स्वतन्त्रताको साथी

2021-10-11

अशोक सिलवाल

मुलुक वन्दिगृह बन्दै थियो र जनता वन्दी । १९ माघ २०६१ को शाही घोषणाले विचार, अभिव्यक्ति र सञ्चार स्वतन्त्रताको घाँटी पुरै निमोठ्यो । अनि सुरु भयो कुरुप अध्याय । जनता सूचनाविहीन भए, समय टक्क अडियो । मुलुक स्वतन्त्रताको मृत्युमा निस्सासियो । तर यो कदम धेरै दिन टिकेन । २०६३ वैशाख ११ गते त्यो सर्वाङ नागियो । र, त्यसले घुँडा टेक्नै पर्यो ।

यसबीच रेडियो प्रसारण क्षेत्रमा के कस्तो विघ्नवाधा आइपर्यो ? समाचार र सूचना सम्प्रेषण कसरी निस्सासिन बाध्य भयो ? विचार र स्वतन्त्रतामाथिको आक्रमक बन्देज विरुद्ध कसरी प्रतिरोध सुरु भयो ? यी र यस्ता थुप्रै विषयवस्तुलाई सरल तर प्रभावकारी ढंगबाट पुस्तकरुपमा उतार्ने काम गरेर पत्रकार विनोद ढुंगेल स्यावासीका पात्र बनेका छन् ।

‘शाही शासनमा स्वतन्त्र रेडियो, दमन र प्रतिरोधको कथा’ शिर्षकको पुस्तक लेखेर उनले ज्ञानेन्द्र शासनको कालो यथार्थ त प्रष्ट पारेका छन् नै, सूचना र स्वतन्त्रता विनाको समयको अत्यास र पीडालाई पनि सार्वजनिक गरेका छन् ।

सरकारी नियन्त्रणमा रहेको रेडियो नेपालको एक पक्षिय समाचार प्रसारणलाई एफएम रेडियोहरूको स्थापनाले चुनौती मात्र दिएन, सत्ता र राजधानीकेन्द्रित समाचार र सुचना सम्प्रेषण प्रणालीलाई समेत चोटिलो आक्रमण पनि गर्यो । र, परम्परावादी एकपक्षीय समाचार किल्लालाई ध्वस्त नै बनायो । जनपक्षीय कोणबाट हेर्ने हो भने त्यो महान उपलब्धि थियो ।

स्वतन्त्र रेडियो विकासले समाचारको प्रभाव र पहुँच गाउँ–गाउँसम्म पुग्यो । तर शाही शासनलाई यो सत्य स्वीकार्य भएन । त्यति मात्र होइन निरंकुशताको वाधकको  रुपमा रेडियोलाई चित्रण गरियो । र, अपराधीलाई जस्तै व्यवहार गरियो ।

तर त्यो धेरै दिन टिक्न सकेन । निभ्नु अघिको बत्तीको व्यापक उज्यालो जस्तै निरंकुशता पूरै क्षतविक्षत भयो । अनि सरु भयो, स्वतन्त्रताका समयहरू ।

यिनै र यस्तै विषयवस्तुमा आधारित भएर लेखक ढुंगेलले समयको सजीव तस्वीर प्रस्तुत गरे, आफ्नो पुस्तकमार्फत । पुस्तक प्रयोगवादी धारमा लेखिएको छ । रोचक प्रस्तुति पुस्तकको इर्ष्यालायक पक्ष हो । पत्रकारिता अनुसन्धानको क्षेत्रमा कृयाशील मार्टिन चौतारीले प्रकाशन गरेको ढुंगेलको पुस्तकको अर्को लोभलाग्दो पक्ष भनेको सलल बगेको भाषाशैली पनि हो ।

पुस्तक सञ्चारसँग सम्बन्धितहरूका लागि मात्र होइन, सबैका लागि पठनीय छ । यसले निरंकुशताको ज्ञानेन्द्र कालखण्डलाई लिपीबद्ध गरेको छ ।

स्रोतः राजधानी (सौजन्य), २१ पुस २०६४, पृ. ७


About the Author

More Blogs