महामारीको लैंगिक पाटो

- सञ्जिला तामाङ | 2021-09-24

सन्जिला तामाङ

घरायसी कामले बन्दाबन्दीमा महिला बढी पीडित छन् भन्ने कथन आदिवासी जनजाति समुदायमा लागू हुँदैन । घरायसी काम महिलाले नै गर्नुपर्छ भन्ने मान्यता जनजातिमा कम छ ।

महामारीको समय सामान्यभन्दा फरक हुन्छ । तर पनि महामारीको यो समय प्रत्येक दिनको सामाजिक संरचनाभन्दा अलग छैन । महामारीले समाजको सबै पाटोलाई प्रभाव पार्छ ।

घरायसी कामको बोझ झन् बढाएको छ । बन्दाबन्दीले पुरुषको तुलनामा महिलालाई बढी कामको बोझ र मानसिक असर पुर्‍यायो भनेर अहिले सार्वजनिक वृत्तमा छलफल भइरहेको छ । तर सबै महिलाहरू कामको बोझमा छैनन् । न त मानसिक असर नै बेहोर्नुपरेको छ ।

केही महिलाका लागि बन्दाबन्दी सकसपूर्ण समय भएको छ । तर कतिपय महिलालाई पारिवारिक जमघटको समय र खुसी दुवै यही बन्दाबन्दीले दिएको छ । र खुसी पाउने महिलाहरु प्रायः जनजाति समुदायका छन् । अन्य समुदायका महिलाहरुको समय पनि बन्दाबन्दीको बेला विभेदरहित हुनसक्छ । यहाँ जनजाति महिलाहरुको दृष्टिकोणबाट मात्रै हेर्न खोजिएको छ । अनि जनजाति समुदायमा बन्दाबन्दीको बेला महिलाहरु मात्र घरायसी काममा पिल्सिनु परेको छैन ।

मेरो घरमा जहिल्यै बा सबेरै उठ्नुहुन्छ । आमा उठ्ने बेलासम्म बाले एकसरो सरसफाइको काम गरी आगो फुकेर चिया पनि बनाइसक्नुहुन्छ । चिया खाइसकेपछि बाले खाना बनाएर भाँडा पनि आफैं मस्काउनुहुन्छ । घरायसी काममा महिला र पुरुषबीचको विभेद मैले अहिलेसम्म अनुभव गरेको छैन । आमा र बा दुवैले एकअर्कालाई सघाउनुहुन्छ ।

हाम्रो परिवारको दिनचर्या लकडाउनअघि पनि यस्तै थियो । त्यस्तै लोकन्थलीकी नितु तामाङ पेसाले सौन्दर्यकर्मी हुन् । उनी श्रीमान् र छोरासँगै अहिले घरमै बसेर दिन काटिरहेकी छन् । अरू बेला अफिसको व्यस्तताले परिवारलाई समय दिन मुस्किल पर्थ्यो ।

तर बन्दाबन्दीले उनलाई परिवारसँग लामो समय सँगै बस्ने वातावरण बनाइदिएको छ । नितुलाई खासै भान्साको कामप्रति रुचि छैन । कहिलेकाहीं खाना बनाएर छोरा र श्रीमान्लाई खुवाउँछिन् । बन्दाबन्दीले उनीहरूको पारिवारिक सम्बन्ध अझ सुमधुर बनेको छ ।

बन्दाबन्दीअघि पनि उनले खासै भान्साको काम सम्हाल्नु पर्दैन थियो । प्रायः भान्साको काम, घरको सरसफाइ र छोराको स्याहार-सुसार सबै उनका श्रीमान्ले नै गर्छन् । त्यसैले पनि उनी स्वतन्त्र भएर जागिरमा लाग्न पाएकी छन् । प्रायः भान्सा र घरको सरसफाइ महिलाकै काँधमा आउँछ भन्ने धारणा नितुको केसमा लागू हुँदैन ।

