एफएममा समाचार र संवाद कृति सार्वजनिक
2021-10-18पोखरा, माघ १९ गते । रेडियो पत्रकारिता एफएममा समाचार र संवाद नामक अनुसन्धानमूलक कृतिको सोमबार पोखरामा सार्वजनिक गरियो ।
काठमाडौं र पोखराका एफएमलाई आधार मानी लेखिएको सो कृतिमा प्रारम्भमा मनोरञ्जन साधन मानिएको एफएम रेडियोमा सञ्चालित समाचार, अन्तर संवाद कार्यक्रमअन्तर्गत रेडियोमा भइरहेको पत्रकारिता अभ्यासको लेखाजोखा गरिएको छ ।
मार्टिन चौतारीद्वारा प्रकाशित कृतिमा नेपालमा एफएम रेडियोको विस्तार, रेडियो अध्ययन सैद्धान्तक धरातल र प्रयास, कानुन, नीति, सरकारी रवैया, एफएममा अन्तर्क्रिया र समाचारको अभ्यासबारे खोजमूलक सामग्री र विश्लेषण गरिएको छ ।
मार्टिन चौतारी र ब्रोडकास्टिङ एसोसिएसनद्वारा आयोजित कार्यक्रममा डा. विश्वकल्याण पराजुलीले छोटो समयमा विकास भएको एफएम रेडियोबारे अनुसन्धानमूलक कृति आउनु खुशीको कुरा हो भन्नुभयो ।
कार्यक्रममा ब्रोडकास्टिङ एसोसिएसनका अध्यक्ष शिवलाल मल्ल, वरिष्ठ पत्रकार माधव शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर दीप्न्द्र श्रेष्ठ र रेडियो हिमचुलीका अनुराग अधिकारीले रेडियो र त्यसले प्रसारण गरेका समाचारमूलक कार्यक्रमबारे टिप्पणी गर्नुभएको थियो ।
स्रोतः गोरखापत्र, २० माघ २०६२, पृ. ७