आदिवासी विद्रोहको इतिहास - समाज अध्ययन १५
2021-09-27राजकुमार दिक्पाल । २०७६ । आदिवासी विद्रोहको इतिहास । काठमाडौँ : मञ्जरी पब्लिकेशन ।
आदिवासी विद्रोहको इतिहास नेपालका आदिवासीले तत्कालीन राज्यसत्ता विरुद्ध १८३० देखि १९३३ सालसम्म गरेका विद्रोहको संग्रह हो । पुस्तकले जित्नेको मात्र इतिहास लेखिने परम्परालाई चुनौती दिँदै हार्नेहरूको पनि इतिहास सतहमा ल्याइदिएको छ । अभिलेखमा आधारित यो पुस्तक लिम्बू, तामाङ, माझकिराँत, भोटे, मगर, गुरुङ र आठपहरिया राईले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा र एकीकरणपछि गरेका विद्रोह वरिपरि केन्द्रित छ ।
पुस्तकमा सात ओटा खण्ड छन् । पहिलो खण्डमा गोर्खाली राज्य विरुद्ध लिम्बूवानले गरेको विद्रोहको चर्चा छ । गोर्खा राज्य विस्तारको क्रममा लिम्बूवान कब्जा गर्ने उद्देश्यले १८३० सालमा चैनपुरमा लिम्बू र गोर्खाली सेनाबीच युद्ध भयो । हातहतियारको अभावमा लिम्बूहरूले उक्त विद्रोहमा अन्ततः हार स्वीकार गरे । साउन १८३१ मा गोर्खाली र लिम्बूबीच युद्ध अन्त्यको सम्झौता भयो । युद्धमा पराजित भएपछि केही लिम्बूहरू सिक्किमतिर भागे, केही गोर्खासँग मिले र केही चाहिँ आ-आफ्नै गढमा रही गोर्खाली सेनासँग लडिरहे । आफ्नो देश छाडी सिक्किम बस्ने लिम्बूहरूले सीमा क्षेत्रमा सिक्किम र लेप्चाहरूसँग मिलेर गोर्खाली विरुद्ध पुनःविद्रोह मच्चाए । १८४८ सालभन्दा अघिदेखि बसोबास गरिरहेका चैनपुरका बाहुनक्षेत्री समुदायले भने यो युद्धमा गोर्खालीको पक्ष लिएका थिए ।
छरिएर रहेका विभिन्न राज्यहरू गोर्खा राज्यमा गाभिएपछि क्रमशः गाईको वध गर्न प्रतिबन्ध लगाउन थालिएको थियो । रणबहादुर शाहको पाला (१८४३ साल) मा १७ जना लिम्बू सुब्बाहरूको नाममा लालमोहर जारी गरी “हिजो सीमापारि बसेर लुटपिट गरेको र गोवध गरेकोमा माफी दिइएको उल्लेख गर्दै अब उप्रान्त गोवध नगर्नू” भनी आदेश दिइएको थियो (पृ. १८) । लिम्बूहरूको देवता “थेवा साम्माङ” र “मेफ्रम” अनुष्ठानमा चढाउन गाई वा गोरुको भोग अनिवार्य हुन्छ । गोवध गरेमा कडा सजायको भागिदार बन्नुपर्ने भए पनि उनीहरूले गोवध प्रतिबन्ध उल्लंघन गरिरहे । गोवध नगर्न दिएको आदेशको पाँच वर्षपछि १८४८ सालमा लिम्बू सुब्बाकै नाममा गोवध रोक्न राज्यपक्षले पुनः आदेश दियो । यो आदेशले लिम्बूहरू कतिपय संस्कार र संस्कृति परिवर्तन गर्न बाध्य समेत भए । उदाहरणका लागि, लिम्बूहरूले आफ्नो देउतालाई गाईगोरुको सट्टा छिप्पिएको सुँगुर वा राँगा चढाउन थाले । अहिले पनि यो चलन कायमै छ । र, “थेवा साम्माङ” जस्ता अनुष्ठानमा गाईगोरुको रगत खाएर अघाएको किर्नालाई बलि दिने चलन समेत शुरू गरे । त्यसै गरी, “मेफ्रमा” अनुष्ठानमा लडेर वा कालगतिले मरेको गाईको हड्डीलाई त्यही गाईको भोग दिएको भन्दै देवीदेवतालाई चढाउने संस्कृति समेत शुरू भयो । यसलाई सांस्कृतिक प्रतिरोधको संकेतको रूपमा पनि बुझ्न सकिन्छ ।