चन्द्रागिरिकी गीता राईको बन्दाबन्दीको कथा पनि उस्तै छ । ट्रेकिङ व्यवसायी श्रीमान् यो समय घरमै छन् । दुवै मिलेर घरको काम गर्छन् । अहिलेको फुर्सदको सदुपयोग गर्दै उनीहरूले कौसी खेती सुरु गरेका छन् । पाँचमहिने बच्चालाई बढी समय पनि श्रीमान्ले नै दिन्छन् ।

खाना बनाउने, भाँडा मस्काउने, पानी भर्ने, घर सफा गर्ने र लुगा धुने काम दुवै मिलेर गर्छन् । व्यवसायका कारण पहिले घरमा त्यति बस्न नभ्याउने श्रीमान् अहिले घरमै छन् र घरायसी काममा पनि सघाइरहेका छन् । त्यसैले गीता अरू बेलाभन्दा अहिले झन् खुसी छिन् । बन्दाबन्दीअघि पनि घरको काम दुवैले मिलेर नै गर्थे । उनलाई सधैं श्रीमान्ले सहयोग गर्छन् ।

जनजाति परिवारमा घरको काममा महिला र पुरुषको प्रायः समान सहभागिता हुन्छ । कोटेश्वरकी विमला लिम्बू पनि बन्दाबन्दीको बेला घरायसी काममा मात्र पिल्सिनुपरेको छैन । उनलाई श्रीमान् र छोराछोरीले सघाउँछन् । श्रीमान् श्रीमती दुवै बन्दाबन्दीअघि आ-आफ्नो रोजगारीमा व्यस्त

थिए । अहिले बन्दाबन्दीले पारिवारिक समय दिएको छ । उनले खाना बसाल्दा उनको श्रीमान्ले तरकारी केलाइदिँदा रहेछन् । बिहान श्रीमान्ले खाना बनाउँछन्, बेलुका श्रीमतीले । छोराछोरीलाई पनि आफ्नो काम आफैं गर्न सिकाएका छन् ।

यसरी परिवारले काम विभाजन गरेको छ । लुगा धुने र घरको सरसफाइ पनि दुवै मिलेर गर्छन् । यो परिवारमा पनि घरको काम यसरी नै मिलेर अरू बेला पनि गरिन्थ्यो । त्यसैले बन्दाबन्दीमा खासै गाह्रो नभएको अनुभव विमलाको छ ।

घरायसी कामले बन्दाबन्दीमा महिला बढी पीडित छन् भन्ने कथन आदिवासी जनजाति समुदायमा लागू हुँदैन । घरायसी काम महिलाले नै गर्नुपर्छ भन्ने मान्यता जनजातिमा कम

छ । जनजाति समुदायले अहिलेको समय पारिवारिक पुनर्मिलन र लैंगिक समानताको अभ्यासमा बिताइरहेका छन् । विभिन्न जातजातिको आ-आफ्नै सांस्कृतिक मूल्यमान्यता हुन्छन् र त्यहीअनुसार लैंगिक भूमिका निर्धारण गरिएको हुन्छ ।

लैंगिक भूमिका संस्कृतिसापेक्ष हुन्छ । हाम्रै वरिपरिको समाजमा यस्ता धेरै उदाहरण पाइन्छन् जसले समाज, परम्परागत कामको बाँडफाँड र लैंगिक भूमिकालाई फरक दृष्टिकोणबाट बुझाउन मद्दत गर्छ ।

जनजाति समुदायले अभ्यास गरेको संस्कृतिमा मातृसत्ताको उपभोग, महिला अधिकार, समानता र स्वतन्त्रता सांस्कृतिक मान्यता हुन् । यही संस्कृतिले जनजाति महिलालाई परिवारभित्र बलियो बनाएको छ । त्यसैगरी हिन्दु परम्पराअनुसार महिलालाई देवी मान्ने चलन छ तर पनि महिलालाई विभेद गर्ने अवस्था छ । यसबाहेक अन्य धर्मसंस्कृतिमा पनि फरक-फरक सामाजिक मान्यता छन् । फरक सामाजिक मान्यताले परिवारभित्र महिला र पुरुषको भूमिका निर्धारण गरेको हुन्छ ।

