सिंगिङ अक्रस डिभाइड्स : म्युजिक एण्ड इन्टिमेट पोलिटिक्स इन नेपाल - समाज अध्ययन १४

2021-09-27

अन्ना मरी स्टर । सन् २०१७ । सिंगिङ अक्रस डिभाइड्स : म्युजिक एण्ड इन्टिमेट पोलिटिक्स इन नेपाल । अक्सफोर्ड : अक्सफोर्ड युनिभर्सिटी प्रेस ।

 

लोकदोहोरी नेपालको लोकप्रिय सांगीतिक र सांस्कृतिक क्रियाकलाप हो । राप्ती र गण्डकी पानीढलोका पहाडमा मूलतः गुरुङ र मगर जनजातिको संस्कृतिको अभिन्न अंगको रूपमा रहेका रोदी र झ्याउरे परम्परा कालक्रममा सबै समुदायबीच लोकप्रिय लोकदोहोरीको रूपमा रूपान्तरित भए । रेकर्ड गर्न र बजाउन मिल्ने प्रविधिसँगै आमनेसामने भएर गाइने रोदी गीत पूर्वदेखि पश्चिमसम्म क्यासेट बनेर पुगे, र घन्किए । प्रतियोगिता, मेला, उत्सव र कन्सर्टमा गुञ्जिए । क्यासेटदेखि कन्सर्टसम्म कलाकार लोकप्रिय भए । कलाकार र वाद्यवादकहरूको सहभागिता पनि बढी समावेशी हुँदै गयो । पछि, रोदी र झ्याउरे शहर पसे, दोहोरी रेस्टुरेन्टको रूपमा । काठमाडौँमा ठमेलदेखि सातदोबाटो र इटहरीदेखि बेँसीशहर सम्मका दोहोरी रेस्टुरेन्टमा घन्किन पुगे । यी दोहोरी रेस्टुरेन्टले पनि रोदीघरकै जस्तो वातावरण सिर्जना गरेर दोहोरीको दायरा बढाउन सहयोग गरे । लोकदोहोरी वा दोहोरी गीतले युट्युबमा सबैभन्दा बढी हेरिने-सुनिने नेपाली गीतको रेकर्ड राखेका छन् । चलचित्रमा समेत लोकभाकाका गीत बढी लोकप्रिय हुने देखिएको छ । लोकदोहोरी हाँसो र खुशी, मिलन र बिछोड, माया र घृणा, दुःख र सुख, परदेश र स्वदेश, अतीत र आगतका गीत बने, र सुनिए । इन्टरनेटले पनि लोकदोहोरीको दायरा बढाउन सहयोग ग¥यो । विगत आधा शताब्दीमा लोकदोहोरीले गरेको यस्तै विकास र विस्तारको यात्रा पछ्याउने काम गरेकी छन् अन्ना मरी स्टरले आफ्नो पुस्तक सिंगिङ अक्रस डिभाइड्समा ।

काठमाडौँका दोहोरी रेस्टुरेन्टमा दोहोरी कलाकारसँग संगत गरेर, दोहोरीको स्रोत खोज्न तनहुँ, लमजुङ र सँखुवासभाका गाउँसम्म पुगेर एथ्नोग्राफिक अध्ययन गरेर उनले यो पुस्तक लेखेकी हुन् । अनुसन्धानको क्रममा स्टरले नेपाली भाषा वा लोकगीत मात्र सिकिनन्, दोहोरी गाउनमा पनि पोख्त बनिन् । उनले स्टेजमा गाएका केही दोहोरी युट्युबमा पनि लोकप्रिय छन् । यसले गर्दा उनलाई दोहोरीको अन्तरंग राजनीतिका पत्रहरू केलाउन सजिलो भयो, जसले गर्दा पुस्तकमा उनले अघि सारेका तर्कहरू बढी विश्वसनीय र विवेचनात्मक बनेका छन् ।