पुस्तकको दोस्रो खण्डमा तामाङ विद्रोहको चर्चा छ । पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तार अभियान अन्तर्गत असोज १५, १८०१ मा नुवाकोट जितेका थिए । गोर्खाली राज्य विरुद्ध रणबहादुर शाहको पाला (जेठ पहिलो र साउन दोस्रो साता, १८५०) मा दुई पटक नुवाकोटका तामाङहरूले विद्रोह गरेका थिए । यो विद्रोहमा करिब एक हजार तामाङ मारिएको अनुमान छ । यो हत्याकाण्डमा उनीहरूका जहान परिवार र समर्थकलाई पनि काटिएको बताइन्छ । कसैलाई झुण्ड्याएर अनि सूली चढाएर पनि मृत्युदण्ड दिइएको थियो । नुवाकोट विद्रोहअघि गोर्खाली सेनाले १८२९ सालमा तिमाल क्षेत्रमा ठुलो नरसंहार मच्चाएका थिए । तिमाल क्षेत्रलाई तामाङहरूले अहिले पनि आफूहरूको ऐतिहासिक महत्त्वको क्षेत्र मान्छन् । गोर्खालीहरूको तिमाल क्षेत्र आक्रमणमा तत्कालीन स्थानीय तामाङ शासक रिन्छिन दोर्जे पनि मारिएका थिए । उनलाई शान्ति सम्झौता गर्ने बहानामा सुनकोशी बगरमा निःशस्त्र आउन खबर पठाइयो । र, शर्तअनुसार उनी सुनकोशी किनार पुगे तर गोर्खालीहरूले बालुवामा लुकाएर राखिएको हतियार झिकी रिन्छिन दोर्जेलगायत उनका मानिसहरूको हत्या गरेको चर्चा यो पाठमा छ ।
तामाङहरूले विगतमा आफूलाई तामाङ भनेर लेख्न समेत पाउँदैन थिए । उनीहरूलाई मुर्मी भोट्या भनिन्थ्यो । भदौ १७, १९८९ मा श्री ३ भीमशमशेरले “अबदेखि भोट्या होइन, तामाङ लेख्न” भनी इस्तिहार जारी गरी दिएपछि कानूनी रूपमै तामाङहरूले आफूलाई तामाङ लेख्न पाएको सन्दर्भ पुस्तकमा छ । यद्यपि, केही तामाङ अध्येताले भने १३ औँ शताब्दी तिरै तामाङ शब्द प्रचलनमा रहेको तर्क गर्छन् ।
माझकिराँत विद्रोहको चर्चा पुस्तकको तेस्रो खण्डमा छ । राज्य विस्तार अभियानका क्रममा वि.सं. १८२९ मा गोर्खाली सेना माझकिराँत पुग्दा दुई पक्षबीच निकै ठुलो युद्ध भएको थियो । पृथ्वीनारायण शाहको बन्दुक र गोला बारुद तथा कूटनीतिक हतियारबाट माझकिराँत गोर्खा राज्यमा गाभिन पुगेको थियो । त्यसअघि माझकिराँतको शासन प्रशासनमा खम्बूहरूको (राई) हैकम थियो । उक्त युद्धमा करिब एक हजार खम्बू सेना मारिएका, चार सय नदीमा हेलिएका र १४ सय महिला र बालबालिकालाई पक्राउ गरेर कमाराकमारीमा परिणत गरिएको तथ्य पुस्तकमा छ ।
माझकिराँत गोर्खा राज्यमा गाभिएको ३४ वर्ष (१८६४ साल) पछि त्यहाँ फेरि विद्रोह भयो । यो विद्रोहमा राईहरूलाई स्थानीय बाहुन, क्षेत्रीहरूले पनि साथ दिएका थिए । तर पनि हातहतियारको अभावमा गोर्खाली सेनासँग उनीहरू हारे । हारेका मध्ये बाहुनको ज्यान नलिने गोर्खाली राज्यको नीति भएकाले उनीहरूलाई चारपाटा मुडी जात “पतित गर्ने” सम्मको सजाय दिइयो । केही क्षेत्री, राई र घर्तीहरूको ज्यान हरण गरियो । त्यसै गरी, तीन जना राईका श्रीमती, छोरा-बुहारी, छोरी नातिनातिनाहरू पनि सजायको भागीदार भए ।
