ठूला दल आर्थिक उत्पादनमा जोडिएका छैनन्, नेताको आर्थिक उत्पादनको स्रोत छैन, यसले स्पष्ट हुन्छ, दल नेतृत्वको जीविकाको स्रोत दलाल र बिचौलियाले दिने कमिसन नै हो
संघीयतालाई बलियो बनाउने, उत्पीडित जातजाति, भाषा, संस्कृति र सभ्यताको अपेक्षालाई सम्बोधन गर्ने र सीमान्तीकृत समुदायको सामाजिक न्यायको अपेक्षाप्रति राजनीतिक नेतृत्वमा कुनै किसिमको प्रतिबद्धता देखिँदैन

हिजोआज यात्रा, छलफल, चियागफ, भेला जताततै मानिसमा राजनीतिक नेताप्रति तीव्र आक्रोश देखिन्छ, सुनिन्छ । विशेषगरी ठूला राजनीतिक पार्टीका मुख्य नेतासँग जनताको असन्तुष्टि, आक्रोश र वितृष्णा छ । धेरैको आशय एउटै छ, यी ठूला नेताबाट आशा गर्न सकिँदैन ।
जनताका समस्या र सरोकार यिनले सम्बोधन गर्न सक्दैनन् । यस्ता टिप्पणी जनताबाट मात्रै होइन, पार्टी राजनीतिमा सक्रिय नेता/कार्यकर्ताबाट पनि आउने गर्छ । अझ कतिपय अवस्थामा राजनीतिक पार्टीका नेतादेखि बहालवाला प्रधानमन्त्री र मन्त्रीविरुद्ध सार्वजनिक कार्यक्रममा नारा लाग्ने र भौतिक आक्रमणको प्रयाससमेत हुने गरेका छन् । यस्तो राजनीतिक परिवेश निर्माण हुनुमा सबैभन्दा बढी कसैको भूमिका छ भने त्यो राजनीतिक पार्टी र नेतृत्वकै छ ।
नेपालको राजनीतिक रूपान्तरणका लागि नेपालका कम्युनिस्ट र लोकतान्त्रिक राजनीतिक पार्टीको निकै ठूलो भूमिका रहेको छ । निरङ्कुश राणा शासनविरुद्ध २००७ सालमा भएको क्रान्तिलाई सफल बनाउन, निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गर्न र सशस्त्र जनयुद्ध र २०६२/६३ को जनआन्दोलनमार्फत सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन अहिलेका प्रमुख राजनीतिक पार्टीको भूमिका महत्त्वपूर्ण छ ।
करिब छ दशकभन्दा लामो कठिन संघर्षबाट राजनीतिक पार्टी र तिनको नेतृत्वले नै लोकतान्त्रिक राजनीतिक व्यवस्था ल्याएका हुन् । तिनै राजनीतिक पार्टीको नेतृत्वमा सयौं नेता/कार्यकर्ता तथा जनताले गरेको संघर्ष र बलिदानीबाट यो राजनीतिक व्यवस्था स्थापित भएको हो अर्थात् अहिलेको लोकतान्त्रिक राजनीतिक व्यवस्था यिनै राजनीतिक पार्टी र नेतृत्वको संघर्षको परिणाम हो ।
नेपालमा लोकतान्त्रिक व्यवस्था ल्याउन राजनीतिक नेतृत्वले खेलेको भूमिका निकै महत्त्वपूर्ण छ । तर, राज्यव्यवस्थाको रूपान्तरणका लागि ऐतिहासिक भूमिका निर्वाह गरेका राजनीतिक नेतृत्वले विगतको योगदानको साख जोगाउन धौधौ पर्ने स्थिति सिर्जना भएको छ । विगतमा जे जति योगदान गरेको भए पनि जनतालाई यस्तो लागिसकेको छ कि, ठूला दलका प्रमुख नेतृत्व ‘देश र जनताका लागि घाँडो’ भइसके ।
यो नेतृत्वले देशले भोगिरहेको गम्भीर आर्थिक–राजनीतिक संकटको समाधान गर्न सक्दैनन् भन्ने भाष्य जबरजस्त स्थापित हुँदै गइरहेको छ । यो किन पनि गम्भीर सवाल हो भने राजनीतिक दल र नेतृत्व असफल हुँदा त्यसको गम्भीर असर आमनेपाली जनतालाई परिरहेको छ । त्यसैले नयाँ राजनीतिक क्षितिजको सपना देख्नका लागि पनि वर्तमान असफल राजनीतिक नेतृत्वको विचार, दृष्टिकोण, संस्कृति र व्यवहारको आलोचनात्मक विश्लेषण आवश्यक छ ।
