सामाजिक बुझाइ विरुद्धको विचार राख्नेलाई स्थान खै ?

- अग्रिम अधिकारी | 2022-07-09

म्याग्जिनको इतिहास हेर्दा जर्मनीबाट प्रकाशित ‘इरबाउलिचे मोनाथ्स्’ म्याग्जिनलाई सम्झिने गरिन्छ । त्यसपछि विस्तारै म्याग्जिनको प्रभाव विश्वमा पर्न थाल्यो र यसले सञ्चार माध्यमको एक रूप लियो । म्याग्जिन भनेपछि दैनिक रूपमा प्रकाशित नहुने तर कमसेकम साप्ताहिक रूपमा प्रकाशित हुने खालको आकार यसले सिर्जना गर्दै गयो । प्राज्ञिक लेखनका निम्ति जर्नल बन्यो भने समसामयिक घटनाक्रमलाई छिचोल्दै साप्ताहिक रूपमा प्रकाशित हुने र व्यवसायिकताको बजारमा विज्ञापनको आडमा चल्ने माध्यम बन्न थाले म्याग्जिन । म्याग्जिनले विविध घटनाक्रमलाई समय लगाएर खोजमूलक लेखन पस्किँदा उनीहरू अब्बल सामग्री पस्किन पनि सफल भए । हतारको पत्रकारिताबीच म्याग्जिन सधैँ फुर्सदिलो पत्रकारिता मानिन्छ र त्यसले पस्किने सामग्री स्तरीय पनि हुने गर्छन् । 

नेपालको हकमा काठमाडौंको थाहिटीबाट प्रकाशित हुने ‘सुधा सागर’ पहिलो म्याग्जिनको रूपमा आयो । यसको आगमनपछि नेपाली बजारले पनि निकै उच्च स्तरका म्याग्जिन पाएको छ । ती म्याग्जिन कालान्तरमा बन्द हुने र खुल्ने क्रम भने जारी नै रह्यो । नेपालमा ‘अस्मिता’ म्याग्जिनले डोर्‍याएको महिलाको आवाज, ‘मूल्याङ्कन’, ‘उत्साह’ जस्ता म्याग्जिनले बोकेको नेपाली परिवर्तनको डोर पनि सम्झिन लायक छ । वामपन्थी विचारलाई संस्थागत गर्दै लग्नेदेखि जनआवाजको भाषालाई बुलन्द बनाउने सम्मका म्याग्जिन प्रकाशित भए र ती आफ्नो सामग्रीका कारणले अब्बल साबित पनि भएका हुन् । आजको अवस्थामा भने सबैजसो म्याग्जिन किन सुकेर गइरहेका छन् त ? 

म्याग्जिनले आज भोलि के पस्किँदै छन् र कसरी चलिरहेका छन् भन्ने शीर्षकमा मार्टिन चौतारीले मंगलबार एक छलफल राखेको थियो । म्याग्जिनमा पत्रकारले गतिलो सामग्री मात्र निकालेर मात्र हुँदैन, म्याग्जिन चल्न सक्ने वा भनौँ चलाउनको निम्ति चाहिने आर्थिक पाटो महत्वपूर्ण पक्ष हो । यही आर्थिक पाटो सबल नभएर धेरैजसो म्याग्जिन बन्द भएका छन् । उक्त आर्थिक पाटोलाई सम्हाल्न नसक्दा अर्थतन्त्र धराशायी बनेर म्याग्जिन बन्द भएको इतिहास हामीसँगै छ । 