पुस्तकमा परिचय र निष्कर्ष बाहेक सात खण्ड छन् । परिचय खण्डमा उनले लोकदोहोरीको अध्ययनलाई सैद्धान्तीकरण गर्ने प्रयास गरेकी छन् । महिला र पुरुष समूहबीच हुने लोकदोहोरी समानतामा आधारित हुने, महिला र पुरुष दुवैलाई बराबर समय र जितहारको परिणाम दुवै पक्षलाई एउटै हुने, वाद्यवादक र अन्य सहभागी जस्तै नाच्ने र हेर्नेहरूको पनि उत्तिकै सहभागिता मानिने भएकाले दोहोरीले लैंगिक र सामाजिक विभेदलाई साँघुरो बनाउने तर्क उनले गरेकी छन् । संसारका अन्य ठाउँका लोकसंगीतको अध्ययनमा प्रयोग गरिएका सिद्धान्तहरूको विवेचना गर्दै उनले दोहोरीको अध्ययनमा मूलतः मोनिका क्राउसको ग्रामीणीकरणको अवधारणा प्रयोग गरेकी छन् । विश्वमा शहरीकरणको अध्ययन गर्दा कसरी गाउँको संस्कारबाट शहर प्रभावित भयो भनेर अध्ययन गर्ने अवधारणा नै ग्रामीणीकरण हो । संसारभर शहरीकरण भइरहेको छ भने गाउँका मान्छे बसाइँसराइ गर्दै र गाउँ मिसिएर बिस्तारै शहर बन्दै गइरहेका हुन् । यो क्रममा जति गाउँ शहरमा रूपान्तर हुँदै जान्छन्, उति नै शहर पनि गाउँबाट प्रभावित हुँदै जान्छन् । लोकदोहोरीको प्रसार पनि नेपालमा बढिरहेको शहरीकरण र शहरको ग्रामीणीकरणकै रूप हो भन्ने तर्क स्टरले स्थापित गरेकी छन् ।

पुस्तकको पहिलो खण्डमा उनले पञ्चायत कालमा लोकगीत (दोहोरी होइन) को विकास क्रमलाई नियालेकी छन् । यो खण्ड पढ्दै जाँदा थाहा हुन्छ, लोकदोहोरीको अहिलेको ख्याति, व्यापकता र लोकप्रियता भने जम्मा साढे तीन दशकमा बनेको हो । रेडियो नेपालमा २०१२ सालदेखि नै लोकगीत विभाग गठन भए पनि दोहोरीलाई उत्ताउलो र निम्न संस्कृति ठान्दै समावेश गरिएको थिएन । यसका प्रारम्भिक कालका निर्देशक धर्मराज थापा, हिरण्य भोजपुरे र कुमार बस्नेतले ठाउँ-ठाउँ पुगेर लोकगीत (भाका) संकलन गरेर ल्याउँथे, रेडियो नेपालमा रेकर्ड गराउँथे र बजाउँथे । सुर-ताल र सांगीतिक ज्ञान र सीप चाहिने भएकोले शास्त्रीय र आधुनिक गीतलाई धेरै नै महत्त्व दिइन्थ्यो, जसको प्रभाव लोकगीत विभागमा पनि देखिन्थ्यो । स्वतःस्फूर्त गाउनेहरूले भन्दा सांगीतिक ज्ञान भएका र रेडियोको स्वर परीक्षण पास हुनेहरूले मात्र लोकगीत गाउन पाउँथे । जसले गर्दा रेडियो नेपालमा पहुँच हुने मात्र लोकगायक/लोकगायिका हुने अवस्था सिर्जना भयो, अर्थात् लोकको गीत हुनुपर्नेमा फेरि सम्भ्रान्तहरूकै गीत बन्यो लोकगीत । पञ्चायतले प्रवर्द्धन गरेको एकल संस्कृतिलाई विस्तार गर्न पनि लोकगीतलाई प्रयोग गरियो । अन्ततः लोकगीत भन्नु नै मध्य नेपाल र गण्डकीका पहाडका गीत बन्न पुगे । पूर्व र पश्चिमका लोकगीत सीमान्त गरिए ।

लोकदोहोरीलाई राष्ट्रिय रूपमा ख्याति दिलाउनमा पञ्चायतका खेलाडी शरद्चन्द्र शाहको ठूलो भूमिका रहेको छ । उनले २०४० सालदेखि राष्ट्रिय खेलकुद प्रतियोगितामा लोकदोहोरीलाई पनि समावेश गरे । त्यसै ताका म्युजिक नेपालको स्थापनासँगै लोकदोहोरीको वास्तविक विस्तार भएको हो । शास्त्रीय र आधुनिक गीतलाई प्राधान्य दिने रेडियो नेपालसँग प्रतिस्पर्धा गर्न २०४० सालमा स्थापना भएको म्युजिक नेपालले लोकगीतलाई प्राधान्य दिने नीति लिएपछि रेकर्डेड दोहोरीको स्वर्ण काल शुरू भयो । यसरी राज्यसँग प्रेम र घृणाको सम्बन्धबीच लोकदोहोरी हुर्कँदै गयो र समय क्रममा शास्त्रीय र आधुनिक गीतभन्दा बढी लोकप्रिय बन्यो ।

पञ्चायतको अन्त्यसँगै राज्यको हेलाबाट बौरिएको दोहोरी गीत फेरि माओवादी द्वन्द्वको चपेटामा प¥यो, र यसले काठमाडौँका रेकर्डिङ स्टुडियोभन्दा पनि गाउँका रोदीघरलाई बढी असर पु¥यायो । पुस्तकको दोस्रो खण्डमा स्टरले यसबारे चर्चा गरेकी छन् । वि.सं. २०६३ मा दश वर्षे माओवादी सशस्त्र युद्धको समाप्ति लगत्तै गायिका सिर्जना गुरुङसँग उनी पनि लमजुङको बेथेनीस्थित गुरुङ गाउँ पुगेर अनुभव गरेको आधारमा लोकदोहोरीमा माओवादी द्वन्द्वले पारेको प्रभावबारे चर्चा गरेकी छन् । पञ्चायती राज्यले झैँ माओवादीले पनि लोकदोहोरीलाई तल्लो स्तरको सांस्कृतिक क्रियाकलाप ठाने र निरुत्साहित गरे । धेरै युवाहरू माओवादीमा लागे र माओवादीमा लाग्न नचाहनेहरू बिस्तारै शहरिन वा विदेशिन थालेसँगै गाउँमा हुने रोदी पनि पातलिन थाले । तर यसरी गाउँ छोडेका वा विदेशिएका युवाले आफ्नो गाउँको झल्को मेटाउन फेरि लोकदोहोरीकै सहारा लिन थाले । अनि गाउँका रोदीघर पनि ठमेलका दोहोरी रेस्टुरेन्टभित्र छिर्न थाले । यसरी यो संकटबाट पनि लोकदोहोरीले पार पायो र यसको दायरा झन् फराकिलो बन्न पुग्यो ।

तेस्रो खण्डमा उनले लोकदोहोरीमा संलग्न कलाकार र व्यवसायीसँग कुराकानी गरेको आधारमा बाध्यकारी दोहोरी गीतको इतिहास र सन्दर्भ खोतलेकी छन् । यसमा हार्ने पक्षले केही दिन जित्ने पक्षलाई श्रमदान गर्नुपर्ने वा केही उपहार दिनुपर्ने हुन्छ । अझ, केटीले हारेमा केटाको घरमा विवाह गरेर जानुपर्ने वा केटाले हारेमा केटीको घरमा बिहे गरेर जानुपर्ने पनि हुन्छ । धेरै जसो अवस्थामा यस्ता दोहोरीको नतिजा यौन र विवाहमा टुंगिने भएकोले एकल-विवाह (मोनोगामी) संस्कृति भएका ब्राह्मण-क्षेत्री समुदायबाट यसको आलोचना हुने गरेको देखिन्छ भने, पञ्चायत कालदेखि नै “अनुशासित” लोकदोहोरी बनाउने प्रयासका कारण यस्ता बाध्यकारी दोहोरी कम हुँदै गएको देखिन्छ । यद्यपि, धेरै दोहोरीमा यौन र विवाह बारम्बार आउनु बाध्यकारी दोहोरीकै अवशेष हो । यो खण्डमा उनले बाध्यकारी लोकदोहोरीको नेपालका विभिन्न स्थानमा प्रचलित बाध्यकारी गीतहरूसँग समानता खोज्ने प्रयास गरेकी छन् । साथै, राई र लिम्बूहरूको हाकपारे र राप्ती पानीढलोका जिल्लामा खेलिने छोटी बास्ने गीत पनि बाध्यकारी नै हुने उल्लेख गरेकी छन् । सार्वजनिक स्थलमा खेलिने देउडामा कामुकता नभए पनि युवायुवतीबीच गोप्य रूपमा खेलिने देउडामा भने कामुकता हुने तथ्य पनि उनले उजागर गरेकी छन् ।

