राणाकालमा महिला ‘भाग्य चिट्ठा’ बहस

- लोकरञ्‍जन पराजुली | 2022-02-26

शासन व्यवस्थाको अँध्यारो युग र पुरुषप्रधान मानसिकता आजभन्दा जब्बर रहेको राणाकालमा पनि महिलाहरूले सार्वजनिक वृत्तमा पुरुषसँग पौंठेजोरी खेलेका थिए।

नेपालमा सार्वजनिक क्षेत्रमा सर्वत्र पुरुषको दबदबा रहिआएको छ। राणाकालको झन् के कुरा? तथापि, राणाकालको उत्तरार्धतिर औपचारिक/अनौपचारिक शिक्षा हासिल गरेका महिलाहरू सार्वजनिक जीवनमा यदाकदा सक्रिय हुन थालेका थिए। यी सक्रिय महिलामध्ये केहीले साहित्य सिर्जना मार्फत आफूलाई सार्वजनिक जीवनमा उभ्याएका थिए।

गोरखापत्र, शारदा आदि पत्रिकाका पुराना अङ्क पल्टाउँदा त्यहाँ केही महिलाले साहित्य मार्फत आफ्ना भावना पोखेको पाइन्छ। तात्कालिक महिला सिर्जनाका विषयवस्तु केलाउँदा ती मुख्यतः धार्मिक देखिन्छन्। कुनै रचना प्रकृतिबारे र केही आफ्नो दुःख-पीडा अभिव्यक्त गर्ने खाले छन्।

एकादुई कविताले तात्कालिक शासकको जयपुकार गरेको पनि पाइयो। ती पत्रिकामा लोकप्रिया देवी, कुसुम मोहनी, बुद्धमोहन देवी, मधुधारा, प्रियदर्शिनी, लोककुमारी देवी, तारा देवी, सीता देवी आदिका रचना छापिएका छन्। यी महिलामध्ये केहीले जुद्धशमशेरको शासनकालमै कविता लेखेका थिए।

तारा देवीले राणाकालमै कम्तीमा चार पुस्तक लेखेकी थिइन्। मधुधारा नामकी लेखकलाई गोरखापत्रले राम्रो कविता लेखेको भन्दै निकै सह्राएको थियो, यद्यपि पछि मधुधारा महिला नभई पुरुषले कल्पेको झूटो नाम भएको थाहा लाग्यो।

मंसीर २००२ मा पद्मशमशेर शासनमा आए। त्यस वेला छिमेक र अन्यत्र विश्वमा स्वतन्त्रता र लोकतन्त्रका लागि ठूला आन्दोलन भइरहेका थिए। नेपालीहरू पनि नेपालभित्र र छिमेकी भारतका सीमावर्ती शहरहरूमा एकजुट हुँदै थिए। राणा शासन विरुद्धको विद्रोह सन्निकट थियो- जुन पद्मले देखेका थिए। तसर्थ, रुँदै सही उनले आफूलाई ‘जनताको सेवक’ भने, र केही सुधार गरी बाउबाजेको शासन व्यवस्था कायम राख्न खोजे। यद्यपि, उनको त्यस्तो विचारले आफ्ना पुरातनपन्थी राणा दाजुभाइ र भारदारमाझ खलबली मच्चाएको थियो।

पद्मको उदयसँगै शासन व्यवस्थामा केही खुलापन देखियो। सार्वजनिक वृत्तमा देखिने गरी नै केही परिवर्तन भए। यो कुरा तात्कालिक समयको एक मात्र अखबार र सरकारी मुखपत्र गोरखापत्रका अङ्क केलाउँदा पनि देखिन्छ। पद्म प्रधानमन्त्री भएपछि पहिले सानो आकारको र साताको दुई दिन प्रकाशन हुँदै आएको गोरखापत्रको आकार बढ्यो र सातामा तीन पटक छापिन थाल्यो।

