डेथ अफ एन इण्डस्ट्री : द कल्चरल पोलिटिक्स अफ गार्मेन्ट म्यानुफ्याक्चरिङ ड्युरिङ द माओइस्ट रेभोलुशन इन नेपाल - समाज अध्ययन १४
2021-09-28मल्लिका शाक्य । सन् २०१८ । डेथ अफ एन इण्डस्ट्री : द कल्चरल पोलिटिक्स अफ गार्मेन्ट म्यानुफ्याक्चरिङ ड्युरिङ द माओइस्ट रेभोलुशन इन नेपाल ।
न्यु दिल्ली : क्याम्ब्रिज युनिभर्सिटी प्रेस ।
मानवशास्त्री मल्लिका शाक्यद्वारा लिखित डेथ अफ एन इण्डस्ट्री : द कल्चरल पोलिटिक्स अफ गार्मेन्ट म्यानुफ्याक्चरिङ ड्युरिङ द माओइस्ट रेभोलुशन इन नेपाल नेपाली गार्मेन्ट (तयारी पोशाक) उद्योगको उद्भव, विकास र अवसानको अवसाद कथा हो । आर्थिक मानवशास्त्रको विधागत अनुशासनमा रहेर लेखिएको यो पुस्तक नेपालमा कुनै बेला फस्टाएको, हजारौँ नेपाली र भारतीयलाई समेत रोजगारी दिन सफल र विदेशी मुद्राको आकर्षक स्रोत रहेको गार्मेन्ट उद्योगको अन्त्यको एक अनुपम अर्थराजनीतिक र ऐतिहासिक विश्लेषण हो । यो पुस्तकलाई नेपालको गार्मेन्ट उद्योगको उत्थान र पतनको “एथ्नोग्राफी” भन्न सकिन्छ । नेपाली राजनीतिको विशिष्ट कालखण्ड माओवादी सशस्त्र द्वन्द्वकाल (सन् १९९६–२००६) मा गार्मेन्ट उद्योग सञ्चालन र विनासको सांस्कृतिक राजनीतिको बारेमा यो पुस्तक केन्द्रित छ । तसर्थ, गार्मेन्ट उद्योगको अर्थराजनीति मात्र होइन निकट विगतको भोगाइ र परिणाम आकलनमा रुचि हुनेका लागि पनि यो सान्दर्भिक पाठ्य सामग्री हुन सक्छ ।
पुस्तक सात अध्यायमा विभाजित छ । पुस्तकको पहिलो अध्यायमा अध्ययनको मूल अवधारणालाई प्रस्तुत गरिएको छ, र यसमा लेखकले अध्ययनको मूल प्रश्न, अध्ययन विधि, नेपालमा औद्योगिक विकासको सन्दर्भ र सैद्धान्तिक अवधारणाबारे व्याख्या गरेकी छन् । दोस्रो, तेस्रो र चौथो अध्यायमा नेपाल र गार्मेन्ट उद्योग (गार्मेन्टको नेपालीकरण), गार्मेन्ट उद्योग बारेको सार्वजनिक बुझाइ, गार्मेन्ट उद्योगमा संलग्नहरूको पृष्ठभूमि, उद्योग सञ्चालनका जटिलता र यसको अन्तर्राष्ट्रिय सन्दर्भबारे छलफल गरिएको छ । साथै, मजदुर युनियन, माओवादी द्वन्द्व र गार्मेन्ट मजदुरको संलग्नता र सिंगो उद्योगमा त्यसको प्रभाव आदिबारे यहाँ विश्लेषण गरिएको छ ।
पाँचौँ अध्यायले नेपालको गार्मेन्ट उद्योगको अन्तर्राष्ट्रिय सन्दर्भ र उद्योगको परनिर्भरताबारे चर्चा गर्छ । नेपालले पाएको तयारी पोशाकको निर्यात सुविधाको अन्त्य र उद्योगको पतन र त्यसबाट सिर्जित अवस्थाको वृत्तान्त केवल गार्मेन्ट उद्योगको सन्दर्भमा मात्र होइन कि समग्रमा नेपाली उद्यमी र राज्यले सिक्न पर्ने पाठ पनि हो । छैठौँ र सातौँ अध्यायमा क्रमश: खास राजनीतिक कालखण्डमा गार्मेन्ट उत्पादन र निर्यात बिक्रीसँग सम्बन्धित मान्छेको कथा र उद्योगको अवसानपछि तिनै मान्छेको हविगतको कथा मिहीन र सूक्ष्म तवरले बयान (थिक डिस्क्रिप्शन) गरिएको छ । यस्तो व्याख्या-विश्लेषणका कारण यो पुस्तक आर्थिक मानवशास्त्रको नेपाली सन्दर्भमा अनिवार्य पठन सामग्री बन्न पुगेको छ ।
पुस्तकले नेपालमा गार्मेन्ट उद्योगको कथा रोचक ढंगले प्रस्तुत गरेको छ । अमेरिकाको सियाटलस्थित भारतीय राष्ट्रिय पहिचान झल्कने रेडिमेड गार्मेन्ट वितरक गुजराती मूलका दुई केन्याली दाजुभाइ (राज शाह र अखिल शाह) सन् १९८१ मा नेपाल आए । यी दाजुभाइ आफ्नो वितरण कम्पनी (शाह सफारी) लाई पर्याप्त हुने गरी तर सस्तोमा आफ्नो ढाँचा अनुसारको उत्पादन गर्न एक “फ्रान्चाइज” खोल्न चाहन्थे । तर यता आएपछि उनीहरूले निर्णय बदल्दै दर्जन हाराहारीका व्यापारी व्यवसायीलाई आफ्नो ढाँचा अनुसारको गार्मेन्ट उत्पादन गर्न लगाउने र उक्त उत्पादन किन्ने विचार गरे । यो उपक्रम सफल भएपछि केही वर्षमा नै अमेरिकास्थित शाह सफारीलाई नेपालबाट गार्मेन्ट निर्यात गर्नेहरू ह्वात्तै बढे । शाह सफारी बजारको रुचि अनुसारको “डिजाइन” गर्न खप्पिस थियो । र उसको बजार विस्तारसँगै नेपाली गार्मेन्टको उत्पादनमा नाटकीय रूपमा विस्तार भयो । यो नै सुषुप्त अवस्थामा रहेको र धेरै नेपाली उद्यमी समेतको काल्पनिकीमा समेत नरहेको नेपाली गार्मेन्ट उद्योगको उत्थानको महत्त्वपूर्ण कथा थियो । नेपाली गार्मेन्टको उत्कर्ष चाहिँ सन् १९९० दशकको अन्तिम वर्षहरू थिए ।
आन्तरिक रूपमा तत्कालीन द्वन्द्वरत माओवादी र तिनको गार्मेन्ट उद्योगका मजदुरमा परेको प्रभाव र गतिविधिका कारण सिर्जित असहज परिस्थिति, र बाह्य रूपमा सन् २००४ पछि निर्यात कोटामा गरिएको व्यवस्थाको अन्त्य (मल्टी फाइबर एग्रिमेन्ट अवधिको विघटन) सँगै नेपालमा तयारी पोशाक उद्योग धराशायी हुन पुग्यो । यसलाई शाक्यले सुनामी धक्काको संज्ञा दिएकी छन् । यस्तो कोटा प्रणालीबाट दक्षिण एशियामा सबैभन्दा बढी फाइदा नेपालले नै पाएको थियो, तसर्थ यस प्रणालीको अन्त्य हुँदा सबैभन्दा बढी घाटा पनि नेपालले नै बेहो¥यो । उद्योग धराशायी बनेसँगै यसमा संलग्न मजदुर, व्यवसायी र यसमा आश्रित अन्य साना व्यवसायी समेत ठूलो मर्कामा परे । स्वाभाविक थियो कि यसबाट मजदुरहरू नै ज्यादा मारमा परे । लेखकको मत छ—तत्कालीन समयमा धेरैले सोच्ने गरे जस्तो नेपाल (सरकार) को आन्तरिक प्रयासले मात्र डुब्दो उद्योग जोगाउन पर्याप्त हुने थिएन ।
पुस्तकले नेपालमा गार्मेन्ट उद्योगको अवसान केवल एउटा नितान्त आर्थिक वा अर्थशास्त्रीय परिघटना मात्र थिएन भन्ने प्रस्ट पार्छ । नेपाली अर्थतन्त्र बुझ्न कोरा अर्थशास्त्र बुझ्नु मात्र पर्याप्त छैन, यसको सांस्कृतिक-राजनीतिक पाटो पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । यस पुस्तकमा यस्ता अनेक दृष्टान्त छन् । नेपालमा तयारी पोशाक उद्योगको उभार र अवसान न केवल आर्थिक परिघटना मात्र थियो न त सांस्कृतिक मात्रै, बरु ती दुई र अन्यको योगको प्रतिफल र परिणति थियो भन्ने लेखकको तर्क छ ।
यो पुस्तक नेपाली गार्मेन्ट उद्योगको उत्थान र पतन बुझ्ने महत्त्वपूर्ण अध्ययन सामग्री हो । यसले विकासलाई गैर-राजनीतिक प्रक्रिया ठान्ने वा विकास र राजनीति अलग गर्नु पर्छ भन्ने आग्रहलाई पनि गलत सावित गर्छ । त्यस्तै, यस पुस्तकको पठन मार्फत आर्थिक वृद्धि, ज्याला, प्रतिस्पर्धा, उत्पादन र उत्पादक शक्ति (मजदुर) को कामको अवस्था आदिलाई अलगथलग गरेर वा टुक्राटुक्रीमा व्याख्या-विश्लेषण गर्ने अर्थशास्त्रको सान्दर्भिकता नभएको निष्कर्ष पनि निकाल्न सकिन्छ । एउटा पर्याप्त पूँजी लगानी गरेर नाफाका लागि गरिने उद्योगको जीवनमा वर्गीय बाहेक व्यक्तिगत वा सामूहिक पहिचान हुन्छ भन्ने भूमिकालाई समेत यो पुस्तकले उजागर गरेको छ ।
यो पुस्तकले नेपाली गार्मेन्ट उद्योगको उत्थान र पतनलाई समग्र अर्थराजनीतिक, सामाजिक-सांस्कृतिक र ऐतिहासिक सन्दर्भमा राखेर बुझ्नु पर्छ भन्ने विषयलाई राम्रोसँग उठाएको छ । कुनै घटनालाई ऐतिहासिकतामा बुझ्ने यो दृष्टिकोण खास गरी समाज विज्ञानका विद्यार्थीका लागि उपयोगी “टिप्स” पनि हो । यस पुस्तकका व्याख्या-विवरण यसरी समृद्ध हुनुको अर्को कारण यो कुनै करार गरेर खास समय सीमाभित्र लेखिसक्नुपर्ने बाध्यतामा लेखिएको पुस्तक थिएन । त्यसैले यो पुस्तक शाक्यको झण्डै दुई दशकको निरन्तर र अथक लगाव एवं परिश्रमको परिणाम थियो । यसले ज्ञान निर्माणको कठिन प्रक्रियालाई पनि अभिव्यक्त गर्छ ।
खास विधा र पद्दतिको विशिष्टता सहित लेखिएको पुस्तक भए पनि आम पाठकका लागि समेत रुचिकर हुने थुप्रै सन्दर्भ यो पुस्तकमा छन् । जस्तै, कसरी व्यक्ति वा संस्था जातीय, वर्गीय र शक्ति संरचनाका बृहत् सामाजिकताको एउटा अंग र अंश हुन् ? कसरी व्यक्तिगत वा सामूहिक पहिचानले उसको जीवन निर्वाह वृत्तिमा समेत गहिरो प्रभाव पर्छ ? कसरी व्यक्तिले गर्ने कामले उसको वर्गीय अवस्थिति मात्र होइन उसको पहिचान र दैनिक जीवनको अहम् समेत निर्धारण गर्छ ? साथै, कस्तो थियो शहरी मजदुर-केन्द्रित माओवादी नीति ? माओवादीमा भएको फुट र त्यसले मजदुर वर्गमा पारेको प्रभावले अन्ततोगत्वा उद्योगमा कस्तो असर ग¥यो ? आदि रुचिकर जानकारी पुस्तकमा छन्, जब कि कतिपय उद्योगपति तिनै युनियनले आफ्नो उद्योग बन्द गराएको ठान्छन् । सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको पुस्तकले नवउदारवादले नेपाली राष्ट्रिय पूँजीमा आधारित उद्योगको निर्माण र सञ्चालन गर्न के-कस्ता जटिलता र बाधा ठड्याउन सक्छ भन्ने सन्दर्भ बुझाउँदछ । यसर्थ, समृद्धिको अथाह दौडमा लागेका नीति निर्माता र विश्लेषकका लागि यो पुस्तकले गम्भीर भएर सोच्न प्रशस्त सन्दर्भ र एउटा बृहत्तर झलक दिन सक्छ ।
आर्थिक मानवशास्त्रमा रुचि भएको एक शोधार्थीको नाताले यो पुस्तकको बिसौनीमा आउने एउटा खुला प्रश्नले मलाई आकर्षित गरेको छ—विगतको तयारी पोशाकको चिहानभन्दा पर गएर नयाँ नेपालमा राजनीतिक र सांस्कृतिक संश्लेषण सहितको विकास अध्ययनको समस्या कथन कसरी निर्माण हुन सक्ला (पृ. १४०) ?
हो, अबको सन्दर्भमा यस प्रश्नको वरिपरि बहसहरू घनीभूत हुनु पर्दछ । क्याम्ब्रिज युनिभर्सिटी प्रेसले सन् २०१८ मा प्रकाशित गरेको १६२ पृष्ठको यस पुस्तकलाई आम पाठक र खास गरी विद्यार्थीको पहुँचमा पु¥याउनका लागि यसको नेपाली भाषा अनुवाद अपेक्षित छ ।
सुरेश ढकाल
त्रिभुवन विश्वविद्यालय