पुस्तकको चौथो खण्डले लेखकको मूल तर्कलाई स्थापित गर्दछ । यसमा स्टरले लोकदोहोरीले शब्ददेखि एल्बमको खोल र म्युजिक भिडियोमा पनि ग्रामीणता झल्काउन गरेको प्रयासबारे चर्चा गरेकी छन् । काठमाडौँको प्रमुख पर्यटकीय स्थल ठमेलमा रहेका दोहोरी रेस्टुरेन्टले कलाकार लगायत वेटरहरूलाई समेत ग्रामीण परिवेशमा प्रस्तुत हुन लगाउने गर्दछन् । जसले एकतिर ग्रामीणता झल्काउँछ भने अर्कोतर्फ त्यहाँ आउने पाहुनालाई पनि गाउँको याद दिलाइदिन्छ । तर काठमाडौँका स्टुडियोमा रेकर्डिङ भएर गाउँ-गाउँ पुग्ने “कोठे” लोकदोहोरी वास्तविक हुन् कि गाउँ-गाउँमा रोदीमा घन्किने लोकदोहोरी वास्तविक हुन् भन्ने विवाद अद्यापि छ । अनि शहरका दोहोरी रेस्टुरेन्टले रोदी र झ्याउरे परम्परालाई विकृत तुल्याइरहेका छन् कि विस्तार गरिरहेका छन् भन्ने चिन्ता पनि छ । यी प्रश्नहरूको उत्तर दिनुभन्दा पनि गाउँ र शहरको अन्तर्क्रियामा लोकदोहोरीको अवस्थिति पत्ता लगाउने प्रयास यो खण्डमा लेखकले गरेकी छन् ।

पाँचौँ खण्डमा उनी दोहोरीमा संलग्नहरू बीचको अन्तरंग राजनीतिबारे चर्चा गर्छिन् । पञ्चायतको अन्त्यपछि पनि दोहोरी गीतलाई “मर्यादित” बनाउने प्रयास जारी नै रह्यो, र यसको नेतृत्व राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ग¥यो । दोहोरी रेस्टुरेन्टहरूमा यो मर्यादा कम हुन्थ्यो र कामुकता बढी हुन्थ्यो । यसले दोहोरीमा गाउने महिलाहरूलाई अर्को समस्या निम्त्याउँथ्यो—सम्भावित यौन हिंसा र दुर्व्यवहार । यस्तो दुर्व्यवहार रेस्टुरेन्टका पाहुनाबाट पनि हुन सक्छ र सहकर्मी पुरुष कलाकारबाट पनि । यस्ता दुर्व्यवहारबाट बच्न महिला कलाकारहरूले रातीमा बाहिर निस्किँदा सँगै हिँड्ने र सँगै डेरा खोजेर बस्ने जस्ता उपाय अपनाउने गरेको पनि उनले उल्लेख गरेकी छन् ।

के लोकदोहोरी राजनीतिक क्रियाकलाप पनि हो ? पुस्तकको छैठौँ खण्डमा वि.सं. २०६२–२०६३ को आन्दोलनपछि बद्री पँगेनी लगायतले जनपरिचालनका लागि गरेको लोकदोहोरीको प्रयोगबारे विवेचना गरिएको छ । बद्री पँगेनीले प्रयास गरे पनि लोकदोहोरी मूलतः गाउँ-शहर, माया-प्रेम, यौन-विवाह वरिपरि लोकप्रिय हुने गरेको र शब्दले भन्दा लोकदोहोरीको प्रजातान्त्रिक स्वरूपले नै यसलाई प्रजातान्त्रिक र समावेशी वृत्त बनाउन सक्ने स्टरको तर्क रहेको छ ।

