सहरिया ‘स्पेस’ र आदिवासी जनजाति पहिचान

- कैलाश राई | 2018-05-03

अहिले मुलुकको अधिकांश जनसंख्या र भूगोल सहरीकृत जीवनशैलीमा भिज्दै छ। आधुनिकता र विश्वव्यापीकरणको विशाल प्रक्रियामा समाहित हुने क्रम वेगवान् छ। सहरी ढाँचामा रुपान्तरण हुने तीव्र वेगमा मौलिक परम्परा र संस्कृतिले पनि आधुनिकतामा मौलिकता मिश्रित वर्णशंकर स्वरूप ग्रहण गर्नु अस्वाभाविक होइन। उपभोक्तावादी संस्कृति र अभ्यासमा मौलाउनु सहरको विशेषता हो। सहरको यस्तो विशेषतासँग तालमेल राख्ने दिनचर्यामा आफ्नो मौलिक पहिचान, संस्कृति र अभ्यासलाई समेत जीवन्त राख्ने चुनौतीसँग आदिवासी जनजाति सधंै जुधिरहेका छन्।

आदिवासी जनजाति पहिचान बहुरूपी निश्चित फरकपन (भाषा, वेशभूषा, संस्कृति आदि) सहितको सामूहिकता, साझापन र प्रकृति (भूमि, जल, जमिन, जंगल आदि)को अन्तरसम्बन्धको मियोमा उनिएको हुन्छ। रोजगारी, शिक्षा, भौतिक सेवासुविधा वा 'राम्रो जीवन' जिउने आदिका खातिर अनेक कारणवश गाउँबाट सहरतर्फ बसाइँसराइ बढ्दै गएको छ। यससँगै उनीहरूको पहिचान जनित सामाजिक–सांस्कृतिक क्रियाकलाप र अभ्यासहरूको उपभोगको भौतिक, सामाजिक र राजनीतिक 'स्पेस' साँघुरिँदै गएको छ।

राज्यको शासकीय संयन्त्र, भौतिक वा सामाजिक–सांस्कृतिक संरचना र सोही अनुकूलको मूलधारे अभ्यासको वर्चस्वले सहरी परिवेशमा 'बाहिरिया'हरूका लागि त्यस्ता 'स्पेस'हरू सहज निर्माण र उपलब्ध हुन सकेका छैनन्। स्थानीय बासिन्दा नेवारहरूको समेत विभिन्न कारणवश निजी र सार्वजनिक, भौतिक र सामाजिक–सांस्कृतिक–राजनीतिक 'स्पेस'हरू अतिक्रमणमा पर्दै खुम्चिँदै गएका छन्। सहरी जीवनशैलीको तीव्र विकासक्रममा आदिवासी जनजातिको स्वायत्ततामा ह्रास हुँदै गएको छ। तर स्वप्रेरित अवस्थामा रहेर आफ्नो पहिचान र सामूहिकतालाई धान्ने प्रयत्नमा उनीहरू छन्।

सहरी परिवेशमा काठमाडौंको मुटुमा रहेको टुँडिखेल एउटा यस्तो भौतिक एवं सामाजिक–राजनीतिक 'स्पेस' हो, जुन आदिवासी जनजातिहरूको साझापन वा सामूहिकताको पहिचानको एउटा अवयव (सामूहिक रूपमा चाड मान्ने)लाई अभ्यास गर्ने एउटा सार्वजनिक थलोका रूपमा उपलब्ध छ। आआफ्ना थातथलोबाट टाढा रहेकाहरूले यस्ता सार्वजनिक थलोको प्रयोग सामूहिकताको पहिचानलाई विस्तार गर्ने गरेका छन्। आफ्ना सांस्कृतिक अभ्यासहरूका लागि एकत्रित भई आफ्नै एउटा समुदायको विकास गर्ने गरेका छन्।

विश्वव्यापीकरण, राज्य र मूलधारको तीव्र प्रभावका प्रकोपको सामना गर्ने एउटा विकल्पका रूपमा त्यसलाई प्रयोग गर्ने गरेका छन्। त्यो थलो उनीहरूका लागि व्यक्ति र उपभोगवादी जीवनशैलीको प्रभुत्वमाझ आफ्नो अस्तित्व र पहिचानको मौलिकतालाई जीवन्त राख्ने, आफ्नो पहिचानजनित सांस्कृतिक–सामाजिक अभ्यासहरूको भोगचलन गर्ने र 'आफू हुनु'को बोध गर्ने एउटा माध्यम बनेको छ।

जातीयता विशेषको संस्कृतिकेन्द्री चाडमा सार्वजनिक बिदा हुनु र सहरको मुटुमा उपलब्ध सार्वजनिक थलोमा वर्षको केही दिन भेला भएर (औपचारिकदेखि अनौपचारिक विविध कार्यक्रम र क्रियाकलापहरूसहित) भव्यताका साथ चाड मान्नु उनीहरूको सामाजिक–सांस्कृतिक सम्बन्ध वा पुँजी नवीकरण गर्ने एउटा कडी बनेको छ। रूपान्तरण प्रक्रियाका अभ्यासकर्ताका रूपमा उनीहरूले संस्कृतिको आन्तरिकीकरण, पुस्तान्तरण, बाह्यकरण वा समाजमा एक तहको पहिचान विस्तार गर्ने काम गर्दै आएका छन्।

