युट्युबरको व्यवस्थापन

- हर्षमान महर्जन | 2021-09-24

आचारसंहिता र मार्गदर्शन पालना गराउन आफैँ लागे मात्र युट्युबरहरूले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सबैको साथ पाउन सक्छन् ।

हर्षमान महर्जन

डिजिटल प्लाटफर्म युट्युबलाई धेरैले समस्याका रूपमा लिन थालेका छन् । यसको एउटा कारण धेरै युट्युबरको यौन, हिंसासम्बन्धी गैरजिम्मेवारी प्रस्तुति हो जसको मुख्य ध्येय बढीभन्दा बढी दर्शकको ध्यान खिच्ने र पैसा कमाउने हो ।

हुन त यस प्लाटफर्ममै समाचार र सूचना राखेबापत व्यक्तिले आवश्यक सहयोग पनि प्राप्त नगरेको होइन अनि जिम्मेवार भएर युट्युब चलाउने युट्युबर नभएका पनि होइनन्, तर बेथिति बसाल्ने गरी अफवाह र सनसनीपूर्ण सामग्री पस्किनेको हूलमा ती कम छन् । त्यसैले यो प्लाटफर्मलाई व्यवस्थित गर्नुपर्ने बहस सुरु भएको छ । युट्युबरलाई मुख्य तीन तरिकाले व्यवस्थापन गर्न सकिन्छ ।

साइबर कानुनपहिलो तरिका साइबर कानुन हो जसको सरकारबाट मनलाग्दी प्रयोग भइरहेको छ, जसबाट अभिव्यक्ति स्वतन्त्रता हनन हुने सम्भावना बढी छ । यसलाई लिएर अभियन्ता र बौद्धिक वर्गबाट सरकारको आलोचना हुने गरेको छ । दुई उदाहरण हेर्दा यो प्रस्ट हुन्छ ।

पहिलो, फुलचोकी मिडियासम्बन्धी हो । ‘सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तर्वार्ता दिएको आरोपमा’ फुलचोकी मिडियाका सञ्चालक, कार्यक्रम सञ्चालक र अन्तर्वार्ता दिएकी एक मोडललाई २०७५ चैतमा प्रहरीले पक्राउ गर्‍यो । फुलचोकी मिडियाले आफ्नो युट्युब च्यानल ‘मस्ती टक टाइम’ मा नयाँ मोडल र कलाकारको व्यक्तिगत र ‘अश्लील’ अन्तर्वार्ता अपलोड गर्थ्यो । यो समाचार बाहिरिएपछि युट्युबकै भिडियोमा धेरै दर्शकले समाजमा ‘विकृति’ फैलाएको भनी फुलचोकी मिडिया र मोडलको आलोचना मात्र गरेनन्, प्रहरीको त्यस कार्यको सराहना पनि गरे । तर केही व्यक्तिले वयस्कले ती सामग्री हेरे केही फरक नपर्ने र मोडलको पनि बोल्ने अधिकार भएको जिकिर गरे ।

२०७६ जेठ २४ मा कमेडियन प्रनेश गौतमलाई प्रहरीले साइबर अपराध गरेको आरोपमा पक्राउ गर्‍यो । मिम नेपालले ‘वीरविक्रम २’ चलचित्रको प्रचार गर्छु भनेकामा दररेट नमिल्दा अस्वीकार गरेपछि आफ्नो युट्युब च्यानलमा प्रनेश गौतमको चलचित्र समीक्षा अपलोड गरेको र यसबाट निर्देशक तथा कलाकारहरूको मानप्रतिष्ठामा असर परेको उजुरी निर्देशक मिलन राईले गरेका थिए । पक्राउ परेपछि केही व्यक्तिले ‘अपाच्य’ भाषाका लागि प्रनेशको आलोचना गरे भने, धेरै व्यक्तिले ठट्यौली शैलीको समीक्षा राम्रो रहेको र पक्रिँदा उनको अभिव्यक्ति स्वतन्त्रता हनन भएको विचार राखे । प्रहरीको बढ्दो आलोचनाका कारण प्रनेशलाई करिब एक हप्तापछि रिहा गरियो ।

यी दुई प्रतिनिधि घटना मात्र हुन् । सामाजिक सञ्जालमा सामग्री राखेकै आधारमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ प्रयोग गरी धेरै व्यक्तिलाई सरकारले समातिसकेको छ । उक्त दफामा भनिएको छ– ‘विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्ने : (१) कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