पुस्तकको सातौँ खण्डमा उनले सुखदुःख व्यक्त गर्नमा दोहोरीको प्रयोगबारे चर्चा गरेकी छन् । बाल्यकालमा र कार्यस्थलमा भएका हिंसालाई भुल्ने प्रयास स्वरूप केही गायक-गायिकाहरूले कथालाई गीतमा बुनेर गाउने गरेको उनले उल्लेख गरेकी छन् । गायिकाहरूले घरमा हुने हिंसाले माइतीको सम्झना गराउने र त्यस्तो अभिलाषा पनि गीत मार्फत व्यक्त गर्ने गरेको उदाहरण सहित व्याख्या गरेकी छन् । यस्ता गीतले सामाजिक सम्बन्धका विविध पाटा खोतल्न र पीडा र दुःखबाट भावनात्मक मुक्ति पनि दिने गरेको उनको तर्क छ ।

लोकदोहोरी बढी समावेशी, लैंगिक र जातीय रूपमा समानतामा आधारित हुन्छ, यसले सहभागीहरू (गाउने, नाच्ने, बजाउने, हेर्ने) लाई स्वतन्त्रता र स्वच्छन्दताको अनुभूति गराउँछ, र सामाजिक विभेदलाई निष्प्रभावी बनाउँछ भन्ने लेखकको तर्क छ । नेपाली समाजको विविधतालाई पनि नजिकबाट महसुस गरेकी स्टरले समाजमा भएका विभेदलाई निर्मूल गर्न भने राजनीतिक आन्दोलन र हस्तक्षेप चाहिन्छ भन्ने आग्रहका साथ आफ्नो पुस्तकलाई बिट मारेकी छन् । शहरमा दोहोरी रेस्टुरेन्ट र गाउँमा रोदीघरमा पनि दोहोरी घन्किरहेको छ, र यसमा आश्रितहरूले अझै राम्रो कमाइ र इज्जत पाउन थालेका छन् । यसैकारण आशा र निराशा दुवैका साथ पुस्तकको निष्कर्ष खण्ड टुंगिन्छ ।

लोकदोहोरीको ऐतिहासिक विकासको विश्लेषण गर्दा यो पुस्तकमा रेडियो नेपालमा लोकगीत विभाग स्थापनादेखि वि.सं. २०४० को दशक सम्मको लोकगीतको इतिहासलाई राम्रोसँग केलाइएको छ । तर अघिल्ला दशकको तुलनामा वि.सं. २०५० को दशकमा लोकदोहोरीको विकासबारे भने कम विश्लेषण भएको छ । यही बेला माओवादी द्वन्द्वको कारण गाउँका रोदीघर खुम्चिए र शहरका दोहोरी रेस्टुरेन्ट संक्रमित भए । माओवादी युद्धको बैठानसँगै आयो भिडियो र इन्टरनेटको युग । इन्टरनेटले निमेषभरमै लोकगीतलाई संसारभर फैलाइदिन सक्यो, तर सर्त सहित—अर्थात्, इन्टरनेटले भिडियोको पनि माग गर्थ्यो । अब लोकगीत श्रव्य अनुभव मात्र नभई दृश्य अनुभव पनि भयो । दोहोरीको विस्तारमा इन्टरनेटले पु¥याएको योगदान र लोकदोहोरीको श्रव्य-दृश्यमा रूपान्तरणले दिने फरक किसिमको आनन्दबारे पनि थप अध्ययन जरुरी देखिन्छ ।

पुस्तकमा नेपालबाट बेलायतमा बसाइँसराइ गरेका मूलतः भूतपूर्व लाहुरेहरूले दोहोरीको विस्तार र विकासमा दिएको योगदानको चर्चा गरिएको छ । सुखदुःखको मुख्य कारण अहिले आप्रवासी श्रम नै बनेको छ । लाहुरेका कथामा आधारित सुखदुःखका गीतलाई अब खाडीमा श्रम गरिरहेका नेपालीका कथाले प्रतिस्थापन गर्न थालेका छन् । तर खाडी र मलेशियामा रहेका आप्रवासी श्रमिक र दोहोरीको सम्बन्धबारे भने पुस्तकमा चर्चा हुन सकेको छैन । आगामी दिनमा अध्ययन गर्नेहरूलाई यो महत्त्वपूर्ण क्षेत्र हुन सक्छ ।

 

इन्द्रध्वज क्षेत्री

स्वतन्त्र अनुसन्धाता


About the Author

More Blogs