मिडियाको अन्तरकथा
2021-10-11नेपाली मिडिया सम्बन्धी जर्नल मिडिया अध्ययन १ निकालेको ६ महिनापछि नै मार्टिन चौतारीले मिडिया अध्ययन २ निकालेको छ । पहिलो अङ्कमा पाठक तथा शुभेच्छुकहरुले देखाएको रुचि र अत्सुकताका कारण दोस्रो अङ्कका लागि काम गर्ने जाँगर बढेको बताएका छन् जर्नल सम्पादकहरुले ।
मिडिया अध्ययन २ मा राजधानी र मोफसलका छापा, रेडियो र टेलिभिजन मिडियाका विगत र वर्तमान खोतल्दै यसका चुनौती झल्कने विभिन्न अनुसन्धानमूलक लेखहरु समेटिएको छ । कृष्णराज सर्वहारीको 'थारू पत्रकारिताको विगत र वर्तमान' अनुभव अजीतको 'नेपाली चलचित्रकव आरम्भ' र तिलक पाठकको 'साप्ताहिक पत्रिकामा दलीय राजनीति' सम्बन्धी उत्खनन् गहकिला लेख हुन् ।
टिप्पणी खण्डअन्तर्गत विजय घिमिरेद्वारा लेखिएको 'नेपालमा आर्थिक पत्रकारिता', डा. सुशील कोइरालाद्वारा गरिएको 'नेपाली मिडियामा स्वास्थ्य' को विवेचना निकै पठनीय छन् । सुजित महतद्वारा गरिएको वीरगञ्जको पत्रकारिताको आलोचनात्मक विश्लेषण र मोहन मैनालीको पत्रकारिता तालिम सम्बन्धी टिप्पणी सटिक छन् । जर्नलमा लेख, टिप्पणी, संस्मरण, पुस्तक समीक्षा र सन्दर्भ सामग्री गरी पाँच खण्डमा छन् । हर्षमान महर्जनद्वारा तयार गरिएको 'नेपाली प्रेस स्वतन्त्रताः सन्दर्भ सामग्री' ले नेपालको प्रेस स्वतन्त्रताको बारेमा अध्ययन गर्न चाहने सबैलाई गतिलै सहयोग पुर्याउने छ । नेपाली मिडिया बुझ्न चाहने सबैका लागि राम्रो चौतारी भएको छ मार्टिन चौतारीको मिडिया जर्नल ।
स्रोतः हिमाल खबरपत्रिका, १-१५ भदौ २०६४, पृ.६०, वर्ष १७, अङ्क ९