शाह र राणाकालीन प्रशासनिक कागजातहरू: डिप्लोमेटिक्स र भाषिक-शैलीगत विविधता

- राजन खतिवडा

Discussion Type: Research Seminar Series | Date: 27 Sep 2026 | Time: 03:00 PM

Details

27 September 2026/११ असोज २०८३ (आइतबार, दिउँसो ३ बजे)
Research Seminar Series
शाह र राणाकालीन प्रशासनिक कागजातहरू: डिप्लोमेटिक्स र भाषिक-शैलीगत विविधता
राजन खतिवडा, हाइडेलबर्ग विज्ञान तथा मानविकी प्रज्ञा-प्रतिष्ठान

केशरीपञ्जाराजाको आफ्नै हत्केलाको छाप, राजकीय मोहरको रूपमा (वि.सं. १९०३ / सन् १८४६)। राष्ट्रिय अभिलेखालय, काठमाडौं। तस्बिर: रिसर्च युनिट-नेपाल, हाइडेलबर्ग एकेडेमी

सार
शाह तथा राणाकालीन नेपालमा राजा, प्रधानमन्त्री, अन्य उच्चपदस्थ अधिकारी एवं विभिन्न सरकारी अड्डा-अदालतबाट राज्य सञ्चालनका क्रममा रुक्का, दस्खत, लालमोहर, पञ्जापत्र, पुर्जी, सनदजस्ता विविध प्रशासनिक तथा कानुनी कागजातहरू जारी गरिन्थ्यो। यस्ता कागजातहरूको स्वरूप र शैली—जस्तै तिनमा प्रयोग गरिएका मङ्गलवाचक शब्द वा चिह्न, सम्बोधनको ढाँचा, प्रशस्ति, मुख्य विषयवस्तु, उपाधि, मिति लेखन तथा समाप्तिको ढाँचा आदिको अध्ययन गर्ने विद्यालाई पाश्चात्य विद्या परम्परामा 'डिप्लोमेटिक्स' (Diplomatics) भनिन्छ।

यस प्रस्तुतिमा यस्ता कागजातहरूको औपचारिक बनावट र तिनका स्थापित परम्पराहरूको विश्लेषण गरिने छ। डिप्लोमेटिक्सको प्राविधिक पक्षका साथै यी कागजातहरूमा प्रयुक्त भाषा पनि सधैँ एकनासको पाइँदैन। दस्तावेजको प्रकृतिअनुसार छुट्टै संरचना र शैली अपनाएर लेख्ने परम्परा रहेको देखिन्छ। यसरी भिन्न-भिन्न उद्देश्यका लागि तयार पारिएका कागजातमा समयक्रमसँगै देखिएका संरचना, ढाँचा र शैलीगत परिवर्तनका साथै तिनको निरन्तरतालाई समेत स्पष्ट पारिने छ।

उदाहरणका लागि, नेपाल दरबारले बेलायतशासित भारतमा (सन् १८५८ सम्म इस्ट इन्डिया कम्पनीद्वारा शासित) सूचना सङ्कलनका लागि वकिल वा प्रतिनिधिका रूपमा नियुक्त गरेका तीन भिन्न व्यक्तिहरूले पठाएका पत्र वा रिपोर्टका भाषिक संरचनामा स्पष्ट भिन्नता पाइन्छ। उनीहरूले ऐतिहासिक नेपाली भाषामा (जसलाई खस वा गोर्खाली भाषा भनिन्थ्यो) लेखेका पत्र वा रिपोर्टमा सम्बन्धित व्यक्तिको शिक्षा, प्रशासनिक तालिम र पृष्ठभूमिले पारेको प्रभावलाई स्पष्ट पार्न तीनवटा पत्रहरू (वि. सं. १८७८ मा अरविन्दनाथ गजुर्यालले भीमसेनथापालाई लेखेको; वि. सं. १८९४ मा वकिल लोकरमण उपाध्यायले नेपाल दरबारलाई लेखेको; वि. सं. १८९९ मा बालाशङ्करले राजा राजेन्द्रलाई लेखेको) को विश्लेषण गरिने छ। यी पत्रहरूले शाह तथा राणाकालमा नेपाल दरबारको बाह्य सूचना सङ्कलन प्रणालीमाथि पनि प्रकाश पार्नेछन्।

डिप्लोमेटिक्सको प्राविधिक विश्लेषण र भाषिक विविधतालाई एकैसाथ प्रस्तुत गर्ने यो प्रयास नेपाली इतिहास, प्रशासन र भाषाशास्त्रमा रुचि राख्ने सबैका लागि उपयोगी एवं विचारोत्पादक हुनेछ।

वक्ताको परिचय
राजन खतिवडा
हाइडेलबर्ग विज्ञान तथा मानविकी प्रज्ञा-प्रतिष्ठान अन्तर्गत नेपाल पुरातात्त्विक सम्पदा अभिलेखीकरण परियोजना “नेपाल हेरिटेज डकुमेन्टेसन प्रोजेक्ट" का (सन् २०१९ देखि) प्रमुख वैज्ञानिक दस्तावेज समन्वयक र अक्सफोर्ड सेन्टर फर हिन्दू स्टडीज काठमाडौंका (सन् २०१८ देखि) मानार्थ निर्देशक हुन्। उनले हाइडेलबर्ग विश्वविद्यालयबाट (सन् २०१७) विद्यावारिधि गरेका हुन्, जहाँ उनको शोध सन् १८५४ (वि.सं. १९१०) को मुलुकी ऐनबारे थियो। उनका अनुसन्धानका प्रमुख क्षेत्रहरू हिन्दुतन्त्र (विशेष गरी शाक्त-परम्परा), दर्शन, पाण्डुलिपि विज्ञान र नेपालको कानूनी इतिहासमा आधारित छन्। उनी हाइडेलबर्गकै "पूर्व-आधुनिक नेपालको धर्म र कानूनको इतिहास सम्बन्धी दस्तावेज" अनुसन्धान परियोजनामा (सन् २०१४ देखि) पनि आबद्ध छन्।

ईमेल: Rajan.Khatiwoda@hadw-bw.de

यो कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन । इच्छुक सहभागीले सेप्टेम्बर २५, २०२६ भित्र आफ्नो नाम दर्ता गर्नु पर्नेछ ।

- राजन खतिवडा

Past Events