आधुनिक नेपालको इतिहासको जग

- विनोद सिजापती | 2025-04-17

विपन्न, साना, सिमानाकृत तथा भूमिहीन किसानका निम्तिभन्दा राजाका समर्थकको स्वार्थ, हित र रक्षामा केन्द्रित हुँदा भूमिसुधार कार्यक्रमले देशमा अपेक्षा गरेअनुरूप परिवर्तन ल्याउन सकेन।

मार्टिन चौतारीले पुनः अर्को पटक अत्यन्त महत्त्वपूर्ण ऐतिहासिक पुस्तक “पचासको लामो नेपाली दशक (नेपाल इन दि लङ नाइन्टिन फिफ्टिज्) प्रकाशित गरेको छ। यस पुस्तकको चर्चा हरि शर्माले (डिसेम्बर २३, २०२४ उकालोमा) गर्नु भएको थियो। मेरो हकमा, पुस्तकमा समावेश अधिकांश (पचासको दशकको  सुरुवातमा जन्मेको हुनाले) विषयहरू बाल्यकालमा हुर्कँदै गर्दा अग्रजले गफिँदा सुनेको तथा स्कुले जीवनमा (कलेज अफ एजुकेसन अन्तर्गतको डिमोस्ट्रेसन (पछि गएर ल्याबोरेटरी स्कुल) अध्ययनरत हुँदा देखेका भोगेका पर्छन्। केही विषय विद्यार्थीदेखि अवकाश हुँदासम्म अध्ययन गरेको पर्छन्। यिनै पृष्ठभूमिमा यस पुस्तकको समीक्षाको जमर्को गरेको छु। 

हामीलाई विगतमा बताइएअनुसार आधुनिक नेपालको इतिहास २००७ को क्रान्तिबाट शुरू हुन्छ। मुक्ति सेनाले एकपछि अर्को गर्दै सरकारी सेनालाई पराजय गर्दै राजधानीको सामीप्य पुगेपछि दिल्ली सम्झौताको कारण आन्दोलन टुंगिन्छ र नेपालमा प्रजातन्त्रको घोषणा हुन्छ। विडम्बना, भारतको मध्यस्थता (हस्तक्षेप) गरिएको उक्त सम्झौता दिल्लीमा शरण लिएका राजा त्रिभुवन तथा तिनलाई भारतमा शरणार्थी हुन बाध्य तुल्याउने राणा प्रधानमन्त्री मोहन समशेरबीच भएको थियो, भलै युद्ध नेपाली कांग्रेसको नेतृत्वमा रहेको मुक्ति सेना तथा राणा शासक अन्तर्गत रहेको नेपाली सेनाबीच भएको किन नहोस्। राणा शासनको अवसानसँगै तिनका अवशेष तत्त्वले संगठन गरेको खुकुरी दल र उक्त दलले तिनले मच्चाएको आतंक पुस्तकमा समेटिएको छ।

खुकुरी दलले गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको निवासमा २००८ सालमा आक्रमण गरे। यिनै अस्थिरताबीच के आई सिंहले राणा शासनको पूर्ण उन्मुलनका लागि भन्दै सिंहदरबारमा आक्रमण गरे। उनको विद्रोह नियन्त्रण गर्न भारतीय सेना नेपाल प्रवेश गर्‍यो। यही मौकामा भारतीय सेना नेपाल-चीन सिमानाको प्रमुख १८  नाकामा तैनाथ हुन थाले। उतिखेरका युवराजाधिराज (महेन्द्र) मा प्रजातन्त्रप्रति वितृष्णा बढ्दै गइरहेको थियो। यता, दिल्ली सम्झौतामा उल्लेख गरिएको ‘संविधानसभा’ निर्वाचनलाई थाती राख्दै नारायणहिटी दरबारमा शक्ति सञ्चय गर्ने राजा त्रिभुवनको प्रपञ्च थियो। त्रिभुवनको मृत्युपछि राजा महेन्द्रले सत्तारोहण गरे र सर्वसत्तावादी राजा हुने अभ्यास थाले। तिनले सैनिक परिचालन गरी सत्ता हत्याउँदै आफैले दिएको संविधान खारेज गर्दै ‘राजाको सबल नेतृत्वमा सञ्चालन हुने पञ्चायत प्रणालीको थालनी’को घोषणा गरे। यिनै विषयको सेरोफेरोमा केन्द्रित हुने गर्छ सन् १९५० दशकको नेपाली इतिहास। 

यस पुस्तकले भने इतिहास अध्ययनको विगत परिपाटीको क्रमभंग गरी नयाँ आयाम थपेको छ। सुप्रसिद्ध फ्रान्सेली इतिहासविद् एवं 'एनाले स्कुल'का प्रमुख निर्माता फेर्नान्ड ब्रोडेलले प्रतिवाद गरेको इतिहास-अध्ययन विधि यस पुस्तकले अँगालेको छ। समष्टिगत रूपमा दूरगामी प्रभाव पर्ने विषयहरू (भौगोलिक, सामाजिक, आर्थिक, राजनैतिक र वातावरणीय) समेट्न सकेमात्र इतिहासको सही अध्ययन सम्भव हुन्छ भन्ने फेर्नान्ड ब्रोडेलको विश्वास थियो। पुस्तकले उक्त सिद्धान्त अख्तियार गरी विभिन्न १० विधाका विषयहरूलाई दुई प्रमुख खण्डमा विभाजन गरेको छ। दश अनुसन्धानकर्ताहरूले नेपालको पचासको दशकका विविध विषयहरूको गहिरो अध्ययन-अनुसन्धान गरी मार्टिन चौतारीकै संलग्नतामा प्रकाशित सामाग्रीहरू पुस्तकमा समावेश गरिएको छ। मूलतः पुस्तकमा समावेश प्रत्येक आलेखले त्यस दशकका घटनाहरूलाई आन्तरिक दृष्टि तथा अन्तर्राष्ट्रिय प्रभावको नजरले हेरिएको अनुभूति हुन्छ। 

उमेरले सत्तरी काटेको मेरा लागि पुस्तकको प्रत्येक अक्षर-हरफ पढ्दै र पाना पल्टाउँदै गर्दा त्यस कालखण्डका दृश्यहरू आँखासामु आए। पुस्तकमा उल्लेख गरिएको ‘पहेँलो’ स्कुलबस चेतभवन (हाल होटल रेडिसन), लाजिम्पाटबाट निस्किई विद्यार्थी टिप्दै ज्ञानेश्वर, डिल्लीबजार, पाटन ढोका, कालीमाटी हुँदै धरहराबाट नयाँ सडक निस्केर लाजिम्पाट फिर्ता उन्मुख हुन्थ्यो। खिचापोखरीबाट नयाँ सडक आउँदै गर्दा साँघुरो मार्गको बायाँपटी पर्थ्यो तिलौरी माइलाको पसल। उक्त पसल सामुन्ने भएका दुई चार बेन्चमा बसेर मिठाइ खान र चिया पिउन व्यस्त ग्राहकहरू स्कुल जाँदा (बिहान) तथा फर्किँदा (बेलुकी) सधैँ देखिन्थे।

दोकानको ढोकासँगै रहेको अघिल्लो टेबल (काउन्टर) सामुन्ने खडा हुने ग्राहकको संख्या बाक्लै हुने गर्थ्यो। विपन्नहरूका निमित्त पिपलको बोट, मध्य आय हुनेका निमित्त कफी हाउस तथा सम्पन्नका निमित्त इन्दिरा रेस्टुराँजस्तै तिलौरी माइलाको त्यस दोकान त्यस कालखण्डको प्रबुद्धदेखि सर्वसाधारण सबैको निम्ति भेटघाटको महत्त्वपूर्ण थलो थिए भन्ने पुस्तकबाट थाहा लाग्यो। यी सबै न्युरोडमै पर्थे। पुस्तकको नवौँ अध्यायमा वर्णन गरिएको कलेज अफ एजुकेसन तथा नर्मल स्कुल 'चेत भवन दरबार'को माथिल्लो तलामा सञ्चालित थिए।

लेबोरटोरी स्कुल भुइँ तल्लामा फैलिएको थियो। कलेज अफ एजुकेसनको प्रिन्सिपल त्रैलोक्यनाथ उप्रेती थिए, जो पछि त्रिभुवन विश्वविद्यालयको कुलपतिबाट अवकाश लिई 'युनेस्को'मा काम गरी अवकाश लिनुभयो। ल्याबोरेटरी स्कुलको हेडमास्टर हेमचन्द्र श्रेष्ठ हुनुहुन्थ्यो। कलेज अफ एजुकेसनका मात्रै होइन, हाम्रा शिक्षकहरू अध्ययनार्थ अमेरिका जाने गरेको थाहा थियो। लेखमा छुटेका हाम्रा कक्षाका दुई शिक्षकहरू लीला केसी तथा चन्द्रकला थापाले अमेरिकामा गएर पीएचडी गर्नु भएको थियो। डा. त्रैलोक्यनाथ उप्रेतीले मात्र होइन, ल्याबोरेटरी स्कुलका राजेन्द्रकुमार रनगोन सरले पनि अमेरिकाबाट पिएचडी गर्नु भएको हो। हरियो स्टेसन वाइ्गन (एक प्रकारको जिप) मा काठमाडौँमा सधैँ हतारहतार गरेर दौडधुप गरिरहने व्यक्ति तिनै हिउज उड रहेछन्, जसले आधुनिक नेपाली शिक्षाको जग बसाल्न अत्यन्त महत्त्व पूर्ण योगदान गरेका रहेछन्। पुस्तकबाट सो कुरा थाहा पाइयो।  

मेरो घर (कुपण्डोल) को चुलोमा पाक्ने भातको मूल स्रोत ट्याङ्ग्रे फाँट (ट्याङ्ला फाँट-कीर्तिपुर) लाई सरकारले अतिक्रमण गरेको विषयमा उतिखेर बुवा आमाबीच धेरै दिन गलफती भएको याद छ। आमालाई चित्त बुझाउँदै  बुवाले “गयो त गयो, भोलिपर्सि मैलेजस्तो यिनीहरूलाई अन्य मुलुकमा गएर पढ्नु पर्दैन” भनेको सम्झन्छु। एक दिन स्कुल बसबाट उत्रिएका हामी सबैलाई लाइन लगाएर लाजिम्पाटदेखि कीर्तिपुरसम्म पैदल हिँडाइयो। अघिल्लो पङ्क्तिका विद्यार्थीलाई स्कुलको नाम भएको ब्यानर बोकाइएको थियो। लैनचौर पुग्दासम्म शान्ति निकेतन, जुद्धोदय पब्लिक तथा दरबार स्कुलका विद्यार्थी पनि त्यसैगरी हामीभन्दा अघि लागेको देखियो। सँगै, अन्य स्कुलका थुप्रै विद्यार्थीलाई लाइनमै कीर्तिपुर पुर्‍याइयो। ट्याङ्लाफाँटको डाँडामा पुग्दा छात्रछात्राको उपस्थिति बाक्लो देखियो। त्यस स्थानमा निर्माण गरिने 'त्रिभुवन विश्व विद्यालय'का लागि स्वयंसेवक भएर श्रमदानका लागि उपत्यकाका विद्यार्थीहरूलाई त्यसरी पुर्‍याइएको रहेछ, पुस्तकबाट सो थाहा भयो।

त्रिभुवन विश्वविद्यालय निर्माणका लागि “दुई मुवा बडामहारानीहरूले गहना बिक्री गरेको रकमले लुबू (ललितपुर) मा दिवंगत पति राजा त्रिभुवनको नाममा विश्वविद्यालय निर्माण गर्न जमिन खरिद गरेको रहेछन्। कवि लक्ष्मीप्रसाद देवकोटाको रोजाइमा विश्वविद्यालय निर्माण स्थल निमित्त ट्याङ्लाफाँट छानिएको भन्नेसम्म सुनेको हो। उच्च शिक्षा उत्थानका निमित्त भएका आन्तरिक तथा बाहिरी रस्साकस्सीको रामकथा पुस्तकमा लोकरञ्जन पराजुलीले स्पष्ट पार्नुभएको छ। प्रथम विश्वविद्यालय निर्माणको क्रममा राजा महेन्द्रको उदासीनता तर तिनका आमाहरूको मेहनत सराहनीय छ।   

विद्यालय पढ्दा ताकको कुनै दिन स्कुल (लाजिम्पाट) बाट पैदल हिँडाएर केशर पुस्तकालय अवलोकनार्थ पुर्‍याइएको थियो। उक्त भव्य सजावट सहितको पुस्तकालय देख्दा अचम्मित भएँ। त्यसो त चेत भवनमा पनि कलेज आफ एजुकेसनको सानदारकै पुस्तकालय थियो। विद्यार्थी कालमा मात्र होइन, अवकाश जीवनमा पनि साना ठुला धेरै पुस्तकालय पुग्ने मौका मिल्यो। तैपनि मलाई पुस्तकालय भन्नासाथै केसर पुस्तकालय आँखा सामुन्ने आउँछ। २०७२ को 'विनाशकारी भूकम्प' पूर्व एक पटक उक्त पुस्तकालय पुगेको थिएँ। शिक्षा मन्त्रालयले व्यवस्थापन गरेको उक्त पुस्तकालयको दरिद्र स्वरूप देख्दा छाती चर्कियो। पुस्तकमा समावेश प्रत्यूष वन्तको अत्यन्त खँदिलो लेख पढेपछि थाहा भयो–उक्त पुस्तकालय निर्माणकर्ता फिल्ड मार्सल केशरसम्शेरले गरेका ज्ञान आर्जन संवर्द्धन तथा प्रवर्द्धनका निमित्त गरेका योगदानहरू।

यस किताब पढ्नु पहिलेसम्म 'रोयल नेपाल एकाडमी' निर्माण गरेर राजा महेन्द्रले देशवासीका निमित्त योगदान गरे भन्ने ठान्थेँ। तर किताब पढेपछि तथ्य नै अर्को भेटियो। त्यस्तै, भूमिसुधारले देशमा अपेक्षाअनुरूप परिवर्तन गर्न नसक्नुका कारणहरू मेरा निमित्त सधैँ ठुलो प्रश्न थियो। पिटर गिलको आलेख पढेपछि थाहा भयो आखिर 'राजा महेन्द्रले राष्ट्रवासीको भलाइका निमित्त उठाई बक्सेको क्रान्तिकारी कदम' किन प्रभावकारी हुन सकेन भन्ने। अध्ययनको क्रममा उक्त कार्यक्रम लागु गर्न भएका रस्साकस्सीहरूको कथाहरू थाहा हुन्छ। यहाँ विश्व विख्यात भूमि सुधार प्रवर्तक उल्फ लेन्डजेन्स्कीको जीवनी पढ्दाको प्रसंग सान्दर्भिक हुन्छ।

नेपालको भूमिसुधार कार्यक्रम खाका कोर्न तथा लागु गर्न सहयोग गर्न आएको अमेरिकी टोलीका प्रमुख उल्फ लेन्डजेन्स्कीले राजालाई दोधारे मन गर्नु घातक हुने सुझाव दिएका थिए। राजाको हिच्कीचाहटपूर्ण मनस्थितिबाट आजित भएका थिए उनी। अन्तमा तिनले “महाराज, तपाईँले चाहे पनि भूमि सुधार हुन्छ, नचाहे पनि हुन्छ। फरक त्यत्ति हो, तपाईँले नचाहँदा नचाहँदै भयो भने त्यो तपाईँ बिनाको भूमिसुधार हुनेछ।” किताबमा गीलको आलेखले छर्लंग पार्छ, देशका विपन्न, साना, सिमानाकृत तथा भूमिहीन किसानका निमित्तभन्दा राजाका समर्थकको स्वार्थ, हित रक्षा केन्द्रित हुँदा भूमिसुधार कार्यक्रमले देशमा अपेक्षा गरेअनुरूप परिवर्तन ल्याउन सकेन। 

पुस्तकको शुरूवातमै सम्पादन टोलीले १० वर्ष लामो इतिहासको पुस्तक तयार पार्न दशकको परिश्रम लागेको बताएका छन्। पहिचान गरिएका लेखकले समयमा लेख नपठाउने तथा कतिले लेख पठाउँदै नपठाएको गुनासो किताबमा छ। तिनै कठिनाइहरूका कारणले हुन सक्छ पुस्तकमा 'जन-प्रशासनिक' विषयले स्थान पाएको छैन। त्यसैगरी, शब्दावलीको उत्थान केन्द्रित लेख (वन्दना ज्ञवाली) समावेश भएता पनि ग्रामीण तथा आर्थिक विकासजस्ता विषयहरू समावेश छैन। जतिसुकै भने पनि लेखकहरूको पनि आफ्नो पूर्वाग्रह हुन्छ नै। किताबमा ह्यूग उडले गरेको योगदानको प्रशंसा गर्न कन्जुस्याइँ गरेका छन् रापेलेले।

त्यसैगरी 'बोरिस लिस्सनभिच'को व्यक्तित्व तथा योगदानलाई मार्क लिक्टी अवमूल्यन गरेका छन्। बोरिसले नेपालको पर्यटन मात्र होइन, कृषि विकास (विशेषगरी पशु विकास) का निमित्त अत्यन्त महत्त्वपूर्ण योगदान गरेका थिए। रजौरिया (बंगुर पालन) तथा हेटौँडा औद्योगिक क्षेत्रभित्र तिनले त्यस कालखण्डको 'विश्व सर्तीय' वधशाला निर्माण गरेको विषयलाई लेखमा समावेश गरिएको छैन। होटेलकै हकमा पनि सम्बन्धित व्यक्तिहरू अझै भन्ने गर्छन्, “होटल याक एन्ड यति” बोरिसको सोच तथा देनबाट निर्माण गरिएको थियो। सञ्चालनमा आएपछि तिनलाई पन्छाइयो। त्यसैगरी, हेटौँडाको वधशाला तथा मासु प्रशोधन केन्द्र सञ्चालनमा आएपछि निहित स्वार्थ समूहले बोरिसलाई अलग गरिदियो। यी दुई ठुला आयोजना तथा तिनमा संलग्न व्यक्तिहरूले नै हो बोरिसलाई सडक बास तुल्याएको।    

अनुसन्धानकर्ताले आफूले गरेको सोध कार्यलाई संक्षिप्तमा लेखका रूपमा किताबमा प्रस्तुत गरेको प्रस्टिन्छ। समेटिएका प्रत्येक विषयले भविष्यमा अनुसन्धान कर्ताहरूका निमित्त मार्ग प्रशस्त गर्छन्। विभिन्न विधाका भिन्न विषयमा अनुसन्धान गर्न अग्रसर विद्यार्थी, प्राज्ञ र अनुसन्धानकर्ताका निमित्त प्रत्येक लेखमा उठान गरिएका विषयहरू अध्ययनयोग्य छन्। जुन नोट र फुटनोट्सहरू समावेश लेखहरूमा  छन्, तिनले भविष्यका अनुसन्धानकर्ताहरूलाई मार्ग प्रशस्त गरिदिएका छन्। छोटकरीमा भन्नुपर्दा यी आलेखहरूले भविष्यका अनुसन्धानकर्तालाई अनुसन्धानयोग्य विषयहरू उपलब्ध गराउँछ। अन्त्यमा आसा गरौँ, डा. प्रत्यूष वन्तको अथक परिश्रम जारी रहनेछ। निकट भविष्यमा बिसौँ शताब्दीको नेपालको इतिहास मार्टिन चौतारीले प्रस्तुत गर्नेछ।

पृष्ठभूमि तस्वीर: टोनी हेगन

प्रकाशित मिति: २०८२ बैशाख ४
स्रोत: https://www.ukaalo.com/art-and-culture/20250417-nepal-in-the-long-1950s-book-martin-chautari/24872


About the Author

More Blogs