खै त प्राज्ञिक लेखन ?

- अग्रिम अधिकारी | 2022-06-28

प्राज्ञिक लेखन गरेका सुदर्शन पौडेललाई संस्थाको सम्पादन समूहले पाँच पटकसम्म पुनर्लेखन गर्न लगायो । प्राज्ञिक लेखनको अभ्यास भनेको निकै कठिन कार्य हो भन्ने यो एउटा उदाहरण हो । नेपालमा लेखनको अभ्यास गर्नको लागि केही बौद्धिक संस्थाहरू नभएका भने होइनन् । लेख्न चाहने र त्यसमा माझिन चाहनेहरूका लागि विभिन्न मञ्च छन् तर व्यक्ति आफूले त्यसलाई अझ कसरी परिमार्जन गर्दै लाने भन्ने कुरा भने लेखकको आफ्नै हातमा हुन्छ ।

नेपालमा मार्टिन चौतारीले विगत ३० वर्षदेखि प्रकाशन गरिरहेको जर्नलअन्तर्गत पर्ने ‘मिडिया अध्ययन’ र ‘समाज अध्ययन’मा आज पनि स्तरीय प्राज्ञिक लेखनहरु कमै मात्रामा आउने मार्टिन चौतारीका सम्पादक प्रत्युष वन्त बताउँछन् । वन्तका अनुसार कथित ठुला लेखकहरू पनि प्राज्ञिक लेखनको सन्दर्भमा कमजोर देखिने र आलोचना, टिप्पणी तथा सुझाव सुन्न नसक्ने खालका प्रवृत्ति देखाउनेहरू हुन्छन् । 

लेखन भनेको हामीले बुझेको र गरेको मात्र हो भन्ने खालका मनोदशा पालेर हिँड्ने लेखकहरूबाट गतिलो प्राज्ञिक लेखनको अपेक्षा गर्नु नै भुल हुने तर्क राख्छन् प्रत्युष वन्त । आइतबार मार्टिन चौतारीबाट आयोजित प्राज्ञिक लेखन र यसका चुनौतीबारे छलफल कार्यक्रममा वन्तले यसबारे प्रष्ट्याए । कार्यक्रममा प्राज्ञिक लेखनका चुनौतीबारे अनुसन्धानकर्ता एवम् पत्रकार रविराज बरालले अनुभव सुनाए, ‘पत्रकार भएर जीवनको लामो समय त्यता लगाएर होला, अहिले प्राज्ञिक लेखन गर्न बस्दा र केही भाग लेखिसकेपछि लाग्छ कि, यो त समाचार जस्तो वा भनौँ स्टोरी जस्तो पो भयो । त्यसपछि पठाउने हिम्मत पनि रहँदैन ।’ 

बरालको भनाइ उपर टिप्पणी गर्दै प्राज्ञिक लेखनमा राम्रो अनुभव सँगालेका र मार्टिन चौतारी सँगै काम गर्दै आएका चुडामणि बस्नेत भन्छन्, ‘प्राज्ञिक लेखन गर्छु भनेर सुरु गर्नु नै प्रमुख सफलता हो । त्यसपछि यस्तो भयो होला उस्तो भयो होला भनेर सोच्नु कुनै नौलो कुरा हैन । यो लेखन माथिको शंका भनेको कुनै पनि लेखकको आम रोग नै हो ।’ एक पटकको प्रयासबाट नै प्राज्ञिक लेखनमा सफलता हासिल गर्न सक्छु भन्ने बुझाइ रह्यो भने यसले भड्खालोमा हाल्ने तर्क उनको छ । साथै, पुनर्लेखन गर्न आनाकानी गरियो र अल्छी गरियो भने प्राज्ञिक लेखन गर्ने कुरा सपना मात्र रहने बस्नेतको भनाई छ । प्राज्ञिक लेखन गर्छु भनेको हामी आफैँले चुनौतीलाई अंगिकार गरेको हो ।

नेपाल ल क्याम्पसको अन्तिम वर्षको परीक्षाको नतिजा कुरेर बसेका विद्यार्थी सुदिप भट्टराई आफ्नो अनुभव साटे, ‘प्राज्ञिक लेखनको अवधारणा र एब्स्ट्रयाक्ट तयार भएर सुरु गरेपनि पछि गएर आफ्नो अवधारणाबाट नै विश्वास उठ्न थाल्छ ।’ यो जिज्ञासामाथि टिप्पणी गर्दै अग्रज प्राज्ञिक लेखक होम सुवेदीले भने, ‘आफ्नो कुरा र ड्राफ्टको मूल्याङ्कन गर्न आफ्नो साथीभाई र अन्य व्यक्तिलाई पनि आफ्नो रोजाइमा राख्न पर्यो । यसो गर्दा एकल धारणाबाहेक अन्य धारणा बोकेर प्राज्ञिक लेखन अघि बढ्न पाउँछ । यद्यपि, अनुसन्धान र योजना डग्मगाउनु भने भएन ।’ 

चौतारीका सम्पादक वन्तका अनुसार प्राज्ञिक लेखन र जर्नल विश्वमा अनेकौँ ढंगबाट प्रकाशन हुन्छ । यसका लागि सम्पादकहरुले आआफ्नै मापदण्ड बनाएका  छन् । कोही भन्छन्, पुस्तक समीक्षा यसभित्र पर्दैन । कोही भने त्यही मात्र पनि गर्छन् । वन्त अगाडि भन्छन्, ‘आरोप प्रत्यारोप खेप्दै मार्टिन चौतारीले पनि यहाँसम्मको यात्रा पुरा गरेको छ । तर, हाम्रो बुझाई हो कि, यसको कुनै वैधानिक नियम वा भनौँ नीति छैन । जर्नल र प्राज्ञिक लेखन भन्ने वित्तिकै त्यसमा बहसको कुरा हुन पर्यो, त्यसलाई पुष्टि गर्न सक्ने प्रमाणहरु हुन पर्‍यो, प्रशस्त मात्रामा अनुसन्धान हुन पर्यो र भाषामा प्राज्ञिकपन झल्किन पर्यो । यसो गर्दा प्राज्ञिक लेखनलाई त्यति धेरै अप्ठ्यारोमा फुलेको फुलझैँ हेरिरहन पर्दैन ।’ 

प्रकाशन : असार १४, २०७९
स्रोत : https://ratopati.com/story/248237/2022/6/28/journal-writing-


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai