अहिले संसारभर जे भइरहेको छ, अचम्म भइरहेको छ । यी घटनावली दिनदिनै र जताततै भएकाले हामी कतिपयलाई सामान्य नै जस्तो लाग्दो हो । तर अलि ठन्डा दिमागले, अलि निरपेक्ष भावले सोच्ने हो भने खासमा अहिले जताततै अनौठै र उल्कै भैरहेको छ । हामीले पढिआएका पुस्तक, हाम्रा संग्रहित ज्ञान, हाम्रो समाज विज्ञानले अहिले जे भैरहेको छ, त्यसलाई व्याख्या गर्न, बुझाउनसकेका छैनन् । तिनले तर्कहरूलाई धुलो चटाइदिएका छन् ।
यो आलेख अहिले हामीले जिइरहेको समय— जसलाई मैले भनेको छु— बुझ्ने र अर्थ लगाउने मेरो एउटा सानो प्रयत्न हो । समय असामान्य भएका कारण सामान्य समयका सामाजिक–राजनीतिक सिद्धान्तहरूले काम गरिरहेका छैनन् । हामी सबैजसोले आफूलाई पीडित (भिक्टिम) को रूपमा देखिरहेकाले हामी रातोदिन आवेग, उत्तेजना र क्रोधमा छौं, जुन असामान्य हो । हामी उत्तेजनामा हुँदा त्यसले के गर्दो रहेछ र हाम्रो आक्रोशलाई कसरी नयाँ दुई परिस्थिति— पीसी कल्चर र (अ)सामाजिक मिडिया—ले थप मलजल गरेका छन् भनेर यो आलेखमा मैले चर्चा गरेको छु ।
किन असामान्य समय ? हामी सिधा हिसाबले कुनै मुद्दा या विषयसँग जोडिन्छौं, हामीले निरपेक्ष हिसाबले त्यसलाई पर्गेल्ने क्षमता गुमाउँछौं । कि त भौगोलिक कि त समयको हिसाबले दूरी बनाउँदा हामीले अलि राम्ररी देख्न–बुझ्न सक्छौं र हाम्रो विश्लेषण गहन हुन्छ जस्तो मलाई लाग्छ । त्यसैले कुरा अलि टाढैको मुलुक संयुक्त राज्य अमेरिकाबाट सुरु गरौं । अमेरिकामा सन् २००८ को राष्ट्रपतीय निर्वाचनमा अर्धश्वेत बाराक ओबामा विजयी भए । अमेरिका जस्तो पुरातनपन्थी–बहुल मुलुकमा उनको चयनलाई प्रगतिशीलताको विजयको रूपमा हेरियो । उनी अर्कोपटक पनि चुनिए । ओहो, साँच्चै जमाना फेरिएछ, समयले ठूलै फड्को मारेछ भनियो ।
तर उनी लगत्तै अमेरिकामा यस्तो व्यक्ति निर्वाचित भए (हुन त उनले आफ्नो प्रतिद्वन्द्वीभन्दा करिब ३० लाख कम मत पाएका हुन्) जो धेरै हिसाबले ओबामाभन्दा ठ्याक्कै विपरीत देखिन्छन् । डोनाल्ड ट्रम्पको विजयमा अन्य पक्षका अतिरिक्त ती मतदाताको ठूलै भूमिका छ, जसले पहिले ओबामालाई मत दिएका थिए र पछि ट्रम्पलाई मत दिए । ओबामालाई भोट हालेको व्यक्तिले लगत्तैको चुनावमा ट्रम्पजस्तो व्यक्तिलाई अमेरिकाको सर्वोच्च पदमा कसरी सहजै मत दिन सक्छ, प्रश्न उठ्छ ।
कुनै राम्रो र नैतिक काम गरेपछि मानिसहरूलाई अर्को नराम्रो वा अनैतिक काम गर्न मनले छुट दिने मनोवैज्ञानिक प्रक्रियालाई ‘मोरल लाइसेन्सिङ’ भनेर व्याख्या गरिएको पाइन्छ । यहाँसम्म ठिकै छ, ‘मोरल’ या ‘सेल्फ लाइसेन्सिङ’का कारण मतदाताले एउटा अनैतिक वा नराम्रो काम गरे भनेर मानौं । तर निर्वाचनपछि मात्रै सार्वजनिक भएका ट्रम्पका हर्कत र उनका झुटका फेहरिस्त (आफू निर्वाचित भएयता उनले १५ हजारभन्दा बढीपटक झुट बोलिसके) हेर्ने हो, उनलाई मत दिने जनता पछुताउनुपर्ने हो । त्यस्तो भएको छैन, अमेरिकी मूल्य–मान्यताको कुरा गरेर नथाक्ने रिपब्लिकनहरू र अझ इभान्जेलिकल क्रिस्चियनहरू एउटा नश्लवादी, महिलाद्वेषी, र झुठ र फरेबको पिण्डको समर्थन र प्रतिरक्षामा अटल उभिएका छन्, उनले जेजस्तो घिनलाग्दो हर्कत गरे पनि । त्यसैले यो वर्ष हुने निर्वाचनमा उनी पुन: विजयी भए भने त्यो अनौठो मानिने छैन ।
भर्खरै बेलायतमा भएको निर्वाचन वा छिमेकी भारतको संसदीय निर्वाचनमा पनि त्यस्तै भयो । वर्षौंदेखि लेबर पार्टीलाई मत दिएर आएकाहरू र आफूलाई अझै लेबर समर्थक भन्नेहरूले खुला रूपमा ‘हो, हामी धनीहरूको, उद्योगीहरूको हित हेर्छौं’ भन्नेहरूलाई मत दिए, लेबरलाई हराए । भारतमा हालैको लोकसभाको निर्वाचनअघि र पछि भएका विधानसभा निर्वाचनमा मतदाताले भारतीय जनता पार्टी (भाजपा) लाई रुचाएनन् । तर लोकसभामा पुन: नरेन्द्र मोदी र भाजपालाई विजयको ताज पहिर्याइदिए, पहिलेभन्दा ज्यादा सिटसहित ।
यो त्यही मोदी/भाजपाको सरकार हो, जसले लिएका नीतिका कारण, चाहे त्यो ‘डिमनिटाइजेसन’ होस् वा ‘जीएसटी’, सामान्य भारतीयको खल्तीमा प्वाल पर्यो । हामीले देख्दै, पढ्दै, बुझ्दै आएको कुरा के हो भने ‘अर्थ’ ले ठूलै अर्थ राख्छ । प्रतिस्पर्धात्मक राजनीतिमा सत्तामा भएको दलले मुलुकको आर्थिक स्थिति सुधार्दैमा त्यो दलले आउने चुनावमा राम्रै गर्छ भन्ने छैन । तर सामान्यतया जुन सरकारका पालामा जनताको जीवनस्तर खस्कन्छ, त्यो दलले आउने चुनावमा सत्ता गुमाउँछ । तर भारतमा, बेलायतमा त्यो भएन । अहिले ‘इट्स द इकोनोमी, स्टुपिड’ भन्नेहरू स्वयंलाई चुनावी नतिजाले मूर्ख देखाइरहेका छन् ।
मानिसहरू आफ्नो खल्तीमा लामो हात गर्ने दल/व्यक्तिलाई समेत मत दिइरहेका छन् । हिजो काश्मीरमा भाजपाले जे गर्यो र आज मुलुकैभरि आफ्नै नागरिकमाथि जे गर्दैछ, त्यो अकल्पनीय छ, यद्यपि त्यसलाई पनि पूर्वीय संस्कृति र मूल्य–मान्यता भन्दै ठूला कुरा गर्नेहरू जोडतोडले समर्थन गर्दैछन् । यो फगत ‘फल्स कन्ससनेस’को कुरामात्र होइन ।
आवेग र पीडितको मनोविज्ञान किन हामीहरू सही–गलतको भेद छुट्याउन सकिरहेको छैनौं ? किन हाम्रो समाज सामूहिक अधपतनको दिशामा गइरहेको छ ? किनभने अहिले हामीहरू सबैजसो या त उत्तेजित छौं या क्रोधित । एकादुई व्यक्तिको म कुरा गरिरहेको छैन । उत्तेजित हुनु, आक्रोशित हुनु स्वाभाविक हो । हामी पहिले पनि हुन्थ्यौं, तर कहिलेकाहीँ । तर अहिले दिनैभर जस्तो आवेगमा हुन्छौं । दिमागमा आवेग, आक्रोश, प्रेम, रिस, घृणा हुँदा हामीले सोच्ने, विचार्ने, लामो दूरीमा राखेर निरपेक्ष हिसाबले हेर्ने काम कठिन हुन्छ । हामी जीवनका फगत दुई रङ कालो र सेतो देखिरहेका छौं, ती दुई बीचको ठूलो खैरो रङ छुटाइरहेका छौं ।
हामी निरन्तर आवेगमा, उत्तेजनामा किन छौं भने सबैले आफूलाई पीडित देखिरहेका छौं, अरूलाई पीडक । पहिले दमित, शोषित भनिएकाहरू अहिले धेरै हदसम्म बिउँतिएका छन् । व्यक्ति र संस्था (सिस्टम) मिलेर आफूहरूलाई दमनचक्रको घानमा पिसेको उनीहरू देखिरहेका छन् । त्यसैले हक–अधिकारका लागि उनीहरू संघर्ष गरिरहेका छन् ।
उनीहरू दुई कारणले आक्रोशित छन् । एक त दमनचक्रको सपाट तस्बिर हुँदा पनि दमनकारीहरू र ‘प्रिभिलेज्ड’ हरू यो मान्न तयार छैनन् कि उनीहरू दमन गरिरहेछन्, विशेष सुविधा पाइरहेका छन् । दोस्रो, उनीहरू आफैप्रति पनि आक्रोशित छन्, किन यतिका वर्षदेखि हामी यो सहेर आइरहेको भनेर । हामीहरू के हेरिरहेका थियौं भनेर । यसले उनीहरूलाई निरन्तर आवेगको अवस्थामा राखेको छ । उनीहरू आफू जस्तैसँग एकाकार हुन खोजिरहेका छन् । र व्यक्ति/संस्थाको दमनको प्रतिकार गर्न चाहन्छन् ।
अर्कोतर्फ दमनकारीहरू त आतंकित हुने नै भए, दमितहरूका पहिले कहिल्यै नदेखिएका, नसुनिएका समवेत स्वरहरूबाट । हिजोसम्म प्रिभिलेज्ड भएकाहरू पनि भयभित र आक्रोशित छन् । एक त विशेष सुविधा खोसिने डरले । अझ अर्को ‘आफूले नगरेको दोष’ भागी हुनपरेकाले । उनीहरूलाई लागिरहेको छ, ‘होला विगतमा केही भयो होला, दमन पनि, उत्पीडन पनि भयो होला । तर त्यसमा मेरो दोष होइन नि । न मैले कुनै उत्पीडन गरेको छु, न कसैको निगाहबाट केही पाएको छु ।’ उनीहरू भनिरहेका छन्, ‘विगतका कसै अरूका कमी–कमजोरी या बदमासीका कारण मैले अहिले पीडित हुनपर्ने ? मेरो अधिकार खोसिने ?’ यो भयले उनीहरूलाई सगोल बनाइरहेको छ ।
