रित्ता ठाउँको इतिहास

- योगेश राज | 2021-09-24

ऐतिहासिक उपन्यास ‘रणहार’ का लागि २०७५ सालको मदन पुरस्कार प्राप्त सर्जक योगेश राजको मन्तव्य

 

रणहारका पाठक, प्रकाशक, मदन पुरस्कार गुथिका विज्ञसमिति र सभालाई धन्यवाद।

यहाँहरूले रणहारका लेखकलाई यो ठाउँमा उभिन दिनुभयो। यो ठाउँ यसअघि धेरैले ओगटिसके। आउँदा वर्षमा धेरैले ओगट्ने छन्।

उनीहरूमध्ये कतिजना जीवित छैनन्, कतिजना यहीँ छन्, कतिजनालाई यो ठाउँसित आफ्नो सम्बन्धको कुनै छनक अझै छैन।

अरू कतिजना सिर्जनशील स्रष्टाहरूले यसै ठाउँलाई आफू नपुग्ने अथवा पुग्न नचाहने ठाउँ भन्ने ठम्याएर लेखिरहेका छन्। उनीहरू सबैसित आज सम्बन्ध गाँसिएको छ। उनीहरू सबैप्रति कृतज्ञ छु।

हरेक ठाउँका धेरैवटा अर्थ हुन्छन्। तिनको इतिहासका धेरै बान्की हुनसक्छन्। इतिहास लेख्दा ठाउँले हामीलाई कसरी हेर्दो हो, र हामीले ठाउँमाथि के-के आरोप लगाउँदा हौँ भन्ने विषय वरिपरि आफूलाई लागेका दुईचार कुरा भन्ने यहाँहरूसित अनुमति चाहन्छु। ‍

स्थानकल्पनाले प्रेरित भएर हामीले आकाशमा ठाउँ बनाउँछौँ। एउटा ठाउँलाई विभिन्न स्वरूपमा ढाल्छौँ। कति गुल्जार ठाउँलाई छाड्छौँ र सुनसान बनाउँछौँ। सारमा, सबै ठाउँले हामीलाई सहेको हुन्छ। हामीमध्ये थोरै मात्र केही ठाउँको इतिहास अथवा उपन्यास लेख्न अभिशप्त हुन्छौँ।

ठाउँसँग निर्विकल्प नाता

२०५८ को दशैँताका हिमाल पाक्षिकमा एकजना लब्धप्रतिष्ठित सम्पादक-लेखकको एउटा निबन्ध छापिएको थियो।

त्यो संस्मरणमा उनले काठमाडौँ खाल्डोसँग शुरूशुरूका संसर्गका प्रसङ्ग उठाएका छन्। निबन्धको सार यस्तो थियो। आफू जन्मेर हुर्केको स्वर्गको टुक्राजस्तो गाउँ कतै थियो। त्यसलाई छाडेर यो खाल्डोमा बसेको आधा शतक भइसक्यो। गाउँले उनलाई चिनेजस्तो गर्न छाड्यो। काठमाडौँले उनलाई आफ्नो भन्दैन। उनी बाध्यताले यसको चौगिर्दाभित्र कैद भइरहे। चाहेर पनि उम्किन सकेनन्। यो गहिरोमा भासिनु उनको जीवन बन्यो (हिमाल १-३०, २०५८ असोज)।

उनको भासिनु क्रियापदले छाडेन। आजसम्म छाडेको छैन। ती लेखकसँग कुनै विमति थिएन। हुनसक्दैन। गुज्रेको आधा शताब्दीमा ठूलो संख्यामा नेपालीहरूले यस्तै अनुपस्थितिको पीडा सहनुपरेको छ। घर भएको ठाउँ, पहिलो देशमा, हामी बस्दैनौँ। हामी बित्ने ठाउँ, दोस्रो देशमा, घर बन्न सकेको हुँदैन। होमी के भाभा (संस्कृतिको अवस्थिति, सन् १९९४) लाई सम्झेर भन्ने हो भने, हामी 'तेस्रो देश'मा बस्नुको दु:खमा बाँच्छौँ।

अरूले हेर्दा हामी सङ्कर (पातलो स) हुन्छौँ। भविष्यबाट हेर्दा हामीबाटै नयाँ संस्कृति बन्न थालेको हुन्छ। हामी भने आफ्नै अलमलमा पिल्सिएका हुन्छौँ। यो उत्तर-आधुनिक नियति हो। यति बुझेपनि भासिनु क्रियाले घोचिरह्यो।