गैरजिम्मेवारीको पराकाष्ठा
देश राजनीतिक, आर्थिक संकटमा छ । अराजकता झन्–झन् बढ्दो छ । समग्रमा जनताको जीवन कष्टकर बन्दै गइरहेको छ । जिम्मेवार र इमानदार राजनीतिक पार्टी र नेतृत्वले मात्रै देश र जनतालाई अप्ठ्यारो परिस्थितिबाट पार लगाउन सक्छ । तर, नेपालका ठूला राजनीतिक दल र तिनको नेतृत्व गम्भीर राजनीतिक संकटलाई सम्बोधन गर्ने जिम्मेवारी बहन गर्ने दिशामा उन्मुख छैनन् ।
यी पार्टी निर्माणमा नेपाली जनताले निकै ठूलो संघर्ष, त्याग र बलिदानी दिएका छन् । राजनीतिक पार्टीलाई जनताले दिएकै साथ र संघर्षको परिणाम हो, संघीय लोकतान्त्रिक गणतन्त्र । तर, अप्ठ्यारो परिस्थितिबाट देशलाई पार लगाउनुपर्ने राजनीतिक पार्टी र नेतृत्व गैरजिम्मेवार भइदिँदा नेपाली जनताले झन्–झन् सास्ती खेप्नुपर्ने अवस्था सिर्जना भइरहेको छ ।
राजनीतिक पार्टीको मियो वैचारिक दृष्टिकोण नै हो । देशको संकटको गम्भीरता पहिचान गर्ने, कारण खोतल्ने समाधानका विधि तय गर्ने वा रणनीतिक कार्ययोजना बनाउने काम मूलतः सैद्धान्तिक र वैचारिक दृष्टिकोणमै निर्भर रहन्छ । ठोस वैचारिक दृष्टिकोणबिना राष्ट्रिय संकट समाधान गर्ने विधि बन्न सक्दैन । देशको अर्थतन्त्र वैदेशिक ऋण र रेमिट्यान्सले धानिएको छ ।
बेरोजगारीका कारण ठूलो जनशक्ति विदेशिएको छ । विकृत पुँजीवादी व्यवस्थाले जनताको दैनिक जीवन झन्–झन् कष्टकर बनाइरहेको छ । यस्ता बहुआयामिक संकट समाधानतर्फ नेपालका राजनीतिक पार्टी र तिनको मुख्य नेतृत्वमा कुनै ध्यान छैन । देश र जनताले भोगिरहेका यावत् चुनौती समाधान गर्ने कुनै विचार र दृष्टिकोण छैन ।
राजनीतिक नेतृत्वको सम्पूर्ण ध्यान सत्तादेखि सत्तासम्म मात्रै छ । स्वाभाविक रूपमा राजनीतिको लक्ष्य सत्तामा पुग्नु हो, तर मूल प्रश्न सत्ता केका लागि वा सत्ता प्राप्तिको उद्देश्य के हो ? जनताको हितका लागि कि शक्तिको अभ्यासका लागि ? वर्तमान सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा ५ पटक र एमालेका अध्यक्ष केपी शर्मा ओली चार पटक प्रधानमन्त्री भए ।
तिनले देशको समग्र आर्थिक, सामाजिक रूपान्तरण, सामाजिक अन्तरविरोधको समाधान र राज्यको बेथिति अन्त्यका लागि काम गरेका कुनै ठोस उदाहरण छैनन् । तिनमा जनताको समस्या, आवश्यकता र सरोकारप्रति कुनै चिन्ता र चासो छैन । नेपालको राज्यसत्ताको नेतृत्व पटक–पटक असफल भइसकेका नेताको अखडा बन्न पुगेको छ, यस्तो नेतृत्वबाट देशको प्रगति सम्भव छैन ।
सर्वसत्तावाद राजनीतिक नेतृत्वको अर्को समस्या हो । यस्तो विचारको नेताले आफ्नो देवत्वकरण र विरोधीलाई दानवीकरण गर्छ । यसले फरक विचार, प्रश्न र आलोचनात्मक टिप्पणीलाई निषेध गर्छ । पार्टीको विधि र पद्धति होइन, बलमिच्याइँ गर्छ र फरक मत राख्ने नेता/कार्यकर्ताको राजनीतिक भविष्यमाथि नै प्रहार गर्छ ।