पहिले गोरखापत्रमा कविताहरू प्रथम पृष्ठमै छापिन्थे। तर, अब कथा-कविताहरू छापिन छाडे; तिनका ठाउँ समाचार, लेख र पाठकपत्रले लिए। ‘यस्ता सब विचारहरू देशका अगाडि आऊन् भन्ने मनसायले सरकारबाट गोरखापत्रमा सम्पादकलाई दुनियाँले जरुरी विषयमा पठाएका चिठीहरू छापिने प्रबन्ध प्रधानमन्त्री पद्मशमशेरले गरिबक्स्यो’ भनेर गोरखापत्रले लेख्यो।

यसले गर्दा सामान्यजन वा रैतीले कम्तीमा ‘गैरराजनीतिक’ विषयमा आफ्ना विचार अभिव्यक्त गर्न पाए। गोरखापत्रले पाठकलाई एक पातोभन्दा बढी ठाउँ दिन थाल्यो। उसको पाठक सङ्ख्या पनि ह्वात्तै बढ्यो- यो दैनिक तीन हजारबाट ६ हजार प्रति छापिन थाल्यो। पछि उसले लेख र पत्रमा भिन्नता गर्न थाल्यो, र त्यसमा विचार-लेख पनि छापिन थाले।

गोरखापत्रले बिस्तारै पाठक-पत्र र लेखलाई ठाउँ दिन थालेपछि पहिले त त्यो ठाउँ स्वाभाविक रूपमा पुरुषले कब्जा गरे, जुन भर्खरै अङ्कुरण हुँदै गरेको र पुरुषप्रधान सार्वजनिक वृत्तका लागि कुनै अनौठो थिएन। तर, रोचक थियो, साक्षरता दर अत्यन्त कम रहेको त्यस्तो समयमा पनि नयाँ उपलब्ध स्वतन्त्रता र अवसरको उपयोग गर्दै महिलाले पनि आफ्ना विचार र चाहना अभिव्यक्त गर्नु।

सीता देवीले लेखेको चिठी गोरखापत्रमा छापिएको थियोः ‘हाम्रो देशमा पनि अखबारद्वारा मानिसहरूले विचारविमर्श गर्न थालेछन् भनेर खुसी लाग्यो। ... के हाम्रा देशका स्त्रीवर्गले पनि यस्तो सुअवसर उपयोग गर्लान्?’ नभन्दै, सीता देवीले आशा गरे झैं, महिलाहरू (थोरै सङ्ख्यामा भए पनि) अगाडि सर्न थाले र पत्रिकाहरूले उपलब्ध गराएको मञ्च प्रयोग गरेर आफ्ना भावना र विचार बाहिर ल्याउन थाले। पुरुषप्रधान सार्वजनिक वृत्तमा निम्छरै तवरमा भए पनि हस्तक्षेप गर्न थाले। केही सीमित विषयमा पुरुषसँग गरमागरम बहसमा उत्रिए।

राणाकालीन महिलाले पुरुषसँग पौंठेजोरी खेलेका केही प्रमुख विषयमध्ये एउटा चिट्ठा र अर्को स्त्री शिक्षा सम्बन्धी हो। यो आलेख चिट्ठा सम्बन्धी बहसमा केन्द्रित छ।

तात्कालिक समयमा (जुद्धको शासनकालदेखि) राज्य स्वयंले चिट्ठा खेलाउँथ्यो। वार्षिक ‘भाग्य-युद्ध’ चिट्ठाको पुरस्कार पाउने सबैको नामनामेसी गोरखापत्रमा छापिन्थ्यो। चिट्ठाको रकम पनि गतिलै हुन्थ्यो- पहिलो पुरस्कार १० हजार, दोस्रो सात हजार, तेस्रो पाँच हजार गर्दै १०औं पुरस्कार ३०० सम्म। १० हजार रुपियाँले त्यतिखेर करीब डेढ सय तोला सुन आउँथ्यो।

अघिल्ला वर्षहरूमा झैं मंसीर २००३ मा पनि चिट्ठा खुलेको थियो। एक लाख २५ हजार टिकट बिकेकोमा यो वर्ष ३०० देखि १० हजारसम्म गरी ९४ जनाले चिट्ठा रकम पाएका थिए।

