समानुपातिकको भार र चुनावी खर्चको मारमा महिलाको राजनीतिक प्रतिनिधित्व
- दुर्गा कार्कीDetails
16 February 2025/४ फागुन २०८१ (आइतबार, दिउँसो ३ बजे)
Research Seminar Series
समानुपातिकको भार र चुनावी खर्चको मारमा महिलाको राजनीतिक प्रतिनिधित्व
दुर्गा कार्की, लेखक
सार-संक्षेप :
पहिलो संविधानसभाको चुनावयता नेपाली राजनीतिमा महिला प्रतिनिधित्व ह्वात्तै बढ्यो । संघीय राज्यव्यवस्था लागू भएसँगै यो प्रतिनिधित्वको विकेन्द्रीकरण पनि भयो । यसबाट महिला तथा सीमान्तकृत समुदायको राजनीतिक प्रतिनिधित्वका सन्दर्भमा जुन आशाको संचार भएको थियो त्यो अहिले बिस्तारै सेलाउने क्रममा छ । विभिन्न अध्ययनअनुसन्धानले यसका विविध कारणहरू खोतलेका छन् जसको मूल निचोडमा सामाजिक तथा सांस्कृतिक मूल्यमान्यतासँगै पुरूषवादी दलीय संरचना, पद्धति र प्रक्रियालाई खास जिम्मेवार ठहर्याइएको पाइन्छ । तर पछिल्लो समयमा राजनीतिमा महिला सहभागिताको सन्दर्भमा हुने बहसको प्रकृति फेरिँदो छ । यसमा दुई कुराको प्रधानता छ । पहिलो, समानुपातिक प्रणालीप्रति महिला नेतृहरूको वितृष्णा र दोस्रो, प्रत्यक्ष चुनावको आकाशिँदो खर्च । विगतका चुनावहरूमा समानुपातिक प्रणालीको दुरुपयोगले गर्दा यसले कमाएको बदनामी र समानुपातिकलाई ‘क्षमता नभएकाहरूको ठाउँ’को रूपमा हेरिनुको दोहोरो मारमा महिला जनप्रतिनिधिहरू (खासगरी संघीय तथा प्रादेशिक तहका) छन् । महिलाका सन्दर्भमा यो सवाल किन पनि चोटिलो छ भने संसदमा तेत्तीस प्रतिशत महिलाको प्रतिनिधित्व पुर्याउन अधिकांश दलहरूले समानुपातिक प्रणालीको सहारा लिने गरेका छन् । यसबाट समानुपातिकमार्फत् जाने महिला जनप्रतिनिधिले आफूहरूमाथि सामाजिक तथा राजनीतिक हेँलाहोचो र विभेदको आक्षेप लगाएका छन् । यसको प्रतिक्रियास्वरूप मौका पाएको खण्डमा प्रत्यक्ष चुनाव लडेर/जितेर देखाइदिने अठोट धेरै महिला नेतृमा बलियो गरी देखिन्छ । यहीँबाट दोस्रो मुद्दाः चुनावी खर्चको उठान हुन्छ । चुनावी अभियानको लागत करोडौँको अंकमा गणना भइरहेको र दलहरूले टिकट दिने मुख्य शर्त नै पैसा खर्च गर्न सक्ने क्षमतालाई बनाइरहेको सन्दर्भमा धेरै महिला राजनीतिज्ञले प्रत्यक्ष चुनावको लागि ‘मौका पाउने’ र ‘जितेर देखाइदिने’ दुवै कुरा कम चुनौतीपूर्ण लाग्दैनन् । यस लेख/छलफलले एकिकृत निर्वाचन विधेयकको मसौदा संसदमा जाने क्रममा रहेको सेरोफेरोमा महिला नेतृहरूले सामना गरिरहेको समानुपातिकको भार र प्रत्यक्ष चुनावी खर्चको मारबिचको विरोधाभास केलाउने जमर्को गर्नेछ । स्रोतको रूपमा विषयसान्दर्भिक लेखरचना, खोजमूलक प्रतिवेदनलगायत संवैधानिक तथा कानूनी प्रावधान र विभिन्न तहका महिला नेतृहरूसँगको सामूहिक कुराकानीलाई आधार बनाइएको छ ।
वक्ताबारे :
दुर्गा कार्कीको पृष्ठभूमि कानून हो, रुचि लेखन । आख्यान र गैरआख्यान दुवै विधामा कलम चलाउने उनी महिलावाद, कानूनको अर्थराजनीति र संघीयता लगायत विषयमा पढ्न र लेख्न रुचाउँछिन् । संघीयता कार्यान्वयनको शुरूआती चरणमा उनले स्थानीय सरकारका जनप्रतिनिधिसँग नजिक रहेर काम गरिन् । नेपाली स्थानीय सरकारको प्रकृति, पद्धति, प्रक्रिया र अभ्यासका विभिन्न आयामलाई उनले समावेशिताको दृष्टिकोणबाट जर्नल लेखलगायत विभिन्न स्रोत सामग्रीमा विवेचना र विश्लेषण गरेकी छिन् । हाल उनी निर्वाचन पद्धति तथा प्रक्रियाको सुधारसँग महिला तथा सीमान्तकृत समूहको राजनीतिक प्रतिनिधित्वको सम्बन्धका सवालमा काम गर्छिन् । कुमारी प्रश्नहरू (२०७६) कथा संग्रह उनको पहिलो पुस्तकाकार कृति हो । उनले हार्वर्ड विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेकी छिन् ।