निश्चय पनि विस्थापनका धेरै जीवनी परिबन्दमा टुङ्गिन्छन्। तिनको थालनी भने सविकल्प हुनसक्छ। कतिका जीवनमा त फर्किने विकल्प बेलामौकामा कायमै देखिनसक्छ। भासिनु महँगो परेको दिन तिनले यो गर्त छाड्न पाउनेछन्। तिनलाई फर्केर जाने असजिलो सुविधा हुन्छ। तिनको फर्किने छनोट बाँकी रहन्छ। फर्केर पुग्ने कुनै ठाउँ हुन्छ। पुग्दा त्यो ठाउँ अपरिचित भइसक्ला तर पुराना चिनाजानीका सबै धागा चुँडिसकेका हुँदैनन्। त्यो ठाउँलाई आफ्नो भन्ने केही आधार र एकदुई साक्षी बचेकै हुन्छन्।

कुनै मनोहर थातथलो पछि फर्कने गरी, अथवा परिबन्दमा परेर कहिल्यै नफर्किने गरी यो खाल्डोमा पाइला टेक्न आउनेहरूको दु:ख गाह्रो हो।

 

तर यही खाल्डोमा जन्मेहुर्केकाहरूको दु:ख सोच्नुस्। यिनीहरू कहीँ जान सक्दैनन्। फर्कँदा पनि यिनले यहीँ भासिन आउनुपर्छ। प्रलय गए पनि यिनलाई भाग्ने सुविधा छैन। यो ठाउँले यिनलाई समातेको छ। माया लागोस् नलागोस्, यिनले यही ठाउँलाई बेहोर्नु छ। यिनै ढल बनेका खोला किनारमा यिनले कति पूर्वजका अस्थि सेलाएका छन्। कति स्वजनको हिक्क हिक्क जीउलाई यहीँका साँघुरा अँध्यारा छिँडीमा उतारेका छन्। टेको लगाई उभेका यिनै सत्तलमा यिनले कति आफन्तसित अन्तिम विदा मागेका छन्।

जोश मलीहावादी (सन् १८९८-१९८२) ले भने झैँ यो ठाउँसित वाक्कदिक्क लागेर यिनले घर छाडौँ भनेपनि कहाँ छाउनी लगाउलान्? यो खाल्डोसँग रिसाएर मन मारेर यिनले कहाँ घर खोज्न सक्लान्?

आखिर संरचना र संसर्गले मात्र घर बन्ने होइन। पुर्खा, जन्म र भविष्य नघोलेसम्म कुनै ठाउँमा घर बन्दैन। तपाइँलाई नसमात्ने, नतान्ने घर हुँदैन (गृह र ग्रहण पदको धात्वार्थ नजिकै छन्)। जसरी जैविक सम्बन्ध नातागोता हाम्रो छनोटमा हुँदैनन्। तिनले हामीलाई छाड्दैनन्। त्यसरी नै जो यो गर्तमा जन्मे, यिनलाई यो गर्तले छाड्दैन।

यिनीहरू यो धुलोधुँवाले धमिलिँदै, वैलिँदै खुइलिँदै गएको, आगन्तुक अतिथिको पीर मर्का र कोलाहलले त्रस्त खाल्डो छाडेर जान सक्दैनन्। यिनको प्रारब्ध यहीँ तय भयो। यिनीहरू पुर्खाको सपनाभित्र जिउन अभिशप्त छन्। परम्पराले बाँधिएका छन्। पुर्खाको कुन आदर्श चरितार्थ गर्न जन्मेका हुन् यिनीहरू जान्दैनन्। आफू वरिपरि किन निष्ठाको कर्मकाण्डको बाक्लो जञ्जाल छ यिनलाई थाहा छैन। त्यसैले यिनले ठाउँसित गर्ने प्रेम पछि झाँगिने सम्बन्धको पूर्वाभ्यास होइन।

ठाउँसँग हुने यिनको प्रेम दिइएको सम्बन्धमा पछि उत्पन्न हुनसक्ने एउटा प्रभाव मात्रै हो। यिनको घरठाउँ निर्विकल्प सम्बन्धको सञ्जाल हो। यिनले कतै रमाइलो घमाइलो हरियोपरियो ठाउँमा आफन्तमाझ दशैँ मनाएर भासिनुपर्दाको दु:ख होइन, बेग्लै प्रकृतिको - आफ्नो ठाउँको अस्तित्व नै संकटापन्न हुँदाको - दु:ख भोगिरहेका हुन्छन्।

जसका माझ जन्मिन्छौँ, ज-जसलाई आफू जन्मिँदा आफ्नो छेउछाउ पाउँछौँ, जोसँग अभ्यस्त हुनु छ, जन्मिनअघिका लेनदेन चलाउनु छ, तिनलाई बुझ्नु र सहनुको हामीसित विकल्प हुँदैन। पुर्ख्यौली वेदनासँग बल्झेको ठाउँलाई सहनुको विकल्प छैन। ठाउँलाई सहने कामको एउटा परिणाम उपन्यास हो। ठाउँको नियतिमा अल्झेको पीडा बुझ्नुको विकल्प छैन। यो बुझ्ने कामको परिणाम ठाउँको इतिहास हो। दु:ख भोग्ने सबैजनाले उपन्यास लेख्दैनन्। ती जम्मै भावनाको रापले डढेका हुन्छन्। बुझ्न खोज्ने सबैजनाले इतिहास लेख्दैनन्। ती जम्मै इतिहास-बोधको रासमुनि दबेका हुन्छन्।

इतिहास र भावनाले डढेको मानिस

ज-जसले ठाउँलाई बुझ्न इतिहास लेखे, तिनको स्थानकल्पना बाहिरिया इतिहासविद्‌भन्दा बेग्लै थियो।

परदेशी प्राज्ञहरूले यो खाल्डोमा आदर्श र अनुभवको पत्रेदार बनोट देखे। आज बगैँचा रहेको ठाउँमा तीनसय वर्षअघि बस्ती भेटे। बजारको चहलपहलमुनि पाँचसय वर्षअघि कुलो बगेको पत्तो लगाए। गरा गरा खेत पल्टाएर एक हजार वर्ष पुरानो बौद्ध मठ खोजे। तिनले भने, यो पुरातन ठाउँ हो। यहाँ अतीत सतहमै छरपष्ट छ। यहाँ एउटै घरमा छिँडीको दलान राणाकालिक देखिन्छ। चोटाको पासूकाझ्यालमा चौधौँ शताब्दीतिर बाहिरी हमला अंकित भेटिन्छ। मातंमा प्रतापमल्लको लश्कर हेर्न निहुरेको सँझ्याल छ। त्यसमाथि १९९० सालको भैँचालोपछि थपेको बार्दली छ।

अम्रिकनहरूसँगै नेपाल पसेको जस्तापाताले त्यो घर छोपेको छ। यसरी बाहिरिया इतिहासकारले यो सिँगो खाल्डोको सतहमै समयक्रमको उथलपुथल देखे। समयक्रम भङ्ग भएका संरचना पाए। तिनले शिलालेख खुट्याए, पढे, मूर्ति रचनाकाल पहिल्याए, काठका चौकोसको कार्बनडेटिङ गरे। भुइँमा भेटेका पुरावस्तु पर्गेलेर तिनले यो ठाउँको इतिहास लेखे।

कति स्थानीय इतिहासकारहरूले जीवनभर वर्तमानबाट अपमान पाए। परम्परादेखि निर्वासनको त्रास बोके। आफूलाई दिनरात घरव्यवहारमा आफन्त, गोतिया र समुदायको निगरानीभित्र पाए। आफ्नो तनमनभरी अटेसमटेस स्मृतिको उठानबैठान सहेर बाँचे।

तिनको स्थानकल्पना अतिथि इतिहासकारहरूको झैँ स्थूल सतही पुरातत्त्व हुनसक्दैनथ्यो। त्यसैले तिनले भौतिक, साँस्कृतिक र भाषिक अतिक्रमणका चिन्ह खोजे। जातीय, वर्गीय र समूहगत स्वार्थ सिद्ध गर्न अरूले लादेका हिंसाबाट क्षतविक्षत ठाउँका नाम र गतिविधि चिनाए। रैथाने र आगन्तुकहरूबीच फरकफरक ध्येय, शैली र सत्ताका प्रभाव देखाए। तिनले पर्यटकीय हातेपर्चाभन्दा फरक बान्कीमा ठाउँको इतिहास लेखे। भने, शक्तिको हानथापमा यो ठाउँको इतिहास केरमेट छ।

भुइँमा के भेटिन्छ भन्ने कुरा सत्तामा बस्नेले तय गरेका हुन्। पराजितहरूको कथा लेख्न नबोल्नेहरूको बोली सुन्न सक्नुपर्छ। संरचनाले उभिनु अथवा ढल्नुपर्दाको भय बुझ्न सक्नुपर्छ।

