चौतारी पुस्तक शृंखला - ८८
भूगोलको जैविक पक्षबाट हेर्दा नेपाल एशियाका छ ओटा प्रमुख जैविक प्रान्तको भेटघाट हुने साझा चौतारी हो । जीवप्राणी वा वनस्पतिको भौगोलिक क्षेत्र विस्तारको मार्ग प्रशस्त गर्ने चौबाटो पनि हो नेपाल । पर्वतीय धरातलले निर्माण गरेको विविध हावापानीका कटिबन्धका बाटा पहिल्याएर पश्चिममा भूमध्यसागरसम्मका जीवप्राणी र वनस्पति नेपाल आइपुगेका छन् । पूर्वतिर चीन-जापान जैविक प्रान्तका जीवप्राणी र वनस्पति नेपालको बाटो गरेर पश्चिमतिर फैलने क्रम जारी छ । अर्कोतिर हिमालयको उच्चपर्वतीय धरातलले मध्य एशिया तथा दक्षिण एशियाका जैविक प्रान्तलाई छुट्ट्याउने काम गरेको छ । कतै तगारो त कतै विस्तारमार्गको भूमिका खेल्दाखेल्दै केही स्थानविशेषलाई भने अद्वितीय जीवक्षेत्रको रूपमा स्थापित गर्न सफल भएको छ हाम्रो पर्वतीय परिवेश । जैविक भूगोलको प्राकृतिक परिवेशलाई पछ्याएर नेपालीहरूले आफ्नो जीवन र जीविकोपार्जनको शैली बनाएका छन् । त्यसैसित जोडेर तिनले आफ्नो जातीय साँस्कृतिक भूगोलको पनि क्षेत्र निर्धारण गरेका छन् । नेपालीहरूको साँस्कृतिक विविधता त्यसैको प्रतिफल हो ।
हिजोका दिनमा जैविक भूगोलले स्थापित गरेका ती तगारा र विस्तारमार्गले कोल्टो फेरेका छन् । कतिपय तगारा भत्कँदैछन् र कतिपय प्रसारणमार्ग तगारामा रूपान्तरित छन् । विभिन्न विकास निर्माणका कार्य, जलवायु परिवर्तन एवं भूराजनीतिक चलखेलले समेत नेपालको जैविक भूगोल बदलिँदो छ । अर्थसामाजिक र अर्थराजनीतिक गतिविधिले ल्याएका जैविक भूगोलको परिवर्तनका विविध पक्षबारे यो आलेखले सार्वजनिक बहस चलाउने जमर्को गर्छ ।
विषयसूची
- अध्यक्षको प्रारम्भिक मन्तव्य - पृष्ठ १
- जैविक प्रान्तको चौतारी नेपाल - ७
- नेपालको गौरवमय जैविक विविधता - १०
- एशियाको माझमा उठेको हिमाल - १४
- विश्व जैविक भूगोलको प्रतिविम्ब नेपाल - १७
- नेपालको पर्यावरणीय नक्सा - १९
- जैविक भूगोलमा स्थानीयता (इण्डेमिजम्) - २१
- जैविक भूगोलभित्रका मानवीय भूगोलमा नयाँ परिवर्तन - २६
- सन्दर्भ सामग्री - ३०