पुस्तकको चौथो खण्डमा भोटे विद्रोहको चर्चा छ । माघ, १९०७ (जंगबहादुर राणाको शासनकाल) मा अठारसयखोला क्षेत्रमा खानी उत्खनन गर्ने क्रममा भोटेहरूले विद्रोह गरेका थिए । त्यस क्षेत्रमा बौद्धमार्गी भोटे लामाहरू बसोबास गर्थे । स्थानीयको अनुमतिबिना बाहिरबाट आएर जबरजस्ती खानी उत्खनन गर्ने कार्यलाई भोटेहरूले मन पराएका थिएनन् । त्यसैले भोटेहरूले ती सरकारी मानिसलाई खानी खनाउने काम गर्न त दिएनन् नै, उल्टै उनीहरू विरुद्ध लडाइँ शुरू गरे । यो विद्रोह दबाउन सरकारले सेना परिचालन गर्नु परेको थियो । त्यो विवाद साम्य हुन करिब छ हप्ता लागेको अनुमान छ ।
पुस्तकको पाँचौँ खण्डमा मगर विद्रोहमा नेपालका प्रथम शहीद मानिएका लखन थापा र तुले रोहानीले राज्यसत्ता विरुद्ध गरेका विद्रोहको चर्चा छ । जंगबहादुर राणाको हत्या योजना बुनेको कारण १९३३ सालमा लखन थापासहित सात जनालाई झुण्ड्याएर मारिएको थियो । लखन थापाअघि पर्वत पाखापानीका तुले रोहानीको नेतृत्वमा असार, १८९७ विद्रोह भएको थियो । तुले रोहानीको विद्रोहबारे इतिहासमा चर्चा पाइदैन । रोहानीले आफूलाई राजा घोषित गरी सशस्त्र समूह बनाइ शासन समेत चलाएका थिए । तर विद्रोह शुरू गरेको एक महिना (साउन १८९७) मै सेना परिचालन गरी उनीहरूको विद्रोह दबाइएको थियो । तसर्थ लखन थापाअघि तुले रोहानीले विद्रोह गरेको ऐतिहासिक पक्षलाई पुस्तकले बाहिर ल्याइदिएको छ ।
पुस्तकको छैठौँ खण्ड गुरुङ विद्रोहबारे छ । जंगबहादुरले एकछत्र शासन चलाइरहेको बेला (वि.सं. १९३३–१९३४) मा उनको शासनको अन्त्य गर्न ज्यानै लिने उद्देश्यले पश्चिम क्षेत्र खासगरी लमजुङ र गोर्खाका गुरुङहरूले निकै ठुलो प्रयत्न गरेका थिए । वि.सं. १९३३ मा गोर्खाका सुकदेव गुरुङले विद्रोहको शुरूआत गरे । गुरुङले आफूलाई नौ सरकार जंगभन्दा पनि ठुलो “बौद्ध बादशाह” घोषणा गरी त्यही मुताबिक मानिसहरूलाई भड्काउन थाले । तर केही गर्न नपाउँदै उनलाई पक्राउ गरियो र कारावासमै कडा यातनाका कारण उनको मृत्यु भयो । उनको मृत्युपछि पनि यस क्षेत्रमा विद्रोह रोकिएनन्, विद्रोहको बागडोर सुपति गुरुङले लिए । उनले पनि आफूलाई “बौद्ध बादशाह” घोषणा गरी वि.सं. १९३४ मा विद्रोहको प्रारम्भ गरे । तर रणोद्दीपसिंहले सुपति गुरुङलाई जसरी भए पनि पक्रने आदेश दिएपछि सुपति ज्यान बचाउन भाग्नु प¥यो । यसअघि नै वि.सं. १९१४ मा जंगबहादुरविरुद्ध षड्यन्त्र गरेको आशंकामा गुरुङ पल्टनका जमदार श्रीपति गुरुङलाई टुक्रा-टुक्रा हुने गरी काटिएको थियो ।
पुस्तकको अन्तिम खण्डमा आठपहरिया राई विद्रोहको चर्चा छ । धनकुटाका आदिवासी आठपहरिया राईहरूले दशैँ मानेनन्, किनकि यो उनीहरूको सांस्कृतिक पर्व थिएन । वैशाख १८९२ मा राज्यपक्षले धनकुटाका वाहिदुमसिंह राईका नाममा दशैँमा पूजा गर्न सूचना जारी गरेको थियो । तर आठपहरिया राईले त्यसको अवज्ञा गरिरहे । १९३३ सालमा दशैँ नमान्दा धनकुटाका रामलिहाङ र रिदामा आठपहरिया राईलाई तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको आदेशमा धनकुटामा झुण्ड्याइएको कुरा यो पाठमा छ ।
गोर्खा राज्यको एकीकरणअघि नेपालमा विभिन्न भाषा, संस्कृति मान्ने समुदाय या जातजातिका आ-आफ्नै राज्य अस्तित्वमा थिए । तर एकीकरणपछि ती राज्यहरूको अस्तित्व गोर्खा राज्यमा विलीन भयो । त्यसपछि उनीहरू आफ्नै भूमि, स्रोत, साधन र पहुँचबाट समेत टाढा रहनु प¥यो । त्यसको विरुद्ध उनीहरूले पटक-पटक विद्रोह गरे । तर ती विद्रोहलाई राज्य पक्षले निक्कै क्रूर ढंगले दबायो, जसबारे हाम्रो मूलधारे इतिहासमा खासै उल्लेख भएको पाइन्न । त्यसैले हामीले बुझ्दै र पढ्दै आएको इतिहास कति एकांगी रहेछ भन्ने तथ्य जन्माउन पुस्तक सफल भएको छ ।
द्वितीय स्रोतमा टेकेर पुस्तक तयार गरिएको छ । अभिलेखालयको प्रथम स्रोतसम्म लेखक पुगेका छैनन् । मूलधारका इतिहासकारले लेखेका र आदिवासी समुदायमै भएका केही सीमित दस्ताबेजलाई आधार मानेर पुस्तक लेखिएको छ । र, लेखकले छरिएर रहेका लिखित इतिहासलाई एउटै पुस्तकमा संगृहित मात्र गरेका छन् । त्यसैले पुस्तकले विद्रोहका नयाँ तथ्य र सन्दर्भलाई खोतल्न सकेको छैन । यो पुस्तकको कमजोर पक्ष हो । लेखक प्राथमिक स्रोत (अभिलेख तथा आधिकारिक कागजपत्र) सम्म पुगेका भए या मौखिक तथ्यलाई पनि खोज्न सकेका भए इतिहासमा नलेखिएका, नभेटिएका अन्य आदिवासी विद्रोहका अरू सन्दर्भ पनि यो पुस्तकमा समावेश हुन सक्ने सम्भावना हुन्थ्यो ।
त्यसै गरी, पुस्तकमा खट्किने अर्को पक्ष भनेको पुस्तकमा विवरणको दाँजोमा विश्लेषण कम हुनु हो । पुस्तकमा आदिवासीले गरेका विद्रोहको सर्सरी व्याख्या मात्र गरिएको छ । तर पुस्तकले यी विद्रोहका बृहत् अर्थ सामाजिक आयामलाई ध्यान दिएर विश्लेषण गर्न सकेको छैन । पुस्तकमा जसरी लिम्बू, माझकिराँत, तामाङ, मगर, गुरुङ जातिले गरेका विद्रोहको विस्तृतमा चर्चा गरिएको छ त्यही अनुपातमा भोटे र आठपहरिया राईले गरेको विद्रोहको चर्चा छैन । गैरआदिवासी महिलाभन्दा आदिवासी महिला सांस्कृतिक र आर्थिक रूपले बढी स्वतन्त्र र सम्पन्न छन् भनिन्छ, तसर्थ आदिवासी विद्रोहमा आदिवासी महिलाको भूमिका के थियो भन्ने बारेमा लेखकले खासै खोतलेका छैनन् । भाषिक सम्पादनका हिसाबले पनि पुस्तकमा केही त्रुटि छन् । उदाहरणको लागि पुस्तकको पृष्ठ २१ मा लिम्बूहरूको देवतालाई कतै “सम्माङ” लेखिएको छ कतै “साम्माङ” लेखिएको छ । यसले गर्दा पाठकलाई कुन चाहिँ ठीक हो भन्ने अलमल पार्छ । यस्ता स-साना त्रुटिले पनि पुस्तकको वजनलाई प्रभाव पारिरहेको हुन्छ ।
आदिवासीले गरेका विद्रोहको दस्तावेजीकरण शुरू हुनु आफैमा राम्रो कार्य हो । पुस्तकको सबल पक्ष भनेको आदिवासी विद्रोहको इतिहास एउटै पुस्तकमा पढ्न पाउनु हो । आदिवासीहरू किन पछाडि परे वा सीमान्तीकृत बनाइयो भन्ने सवालको ऐतिहासिक पृष्ठभूमिलाई प्रमाण सहित यो पुस्तकले बाहिर ल्याइएको छ । आदिवासी विद्रोहको अध्ययन-अनुसन्धान गर्न चाहनेको जो-कोहीका लागि यो पुस्तक उपयोगी छ ।
सन्जिला तामाङ
मार्टिन चौतारी