भूगोल र संस्कृतिको आधारमा महिलाको भूमिका फरक पर्छ । र त लैंगिक भूमिका संस्कृतिसापेक्ष हुन्छ । महामारीले पार्ने असर विभिन्न जाति, जनजाति, वर्गअनुसार फरक हुन्छन् अनि यो समयमा विभिन्न समुदायका महिलाको अनुभव पनि एकअर्कासँग मिल्दैन । हरेक जातजाति र धर्मसंस्कृतिको आफ्नै मूल्यमान्यता, ज्ञान, सीपले महामारीको अनुभव र असरलाई फरक पारिदिन्छ ।

महामारीमा महिलालाई पर्ने असरमा जाति, जनजाति, वर्ग, धर्मसंस्कृतिको विषय सँगै जोडिएर आउँछन् र यो जटिल विषय हो ।

सामान्यतया नेपाली महिला भन्नाले हिन्दु महिला बुझिन्छ र हिन्दु महिलाकै सरोकारलाई समग्र नेपाली महिलाको सरोकार ठानिन्छ । गैरहिन्दु महिलाको अनुभव र अभ्यास हिन्दु महिलाको भन्दा फरक छन् । प्रायः गैरहिन्दु महिलाको संकथन छायामै परेको वा पारिएको छ ।

जनजाति महिलाको लैंगिक भूमिका जनजातीय वा व्यक्तिगत रूपमा जति महत्त्वपूर्ण साबित भए पनि सार्वजनिक वृत्तमा त्यति चर्चायोग्य मानिएको छैन । सार्वजनिक वृत्तमा बहस नहुनुमा ऐतिहासिक पृष्ठभूमि, राज्यको लैंगिकतासम्बन्धी विचारधारा, ऐन तथा नीति नियम र सञ्चारमाध्यमको भूमिका छ ।

महिलाभित्रको विविधता धेरै बेवास्ता गरिएको तर अति महत्त्वपूर्ण विषय हो । महिलाबारे बहस हुँदा प्रायः सबै महिलालाई एउटै बास्केटमा राखेर तर्क गरिन्छ, जबकि ती महिलाहरूको भिन्नभिन्न ऐतिहासिक, सांस्कृतिक र पारिवारिक पृष्ठभूमि हुन्छ । फरकफरक सामाजिक सन्दर्भले महिलाको सवाल एकनासे बनाउँदैन ।

महिला र पुरुषको उत्तरदायित्व र जिम्मेवारीप्रतिको दृष्टिकोण पनि यसैको कारण फरक हुन्छ । यो बन्दाबन्दीमा घरायसी कामका बारे बास्केट दृष्टिकोण पाइएको छ । लाई जाति, जनजाति, वर्ग र धर्मसंस्कृतिले प्रभाव पार्छ अनि सबै महिलालाई उस्तै गरी असर पुर्‍याउँदैन । हाम्रा सांस्कृतिक मूल्य मान्यता, शिक्षा र परिवर्तित समय सन्दर्भले महामारीको बेला महिलामा पर्ने असरलाई फरक पार्छ । महामारी र लैंगिकता बहुआयमिक विषय हो । महामारीमा लैंगिक विषय गौण हो भनेर पन्छिन सकिने वातावरण अवश्य छैन ।

कोभिड-१९ संक्रमणले लैंगिकतामा पारेको असरका विषयमा अध्ययन हुन सकिरहेको छैन । त्यसैले पनि कोरोना महामारीले जाति, जनजाति, वर्ग र भूगोलअनुसार लैंगिकतामा पारेको प्रभावको पाटोबारे थप विमर्शको माग गर्छ ।प्रकाशित : वैशाख २२, २०७७ ०८:२७

स्रोतः https://ekantipur.com/opinion/2020/05/04/158856015649318612.html?fbclid=IwAR0IeqK9-zoy59K37RaWdQ59rnlMButQ-Qc55C23mMYjjipdISyQS0FvRHE


About the Author