पार्टी नेतृत्व सामूहिक विचारको प्रतिविम्ब हो भन्ने कुरा केबल नारामा मात्रै सीमित हुन्छ र पार्टीकै नेता/कार्यकर्ता नेतृत्वको आडम्बर र सर्वसत्तावादी प्रवृत्तिको मूकदर्शक बन्ने बाध्यात्मक परिस्थिति निर्माण हुन्छ । एमालेले पार्टीका नेता भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि गरेको कारबाहीलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ ।
कारबाहीलाई पार्टीको केन्द्रीय समितिले अनुमोदन गर्यो । केपी शर्मा ओलीको दबदबाका कारण भएको यो निर्णयप्रति असन्तुष्ट पार्टी नेतृत्वले बलियोसँग विचार राख्ने अवस्था नै रहेन । किनकि, ओलीको प्रस्तावको विपक्षमा उभिने नेता/कार्यकर्तालाई ‘ठेगान’ लगाउने प्रवृत्ति एमालेमा हाबी छ ।
एमालेमा मात्रै होइन, धेरैजसो पार्टीमा यो प्रवृत्ति छ । नयाँ उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि रवि लामिछानेसँग फरक मत राख्ने वा उनको विचारमाथि प्रश्न उठाउने नेता/कार्यकर्तालाई ठेगान लगाउने प्रवृत्ति हाबी छ । पार्टीमा अभ्यास भएकै प्रवृत्ति सत्ता सञ्चालनमा पनि रूपान्तरण हुने हो । त्यसैले सर्वसत्तावादी प्रवृत्तिले जनतामाथि घातबाहेक केही पनि गर्दैन ।
नेपालका राजनीतिक पार्टी चरम अपारदर्शी छन् । पार्टीका मुख्य नेताले विलासितापूर्ण जीवन बिताइरहेका छन् । विलासी जीवनको आर्थिक स्रोत स्पष्ट छैन । पार्टीका लाखौं कार्यकर्ता श्रमबिनै उपभोक्तावादी जीवनशैली बिताइरहेका छन् ।
उनीहरूको भड्किलो जीवनशैलीको आर्थिक स्रोत के हो ? यिनै पार्टीका उम्मेदवारले स्थानीयदेखि संघीय निर्वाचनमा करोडौं खर्च गर्छन्, त्यो खर्चको स्रोत के हो ? कुनै पनि ठूला पार्टी आर्थिक उत्पादनमा जोडिएका छैनन्, तिनका नेताको आर्थिक उत्पादनको स्रोत छैन । यसले के स्पष्ट हुन्छ भने पार्टी नेतृत्वको जीविकाको स्रोत दलाल र बिचौलियाले दिने कमिसन नै हो ।
नीतिगत भ्रष्टाचार, ठेक्काबापत कमिसन, सरुवा, बढुवाका नाममा रकम असुली धेरैजसो पार्टी नेतृत्वको जीविकोपार्जनको स्रोत बन्न पुगेको छ । ठेकेदार, बिचौलिया र दलालले परिचालन गर्ने स्रोत जनताकै कर हो, जनताकै नाममा लिइने वैदेशिक ऋण हुन् । तर, पार्टी नेतृत्व नै आर्थिक रूपमा अपारदर्शी भएपछि तिनले जनतालाई सुशासन दिन्छन् भन्ने आशा गर्नु असम्भव कुरा हो ।
संसदीय राजनीतिक पार्टी र तिनका नेताको जनतासँगको सम्बन्ध मूलतः भोटमा सीमित छ । श्रमजीवी, गरिब, सीमान्तीकृत जनता पार्टी नेताका लागि सत्तामा पुर्याउने माध्यम मात्रै बनाइएका छन् । निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिबद्धता, आश्वासन र भाषण केबल चुनावी खपतका बोली मात्रै बनेका छन् । नेताका लागि जनता सधैं प्रयोग मात्रै भइदिनुपर्ने तर नेताले जनतातर्फ फर्केर नहेर्ने परिपाटीले राजनीतिक नेताप्रति जनताको वितृष्णा बढाएको छ ।
राजनीतिक नेतामा देखिने अर्को गज्जब प्रवृत्ति भनेको आफूले गरेका सबै कुरा ठिक छन् भन्ने हो । नेतृत्व गर्नेले कमजोरी गर्छन्, कमजोरीप्रति आत्मालोचना हुनुपर्छ । आफूले गरेका कमजोरी स्वीकार गर्नु राजनीतिक इमानदारिता प्रस्तुत गर्नु हो । तर अनौठो कुरो पार्टी नेतामा कमजोरी स्वीकार गर्ने र रूपान्तरित हुने कुनै प्रतिबद्धता देखिँदैन ।