उपन्यास लेखक चाहिँ भावनाको रापमा डढेको मानिस हो। उसले देख्ने ठाउँको इतिहास अझ बेग्लै हुन्छ। उसलाई ठाउँले एकैपल्ट अतीत र भविष्यसँग जोड्छ। अन्तरिक्षलाई कसैको जीउसँग जोडेपछि दिशा बन्ने हुन्। आकाशलाई कसैको आत्मासँग जोडेपछि ठाउँ बन्ने हुन्।

उपन्यास लेखकले ठाउँलाई आफ्नो जीउ र आत्मासँग जोड्छ। त्यसैले जहाँ खाली ठाउँ हुन्छ, त्यहाँ उसले भूत देख्छ। भूत भनेका अशरीरी। ठाउँ खाली नहुँदा त्यहाँ मानिस, जीवजन्तु, चीजबिज, संरचना देख्छ। तिनको अतीत देख्छ, भविष्य देख्छ। अरूले भविष्यमा विमानस्थल देखिरहेका बेला उसले पर्सिसकेको सिँगो जङ्गल देख्छ। अरूले आज विमानस्थल देखेका ठाउँमा उसले पशुपतिकहाँ चढाइएका साँढेका निम्ति छाडेको गौचर देख्छ। मैदानको रमाइलोभित्र भावनाको बलैले उसले घाँसको दु:ख देख्छ। रित्ता कुनामा बितिसकेको मानिसको स्वर सुन्छ। तपाईँले र मैले नबोल्दा बचेको खाली ठाउँमा पुर्खाले बोलेका शब्द सुन्छ।

ऊ भन्छ, तिनले बोलेका कति शब्दले अझै आश्रय पाएका छैनन्। हाम्रो बोलीको साम्राज्यमा नजन्मेका सन्तानका बोली अझै अटेका छैनन्। उपन्यास लेखकले भावनाको बलले ठाउँको इतिहास खोज्छ। उसको स्थानकल्पना, काश्मीरी शैवहरूले भने झैँ, भावनाको बलले फेरि फेरि हेर्ने र नाप्ने अभ्यास गरेपछि संसारमा चलबलाउन थाल्ने, आकारप्रकार रङ स्पष्ट हुन थाल्ने कालको जीउ हो (काश्मीरशैवदर्शनबृहत्कोष: पृ. ७८४)।

विवरणको अर्थ

भावनाको रापले डढेको मानिसको निम्ति ठाउँको इतिहासको मूल प्रश्न को आदिवासी अथवा रैथाने हो भन्ने होइन। कसलाई कुन आधारमा कस्तो अग्राधिकार दिने भन्ने मात्र पनि होइन।

मूल प्रश्न त अतीतसँग कसैले आत्मीय हुने संस्कार गर्छ गर्दैन भन्ने हो। कसैले पुर्खाका नि:शब्द आकांक्षालाई जीउभरी बोक्ने अभ्यास गर्छ गर्दैन। कसैले पेटीका ढुंगामा बितेका मानिसहरूको न्यानो सेक्छ सेक्दैन। कसैले पोखरीको पानीमा अशरीरी मानिसको गन्ध सुँघ्छ सुँघ्दैन। कसैले खेतको माटोमा अकर्तृ हातको खरानी भेट्छ भेट्दैन। गल्लीमोड, पाटी, ढुंगेधारा, दलान दोबाटोमा बितीसकेकाहरूको गन्थन सुन्छ सुन्दैन भन्ने हो। उसको उपन्यासमा देखापर्ने ठाउँको इतिहास यस्तै विवरणले भरिएको हुन्छ।

हामी बितेपछि हामीमध्ये धेरैजना आ-आफ्नै कुरा मनमनै आफैसँग कुरा गर्दै कतै बस्नेछौँ। हामीमध्ये थोरै चाहिँ अरूको आख्यानभित्र पस्नेछौँ। त्यतिबेला हामी आफ्ना कुरा राख्न सक्दैनौँ। अरूले हाम्रो व्याख्या गरिदिन्छन् (हिलारी म्यान्टेल, रिथ लेक्चर्स २०१७)। व्याख्या भन्नु वास्तवमा अनुपस्थितिको दसी हो।