मार्टिन चौतारीको उक्त छलफलमा बक्ता थिए, अर्थराजनितिक म्याग्जिन टक्सारका सम्पादक गजेन्द्र बुढाथोकी, नारी म्याग्जिनकी सम्पादक उपासना घिमिरे र हिमाल म्याग्जिनका सम्पादन रविन गिरी । छलफलमा आफ्नो मत राख्दै रविन गिरीले भने, ‘हामी सामग्रीको निम्ति कसरी के गरिरहेका छौँ भन्ने कुरा मुख्य हो र सामग्रीमा पनि सामाजिक बुझाइ विरुद्धको विचार राख्ने मानिसलाई ठाउँ किन दिँदैनौ ? यसले म्याग्जिनलाई सीमित गरिरहेको छ । त्यस्तै, विज्ञापन पनि खुम्चिएको कारण हामी घाटामा दिन बिताउन बाध्य छौँ ।’ म्याग्जिनले बिट पत्रकारिता मात्रै गरिरहेको र त्यसले भविष्यमा म्याग्जिन आफैँ स्तरीय हुन नसक्ने उनको भनाइ थियो ।

सामग्रीमा कुरा छेड्दै गजेन्द्र बुढाथोकीले पनि आम मानसिकतामाथि नै प्रश्न उठाए । बुढाथोकीले खरो टिप्पणी गरे, ‘हाम्रो समाजमा राजनीतिक रिपोर्टिङ गर्ने व्यक्ति र म्याग्जिनलाई ठूलो र आर्थिक रिर्पोटिङ गर्नेलाई सानो भन्ने जस्तो तर्क गरिन्छ तर त्यो सरासर गलत हो ।’ राससको समाचार लेखेर, विज्ञप्तिको आधारमा समाचार बनाउने जस्ता कार्यलाई टक्सारले नअँगालेको र आधारभूत तथा सीपमुलक ढँगबाट नै पत्रकारिता गरिरहेको उनको भनाइ थियो । ‘मानिसहरू हामीलाई विज्ञापनको लोभ र कर्पोरेटसँग सम्बन्ध गाँस्न आर्थिक पत्रकारिता गरेको आरोप पनि लाउने गर्छन्, त्यो बुझाइमा नै खोट छ,’ गजेन्द्रले प्रस्ट्याए ।

यस्तै नारीलाई केन्द्रविन्दुमा राखेर प्रकाशन हुने म्याग्जिन हो ‘नारी’ । नारीकी सम्पादक उपासना घिमिरेले महिलाकै सेरोफेरोमा रहेर भएपनि ‘नारी’ले पुरुषका विविध विषयलाई पनि मध्यनजर गरेर पस्केको बताइन् । तर, उनका यी तर्कसँग असहमति जनाउने जमात भने बाक्लो थियो । विग मिडिया हाउसद्वारा सन्चालित भएकाले नाफा घाटाका कुराहरु यसमा सन्तुलित नै रहेको पनि उनको भनाइ थियो । तर, ठूलो मिडिया हाउस अन्तर्गतबाट सन्चालित नभएको खण्डमा के म्याग्जिन चल्न सक्दैनन् ? यसको उत्तर आएन । 

म्याग्जिन सम्पादकहरुको माथिका तर्क माथि प्रश्न साथै विवेचना गर्दै लेखक तथा अनुसन्धानकर्ता उज्वल प्रसाईँ भन्छन्, म्याग्जिन तथा अन्य अनलाइन पोर्टलले पनि अभिलेखालय अर्थात् आरकाइभिङको निम्ति काम गरिरहेको देखिँदैन । पाँच वर्ष अघिको मेरो आफ्नै लेख मैले हेर्न पाउँदिन । यस्तोमा सञ्चारको भविष्य कस्तो रहन्छ ?’ साथै म्याग्जिन कसरी चल्छ मात्रै भन्दा पनि पत्रकारिताको जग कत्तिको बलियो छ भन्ने कुरा नै प्रमुख हुनुपर्यो । पत्रकारिता रहन्छ कि रहँदैन ? प्रसाईँले यी भनाई राख्दै लोकतन्त्र खतरामा पर्दै गएको अवस्थामा आफू पत्रकारिताको भविष्यप्रति नै चिन्तित रहेको कुरा जाहेर गरे । नेपाली मिडियाको स्तरोन्नोति भइरहेको छ त ? यी प्रश्नका उत्तर समाज र पाठकले अझै पाउन बाँकी नै छ ।

प्रकाशित मिति : असार २५, २०७९
स्रोत : https://ratopati.com/story/250512/2022/7/9/magazine-debate


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai