राष्ट्र बैंकको यार्सागुम्बा प्रतिवेदनः त्रुटियुक्त

- अंकलाल चलाउने | 2016-02-02

प्रतिवेदनमा प्रस्तुत केही तथ्य अस्वाभाविक र असत्य देखिएका छन् । एउटै प्रकृतिका तथ्य दुई ठाउँमा प्रस्तुत गरिएकाले एकआपसमा जुधेका छन् । प्रतिवेदनमा उल्लेख गरिएको अध्ययन विधिमाथि शंका गर्ने ठाउँ छ । दृष्टान्त स्वरूप प्रतिवेदनको पृष्ठ ६ अनुच्छेद १९ मा १२ जिल्लाको तीन आर्थिक वर्षको यार्सागुम्बा संकलन परिणाम तालिका २.१ मा देखाइएको छ । वन विभाग, वन तथा भू–संरक्षण मन्त्रालयलाई स्रोत लिइएको उक्त तालिकामा प्रस्तुत तथ्याङ्कले नेपालको दार्चुलामा सबैभन्दा बढी परिमाणमा यार्सागुम्बा पाइने देखाएको छ । सँगै मनाङको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र दार्चुलाको अपिनम्पा संरक्षण कार्यालय एवं जिल्ला उद्योग वाणिज्य संघबाट तथ्याङ्क प्राप्त भनेर स्रोत विशिष्टीकृत गरिएको छ ।

यार्सागुम्बा संकलन परिमाणकै सम्बन्धमा प्रतिवदेनको पृष्ठ १४ अनुच्छेद ५४ मा जिल्ला वन कार्यालयको स्रोत खुलाएर तीन वर्षको अनुसन्धान क्षेत्रका ५ जिल्लाको यार्सागुम्बाको संकलन परिमाण तालिका ३.२ मा प्रस्तुत गरिएको छ । उक्त तालिकाअनुसार औसतमा डोल्पा जिल्लामा सबैभन्दा बढी परिमाणमा यार्सा संकलन भएको देखाइएको छ । सोही तालिकाको व्याख्यामा दार्चुलालाई दोस्रो बढी परिमाणमा यार्सागुम्बा संकलन भएको जिल्लामा राखिएको छ । तर दार्चुलाको एक वर्षको तथ्याङ्क नै छैन ।

यदि अध्ययनमा समेटिएका सबै जिल्ला र सबै वर्षको तथ्याङ्क हुने हो भने डोल्पा सबैभन्दा बढी परिमाणमा यार्सा संकलन हुनेमा नपर्न सक्छ । त्यसैले यार्सागुम्बा संकलन परिमाणबारे प्रतिवेदनमा प्रस्तुत गरिएका तालिका २.१ र ३.२ आपसमा जुधिरहेका छन् । फरक स्रोत हुँदैमा पनि त्यसो हुँदैन । किनकि विभाग वा मन्त्रालयले जिल्लास्तरका तथ्याङ्क सार्वजनिक गर्दा स्थानीय निकायले तयार पारेका तथ्य नै लिइन्छ ।मन्त्रालय वा विभागले यार्सागुम्बा टिप्ने समयमा संकलन परिमाणको विवरण राख्ने भनेर छुट्टै जनशक्ति खटाएको छैन । त्यसैले तालिका ३.२ को तथ्याङ्क तयार गर्ने जिल्ला वन कार्यालयले कसरी वन विभाग र वन मन्त्रालयलाई फरक तथ्य पेस गरे भन्ने प्रश्न विचारणीय छ । किनकि उही जिल्ला र उही आर्थिक वर्षमा तथ्यहरू आपसमा मिलेका छैनन् ।

डोल्पामा धेरै परिमाणमा यार्सागुम्बा उत्पादन हुने कुरा प्रतिवेदनकै थुपै्र ठाउँमा प्रस्तुत छ । जस्तै— प्रतिवेदनको अनुच्छेद ४१ ग्रामीण अर्थतन्त्रको मौद्रिकीरणबारे छ । जसमा नेपाल राष्ट्र बैंकको फन्ड ट्रान्सफर डोल्पामा धेरै देखिनुको कारण यार्सागुम्बाको कारोबारलाई देखाइएको छ । त्यस्तै संकलक पनि डोल्पामा धेरै नै भएको प्रतिवेदनको पृष्ठ १० मा प्रस्तुत छ ।

 

स्रोत : वन विभाग, वन तथा भू–संरक्षण मन्त्रालय । मनाङको तथ्यांक अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाबाट र दार्चुलाको तथ्यांक अपिनम्पा संरक्षण कार्यालय एवं जिल्ला उद्योग वाणिज्य संघबाट प्राप्त ।

