारवादी अभ्यास गर्नु हो ।

प्रियतावादको अर्को चरित्र अवसरवाद हो । यस्ता पार्टी जनताका आकांक्षालाई पक्रिन्छन्, प्रियतावादी नारा दिन्छन् र अन्नतः शक्ति आर्जनको स्रोत बनाउँछन् । रास्वपा र नेता रवि लामिछानेले भ्रष्टाचार, अनियमिताजस्ता जनसरोकारका मुद्दा उठाएर चुनाव जिते तर व्यवहारमा आफैं आर्थिक अपचलनमा परे । स्वार्थ बाझिने मन्त्रालयमा नेतृत्व गरेपछि भ्रष्टाचारविरुद्ध उभिने उनको नैतिक हैसियत गुमेको छ । यो नैतिकता उनको मात्रै होइन, उनको पार्टीका नेता कार्यकर्ताको समेत गुमेको छ । यो अवसरवादको परिणाम हो ।

प्रियतावादी राजनीतिको अर्को चरित्र अरूको अपमान गर्नु हो । संसारभरि नै प्रियतावादी शक्ति अन्य राजनीतिक पार्टीलाई अपमान र गाली गरेरै स्थापित भएका छन् । राजनीतिक रूपमा गलत क्रियाकलापको विरोध गर्नुपर्छ, यसको अर्थ अरू पार्टीले लोकतन्त्रका लागि खेलेको ऐतिहासिक भूमिकाको अवमूल्यन गर्नु पक्कै होइन । तथ्य र तर्कका आधारमा गरिने आलोचना स्वाभाविक रूपमा उपलब्धिमूलक हुन्छ । तर पुराना राजनीतिक पार्टीकै जस्तो घृणा र आलोचनाले जनतामा आकर्षण त बढाउँछ तर समाधान दिँदैन ।

एकाधिकारवादी प्रभुत्व प्रियतावादी राजनीतिको अर्को चरित्र हो । नेतृत्वले आफूलाई लागेको विचारलाई पार्टीको विचार बनाउने वा नेतृत्वमाथि प्रश्न उठाउनै नदिने एकाधिकारवादको अभ्यास प्रियतावादी राजनीतिमा हुने गरेको छ । जस्तोः लामिछानेमाथि उठेका दोहोरो नागरिकता, पासपोर्टदेखि सहकारी ठगी प्रकरणबारे छलफल भएको देखिँदैन । पार्टीका नेताले बौद्धिकतालाई नै तिलाञ्जली दिएर व्यक्तिको रक्षामा खडा हुनुपर्ने बाध्यता आइपरेको छ । प्रियतावादी राजनीतिले यसरी नै व्यक्तिको एकाधिकारवाद र अधिनायकवादको निर्माण गर्छ ।

आवाज दबाउने हतियार

प्रियतावाद व्यक्तिलाई बलियो बनाउने राजनीतिक विचार हो । संसारभरि भएका प्रियतावादी राजनीतिलाई विश्लेषण गर्ने हो भने यो विचारले व्यक्तिलाई बलियो शासकमा रूपान्तरित गरिदिन्छ । श्रीलंकाको महिन्दा राजापाक्षे हुन् वा ब्राजिलका बोल्सोनारो । टर्कीका रिपेप एर्डोगन हुन् वा भारतका नरेन्द्र मोदी । यी सबैले अपनाएको प्रियतावादी राजनीतिक अभ्यासले अधिनायकवादको प्रबर्द्धन गर्‍यो । आफूलाई बलियो शासक बनाउने उत्साहले उनीहरूलाई अधिनायकवादी शासकमा रूपान्तरित गरिदियो । अर्कोतिर यसले बहिष्करणमा पारिएका समुदायमाथि थप उत्पीडन र अत्याचार गर्‍यो । भारतकै उदाहरण हेर्ने हो भने मोदीको आगमनसँगै मुस्लिममाथि व्यापक दमन भयो ।

आदिवासी जनजाति र दलित अधिकारका पक्षमा बोल्नै नसक्ने अवस्थामा पुग्यो । अधिकारका पक्षमा काम गर्ने धेरै सामाजिक संघसंस्था बन्द हुन पुगे । अर्कोतिर, जसरी अमेरिकामा ट्रम्प प्रशासनले आप्रवासीलाई दुःख दिने काम गर्‍यो । राष्ट्रपति निर्वाचनको दौडमा रहेका ट्रम्पले केही महिना अगाडि आफ्नो चुनावी अभियानलाई ‘अमेरिकालाई अशुभ शक्तिबाट मुक्त गराउने अभियान’ का रूपमा व्याख्या गरेका थिए, यो आप्रवासीविरुद्ध गरिएको कटु आलोचना हो ।

नेपालमा प्रियतावादी राजनीतिक नेतृत्वमाथि तर्कसंगत प्रश्न गर्दा चौतर्फी आक्रमण गर्ने क्रम बढेको छ । जिम्मेवार नेतृत्वमाथि उठेका तर्कपूर्ण प्रश्नको राजनीतिक जवाफ दिनु नेतृत्वको जिम्मेवारी हो । तर प्रश्न उठ्नबाट बञ्चित गर्ने, प्रश्न उठाउने व्यक्तिमाथि सामूहिक आक्रमण गर्ने परिपाटी आफैंमा अधिनायकवादी राजनीतिको संकेत हो । लोकप्रियतावाद बहिष्करणमा पारिएका लिंग, जातजाति, धार्मिक र सीमान्तीकृत समुदायको आवाजलाई दबाउने हतियार बन्ने खतरा नेपालमा पनि बढ्दै गइरहेको छ ।

तथापि जनताको आशा, अपेक्षा र चाहनालाई सम्बोधन गर्न नसक्ने कुनै पनि राजनीतिक पार्टी जनताबाट बहिष्कृत हुन्छन्, चाहे ती नयाँ हुन् वा पुराना । संसारभरि लोकप्रियतावादी नेतृत्व अधिनायकमा परिणत हुने र जनताबाट बहिष्कृत हुने क्रम चलिरहेको छ । भारतमा मोदीको भारतीय जनता पार्टी जसरी खुम्चिँदै गइरहेको छ, लोकप्रियतावादी पार्टी र नेतृत्वले जनअपेक्षा पूरा गर्न सकेनन् भने यसरी खुम्चिँदै ओरालो यात्रामा लाग्नुको विकल्प छैन ।

प्रकाशित : असार १४, २०८१
स्रोत : https://ekantipur.com/opinion/2024/06/28/the-risk-of-political-populism-56-08.html


About the Author