तर धेरैजना इतिहासकारहरू तर्क र व्याख्या गर्न माहिर भएपनि आफ्नो विधागत अनुशासनमा ती यति वासनाबद्ध हुन्छन् कि तिनले अनुपस्थिति देख्दैनन्, देख्न चाहँदैनन्। विवरणबाटै तर्क प्रस्तुत गर्न खोज्ने एकाध इतिहासकार भेटिन्छन्। यिनीहरू प्राय: ठाउँका इतिहासकार हुन्छन्।

उपन्यास लेखक अझै भिन्न छ। उसले विवरण दिन्छ, व्याख्या गर्दैन। उसको विवरण शब्द-आडम्बर जस्तो सुनिन सक्ला। उसले सतही र बाहिरी तथ्य मात्र देखाउन खोजेजस्तो लाग्ला। विवरणबाट पाठकहरूलाई दृश्यमा अलमल्याउन खोजेजस्तो लाग्ला। तर लेखक अनुभवी छ। पाठकहरू अलमलिन चाहँदैनन्। तिनमा त्यति धैर्य हुँदैन। तिनीहरू रित्तो पृष्ठभूमितर्फ ध्यान दिन थाल्छन्। दृश्य होइन, त्यसको इतिहासप्रति तिनीहरू सजग हुन थाल्छन्।

उपन्यास लेखकले विवरणबाट लिन खोजेको काम वास्तवमा यो हो। विवरणलाई जति बाक्लो बनायो, त्यति उपन्यास लेखकले पाठकहरूलाई ठाउँको इतिहास र भविष्यतिर लग्न खोजेको हो भन्ने हामीले बुझ्नुपर्ने हुन्छ। यो तथ्य मध्यकालिक कलाको आदर्श थियो भन्ने कुरा त्यति वेलाका भित्तिचित्र र काष्ठशिल्प देखिने ठाउँ र तिनमा रहेको मिहिन कलालाई हेर्दा स्पष्ट हुन्छ।

अन्त्यमा

यो मन्तव्यमा विचारका तीन पाइला यहाँहरूले भेट्नुभयो होला।

पहिलो, पुर्खा, जन्म र भविष्य घोलेपछि कुनै ठाउँ हाम्रो घर बन्छ। त्यो ठाउँले हामीलाई सहन्छ। प्रेम होस् नहोस्, हामी पनि त्यो ठाउँलाई नियति मानेर बेहोर्छौँ।

दोस्रो, ठाउँलाई सहँदा र बुझ्दा ठाउँको इतिहास र उपन्यास लेखिने हो। यस्ता इतिहास अतिथि प्राज्ञहरूको सतही पुरातत्त्वभन्दा गहिरा हुन्छन्। ठाउँको नाम र स्वरूपमा शक्तिको केरमेट देखाउने गरी रचिन्छन्। तर भावनाले डढेको उपन्यास लेखकलाई अग्राधिकारको प्रश्न महत्त्वपूर्ण लाग्न सक्छ, पर्याप्त लाग्दैन। उसको स्थानकल्पमा भावना प्रबल हुन्छ। त्यसमा ठाउँको अतीत र भविष्य दुवैको अनुपस्थिति बोल्न थाल्छ।

तेस्रो, उपन्यास लेखकले विवरणलाई औजारसरह प्रयोग गर्छ। उसले दृश्यमान जगत् जति मिहिन ढंगले देखाउँछ, पाठक त्यति विवरणको पृष्ठभूमिबारे सजग हुन्छ। रित्तिसकेका ठाउँमा इतिहास र भविष्यका विभिन्न बान्की देख्न थाल्छ। ऐतिहासिक उपन्यास वास्तवमा विवरणात्मक आख्यान हो। आफै बोल्न नसक्ने रित्ता ठाउँ रहेको देश नै उसको उपन्यास हो। ती रित्ता ठाउँलाई कुनै बेला ओगटे पनि अहिले बितेका जीवजन्तु र नरहेका चीजबिज जम्मै सजीव भएर बोल्ने देश नै उसको उपन्यास हो।

नेपाली इतिहास र ऐतिहासिक उपन्यास लेखनमा स्थानकल्पनाका बान्की छुट्टै अध्ययनको विषय हो। अहिलेलाई ठाउँको इतिहास र उपन्याससम्बन्धी मन्तव्य यो छोटो मुखबन्धमै टुङ्ग्याऊँ।

मलाई सहनु भएकोमा यहाँहरू सबैलाई धन्यवाद।

स्रोतः http://himalkhabar.com/news/14938


About the Author

More Blogs