त्यसैले हामी सबका–सब आफूलाई पीडित ठानिरहेका छौं । र आफू जस्तैको साथ खोजिरहेका छौं । गुणदोषका आधारमा होइन, ‘मेरिट’ को आधारमा होइन, मजस्तै मेरो रूपको, मेरो जातको, मेरो लिंगको, मेरो ठाउँको आदि भनेर पक्ष लिइरहेका छौं । गलत होस्, केही भएन । कामचोर या नैतिकहराम, केही फरक परेन । मजस्तै हो, मेरो बिरादरीको हो, सकियो । सबैजना भयाक्रान्त भएकाले गर्दा हामीमा ‘प्राइमेट इन्स्टिङ्कट/लोयल्टी’ हावी भएको छ । आफ्नो बथानको खोजी छ, त्यहाँ । राम्रो–नराम्रो, असल–खराब, सही–गलत केही हेरिएको छैन ।
पीसी कल्चर र (अ)सामाजिक सञ्जाल पछिल्लो समयका दुई परिस्थितिले यो बथाने मनस्थितिलाई परिपोषण गरिरहेको जस्तो मलाई लाग्छ । एउटा हो, ‘पीसी कल्चर’ । निजी र सार्वजनिक जीवनमा एक–अर्कालाई नजिस्क्याई, नहियाई, नहोच्याई बोल्ने कुरालाई हामी ‘पोलिटिकल करेक्टनेस’ भन्न सक्छौं । मैले लेख्ने–बोल्ने कुराले अरूलाई नदुखाओस् भनेर म सचेत हुन्छु र धेरै हिसाबले त्यसो गर्न उपयुक्त नै हो भन्ठान्छु (जस्तो कि यो कुरा यहाँ गरौं कि नगरौं, लेखौं कि नलेखौं भनेर मलाई ठूलो द्विविधा थियो) । तर हामीले यो पीसीलाई अर्कै तहमा त पुर्याएनौं ?
म हुर्कंदा घरमा ‘काले’ पनि भएर हुर्किएको हुँ । माया गर्दा पनि काले र गाली गर्दा पनि । फगत ‘टोन’ फरक । स्कुल/कलेज पढ्दा हामी सबैजसोका हाजिरी खातामा लेखिनेभन्दा भिन्न नाम थिए । जिस्क्याउन राखिएका ती कति नामले हामीलाई बिझ्थ्यो होला, तर कतिले सहजै लिएका हुन्थ्यौं । म मेरा अत्यन्त नजिकका साथी बाहेक अरूलाई अहिले ती नामले सम्बोधन गर्दिन । कहिलेकाहीँ साथीहरूको इमेल पाउँदा मुन्तिर त्यही जिस्किने/जिस्काउने नाम पाउँदा पुलकित हुन्छु ।
घरमा, स्कुले जीवनमा (वा कलेजमै पनि) सुन्दै, बोल्दै आएका ती कतिपय नाम, शब्द हामी सार्वजनिक जीवनमा प्रवेश गर्नासाथ उच्चारण गर्न सक्दैनौं । अरू त अरू, साहित्य लेखनमा समेत बाँधिनुपर्ने भएको छ । कुनै पात्रले कसैको भावनामा चोट पुर्यायो भने लेखकको हुर्मत लिइन्छ । कथं कतै अनौपचारिक कुराकानी गर्दा केही फुस्कियो भने त्यसले पनि वितण्डा मच्चाउँछ । यसरी सानैदेखि र अनौपचारिक रूपमा सुनी–बोली आएका हाम्रा अभिव्यक्तिमा अकस्मात र अत्यधिक लगाम कसिँदा त्यसले हामीलाई ‘स्ट्रेस’ मा धकेलिरहेको छ । तर सार्वजनिक रूपमा अभिव्यक्त गर्न नपाएका कतिपय ती कुरा हामीले अर्कै ठाउँमा, अर्कै हिसाबले अभिव्यक्त गरिरहेका छौं । या त हामी आफ्नो बथानमा या विभिन्न सामाजिक भनिने सञ्जालमा (खुला वा अज्ञात हुँदै) अर्थात् हामी अन्तस्करणबाटै ‘सिभिल’ भैरहेका छैनौं, फगत सिभिल भएको पाखण्ड गरिरहेका छौं ।