जब गल्ती र कमजोरीको महसुस हुँदैन र रूपान्तरणप्रति प्रतिबद्धता रहन्न, त्यस्तो राजनीतिक नेतृत्वबाट देश अगाडि बढ्न सक्दैन । उत्पीडित समुदायको मुक्ति, समावेशीकरण र सामाजिक, आर्थिक रूपान्तरणका लागि संघीय व्यवस्था स्थापित भयो । तर, संघीयतालाई बलियो बनाउने, उत्पीडित जातजाति, भाषा, संस्कृति र सभ्यताको अपेक्षालाई सम्बोधन गर्ने र सीमान्तीकृत समुदायको सामाजिक न्यायको अपेक्षाप्रति राजनीतिक नेतृत्वमा कुनै किसिमको प्रतिबद्धता देखिँदैन । यो मूलतः नेतृत्वमा विकसित प्रतिगामी चिन्तनको उपज हो ।
राजनीतिले संस्कृति निर्माण गर्छ । समाजलाई कस्तो राजनीतिक संस्कृतितर्फ डोर्याउने भन्ने कुरा कस्ता नेता/कार्यकर्ता उत्पादन गर्ने र कस्तो किसिमको जनसम्बन्ध स्थापित गर्ने भन्ने कुरामा निर्भर रहन्छ । यसका लागि विचारसहितको नयाँ नेतृत्व निर्माणको स्पष्ट कार्ययोजना जरुरी हुन्छ ।
राजनीति नेतृत्व जिम्मेवार र इमानदार कार्यकर्तालाई पाखा लगाउने र दलाल र बिचौलियालाई च्याप्ने काममा उद्यत छ । यति मात्रै होइन, नयाँ पुस्तालाई पनि बिस्तारै भ्रष्ट र दलालीकरणको बाटोतर्फ डोर्याउने काममा पार्टीहरू नै लागिरहेका छन् । यसले समय र परिस्थितिको विश्लेषण गरेर नयाँ राजनीतिक परिवेश निर्माण गर्ने नेतृत्व निर्माण हुन्छ कि हुँदैन भन्ने संशय पैदा हुने अवस्था छ । त्यसैले यो गम्भीर परिस्थितिलाई धान्न असफल भइसकेको राजनीतिक नेतृत्वको विकल्पमा नयाँ विचार, दृष्टिकोण र नेतृत्व अनिवार्य बन्न पुगेको छ ।
अनिवार्य नयाँ विचार र नेतृत्व
संसार गतिशील छ । विश्वको परिवर्तित अर्थराजनीतिक व्यवस्थसँगै नयाँ चुनौती र सम्भावनाका ढोका खुल्छन् । यस्तै संकटले नयाँ क्रान्ति, संघर्ष र आन्दोलनको परिवेश तयार गर्छ । यस्तै परिवेशबाट नयाँ राजनीतिक विचार र नेतृत्व जन्मिन्छ ।
पुँजीवादी विश्व व्यवस्था, दलाल र बिचौलियाको नियन्त्रणमा नेपालको अर्थराजनीतिक परिवेशलाई चिर्नका लागि इतिहासले नयाँ परिवेशसँग पौठेजोरी खेल्न नयाँ विचार र नेतृत्वको माग गरेको छ । नेपाली समाज असमानता, अन्याय र अत्याचारी सामाजिक, राजनीतिक व्यवस्थालाई चुनौती दिने विचार र नेतृत्वको बलियो उपस्थितिको पर्खाइमा छ ।
जनतालाई राजनीतिक रूपमा प्रशिक्षित गर्ने, जनताका आशा र सपनामाथि खेलबाड गर्ने वा अपेक्षामाथि निरन्तर धोकाधडी गर्ने राजनीतिक नेतृत्वको पञ्जाबाट देशलाई मुक्त गर्न नयाँ नागरिक र राजनीतिक जागरण अभियान अनिवार्य भइसकेको छ । यसका लागि जनताप्रति जिम्मेवार, इमानदार र प्रतिबद्ध राजनीतिक नेतृत्व र नागरिक समूहले गम्भीरतापूर्वक समीक्षा, विश्लेषण र ठोस कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ । अवधि सकिएको औषधिजस्ता नेता र नेतृत्वबाट देशले अग्रगति लिन सक्दैन ।
प्रकाशित : पुस २६, २०८१
स्रोत : https://ekantipur.com/opinion/2025/01/10/what-is-the-achievement-of-political-leadership-52-18.html?author=1
जेबी विश्वकर्मा