चिट्ठा खुलेको केही सातापछि कनकबहादुर नामका पाठकले ‘भाग्य-युद्ध चिट्ठा वर्षको ४ चोटि वा २ चोटि खुल्ने प्रबन्ध होस्’ भनेर लेखेको पत्र १७ पुस २००३ को गोरखापत्रमा ‘चिट्ठा खुलोस्’ शीर्षकमा छापियो। उक्त पत्रको प्रतिवाद गर्दै चपला देवी नामकी महिलाले पठाएको चिठी गोरखापत्रले २९ पुसमा छाप्यो- ‘उद्योग गर्न छोडेर चिट्ठाको भर किन?’ शीर्षकमा। छोटो पत्रमा लेखिएको थियोः

“भाग्ययुद्ध-चिट्ठा धेरै पटक खुलोस् भन्ने गो.प.को लेखको प्रतिवादमा- प्रारब्धमा नहुनेलाई जति पटक खुले पनि के काम? भन्ने विचार नगरी अरू उद्योग छोडी चिट्ठामा भर किन गर्नु?”

अहिले त पुरुषहरू महिलालाई केही नजान्ने, विवेकहीन ठान्छन्, उवेला ‘महिला जान्ने भएको’ पुरुषलाई के पच्थ्यो? अट्को नारायणका विष्णुराज झाले चपला देवीको प्रतिवाद गर्दै गोरखापत्रमा पठाएको पाठक-पत्र २१ माघमा छापियो।

उनले चपला देवीको जवाफमा समग्र महिला जातिलाई नै उल्याए। उनको चिठीमा चपला देवी र महिलाजनलाई जुवा र चिट्ठाको भेद बुझ्न नसक्ने मूर्ख र अल्पज्ञानी करार गरिएको थियोः

“भाग्य र उद्योग परस्पर विरोधी छन् भन्ने कुरा बुझ्न नसक्नाले नै स्त्रीजाति ठूला २ दार्शनिकहरूका घृणापात्र बनेका हुन्। भारतका स्त्रीजातिहरूबाट कुनै महत्त्वपूर्ण काम हुन सक्तैन भन्ने कुरामा बडे २ दार्शनिकहरूको मत भएको र ‘च्यामेष्ट’ ले पनि स्त्रीहरू हाम्रा दुर्बलता र मूर्खतासँग कारबार (?) गर्न सृष्टि गरेका हुन् भनी लेखेकाले यी स्त्रीहरूलाई गृह-विज्ञानको शिक्षाभन्दा अर्थनीति, राजनीति, दर्शन, गणित इत्यादिको अभ्यास नगराएमा ‘अर्थनबर्थ गोविन्द गाई’ भने झैं बीचमा बोलिदिन्छन्। अल्पज्ञान डरलाग्दो हुनाले स्त्रीजातिले पनि गणितमा सफलता प्राप्त गर्ने उद्योग गर, या ज्ञानका कूपमा पानी पिउन नै नजाऊ, यही संदेश चपलादेवीलाई दिएको छु।”

अर्का एक पाठक ‘दुनियाँ’ ले पनि चपला देवीलाई हियाउँदै पठाएको प्रतिवाद-पत्र गोरखापत्रमा छापिएको थियो। पत्रमा उनले लेखेका थिए, “नेपालभरका धेरैजसो मानिसहरूको अभिप्रायः यो छ कि सालको २/४ पटक चिट्ठा खुलोस्। त्यस्तो संसारका सभ्य मुलुकहरूमा पनि चिट्ठाको काम सर्वोत्तम मानिएकोमा हाम्रा ‘चपला देवी’ लाई रुचि भएनछ। वहाँका दिलमा त चिट्ठाको काम एकदम असभ्य भन्ने रहेछ।”


दुनियाँभन्दा पनि झाको पत्रले केही महिलालाई क्रुद्ध तुल्यायो। उनीहरू चपला देवीको समर्थन र झाको प्रतिवाद गर्दै सार्वजनिक रूपमा उत्रे। पद्मिनीले गोरखापत्र मार्फत लेखिन्ः “बडो अपसोचको कुरा छ, बी.ए.सम्मको शिक्षा र बडेबडे दार्शनिकहरूका किताबले हाम्रा महाशय विष्णुराज झालाई केवल यही कुरा सिकायोः स्त्रीजातिलाई घृणा गर्नु र उनीहरूमाथि मूर्खतासँग व्यवहार गर्नु। बडो खेदको कुरा छ, उहाँको विचारमा स्त्रीजाति केवल भोगविलासको सामग्री मात्र ठहरिन आयो।”

‘भाग्य र उद्योग परस्पर विरोधी’ कुरा हुन् भन्दै उनले थपिन्, “ठीक कुरा हो, जुवाभन्दा चिट्ठा धेरै असल हो। तर श्री चपला देवीले पनि त जुवालाई ताडिफ गर्नुभएको छैन, न वहाँले चिट्ठालाई खराब भन्नुभएको छ। तर यदि चिट्ठा पनि धेरै पटक खोलिन लाग्यो भने यो पनि जुवाभन्दा कम दर्जामा आउने छैन।” साथै उनले ‘महाशय विष्णुराजले आजदेखि सम्पूर्ण सङ्कीर्ण विचार त्यागिदिनेछन्’ भन्ने आशा पनि गरिन्।

अर्की पाठक ‘अपढ’ दुर्गा देवीको ‘आइमाई निर्बुद्धि हुन्छन् र?’ शीर्षकको चिठी पनि छापियो। जसमा उनले लेखिन्, “चिट्ठाबारे विष्णुराज झाले स्त्रीजातिलाई होच्याएर लेख्नुभएको देख्ता आश्चर्य लाग्यो। के लेखक महोदय स्त्रीजातिप्रति ऋणी हुनुहुन्न र? संसारका धेरैजसो प्राणी आमाको दूध पिएर मात्र बढ्दछन्। तर उक्त लेखको सम्बन्ध बाबुको घुँडासँग पो रहेछ। आमाका प्रति अलिकति पनि श्रद्धा भएको भए उहाँको कलम त्यतिविघ्न कृतघ्न बन्ने थिएन। उद्योगभन्दा बर्ता चिट्ठामा भर पर्नु बेस रे, धन्य बुद्धि! इङ्लेस्तान, रूस र अमेरिका आदि देशहरूका उन्नति पनि चिट्ठाले नै भएको रहेछ क्यारे!”

चिट्ठाबारे भएको यो विमर्श हेर्दा महिलाले ‘आर्थिक’ विषयमा आफ्नो विचार राखेको पुरुषको अहंले पचाउन नसकेको देखिन्छ। उसमा मै जान्ने भन्ने भावना प्रष्ट देखिन्छ, र ऊ महिलालाई थान्कोमा बस्न सिकाउँछ। यति हुँदाहुँदै राणाकालमा सार्वजनिक विषयमा महिला-पुरुष बहस गर्नु र तिनले गोरखापत्रमा स्थान पाउनु आफैंमा ठूलो फड्को थियो।

तात्कालिक शासक पद्मशमशेरको सहिष्णुता र सम्पादक प्रेमराज पौडेलको उदारताले यसमा भूमिका खेलेको थियो। तर, त्यो उदारता, सहिष्णुता धेरै समय टिकेन। फैलँदो सार्वजनिक वृत्त मोहनशमशेरको उदयसँगै पुनः साँघुरियो। छलफलको संस्कृति झाङ्गिन पाएन; मुलुक पुनः पछाडि फर्कियो।

(ऐतिहासिक समाजशास्त्री पराजुली मार्टिन चौतारीका वरिष्ठ अनुसन्धाता एवं स्टडीज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी र समाज अध्ययन जर्नलका सम्पादक हुन्। हिमालको २०७८ फागुन अङ्कबाट।)

प्रकाशित मिति : १४ फागुन, २०७८
स्रोत : https://www.himalkhabar.com/news/128549
 


About the Author