अर्काे अचम्मको कुरा यार्सागुम्बा संकलन स्थानको उचाइबारे पृष्ठ १३ अनुच्छेद ५३ को पहिलो वाक्य यस्तो छ : ‘नेपालमा समुद्र सतहदेखि ३५४०–५०५० मिटर उचाइका घाम पर्ने पहारिला पाटनहरूमा यार्सागुम्बा उपलब्ध हुन्छ ।’ यसले उक्त उचाइ तलमाथि नहुने अर्थ दिन्छ । सोही उचाइमा नेपालका २५ जिल्लामा यार्सागुम्बाको संकलन हुने तर यसको व्यावसायिक संकलन १२ जिल्लाबाट मात्र हुने सन्दर्भ प्रतिवदेनमा उल्लेख छ । ती १२ जिल्लामध्ये एक संखुवासभा पनि परेको छ । संखुवासभाबाटै सुरेन्द्र सुवेदीले समुद्री सतहबाट ३ हजार मिटरभन्दा कम उचाइमा यार्सागुम्बा पाइएको समाचार ५ असार २०६५ को कान्तिपुरमा सम्प्रेषण गरेका छन् ।

यसले प्रतिवेदनमा उल्लेखितभन्दा कम उचाइमा यार्सा पाइने कुरा प्रस्ट्याउँछ । त्यसैले यार्सागुम्बा पाइने स्थानको उचाइ निम्नतम र अधिकतम विन्दु ठ्याक्कै तोक्नेगरी कसरी नापियो ?

माथिका दृष्टान्तले अध्ययन विधिमा पारेको प्रभावलाई जोड्नुपर्दा संकलन परिमाण सम्बन्धमा प्रस्तुत गरिएका तालिकाहरूको तथ्याङ्क एकआपसमा नमिल्दा छड्के जाँच विधि, प्राथमिक स्रोत र द्वितीय स्रोत अध्ययनमा प्रश्न निम्त्याएको छ ।

बैसाखको सुरुमै टिप्न जाँदा आगामी वर्षमा यार्सागुम्बाको उत्पादन घट्ने सम्भावना देखाइएको छ । बैसाखको सुरुमा टिप्न जानु र आगामी वर्षको उत्पादनमा कमी आउनुको खासै सम्बन्ध रहँदैन । किनकि जेठ–असारमा गएर टिपे पनि यार्सागुम्बा परिपक्व भएर त्यसको बिउ झर्छ भन्नेभन्दा पनि यसबेला यार्सागुम्बा टिप्न जाने बढी उपयुक्त समय स्थापित हुनुको मुख्य कुरा हिउँ पग्लिनुसँग जोडिएको छ ।अन्तत: टिपिएपछि त्यो परिपक्व हुन पाउने कुरा भएन र यसको परिपक्वताको चक्र जेठ–असार पुरा हुँदैन । बरु जमिनमा टुसोमात्र निस्केको भर्खरजस्तो लाग्ने वा तन्नेरी यार्सा टिप्न सक्नुले आर्थिक महत्त्व राख्छ । कलिलोमा टिपिएको यार्सा सुकाएपछि खोक्रो हुने सम्भावना कम र सुनौलो देखिने हुन्छ ।

पोटिलो यार्सा व्यापारीले बढी मूल्यमा खरिद गर्छन् र तौल पनि बढी हुन्छ । त्यसैले त्यो भविष्यवाणी मान्य छैन । साथै अध्ययन विधिबारे पनि ध्यान दिइएको छैन ।

राजस्वबारे प्रतिवेदनले केही पनि बोल्दैन । नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारले पारेका प्रभावबारे अध्ययन गर्ने हो भने रेमिट्यान्सको कुरा छुट्नै सक्दैन । त्यस्तै यार्सागुम्बाले अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन गर्ने हो भने राजस्वबारे अनिवार्य रूपमा खोजिनुपर्ने हो । सामान्य रूपमा राजस्व संकलनले राज्यलाई आर्थिक सहायता भइरहेको छ । यसको छली पनि भइरहेको छ भनेर मात्र राष्ट्रिय अर्थतन्त्रमा पुगेको प्रभाव नापिँदैन होला ।त्यसैले यो प्रतिवेदन यार्सागुम्बाको संकलन तथा बिक्री—वितरणले सामाजिक–आर्थिक अवस्थामा सकारात्मक भूमिका खेलेको परिणामस्वरूप राष्ट्रिय अर्थतन्त्रमा योगदान पुगेको छ । तर राज्यस्तरबाट यसको संरक्षण तथा प्रबद्र्धन गर्ने काम लगभग शून्यप्राय: नै छ भन्ने आरोपबाट बचाउ गर्न निकै उपयोगी सावित हुनेछ ।

चलाउने मार्टिन चौतारीसँग आबद्ध छन् ।स्रोतः https://www.kantipurdaily.com/opinion/2016/02/02/20160202082354.html


About the Author