(२) कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटकपटक गरेमा त्यस्तो कसुरबापत अघिल्लोपटक भएको सजायको डेढी सजाय हुनेछ ।’ तर विद्वान् र वकिलले यस कानुनको विरोध गरेका छन्, जसले यसको प्रयोगमा मुख्यतः दुइटा समस्या देखेका छन् । पहिलो, ‘सार्वजनिक नैतिकता’, ‘शिष्टाचार’ जस्ता शब्दको व्याख्या गरिएको छैन, जसबाट यी शब्दको मनलाग्दी व्याख्या सम्भव भयो ।

दोस्रो, यो कानुनको मुख्य उद्देश्य विद्युतीय कारोबारलाई व्यवस्थित गर्नु हो । अभिव्यक्ति स्वतन्त्रता, गाली बेइज्जतीसम्बन्धी अरू नै कानुन छन् । यो कानुनको चौतर्फी विरोध भएपछि २०७५ मा सूचना प्रविधि विधेयक ल्याइएको थियो तर अभिव्यक्ति स्वतन्त्रता संकुचित गरेको भनी आलोचना हुन थालेपछि नयाँ विधेयक संसद्मै विचाराधीन छ ।

स्वनियमनदोस्रो तरिका स्वनियमन हो । आफूले आफ्ना लागि आचारसंहिता बनाउन वा आफ्नो पेसाका आचारसंहितालाई पालना गर्न सकिन्छ । जुनसुकै नागरिक युट्युबर हुन सक्ने भएकाले उनीहरू आफैँले निश्चित नियम पालना गर्न सक्छन् । यसबाट युट्युबर बढी जिम्मेवार हुने सम्भावना छ । भएकै आचारसंहिता पालना गर्न सकिन्छ । युट्युबमार्फत पत्रकारिता गर्ने व्यक्तिले नेपाल पत्रकार महासंघले बनाएको पत्रकार आचारसंहिता, २०७३ पालना गर्न सक्छन्, जसमा पत्रकारले गोपनीयताको हकको सम्मान गर्नुपर्ने, गल्ती गरे सच्याउनुपर्ने, पीडितलाई थप पीडा दिन नहुने, घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने र बीभत्स दृश्य तथ तस्बिर सम्प्रेषण गर्न नहुने जस्ता बुँदा छन् । तर यस्तो आचारसंहिता धेरैजसो युट्युबरले पालना गरेका छैनन् । पीडितलाई अझ पीडा हुन्छ कि हुँदैन भन्ने विषयमा संवेदनशील नभई सामग्री पस्केका युट्युबर आलोचित हुने गरेका छन् । नग्न, बीभत्स र क्षत–विक्षत तस्बिर र दृश्यको सम्प्रेषण युट्युबरबाट धेरै हुने गरेको छ ।

युट्युबरले युट्युबकै सामुदायिक मार्गदर्शन पनि पालना गर्न सक्छन्, जसले यस प्लाटफर्ममा कस्तो सामग्री अपलोड गर्न मिल्छ वा मिल्दैन भन्ने जानकारी दिन्छ । यस प्लाटफर्मले संवेदनशील विषय (बालबालिकाको सुरक्षा, थम्बनेलको प्रयोग, नग्नता र यौनिक सामग्री, आत्महत्या र संयमलाई हानि), हिंस्रक र खतरनाक सामग्री (हारेसमेन्ट र साइबर बुलिङ, हानिकारक वा खतरनाक सामग्री, हेट स्पिच, हिंस्रक अपराधी संस्थाहरू र हिंस्रक र ग्राफिक सामग्री) बारे नियम बनाएको छ । उदाहरणका लागि, नग्नता र यौनिक सामग्रीमा पोर्नोग्राफिक प्रस्तुति नभएको सामग्रीलाई उमेरको हदभित्र राखी इमेल लगइन गरेर मात्र हेर्न सक्ने बनाउन सकिन्छ र यो बीभत्स सामग्रीमा पनि लागू हुन्छ । यस आधारमा मस्ती टक टाइमका भिडियोहरूलाई उमेरहदभित्र राख्नुपर्ने देखिन्छ । तर राखिएको छैन । बरु सुरुमै ‘प्रस्तुत कार्यक्रम मस्ती टक टाइम केवल मनोरञ्जनका लागि मात्र बनाइएको हो, यो कार्यक्रम कलाकारहरूको अनुमतिमा नै खिचिएको हो, यो भिडियोका केही भागहरू भने निर्देशित हुन पनि सक्छन्, दर्शकहरूले विवेक प्रयोग गर्न सक्नुहुन्छ’ भनिएको थियो । तर यसबाट युट्युबको मार्गदर्शन पालना भएको देखिँदैन ।

