चौतारी पुस्तक शृंखला - ९०
प्राचीन ऐतिहासिक र साहित्यिक सामग्रीका आधारमा हिजोआज नेपाल भनिने भेगमा मानिसको आगमन, आप्रवास र भ्रमणको लेखाजोखातर्फ ले नयाँ गोरेटो पहिल्याएको छ । यस्तो काम अझै हुनसकेको थिएन । केही विद्वान्हरूले झिना प्रमाण र ज्यादा अनुमानका भरमा आ-आफ्ना कथा नबुनेका होइनन्, तर यो देशको नाम नेपाल कसरी रहन गयो, यहाँका प्राचीन वासिन्दा को-को थिए, तिनीहरूको भौतिक र आध्यात्मिक जीवनशैली कस्तो थियो, तिनीहरू यो साँधसीमानाभन्दा पर्तिरका मानिससित कसरी सम्बन्धित थिए भन्ने जस्ता मूल प्रश्न अझै अनुत्तरित थिए । यो पुस्तकमा लेखकले यी प्रश्नको उत्तर अथर्ववेद, महाभारत र प्राचीनतम पुराणजस्ता संस्कृत साहित्यमा परेका सन्दर्भबाट दिएका छन् । लेखकले नेपाल शब्दको मूल अर्थमै त्यस्तो उत्तर भेटिने ठम्याउँदै भारोपेली र भोट-बर्मेली भाषाविज्ञान र पाणिनीय व्याकरणका आधारमा नेपाल शब्दको व्युत्पत्ति गरेका छन् । उनका अनुसार, इतिहासको उषाकालमै पश्चिमोत्तर भारतबाट आएका नीपजन, कोशी र गण्डकी नदीका प्रस्रवणक्षेत्रमा रहेका किरातजन र तिनैले उर्वर पारेको विस्तीर्ण मैदानमा बसेका लिच्छविलगायतका विभिन्न जनसमूहबीच चलेका आदान-प्रदान, मिलन-संघर्ष र अन्तर्घुलनबाट यो देश आबाद हुँदै थियो । यो पुस्तकमा लेखकले आर्य-अनार्य, प्रकृतिपूजक-मूर्तिपूजक-याज्ञिक, किरात-संस्कृतजस्ता चल्तीमा रहेका द्विविधात्मक कोटिभन्दा पर्तिर गएर नेपाल देशको आद्य-इतिहास लेखिनुपर्छ भन्ने मतको बलिया आधार तयार गरेका छन् ।
------------------------------------------------------------
नेपाल, भारत र जर्मनीमा औपचारिक एवं परम्परागत दुवै थरी शिक्षा लिएका दिवाकर आचार्य हाल अक्सफोर्ड विश्वविद्यालयमा स्पाल्डिङ प्राध्यापकका रूपमा कार्यरत छन् । विगतमा नेपाल, जापान, जर्मनी, अस्ट्रिया र नेदरल्याण्डका विश्वविद्यालयहरूमा अध्यापन र शोध गरेका आचार्यको दक्षिण एशियाको सांस्कृतिक र वैचारिक इतिहासमा विशेष रुचि छ । धार्मिक र सामाजिक महत्त्वका लिच्छवि अभिलेखहरूको व्याख्या-विश्लेषणमा यिनले काम गर्दै आएका छन् । यिनका अरू रुचिमा प्राचीन उपनिषदहरूको समालोचनात्मक अध्ययन एवं दुर्लभ प्राचीन ग्रन्थहरूको पहिचान र प्रकाशन पर्दछन् । नेपालका हस्तलिखित ग्रन्थहरूको संरक्षण र पहिचानमा निकै समय खपाएका आचार्यका तीन पुस्तक एवं दर्जनौँ लेख प्रकाशित छन् ।
-------------------------------------------------------------
विषयसूची
- प्राक्कथन १
- अध्याय १
- नेपाल शब्दको व्युत्पत्ति र अर्थ ५
- नेपाल शब्दको प्रयोग ५
- व्युत्पत्ति खोज्ने प्रारम्भिक प्रयास ७
- नीप, नेपाल र भोट-बर्मेली भाषा ९
- आ+ल प्रत्ययान्त स्थाननाम र विशेषणको प्राचीनता १३
- नीपबाट नेपाल १५
- सही व्युत्पत्ति १७
- नीप/नेप र नेमुनि २०
- सारांश २१
- अध्याय २
- जातिवाचक नीप शब्द र व्याकरण महाभाष्य २३
- नीप शब्दको अर्थ २३
- नीप गणजाति होइन २४
- जनपद, गण र जातिगत वर्गीकरण २५
- नीप गणजातिको संघशासन निराधार छ ३०
- नीपहरूको पेशा पशुपालन – रोचक कल्पना ३४
- सारांश ३५
- अध्याय ३
- नीपहरू को हुन् ? ३७
- पौराणिक नीपवंश ३९
- वंशवृक्ष ४१
- पौराणिक नीपवंश र वैदिक सन्दर्भ ४३
- नीपातिथि र नीपवंश ४६
- कण्व-नीपजनको उन्नति र अवनति ४८
- नीपहरूको विलयन र गोपाल, किरात, आदिको अभ्युत्थान ५१
- अध्याय ४
- सारांश र उपसंहारः नीपजन र नेपाल ५७
- सन्दर्भ सामग्री ६१