मैले कुरा गर्न चाहेको अर्को नयाँ परिस्थिति कथित सामाजिक सञ्जाल हो, जुन खासमा असामाजिक सञ्जाल बनेको छ । हाम्रो आवेग सिर्जनामा म त्यसको प्रभाव पनि उत्तिकै देख्छु । अहिले हामी फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब लगायतका सञ्जालमा बाँधिएका छौं । यी सञ्जालले निर्माण गरेका ‘अलोगरिदम’का कारण हामी यस्तो ‘इको–च्याम्बर’मा छिरेका छौं, जहाँ हामीले सुन्न–बोल्न चाहेका कुरामात्रै सुनिन्छ–बोलिन्छ । पहिले हामी पत्रपत्रिका पढ्थ्यौं, टिभी–रेडियो हेर्थ्यौं, सुन्थ्यौं । तर हामीले पढ्ने–हेर्ने भनेको मोबाइल र कम्प्युटर भएको छ, पत्रपत्रिका पढ्नदेखि रेडियो–टिभी सुन्न/हेर्नसमेत ।
अहिले पनि पत्रिका, रेडियो, टिभीमा एक तहको विविधता पाइन्छ, फरक वैचारिक धारका सामग्री पनि केही हदसम्म पाइन्छ । तर कम्प्युटर/मोबाइलका कुरा अर्कै छ । फेसबुक वा ट्विटर वा युट्युबले हामीलाई हाम्रो सबैभन्दा नजिकको व्यक्तिले भन्दा ज्यादा चिन्छ । हामीले खाने खाना, हामीलाई मनपर्ने रङ वा फूल, मनपर्ने मानिस, हाम्रो विचारधारा सबै उसले बुझेको छ । हामीले कसैलाई नभनेका कुरा, हाम्रा ‘डार्केस्ट सेक्रेट्स’ सबै उसलाई थाहा छ । हाम्रो ‘डिजिटल फुटप्रिन्ट्स’ कैद गरेकोले ऊ ती सबै जाँची–परखी ऊ हामीलाई हामीले हेर्न–सुन्न–पढ्न खोजेको कुरा पस्किदिन्छ ।
अनि यी सब कुराले हामीलाई झन् साँघुर्याउँदैछ, खुम्च्याउँदैछ । हामीलाई थप ध्रुवीकरण गर्दैछ । हाम्रो बथानमा ऊ झन्–झन् हामीलाई धकेल्दैछ । हाम्रा मनका अन्तरकुन्तरमा सुषुप्त रहेका उग्र विचारलाई ऊ ‘रिइन्फोर्स’ गरिरहेछ । हाम्रो अहंलाई तुष्ट गर्दैछ । हामीमा अजस्र घृणा, आक्रोश मौलाउँदैछ । अर्को पक्षबाट हेर्ने, अर्काको धरातलमा बसेर पर्गेल्नै नसक्ने हुँदैछौं हामी ।
अब यदि यो नै नयाँ सामान्य समय (न्यु नर्मल) हुने हो भने त्यसको व्याख्याका लागि, त्यसको सैद्धान्तीकरणका लागि नवीन शिराबाट, बाकस बाहिरबाट सोच्न आवश्यक भैसकेको छ । अनि यो निरन्तरको आवेग, क्रोधबाट उम्कन र बथाने मानसिकताबाट बाहिर निस्कन जरुरी भैसकेको छ । अन्यथा यसले हामीलाई निकै टाढा पुर्याउँदैछ ।
स्रोतः https://ekantipur.com/bibidha/2020/01/18/157931528282129854.html