यी आचारसंहिता र मार्गदर्शन पालना गराउन युट्युबर आफैँ लाग्नुपर्छ । अनि मात्र उनीहरूले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि दर्शक, बुद्धिजीवी र नागरिक समाजको साथ पाउन सक्छन् ।

अधिकार र जिम्मेवारीका लागि सचेततेस्रो तरिका दर्शकले युट्युबरलाई सचेत गराउनु हो । दर्शकले युट्युबरको अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आवाज उठाउन र तिनलाई आफ्नो कर्तव्य पालनाप्रति सचेत गर्न सक्छन् । प्रनेशकै मुद्दामा दर्शकले सरकार र चलचित्र निर्देशकको आलोचना गरेका थिए । तिनले प्रनेशको समर्थनमा सामाजिक सञ्जालमा कमेन्ट मात्र लेखेनन्, ‘नेपाली फिल्म इन्डस्ट्रीको दादागिरी बन्द गर’, ‘नराम्रो भन्न पनि नपाउने ?’ जस्ता प्लेकार्ड बोकी जुलुससमेत निकाले । मस्ती टक टाइमको सन्दर्भमा भने धेरैले प्रहरीकै तारिफ गरेका थिए ।

त्यसमा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर धेरै व्यक्तिले आवाज नउठाउँदा नै प्रहरी प्रनेशलाई पक्रिन उक्सिएको हुन सक्ने टीकाटिप्पणी पनि भए । दर्शकले युट्युबको सामुदायिक मार्गदर्शनको पालना भए–नभएको बारेमा चासो राख्न सक्छन्, सल्लाह–सुझाव दिन सक्छन् । यतिले पनि नभए युट्युबमै उजुरी दिन सकिन्छ । हुन त युट्युबमा धेरै दर्शकले सभ्य तरिकाले सुझाव नदिई गाली गर्ने चलनै पनि छ, जसले यहाँ हुन सक्ने स्वस्थ बहसको सम्भावनालाई कम गरेको छ भने युट्युब रिसराग, द्वेष व्यक्त गर्ने माध्यम बनेको छ । यसले लोकतन्त्रको हित भने गर्दैन । युट्युबरलाई सचेत बनाउन युट्युबबारे दर्शकमा ज्ञान हुनु आवश्यक छ । युट्युब कसरी चल्छ, यसमा के गर्न मिल्छ वा मिल्दैन, यसमा पैसा कसरी कमाइ हुन्छ भन्ने जस्ता विषयको जानकारी भए मात्र दर्शकले यो भूमिका निर्वाह गर्न सक्छन् । युट्युबबारे साक्षर हुनु भनेको सामुदायिक मार्गदर्शन मात्र होइन, यो प्लाटफर्मको विशेषता पनि थाहा पाउनु हो; युट्युबले हरेक दर्शकको प्रयोग– व्यवहारको भण्डारण मात्र गर्दैन, आर्टिफिसियल इन्टिलिजेन्समार्फत विश्लेषण गरी रुचिपूर्ण सामग्री सिफारिस गर्छ र विज्ञापनदातालाई बेच्छ भन्ने थाहा पाउनु पनि हो ।

अबको बाटोयी तीन तरिकामध्ये लोकतान्त्रिक अभ्यासको प्रवर्द्धन गर्न दोस्रो र तेस्रो बढी उपयोगी हुन्छन् । कानुनी व्यवस्था कामै नलाग्ने होइन, तर यसको प्रयोग गर्दा अभिव्यक्ति स्वतन्त्रताको हनन हुन सक्छ भन्ने हेक्का राख्नुपर्छ । अत्यावश्यक र अरू व्यवस्था नहुँदा मात्र यसको प्रयोग गरिनुपर्छ । स्वनियमन पालना गर्दा नै युट्युबरहरूको विश्वसनीयता र सम्मान बढ्छ । यसमा मिडिया, नागरिक समाज र सरकारको पहल पनि आवश्यक छ ।

(महर्जन मार्टिन चौतारीका अनुसन्धाता हुन् ।)

प्रकाशित : आश्विन २८, २०७७ ०७:५५

स्रोतः https://ekantipur.com/opinion/2020/10/14/160264140614318573.html


About the Author

More Blogs