त्यस्तै प्रायः सहरकेन्द्रित आदिवासी जनजातिका सामाजिक संघसंस्था र त्यसैको बलमा चलेको आन्दोलनले बनाएको सामाजिक–राजनीतिक 'स्पेस' उनीहरूसँग छ। आदिवासी जनजातिहरूको पहिचानको आन्दोलन, क्रियाकलाप र अभ्यासहरू विविधतालाई पनि समरूपी भएको बुझाइ राखेर गरिने व्यवहारविरुद्ध र विश्वव्यापीकरण प्रक्रियाको विपरीत देखिन्छन्।

तर, कतिपय उनीहरूका सामूहिक क्रियाकलाप मौलिक र समानतामूलकभन्दा बढी यान्त्रिक, लैंगिक र 'हाइरार्किकल' संरचना उन्मुख हुँदै गएका छन्। रूपान्तरण प्रक्रियाका जोसुकै अभ्यासकर्ताले नेपाली समाजको विविधतालाई फरकफरक तह र स्वरूपमा भए पनि स्वीकार गर्ने गरेका छन्। तर, त्यही विविधताकै चक्रभित्र जकडिएको होचो–अर्घेलो सामाजिक संरचनागत धरातललाई गहन, विस्तृत र सूक्ष्म रूपमा नबुझी यस्ता ऐतिहासिक–सामाजिक–सांस्कृतिक अभ्यासहरू फुर्सदमा गरिने मनोरञ्जनात्मक क्रियाकलाप वा 'रिफ्रेसमेन्ट'का रूपमा मात्रै लिने प्रवृत्ति अझै बलियो छ।

त्यस्तो प्रवृत्तिमा उनीहरूको पहिचानको वास्तविक धरातल र सवालहरूसम्म पुग्ने थुप्रै तह र पक्षहरूबारे सचेत हुन आवश्यक ठानिँदैन। टुँडिखेलमा मनाइने चाडबारे छापाले उपलब्ध गराउने स्थान र त्यो स्थान पूर्तिका लागि प्रयोग गरिने सामग्रीमा अधिकतर एक हरफको क्याप्सन, केही हरफको समाचारसहित मौलिक वेशभूषा पहिरिएकी युवती वा महिला हुनु त्यस्तै प्रवृत्तिको देन हो।

विविधा वा समावेशीको नाममा उपलब्ध भएको 'स्पेस'मा आउने त्यस्ता संस्कृति झल्किने सामग्रीहरूका रूपमा प्रयोग गरिने महिलाका तस्बिरहरूले उनीहरूको वास्तविक सवालहरूलाई ढाकछोप गर्ने आवरणको काम गर्ने गरेको छ। त्यस्तै सहरकेन्द्रित पहिचानवादी क्रियाकलाप वा आन्दोलनहरूमा समुदायका महिलाहरूलाई उनीहरूको विशिष्ट सवालगत धरातलबाट होइन, संस्कृतिको जगेर्ना र प्रदर्शन गर्ने 'कल्चरल एम्बेसडर' वा मौलिक संस्कृति जोगाउने उत्तरदायित्व 'बोक्ने'हरूका रूपमा अघि सार्ने प्रवृत्ति देखिन्छ।

सामाजिक न्याय र लैंगिक समताको सिद्धान्त अवलम्बन गर्ने क्षेत्र र जमातबीच समेत समावेशिताको प्रक्रियागत औपचारिकता निर्वाहको औजारका रूपमा त्यो जनसंख्याको उपयोग गरेर सामाजिक–राजनीतिक 'स्पेस' भर्ने प्रवृत्ति छ। यस्ता प्रवृत्तिले पितृसत्ता, लैंगिक असमानतालाई दह्रोसँग बल दिने र उपभोक्तावादलाई समेत मलजल गर्ने गर्छन्। यो आदिवासी जनजाति पहिचानको केही हदसम्म स्वीकार्यको संकेत हो। तर, यो उनीहरूको पहिचानकेन्द्री सहरी वा आधुनिकतावादी यथार्थको सन्दर्भमा एउटा खतरनाक कुरा पनि हो।

धेरै अभियान र आन्दोलन सहरबजारकेन्द्री भए भन्ने चर्का स्वर सुनिन्छन्। त्यसको एउटा पक्ष, सहर र गाउँबीचको सम्बन्ध सेतु निर्माणको कडी अझै झिनो छ। त्यो झिनो कडीले गाउँले विशेषता सहरमा भित्र्याउने अनुपातभन्दा कैयौं गुणा बढी सहरीकृत विशेषताका प्रभाव गाउँमा फैलिन सहज भएको छ। अथवा अभियान र आन्दोलनहरूका माध्यमहरूबाट आदिवासी जनजाति पहिचान र सांस्कृतिक अभ्यासहरूको न उचित आन्तरिकीकरण भइरहेको छ, न बाह्यकरण नै।

पछिल्लो समय खासगरी नेपालमा चलेको दसबर्से सशस्त्र द्वन्द्वको प्रभावस्वरूप सहरीकरणको विकासमा मात्रै नभई आन्तरिक एवं बाह्य बसाइँसराइ, युवा बेरोजगारी र सहरी गरिबीको व्यापक वृद्धि भयो। बसाइँसराइ, बेरोजगारी र सहरी गरिबीबाट प्रभावित एउटा ठूलो जमात वैदेशिक रोजगार र बेचबिखनमा पारिने र पर्नसक्ने उच्च जोखिममा पनि सधैं रहँदै आएकादेखि मनोरञ्जनका क्षेत्र (लोकदोहोरी, रेस्टुरेन्ट, डान्स बार आदि)मा संलग्न हुन पुगे।

यी क्षेत्रमा संलग्नहरूको ठूलो संख्या राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आदिवासी जनजाति पहिचानको भागीदार र विस्तारकर्ता दुवै हुन्। असमान र विभेदित राज्य र सामाजिक संरचनाहरूमा पहिचान अंकित गरी देखाइँदा वा नदेखाई पनि जनजाति पहिचानका राम्रानराम्रा दुवै प्रभावको भागीदार हुनुको विकल्प उनीहरूसँग छैन।

सहरी जीवनशैली र आधुनिक मापदण्डअनुरूप उनीहरू कम योग्यता भएका अशिक्षित, व्यावसायिक एवं राजनीतिक चरित्र, चेत र खुबी कम भएका निम्न स्तरका वा स्तरहीन श्रमिकको कोटीमा पारिइन्छन्। त्यस्तो स्तरीकरणले आदिवासी जनजाति मूलतः सहरी आधुनिक राजनीतिक–सामाजिक परिवेशमा अशिक्षित, कम योग्य वा सीपविहीन श्रमिक (जसले मालिकले अह्राएको काम मात्रै गर्ने खुबी राखे पुग्छ) र मनोरञ्जन कार्यका लागि (पितृसत्तात्मक सोचबाट हेर्दा विशेषतः महिलाहरू यौनको मामिलामा स्वतन्त्र होइन, स्वच्छन्द हुन्छन् भन्ने सोचका कारण पनि)उपयुक्त हुन्छन् भन्ने सोच राखेर सोहीअनुरूपको छवि निर्माण विस्तार गरिएको छ।

त्यस्तो छवि विस्तारको कामलाई आधुनिक जीवनशैलीमा गरिँदै आएको उनीहरूको वस्तूकरण प्रक्रियाले निकै टेवा दिँदै आएको छ। बडो चुनौतीपूर्ण कुरा, यी सबै प्रक्रियामा अकाट्य किसिमले समाहित आदिवासी जनजाति समुदायको कुनै पनि खालको आन्दोलन भने यी पक्ष र समूहहरूसँग जोडिन सकेकै छैन।

सहरको जुनसुकै क्षेत्र र निकायमा उपलब्ध अवसर र 'स्पेस'हरूको दाँजोमा उनीहरूले बेहोर्नुपर्ने कठिनाइ, चुनौती, विभेदहरूलाई राज्य संयन्त्र र संरचनागत रूपमै संस्थागत गरी दह्रोसँग स्थापित गरिएको छ। त्यसैले धेरथोर उपलब्ध 'स्पेस'हरूका बाबजुद ठोस उपलब्धि र अपेक्षाकृत नतिजा प्राप्त गर्न सहज भने छैन। उपलब्ध सेवासुविधाभन्दा आवश्यकता र बाध्यताहरू उनीहरूसँग बढ्तै छन्।

सामुदायसँग रहेको समानता, स्वायत्तता र सामूहिकताविरुद्ध संरचनागत विभेद, उनीहरूको व्यक्तिगतदेखि सामूहिक जीवनलाई अंकुश लगाउने शासकीय स्वरूप र फुटाऊ र राज गरको नीति दह्रोसँग उभिएको छ। विकल्प र योजनाभन्दा बढी चुनौती र अलमलपन हावी छ।

पहिचान आन्दोलनका अभियन्ता उपलब्ध स्पेस र त्यसको उपयोगबारे सचेत हुन जरुरी छ। सहरमा आएपछि नयाँ सामाजिक–सांस्कृतिक सम्बन्धहरू बन्छन्। ती सम्बन्ध आफैंमा पुँजी हुन्। त्यसले आधुनिक वर्णशंकर सांस्कृतिक अवयव निर्माण गर्ने मौका त दिन्छ। तर, आन्दोलनका अभियन्ताले आफूले प्राप्त गरेको पुँजीलाई वर्णशंकर संस्कृति निर्माणमा सीमित राखे भने त्यो आत्मघाती हुनेछ।

साभारः अन्नपूर्ण पोष्ट, १६ औँ वार्षिकोत्सव सहर विशेष परिशिष्टाङ्क, २० वैशाख २०७५, पृष्ठ-४२)
स्रोत : https://annapurnapost.com/story/97391/


About the Author